कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

पोखरी आफैं धमिलिँदैन

बाहिरी चिज परेपछि पोखरी मैलो हुने हो, पोखरी र मान्छेका सम्बन्ध उस्तै हुन्छन्
बालकृष्ण कट्टेल

अमला खाएपछि पानी पनि खानु, मुख गुलियो हुन्छ,’ टेकनाथले दिएको अमला सुरक्षाले मुखमा हाल्दै गर्दा, टेकनाथ बोल्यो, ‘अमिलोलाई गुलियो बनाउने चिज पनि हुन्छ भन्ने बिर्सनु हुन्न ।’

पोखरी आफैं धमिलिँदैन

‘कत्ति कुरा त बिर्सेकै राम्रो ! सबै सम्झिन थाले डर पो लाग्छ !’ सुरक्षा मुसुक्क हाँसी । ऊ हाँस्दाको दृश्यले टेकनाथलाई गोठीकाँडाको घटना सम्झाइदियो ।

सुरक्षाले सोधी, ‘अनि तिमी पुराना कुरा सबै बिर्सन सक्छौ ?’ ‘सबै सक्दिनँ, तर बिर्सनेहरू बढी खुसी हुन्छन रे । त्यसैले कति त बिर्सिदिन्छु ।’ सुरक्षाले मुखको अमलालाई किरिक्क टोकी । दुवैको मुखबाट एकछिन शब्द निस्किएनन्, तर दुवैका आँखा बोले । ‘तिमीलाई केसँग डर लाग्छ बढी?’, सुरक्षाले नै सोधी । ‘कसैले गरेको वाचासँग ।’ ‘किन ?’

‘वाचाले आशा जगाइदिन्छ । अनि त्यो पूरा नभए मन दुख्छ ।’ ‘दुख्नलाई त घाउ लाग्नुपर्छ नि, हैन ?’

‘बाहिर घाउ देखिएन भन्दैमा भित्र नदुख्ने पनि हुन्छ र ?’

सुरक्षाले थप प्रश्न गरिन । उनीहरूको बबई रिसोर्टको यो भेट योजनासहितको थिएन । टेकनाथ त्यहाँ पुगेपछि सुरक्षा पनि आएकी छ भन्ने थाहा पायो । सुरक्षालाई अमला मन पर्छ भन्ने उसलाई थाहा थियो । भेट्नेबित्तिकै आफैंले खान बोकेको अमला दियो । केही समयअघि उनीहरूको भेट कोहलपुरमा भएकाले दुवैलाई यो भेटमा कुरा गर्न गाह्रो भएन ।

सुरक्षा र टेकनाथको कोहलपुरको भेट धेरै वर्षपछिको थियो । माघीमा कोहलपुर सानीमाकोमा गएका बेला सानीमा र सुरक्षाले रुपेडिया जाने सल्लाह गरे । मध्याह्नको समय, हिउँदको दिन न्यानो थियो । सानीमाले टेकनाथलाई फोन गरेर बोलाइन् । ऊ टाँगा चलाउँथ्यो र सानीमाको घर नजिकै चप्परगौडी बस्थ्यो । केही पर्दा सानीमा उसैलाई बोलाउँथिन् । उनीहरू एकार्कालाई ‘दिदी भाइ’ सम्बोधन गर्थे । सुरक्षाले टेकनाथलाई यही क्रममा भेटेकी थिई ।

रुपेडिया पुगेपछि सुरक्षाले कुर्ता, मेकअपका सामान र सोनपापडी किनी, सानीमाले इन्डक्सन चुल्हो र चामल । सुरक्षालाई टाँगा चढेर अझै घुम्न मन थियो । उसको घर सुर्खेत नेवारेतिर त्यस्तो टाँगा हुँदैनथ्यो । त्यसैले फर्कंदा सानीमालाई बागेश्वरी मन्दिर निस्किएर जाउँ भनी । उसलाई मन्दिर जानुभन्दा पनि टाँगामा घुम्नु थियो । सानीमा त जान चाहेकी थिइनन् । तर, सुरक्षाका लागि टेकनाथलाई घरबारी टोल हुँदै फर्कन भनिन् । ‘मन्दिर पनि पस्ने हो ?’ टेकनाथले सोध्यो । ‘हो’, सुरक्षाले भनी । ‘टाँगा भित्रसम्म जाँदैन । अलिक वरै रोकेर हिँड्नुपर्छ । कताबाट जाउँ?’ सोध्यो ।

‘त्यो तिमी भन । यात्रुलाई पुग्ने ठाउँ थाहा हुन्छ । बाटो त चालकलाई थाहा हुनुपर्छ नि,’ सुरक्षाले नै भनी । टेकनाथले सुरक्षालाई पुलुक्क हेर्‍यो । सानीमा बोलिनन् ।

न्युरोड पुगेपछि टेकनाथले टाँगालाई एउटा गल्लीभित्र रोक्यो र बागेश्वरी जाने बाटो देखाइदियो । हुन त सानीमालाई थाहा थियो । तर, टेकनाथ बोलिहाल्यो । सुरक्षा टाँगाबाट झरी । सानीमा त्यहीं बसिन् र टेकनाथसँग नै सुरक्षालाई घुमाएर ल्याइदिन भनिन् । मन्दिरको पोखरीछेउ पुग्नै लाग्दा टेकनाथले सोध्यो, ‘सानीमा किन नआउनुभएको ?’ उसको प्रश्नलाई टारिदिउँकि झैं लाग्यो सुरक्षालाई, तर ढाँटिन । भनी, ‘उहाँको महिनावारी भएको छ रे । यस्तो बेला मन्दिर जान मान्नु हुन्न ।’

कुरो सुनेर टेकनाथ अलमलियो, हिँड्दाहिँड्दै रोकियो । ‘महिनावारी हुँदा मन्दिर जानु हुन्न’ भन्नेहरू अझै छन् भन्ने कुराले छक्क प‍र्‍यो । ऊ रोकिएपछि सुरक्षा पनि रोकिई र टेकनाथतिरै फर्केर उभिई ।

‘के भनेको यस्तो ?’ सोध्यो ।

तर, सुरक्षा बोलिन । आफैंतिर फर्केर उभिएकी सुरक्षालाई एकटकले हे‍र्‍यो । चिउँडो छेउमा काटेको दाग र निधारको देब्रेपट्टिको खत उस्तै थिए । पहिले उसलाई आँखा अलिक कैला हुन् कि जस्तो लागेको थियो । अहिले अलिक काला देख्यो । गाजलले होला, यस्तै सोच्यो । र, बोल्यो, ‘हुन त म टाँगा चलाउने मान्छे । तर नि, सुरक्षा, मन्दिरमा बस्ने पहिलो भगवान् महिला नै थिइन् नि हैन ?’ सुरक्षा चुप लागेर टेकनाथलाई हेरिरही । धुलो र पसिनाले मैलिएको, छेउतिर फाट्न थालेको टोपी लगाएको टेकनाथले यस्तो प्रश्न गर्ला भन्ने उसको कल्पनामा पनि थिएन ।

सुरक्षालाई यो विषयमा लामो कुरा गर्न मन लागेन । कुरोलाई अन्तै मोड्न चाही, ‘तिमी यो टोपी सधैं लगाउँछौ ?’

‘हजुर । म सधैं लगाउँछु,’ उसले बुझ्यो सुरक्षा कुरा छल्न चाहन्छे । ‘किन नि ?’

‘मेरो टाउकोमा टक्क मिल्छ त्यसैले ।’

सुरक्षा मुस्कुराई । र, थपी, ‘कति भयो टाँगा चलाउन थालेको ?’ ‘बिर्सिएँ । मलाई त बिर्सन मन पर्छ । बिर्सन जानियो भने पुराना कुराले दुखाउँदैन ।’

‘त्यस्तो दुखाउने कुरा पनि छ र तिमीसँग?’

‘छ एउटा । बेलाबेला दुःख दिन्छ ।’

‘अनि त्यो चाहिँ किन नबिर्सेको त ?’

‘कुनैकुनैले चाहिँ दुःख दिए पनि आनन्द लाग्दोरछ, त्यही भएर ।’ टेकनाथलाई कुरा लम्ब्याउन मन लागेन । सुरक्षाले पनि त्यस्तै बुझी । आफ्नै आँखातिर झरेको कपाल समाउन हात उठाई । यसो गर्दा उसको छातीको लुगा तन्कियो । आकाशे रङको नीलो आउटर लगाएकी थिई । भित्र बुट्टेदार कुर्ती । कुर्तीभित्र के छन्, त्यो त यस्सै देखेन । तर, टेकनाथलाई सुरक्षाले ब्रा नमिलाई लगाएजस्तो लाग्यो । कपाल हाइलाइट गरेको ठीकै लाग्यो उसलाई ।

न्युरोडमा टाँगा धेरैबेर राख्न पाइँदैनथ्यो । त्यसैले उनीहरू मन्दिर घुम्न हतारिए । सुरक्षाले मन्दिरको भित्तो छोई र ढोगी । ‘सानीमा पनि आउनुभएको भए रमाइलो हुन्थ्यो,’ टेकनाथले भन्यो, ‘मन्दिरमा सँगै फोटो पनि खिच्न हुन्थ्यो ।’

‘खै मान्नु भएन । होस्, अब यो कुरा नगरौं ।’

‘तर’ टेकनाथ चुप लागेन, ‘सानीमालाई सम्झाउनु । महिनावारीले मान्छेलाई अछूत बनाउँदैन । यो त महिलाहरूको शक्ति र योग्यता हो नयाँ जीवन निर्माणको । यसले त महिलाहरूलाई एक हुने अवसर पो दिन्छ । यस्तो बेलामा खुसीको उत्सव मनाउनुको सट्टा छुनै नहुने भनेर टाढिने हो र ?’ ‘महिनावारीलाई उत्सव मनाउने ...?’

‘हो ...’, सुरक्षा बोल्दाबोल्दै ऊ बीचैमा बोल्यो ।

‘उत्सवले मान्छेलाई आफ्नो कुरा भन्ने मौका दिन्छ । देखेकी छैनौ, मान्छेहरू चाडपर्वमा किन नाचगान गर्छन् ? कहिल्यै बाहिर निस्कन नपाएकाहरू पनि साथीसंगी भेटेपछि कसरी खुल्छन् र आफ्ना सुखदुःखका कुरा गर्छन् ? पर्वले भेटघाट र कुरा गर्नेमौका दिन्छ ।’

सुरक्षा केही बोल्न खोजी, तर शब्द आएन ।

यति भनी, ‘खै के भन्ने ? बिस्तारै राम्रो होला नि ।’

टीभीमा आउने स्यानिटरी प्याडको सोस्ने शक्तिलाई देखाउन रातो मसीको ठाउँमा निलो मसी प्रयोग हुनु महिनावारीका बारेमा बोल्न नचाहने आम वृत्तीको संकेत हो भन्दै यसमा सुरक्षा वा उसकी सानीमाको मात्रै निजी हिचहिचाहट नभएको प्रसंग भाका मिलाएर झिक्यो । अनि भन्यो, ‘त्यस्तो विज्ञापनले कस्तो ज्ञान देला ?’ महिनावारीलाई मानसिभन्दा पर राखेर त्यसमा डर भरिदिएको हुनाले यो सब भएको र त्यो एक हिंसा हो भन्ने उसको तर्क सुनेर सुरक्षा खङ्रङ्ग भई । किनभने, टेकनाथले यति गहिरो कुरा गर्ला भन्ने उसले सोचेकी पनि थिइन । मन्दिर नजिकैको पोखरी छेउमा गएर धूप बाली उसले । पोखरी ह्वास्स गनायो । ‘कति मैलो, कहिल्यै सफा नगरे जस्तो,’ भनेर एक सुरले गनगनाइ । टेकनाथले पोखरीतिर हेर्‍यो र भन्यो, ‘पोखरी आफैं मैलिँदैन, सुरक्षा । बाहिरका चिज त्यसमा पर्न थालेपछि मैलो हुने हो । पोखरी र मान्छेका सम्बन्ध उस्तै हुन्छन्, बाहिरका मिसिन थालेपछि मैलिन्छन् ।’ यसो भनेर उसले सुरक्षालाई पुलुक्क हेर्‍यो । माघको महिना भए पनि सुरक्षाका गाला राता थिए ।

टेकनाथले चिनिसकेको थियो यो त्यही सुर्खेत नेवारेकी सुरक्षाले हो भनेर । तर, सुरक्षाले ठम्याउन सकेकी थिइन टेकनाथ सुर्खेत गोठीकाँडाकै टेकेन्द्र हो भनेर । उनीहरू एउटै स्कुल पढेका अत्यन्तै मिल्ने साथी थिए । एकदिन देउती बज्यैकोमा गएर कहिल्यै नछुट्टिने वाचा गरेर गोठीकाँडा घुम्न गएका थिए जो कहिल्यै पूरा भएन । स्कुलकै अर्को साथीले कुरा लगाइदिएपछि सुरक्षाका बुवाले उसलाई स्कुलबाट नै निकालिदिएका थिए । त्यसपछि टेकेन्द्र र सुरक्षाको भेट भएन । टेकेन्द्र त अब सुरक्षालाई कहिल्यै भेट्दिनँ भनेर कोहलपुर झरेको थियो । तर, सबै चाहेअनुसार हुँदैन । सुरक्षा र टेकनाथको कोहलपुरको भेट पनि त चाहे अनुसारको थिएन ।

कोहलपुर झरेपछि टेकेन्द्र लखनउ गएर उच्च शिक्षा पढ्यो, त्यहीं टेकनाथ भयो । तर, कोहलपुर फर्किएपछि जागिर पाउन सकेन । एक/दुई पटक लोकसेवा कोसिस ग‍र्‍यो, सफल भएन । ऋण गरी व्यापार गर्ने पनि सोच्यो, आँट आएन । नेपालगन्जमा टाँगा राम्रो चलेको देख्यो र उसले पनि टाँगा भाडामा लिएर त्यही काम सुरु गर्‍यो । सुरक्षालाई यो सबै थाहा थिएन । त्यसैले उसले टेकनाथलाई एक सामान्य सुझबुझको टाँगावाला ठान्नुमा अन्यथा पनि थिएन ।

उनीहरू कुरा गर्दै न्युरोड पुगे । टेकनाथले टाँगा चालु गर्‍यो । सानीमाले केही सोधिनन् । कोहलपुरतिर लागेपछि सुरक्षाको मनमा कुराहरू खेल्न थाले । सबैभन्दा बढी पोखरीको पानी र मान्छेको सम्बन्धको कुराले छोयो उसलाई । त्यसले उसको गाउँको भेरी नदी सम्झायो । ‘भेरीमा बर्खाको भेल नपस्ने हो भने त्यो पनि धमिलो हुँदैन । सङ्लो चिज धमिल्याउने त बाहिरकै हुँदारछन्, ठीक भन्यो टेकनाथले ।’ उसको मनमा यो कुरा पटकपटक दोहोरियो । स्कुल हुँदा टेकेन्द्रसँगको सम्बन्ध पनि बाहिरकै मान्छेले धमिल्याइदिएको थियो । ऊ यो कुरा टेकेन्द्रलाई भन्न चाहन्थी, तर भेट्नै पाइन । आज टेकेन्द्रकै टाँगामा थिई, तर चिन्नै सकिन ।

बबईमा सुरक्षासँग अमला खाएको दिन टेकनाथ त्यही रिसोर्टमा सामान पुर्‍याउन गएको थियो । त्यहाँ पुगेपछि त्यहीं भइरहेको कार्यक्रममा सुरक्षा पनि आएको थाहा पायो र उसलाई भेट्यो अनि अमला दियो जो दुवैले खाए । कोहलपुर र रुपेडिया घुम्दाका कुरा गरे । सुरक्षालाई अमला मन पर्छ भनेर टेकनाथले सुर्खेत पढ्दा नै थाहा पाएको थियो । त्यहीं पढ्दै हो उनीहरूले एकअर्कासँग नछुट्टिने वाचा गरेका । बबईमा भेट्दा टेकनाथले त्यो समयको कुरा गरेन । सुरक्षाले त उसलाई चिन्दा पनि चिनिन । टेकनाथले सबै कुरा भन्ने आँट पनि गरेन । दुवै एकैछिन गफिएर बिदा भए । फर्कनुअघि टेकनाथले भन्न नसकेको कुरा एउटा कागजमा लेखेर त्यही रिसोर्टको भाइलाई छाडेको थियो जो सुरक्षाले एकै साथ पढी–

‘अमला खाएर पानी खानु, मुख गुलियो हुन्छ भन्यौ । त्यो कुराले पुरानो याद दिलायो । हामी देउती बज्यै र गोठीकाँडा घुम्न जाँदा पनि तिमीले त्यसै भनेकी थियौ । तर, तिमीसँग छुट्टिएपछि अमिलो बनेको मेरो मन अहिलेसम्म गुलियो भएको छैन । बरु उल्टै अचेल त पानी खाएपिच्छे चहर्‍याइरहन्छ । तिमीले त म टेकेन्द्र हो भनेर चिन्दा पनि चिनिनौ । तर, मैले तिमीलाई बागेश्वरीमै चिनिसकेको थिएँ, २७ वर्षपछि पनि....।’

प्रकाशित : फाल्गुन १२, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×