२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म कहिलेदेखि बूढो भएँ ?

‘म बूढो भएँ’ को पीर आफ्नै ठाउँमा छ, तर देशै बूढो भयो, यहाँ त खोरिया खन्ने हातहरू कोरिया जान मरिमेट्छन्
शरीरलाई आफ्नै घुँडाले थाम्न गाह्रो भयो भने लट्ठी टेक्नुपर्छ । लट्ठी टेक्न लाज मान्नु हुँदैन ।

म बूढो भएँ । कसरी भएँ ? किन भएँ ? कहिलेबाट भएँ ? त्यसको हेक्का मलाई छैन । ‘जब पुग्यो ६० हातमा भयो लाठी’ भन्ने उक्ति सानैदेखि सुनिआएको हुँ । मेरा बुबा, हजुरबुबाहरू लट्ठी टेकेर हिँडेको देखेको हुँ । अहिले म ८७ वर्षको उमेरमा छु । लट्ठी टेकेर हिँड्नु परेको छैन ।

म कहिलेदेखि बूढो भएँ ?

त्यसो त सय वर्ष पुग्दा पनि कोही मानिस लट्ठी टेक्दैनन् । त्यसको उदाहरण शताब्दी पुरुष सत्यमोहन जोशी हुनुहुन्थ्यो । त्यो भनेर लट्ठीको महत्त्वलाई हामीले बिर्सनु हुँदैन । आफ्नो शरीरलाई आफ्नै घुँडाले थाम्न गाह्रो भयो भने लट्ठी टेक्नुपर्छ, लाज मान्नु हुँदैन ।

जागिरे जीवनको सेवा अवधि निश्चित गर्न सामान्यतया ६० वर्षको उमेरपछि अवकाश दिने र निवृत्त जीवन गुजारा गर्ने परिपाटी चलिआएको छ । मेरा बुबा र काकाहरू निवृत्त भएपछि ‘ढाक्रे भयौ’ं भनेर आफ्नो सक्रिय दैनिकीबाट अलग्गिएर ‘बूढो भयौं’ भन्दै सेतो कपाल बोकेर हिँडेका बेला उहाँका समकालीन दौंतरीहरू विशेष गरि पसले साहू, व्यापारी, सिकर्मी–डकर्मी, कामी–सुनुवार, सुचिकार एवं खेतीकिसानी परिवारका मानिस आफ्ना व्यवसायमा निश्चिन्त लागेका हुन्थे । साठी वर्षे उमेरको अंकले उहाँहरूलाई बूढो बनाएको थाहा पाइनँ ।

हाम्रो जागिरे परिवारमा भने बुबा ढाक्रे भइयो र बूढो भएँ भनेर हिँड्दा आमा एवं काकीहरू आ–आफ्ना घरधन्दामा सक्रिय हुनुहुन्थ्यो । तसर्थ वृद्धावस्था कुनै अंक वा गणितको फलित अवस्था होइन, तैपनि ज्यान भएपछि शरीरको शक्तिमा परिवर्तन आउँछ र कालान्तरमा तन र मन बूढो हुन्छ । बूढो हुनु क्रमिक प्रक्रिया हो । मान्छे मान्छेमा त्यो फरक हुन्छ ।

हाम्रो परम्परागत सामाजिक अवस्थाका आधारमा मानिसको जीवनलाई चार वर्णाश्रममा विभाजन गरिन्छ– ब्रम्हचारी, गृहस्थ, वानप्रस्थ र संन्यासी ! जनगणनाले जनसंख्यालाई तीन समूहमा बाँध्छ– पहिलो १४ वर्ष मुनिकालाई बाल्यावस्था, १५ देखि ६४ वर्षसम्मकालाई युवावस्था र ६५ वर्ष नाघेकालाई वृद्धावस्था । मेरो आफ्नो जीवन र मेरै निकट मित्रहरू सरकार सेवाबाट निवृत्त भएपछि विभिन्न गैरसरकारी संघसंस्था र परामर्श सेवामा प्रवेश गरि सफलताका नयाँ चुलीमा पुग्न सफल भएका थुप्रै उदाहरण छन् । कैयौंले साहित्य, कला एवं संस्कृतिका विभिन्न फाँटमा उल्लेखनीय योगदान दिएका छन् । त्यस अर्थमा ५८ वर्ष उप्रान्त ७५ वर्षसम्मको अवधिलाई अनुभवी, पाको र परिपक्वको उत्पादनशील अवस्था मान्न सकिन्छ । त्यस अवस्थालाई आधुनिक वृद्धरोग विज्ञानले ‘युवा–ज्येष्ठ’ भन्ने संज्ञा दिन थालेको छ । त्यसपछि ८५ वर्षसम्मको उमेरलाई ‘मध्यम–ज्येष्ठ’ र ८५ वर्ष माथिलाई ‘वृद्ध–ज्येष्ठ’ को मान्यता दिन थालेको छ । हाम्रो परम्परागत मान्यतामा ‘संन्यासी वर्ण’ त्यसलाई मान्नु उचित होला ।

आयुको विभाजनमा जे जस्तो मान्यता राखे तापनि सक्रिय एवं गुणस्तरीय दीर्घ जीवन बाँच्न सधैं सचेत हुनुपर्छ । विज्ञान र प्रविधिको विकासले हाम्रो आयुमा जीवन थप्ने उपाय एवं उपकरण धेरै छन् । आँखाका लागि चस्मा आविष्कार नभएको भए ६० वर्ष नाघेपछि सक्रिय हुने अवस्था हुँदैनथ्यो । चिकित्सा विज्ञानको सफलताले जन्मँदाको औसत आयु पनि निकै बढेको छ र भौतिक सुविधा एवं सञ्चार प्रविधिको विकासले शारीरिक कमजोरीलाई विशेष सेवा र टेवा पुग्न थालेको छ । वस्तुतः वृद्धावस्थाका समस्या खुम्चिएर जीवनशैलीको यापन तरिका र मनस्थितिको संयम अवस्थामा सीमित हुन थालेको छ ।

मेरो दैनिकी

मेरो नयाँ–पुराना धेरै मित्रहरू मेरा दैनिक जीवनचर्याबारे जिज्ञासा राख्छन् र म पनि उहाँहरूबारे धेरै कुरा जान्न चाहन्छु ।

बिहान लगभग ५ बजे मेरो निद्रा खुल्छ । केही सिर्जनाका काम लेखपढ गर्नु छ भने ४ बजे नै उठ्छु । बिहानी ४ बजेबाट ७ बजेसम्मको बसाइ मेरा लागि विशेष उत्पादनशील सावित भएको छ । त्यसपछि थोरै ध्यान बस्ने गर्छु, तर म अटुट त्यो काम गर्न सक्दिनँ । तैपनि एक पटक मेरो तीन अवस्थालाई सुनिश्चित गर्ने चेष्टा गर्दछु । पहिलो म जीवित छु र मेरो स्वास्थ्य प्रणाली चालु छन् । दोस्रो म सुरक्षित छु र डर–भर छैन, सबै आफ्नै नियन्त्रणमा छ । र, तेस्रो म अहिले जहाँ छु, मेरा लागि यो यही स्थान उपयुक्त हो ।

बिहान करिब ४५ मिनेट ‘मर्निङ वाक’ भनेर श्रीमतीसँग देवालयहरू भेटिने गरी सानेपा–झम्सिखेलका सडक र गल्ली चहार्छु । बुद्ध एवं गणेश, सूर्य, नारायण, भगवती, शिव तथा सरस्वतीका मूर्तिमा थोरै प्रार्थना गर्छु । मन एकाग्रमा ल्याउन मूर्तिको महत्त्व बेग्लै हुन्छ । मन चञ्चल हुन्छ । त्यसलाई स्थिर गर्न/गराउन ईश्वरका आराधना सहायक लाग्छ ।

बिहानको केही समय रेडियो समाचार र पत्रिकामा बित्छ । बिहानीको खाजा अर्थात् ‘ब्रेक–फास्ट’ पाउरोटीका परिकार वा मुस्ती अर्थात् ‘कर्न फ्लेक्स’ भनेर मकैका च्याँख्ला सेवन गर्छु । ब्लड प्रेसर र सुगरका औषधि वर्षौंदेखि सेवन गर्नुपरेकाले ‘लो कार्व’ अर्थात् कार्बो हाइडेट न्यून हुने खानालाई अँगाल्ने गरेको छु । गुलियो वा चिनीलाई परित्याग नै गरिसकें । ग्रीन टि र ब्ल्याक कफीमा बानी बसेको छ ।

दिउँसोको खानामा थोरै भात र धेरै तरकारी वा गेडागुडी खाने बानी बसालेको छु । भात पकाउँदा चामलको साथमा गाजर तथा बन्दाका भुजुरी करिब ३० प्रतिशत मिसाउने गरेका छौं । प्रायः दिनको मध्याह्नमा हामी मूल भोजन गर्छौं । अपराह्न थोरै बिस्कुट र चिया खाएपछि साँझ थोरै ब्रान्डी (करिब ९० एमएल) तातोपानीसँग सेवन गर्छु । साथमा मुला, गाजर वा बदाम, काजु खाने गरेको छु ।

बेलुकाको खानाका लागि मासुको परिकार आफैंले पकाउने बानी बसेको छ । भान्सामा करिब एक डेढ घण्टा चुलोचौका र नुन मसलाका साथ बिताउँदा विशेष आनन्दको अनुभूति हुन्छ । करिब साढे सात बजे खानपिनको काम पछि केही रमाइला टेलिभिजन कार्यक्रम हेर्ने चेष्टा हुन्छ ।

बेलुकापखको सबैभन्दा महत्त्वपूर्ण क्षण अमेरिकामा बस्ने छोरी वा छोरासँगको मोबाइल कुराकानी हो । हाम्रा छोराछोरी विदेशिएको दशकौं भइसक्यो । हामीले हाम्री आमालाई उनी १०३ वर्षकी हुँदासम्म स्याहार्ने सौभाग्य पाएका थियौं । अहिले एकल दम्पतीको परिवारको बाहुल्य भइसक्यो । छरछिमेक, नाताकुटुम्ब धेरैजसोको वृद्धावस्था यस्तै छ । आफूले आफैंलाई सम्हाने परिस्थितिमा जीवन बिताउन बाध्य छौं । पुस्तान्तरणको खाडल पनि सात समुद्र जत्रै फराकिलो छ । आफ्नो पीडालाई आफ्नै पिँजडाभित्र पाल्ने जीवनशैली अपनाउन बाध्य छौं ।

बेलुकी प्रायः नौ बजे ओछ्यान पस्ने गरेको छु । त्यसभन्दा पहिले ‘बीबीसी नेपाली सेवा’ का रेडियो समाचार सुन्न रुचाउँछु । निद्रा सजिलै पर्छ, तर रातमा २/३ पल्ट सुचीकार्यमा बिउँझिन्छु । निद्रा नपर्दा चिन्ताले घेर्न थाल्छ । चकचके मनलाई एकाग्र गर्न कहिले कविता पढिदिन्छु, कहिले प्रार्थनाका श्लोक पढ्न थाल्छु, कहिले सयदेखि एकसम्म उल्टो क्रममा गन्न थाल्छु । अक्सर निद्रा पर्छ । आठ घण्टाको नीद–लक्ष्य पर्‍याउने कोसिस हुन्छ ।

आजको पीडा

वर्तमान नेपालका नयाँ चुनौतीमध्ये ज्येष्ठ नागरिकहरूको भविष्य व्यवस्थापन पनि तड्कारो छ । उहिलेको संयुक्त परिवार अहिले छिन्नभिन्न छ । एकल पुस्ताको जमाना आइदियो । ज्येष्ठ नागरिकहरू पनि एक्लाएक्लै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यस क्रममा विदेश पलायन भएका सन्तानका आमाबाबुका पीडाहरू कहालीलाग्दा छन् । म देख्दै छु– विदेश पुगेका सन्तानहरू नेपाल फर्केर विवाह, व्रतबन्ध, इही–बार्‍हा, गुन्युँचोलो आदि कर्मकाण्डका भोजभतेर गर्ने सिलसिला निकै बढ्दो छ । तडकभडक बेमिसाल हुन्छ, तर थोरै दिनपछि पन्छी उडेजस्तै उडेर गएपछि गुँड फेरि रित्तो हुन्छ– ‘अनि देउराली रुन्छ ।’ सन्तान फेरि फर्केलान् भनि कुरेर बस्ने कैयौं आमाबाबुको पर्खाइ अस्पतालको ‘आइस बक्स’ सम्म लम्बिने गरेको उदाहरण अब नौलो भएन । अर्कातिर कमाइ र रोजगारीको खोजीमा उडेर गएको ज्यान लास बनेर ‘कफिन बक्स’ मा फर्केका दृश्यले अर्को विडम्बना सिर्जना हुन थालेको छ ।

यी पीडाहरू वैदेशिक पलायनका सन्दर्भमा मात्रै नभई आफ्नै देशभित्र पनि सल्किन थालेको छ । गाउँबाट सहर पलायन हुने सन्तानहरू र गाउँ सम्हाल्न बस्नुपर्ने वृद्धवृद्धाका कथाव्यथा अब नौला छैनन् ।

हो ! म बूढो भएँ ।

बूढो भएँ भन्ने पीर आफ्नै ठाउँमा छ, तर देश बूढो भयो, राष्ट्र बूढो भयो भन्ने पीरले पिरोल्न थालेको छ । हिमाल, पहाड, मधेश, तराई तथा भोट प्रदेशमा पनि युवापुस्ता पातलिँदै छन् । खोरिया खन्ने हातहरू कोरिया जान मरिमेट्न थालेका छन् । युवापुस्ताको भीड कलकारखाना, उद्योगधन्दा वा खेतीकिसानीमा होइन विमानस्थलको प्रस्थान कक्षमा नजर हुन्छ । ती भेटिन्छन्– वैदेशिक रोजगारदाताका दलालहरूको कार्यालयमा । शैक्षिक संस्थाका दीक्षान्त समारोहमा युवायुवतीहरू विदेशिने सपना साटासाट गर्दै हर्षोल्लासमा उफ्रिन्छन् । नेपालमा भविष्य देखाउनेहरू कोही छैनन् । ज्येष्ठ नागरिकको इतिहास सुन्ने कसैलाई फुर्सद छैन । ज्येष्ठ नागरिकका छोटो भविष्यको चिन्ता पनि कसैलाई छैन ।

जीवनको उत्तरार्धमा जीवन बाँच्ने कलाबारे धेरैका धेरै विचार होलान् । तर, सबैले विचार पुर्‍याउनुपर्ने विषय आफ्नै स्वास्थ्य हो । शरीर स्वस्थ र निरोगी छ भने पनि मानसिक स्वास्थ्यलाई संयम राख्न सकेन भने पीडादायक हुन्छ बाँकी जीवन । औषधिमूलो र चिकित्सा सेवाले आयुलाई लम्ब्याइदिन्छ । त्यस आयुमा जीवन थप्ने काम आफैंबाट मात्रै सम्भव छ ।

प्रकाशित : फाल्गुन १२, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?