कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

क्लाइमेट फिक्सनमा लोककथा 

भविष्यमा हुने घटनाको संकेत पहिल्यै पाउनु, झिनो मौकाले मान्छे वा वस्तु भेटिनु, वास्तविक घटनासाग मिथकको सम्बन्ध हुनु, मस्तिष्कमा अजिव भावना उत्पन्न हुनुले घोषका फिक्सनको फरक संसारमा पाठक डुलिरहन्छन् । 
केन सुवेदी

हिउँ पर्ने समयमा नपर्ने, पानी नपर्ने समयमा पर्ने, हावाहुरी नचल्ने समयमा ठूलै आँधीबेहरी आउने ! बाढी र पहिरोले बाटाहरू कैयौं दिन बन्द हुने ! यस्ता भवितव्य किन दोहोरिन्छन् ? के ति सबै प्रकृतिले मात्रै गरेकी हुन् ? त्यसका निम्ति मानव क्रियाकलाप जिम्मेवार छन् कि छैनन् ?

क्लाइमेट फिक्सनमा लोककथा 

के मानवका व्यवहारले प्रकृति र इको–सिस्टमलाई क्षति पुर्‍याइरहेको छैन ? चुरे दोहन, हेलम्बु हिम–पहिरो, क्रसर प्रकरण, नदी दोहनजस्ता अनेकौं घटना जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित छन्, तर के ति घटनालाई गम्भीर मुद्दाका रूपमा राज्यले हेरेको छ ? अंग्रेजीमा साइ–फाई अर्थात् साइन्स फिक्सन विधा भएझैं अब क्लाइ–फाई अर्थात् क्लाइमेट फिक्सन एक भिन्नै विधाका रूपमा स्थापित हुँदैछ ।

क्लाइमेट फिक्सनमा लेख्ने लेखकको संख्या उति धेरै छैन, तर बढ्दो छ । हालै मैले अंग्रेजीमा लेख्ने भारतीय लेखक अमिताभ घोषको किताब ‘गन आइल्याण्ड’ पढें । कथा, मिथक र वास्तविक दुनियाका घटना बुनेर पनि जलवायु परिवर्तनका गम्भीर मुद्दालाई घोषले सुक्ष्म तरिकाले केन्द्रमा ल्याएका छन् । मनशा देवी तथा चांद सदाकरका बंगाली दन्त्यकथाका मिथक प्रयोग गरि पुरानो समाज र नयाँ समाजमा भएका भिन्नता जलवायु परिवर्तनले गराएको लेखेका छन् उनले । उनको ‘द ग्रेट डिरेन्जमेन्ट’ नामक गैर–आख्यानले पनि चर्चा पाएको थियो । तीन भागमा विभाजित त्यस किताबमा कथा, इतिहास र राजनीतिक विषय छन् । पहिलो भाग कथामा किन आधुनिक आख्यान जलवायु परिवर्तनको अवधारणाहरूलाई व्याख्या गर्न संघर्ष गर्छ ? भन्नेमा चर्चा गरिएको छ । दोस्रो खण्ड इतिहासमा घोषले जलवायु संकटका लागि उपनिवेशवादको भूमिका के छ ? लेखेका छन् । तेस्रो खण्ड राजनीतिमा ‘जलवायु परिवर्तनको कारण पुँजीवाद हो भनेर बढी जोड दिने जलवायु कार्यकर्ताले एउटा मुख्य कारण मिस गरेको छन् र त्यो साम्राज्यवाद’ भनी लेखेका छन् । ‘द ग्रेट डिरेन्जमेन्ट’ कै भाव आत्मसात गरि घोषले उपन्यास ‘गन आइल्याण्ड’ लेखे, जहाँ कल्पना, कथा, मिथक अनि वर्तमानका जलवायु संकटमाथि विमर्श गरिएको छ ।

घोषको अर्को उपन्यास ‘द हंग्री टाइड’ पढ्दा उनको पृष्ठभूमिबारे जान्ने कौतुहलता हुन्छ पाठकलाई । उनको शिक्षा डुन स्कुल देहरादुनमा भएको रहेछ, जहाँ उनी बिक्रम सेठ र रामचन्द्र गुहाजस्ता सशक्त लेखकसागै पढ्थे । घोषले सेठद्वारा सम्पादन गरिने ‘द दुन स्कुल विक्ली’ मा नियमित कथा र कविता पठाउँथे । र, पछि गुहासाग मिलेर ‘हिस्ट्री टाइम्स’ नामक म्यागजिन सुरु गरे । दुनमा पढाइ सकेपछि सेन्ट स्टेफेन्स कलेज, दिल्ली विश्वविद्यालय, दिल्ली स्कुल अफ इकोनोमिक्स हुँदै अक्सफोर्ड विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा डी.फिल सके, इनल्याक्स फाउन्डेसन छात्रवृत्तिमा । अंग्रेजीमा लेखिएको किताबका लागि पहिलो पटक ज्ञानपीठ पुरस्कार पाउने व्यक्ति घोष हुन् ।

सामान्यतया जलवायु परिवर्तनका विषय र मुद्दालाई शोध–अनुसन्धान आधारित, विज्ञान र तर्कसँग जोडेर अध्ययन गरिन्छ । तर, घोषको लेखनी र उनले प्रयोग गर्ने इकोकृटिकल अवधारणाले जलवायु परिवर्तन जस्ता गम्भीर मुद्दालाई पनि हाम्रा प्राचिन मिथक र दन्त्य कथामार्फत विश्लेषण गर्छन् उनी ।

बाढी, पहिरो, सुनामी, हरिकेन, स्यान्डी आँधी र अन्य विपद् हाम्रा सामाजिक सञ्जाल र न्यूज हेर्ने प्ल्याटफर्ममा सामान्य बन्दै गइरहेका छन् । हामीलाई ती घटनाले छुँदैनन् । घोष त्यस्ता प्राकृतिक विपद्ले निम्त्याउने घटनालाई ‘अनक्यानी’ अर्थात् अलौकिक र आश्चर्य भनी व्याख्या गर्छन् । घोष अद्भुत कथानक शैलीमार्फत् बन्दुकी सदागर वा बन्दुक व्यापारीको बंगाली लोककथा प्रयोग गर्छन् र पाठकलाई वास्तविक दुनियाँको बंगलादेशमा अवस्थित सुन्दरबन पुर्‍याउँछन् । र, सर्पहरूको देवी मनसा देवीको लोककथा प्रयोग गरि म्यानग्रोभ क्षेत्र सुन्दरवनमा वातावरण प्रदूषण र जलवायु विपद्ले ल्याएको विनाशको चर्चा गर्छन् । पुरानो सुन्दरवन र नयाँ सुन्दरवनबीच तुलना गरी जलवायु विपद्ले कुन हदसम्म मानव र अन्य जीवमाथि संकट निम्त्याएको छ भनी विमर्श गर्छन् । जुन गाउँ पहिले केही दशकअघि थिए त्यो वर्तमानमा नहुनु, मानवबस्ती पातलिँदै जानु, समुद्री सतह बढ्दै जानु, ताजा पानीको अभाव हुनु र पानीमा नुनको तह बढ्नुजस्ता भयावह चित्र घोष कथामार्फत भन्छन् ।

आफ्ना पात्रलाई समुद्री यात्रामा सयर गराएर घोषले जलवायु परिवर्तनमा मानव गतिविधिको हात प्रशस्तै हुने तर्क गरेका छन् । र, त्यसले गर्दा समुद्री डेड जोन बन्ने तर्क गरेका छन् । समुद्री डेड जोन भन्नाले ठुलो क्षेत्रको जलराशी हो, जहाँ अक्सिजनको मात्रा एकदमै कम हुन्छ र माछाजस्ता जलीय

प्राणी जीवित रहन कठिन हुन्छ । रासायनिक मलका अवशेषले त्यस्ता समुद्री डेड जोनहरू द्रुत गतिमा बढिरहेका छन् । त्यस्ता रसायनयुक्त मल वा पदार्थ समुद्रमा छोड्दा चेन रियाक्सन हुन्छ, जसले पानीबाट अक्सिजनको अधिकतम मात्रा सोस्छ । समुद्री डेड जोनलाई सरल भाषामा व्याख्या गरेका छन् घोषले ।

उद्योगहरूले समुद्रमा छाड्ने रिफाइनरीहरूले वातावरणमा पारेको प्रतिकुल असरमाथि घोष छलफल गर्छन् । ‘डेड जोन’ बन्नुको मुख्य कारक रिफाइनरीहरू भएको र वातावरण जोगाउन लागेका कार्यकर्ताहरूले कसरी ती रिफाइनरीका कम्पनीविरुद्ध एलायन्स बनाएर खबरदारी गर्ने गरेका छन् ? त्यो पनि उनी उल्लेख गर्छन् । ति रिफाइनरीलाई ठुला उद्योगले सञ्चालन गर्छन् र तिनले लोभी राजनीतिक नेताहरूका गोजी भर्छन् र नेताहरू पैसाकै लागि लाचार हुन्छन् । नेपालमा पनि चुरे दोहनका कथा बेला–बेला सुनिन्छ । त्यसले निम्त्याएको असर पूर्ण इको–सिस्टममा छर्लंग छ र पनि दोहनकर्तालाई नेताहरूको सहयोग छँदै छ ।

घोषको लेखनको अर्को विशेषता हो– म्याजिकल रियालिजम हो । भविष्यमा हुने कुरा पहिल्यै संकेत पाउनु, झिनो मौकाले मान्छे वा वस्तु भेटिनु, वास्तविक घटनासँग ऐतिहासिक घटनाको सम्बन्ध हुनु वा भएजस्तो लाग्नु, अजिव भावना उत्पन्न हुनुजस्ता अवधारणा उनको लेखनीमा भेटिन्छ ।

घोष लेख्छन्, ‘डल्फिनहरू समुद्री तटमा मृत अवस्थामा वा मर्न लागेको अवस्थामा भेटिन्छन् र त्यसको कारण मानवनिर्मित आवाज हुन्, जुन सबमरिन र सोनार उपकरणबाट उत्पन्न हुन्छन् ।’ उनको खोज छ– जलीय स्तनधारी यताउता जान इको–लोकेसन प्रयोग गर्छन् र कुनै कुराले नेभिगेसनमा गडबड भए अलमलमा पर्छन् र जमिनतिर जान्छन् । घोषले ‘द ग्रेट डिरेन्जमेन्ट’, ‘गन आइल्याण्ड’, ‘नटमेग्स कर्स’, ‘द हंग्री टाइड’ जस्ता कृतिमार्फत गैर–मानव दृष्टिकोणबाट वातावरणलाई केन्द्रमा राखी लोककथा, मिथक, विज्ञान र साम्राज्यवादको अवधारणा लेखेका छन् । उनको लेखनले जलवायु साहित्यमा ठूलो योगदान गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०८० ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×