कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वृत्तचित्रमा लेनन वृत्तान्त

प्रख्यात गायक जोन लेनन (सन् १९४०–१९८०) को हत्या भएको ४३ वर्ष पुग्दै छ । त्यो हत्या प्रकरणका विषयमा यो साता एप्पल टीभी प्लसले बहुप्रतीक्षित वृत्तचित्र सार्वजनिक गर्दै छ । 
लेननलाई गोली हाने पछि च्यापम्यानले भनेका थिए– मैले तिम्रो रात बर्बाद पारेँ, मलाई माफ गर ! प्रत्यक्षदर्शीले च्यापम्यानलाई भने– तिमीले त आफ्नो पूरै जिन्दगी नै बर्बाद पार्‍यौ ।
सजना बराल

उही प्रख्यात ‘इम्याजिन’ गीत कतै–कतै सुनको हो, तर जोन लेननबारे उति ख्याल गरेको थिइनँ । त्यस बेला उनी मेरो जमातका स्टार थिएनन् । हामी ‘फु फाइटर्स’, ‘ग्रिनडे’, ‘गन्स एन रोजेज’, ‘लिंकिन पार्क’, ‘रेड हट चिल्ली पिपर्स’ जस्ता अलि पछिल्ला रक ब्यान्ड पछ्याउँथ्यौं । बिटल्सहरू पुराना लाग्थे ।

वृत्तचित्रमा लेनन वृत्तान्त

जमलस्थित डोरेमी स्टुडियोमा संगीतकार न्ह्यु बज्राचार्यको कोठा छिर्नासाथ भित्तामा लेननको ठूलो फोटो–फ्रेम देखियो । विश्व शान्ति, सौहार्द र सद्भावको गीत गाउने लेनन न्ह्यु सरका प्रेरणा रहेछन् । त्यही बेला पहिलो पटक लेननलाई ख्याल गरें मैले ।

संयोगचाहिँ कस्तो भने त्यस दिन म शान्ति र सद्भावकै अर्को गीत ‘फूलको आँखामा फूलै संसार’ तयार पार्दाको न्ह्युको अनुभव सोध्न गएकी थिएँ । न्ह्युले भने, ‘अपत्यारिलो लाग्ला, तर फूलको आँखामा कम्पोज गर्न मलाई कुनै मेहेनत गर्नुपरेन, गीतका शब्द सुन्नासाथ संगीत फुरिहाल्यो, १० मिनेटमै गीत तयार भयो ।’ गीतकार दुर्गालाल श्रेष्ठ र गायिका आनी छोइङसँग पनि कुराकानी गरेर ‘फूलको आँखामा’ को रचना–गर्भ लेख्ने प्रयास त गरें, राम्रो लेखिनँ । १० मिनेटमै तयार भएको गीतको कथा लेख्न मलाई भने १० दिनसम्मै हम्मेहम्मे परेको थियो ।

८/१० वर्षअघि डोरेमीको त्यो साँघुरो भर्‍याङबाट सिधै सडकमा ओर्लिंदै गर्दा मेरो दिमागमा जोन लेनन खेलिरहे । न्ह्यु सरले लेननको गायकी, पियानो र गितारवादनबारे थोरै बताएका थिए । मलाई अलि बढी जान्न मन लाग्यो । लामो कपाल र लाम्चो मुखाकृतिका कारण तस्बिरमा जिसस क्राइस्टजस्तै देखिने लेननबारे इन्टरनेटमा खोजी हेरें । जिसससँगको उनको अनौठो संयोगहरूबारे थाहा पाउँदा रोचक त के भन्नु, अलिक आश्चर्य लाग्यो । कुनै बेला लेननले ‘जिससभन्दा बिटल्स चर्चित छ’ भन्ने अभिव्यक्ति दिएका थिए रे ! त्यसलाई लिएर धार्मिक विवाद बढेपछि उनले माफीसमेत मागेको भन्नेबारे इन्टरनेटमा विविध लेखहरू देखिए ।

धर्म, राजनीति र यौनसम्बन्धी स्पष्ट भनाइ राख्ने लेनन स्वर्ग, नर्क, देश र धर्मले विभाजित नभएको समाजसम्बन्धी ‘इम्याजिन’ एवं ‘भगवान्मा होइन, आफ्नै सिर्जनामा विश्वास गर्छु’ भन्ने आशयको ‘गड’ जस्ता गीतहरूका कारण पटक–पटक विवादमा तानिएका रहेछन् । उनका अभिव्यक्तिबाट रुष्ट र चर्चाबाट मुर्मुरिएका सनकी र मानसिक स्वास्थ्य समस्या भएका एक युवाले गोली हानी उनको हत्या गरेको थाहा पाउँदा दसकौंपछि म दुःखी भएँ । सन् १९८० डिसेम्बर ८ मा ४० वर्षका लेननको हत्या गरेका मार्क डेभिड च्यापम्यान विगत ४३ वर्षदेखि जेलमा छन् । आफूलाई ‘द बिटल्स’ र लेननको प्रशंसक मान्ने उनले विश्व–चर्चित हुन लेननको हत्या गरेको बताएका छन् ।

कैद छुटका लागि सन् २००० देखि हरेक दुई–दुई वर्षमा हुँदै आएको च्यापम्यानको निवेदनमाथिको सुनुवाइ गत वर्ष अगस्टमा १२ ‌औं पटक खारेज भएको थियो । उनले २५ वर्षको छँदा लेननलाई उनकी श्रीमती योको ओनोकै सामुन्ने पाँच राउन्ड गोली हानी हत्या गरेका थिए । अहिले ६८ वर्षका भएछन् । हाल आफूलाई त्यो कर्तुत सम्झिएर पछुतो लाग्ने र ओनोलाई पीडा दिएकोमा हरसमय ग्लानि महसुस हुनेबारे च्यापम्यानले बताएको बीबीसीले लेखेको छ । उनले लेननलाई गोली हानेलगत्तै ‘हत्तेरीका, मैले तिम्रो रात बर्बाद पारें, मलाई माफ गर’ भन्दै हिँडेको एक प्रत्यक्षदर्शीले बताएका छन् । त्यो बेला आफूले च्यापम्यानलाई ‘तिम्रो होस त ठेगानमा छ ? लेननको रात होइन, तिमीले आफ्नो पूरै जिन्दगी बर्बाद पार्‍यौ’ भनेको ती प्रत्यक्षदर्शीले बताएका छन् ।

जोन लेननको जीवनी र हत्या प्रकरणबारे हालसम्म बाहिर नआएका यस्ता अनेक भनाइ र तथ्यसँगै तस्बिर र श्रव्य–दृश्य सामग्रीसहित आउँदो बुधबार (डिसेम्बर ६ मा) एक डकुसिरिज सार्वजनिक हुँदै छ । एप्पल टीभी प्लसमा आउन लागेको ‘जोन लेनन : मर्डर विदआउट अ ट्रायल’ शृंखलाका लागि निर्माताले सूचनाको हकसम्बन्धी विशेष अधिकार प्रयोग गरेर हत्याकाण्डका प्रत्यक्षदर्शीसहित लेननको जीवनका खास मानिसहरूसँगको कुराकानीलाई भिडियोमा समावेश गरेको बताएका छन् ।

आउँदो शुक्रबार लेनन बितेको ४३ वर्ष पुग्नुभन्दा एक दिनअघि रिलिज हुन लागेको सो शृंखलाबारे लेनन एवं ‘द बिटल्स’ का प्रशंसकसहित क्राइम विधाका चलचित्र मन पराउनेमाझ निकै चर्चा छ । उक्त वृत्तचित्रमा लेननको संगीत–यात्रा र त्यसको सांस्कृतिक प्रभावसँगै सन् १९८० को दशकको अमेरिकी समाज–सन्दर्भ पनि समावेश गरिएको निर्देशकद्वय निक हल्ट र रब कोल्ड स्ट्रिमले बताएका छन् । विश्व संगीत इतिहासको एउटा बेहद दुःखद र सबैलाई आश्चर्यमा पारेको सो घटनामार्फत निर्माताले मानसिक स्वास्थ्य समस्या, न्याय प्रणाली र बन्दुक सुरक्षासम्बन्धी अमेरिकामा लामो समयदेखि चलिरहेको बहसमा नयाँ–आयाम थप्न चाहेको पनि बताइन्छ ।

गएको मंगलबार एप्पल टीभीले युट्युब च्यानलमा अपलोड गरेको उक्त वृत्तचित्रको ट्रेलरको एकै दिनमा ५० हजार भ्युज पुगेको थियो । त्यसअघि गत अप्रिलमा सार्वजनिक भएको ‘द लस्ट विकेन्ड’ नामक डकुमेन्ट्रीमा पनि लेनन र उनका प्रेम सम्बन्धहरूबारे देखाइएको थियो । ‘मर्डर विदआउट अ ट्रायल’ को विशेषताचाहिँ यसमा घटनास्थलका तस्बिर र प्रत्यक्षदर्शीका अनुभव समावेश छन् । हवाईका फोटोग्राफर च्यापम्यानले किन लेननको हत्या गरे ? त्यसबारे वृत्तचित्रमा आधिकारिक भनाइ राख्न खोजिएको छ । ट्रेलरमा लेननले भनेका छन्, ‘शान्तिलाई कसैले पर्याप्त अवसर दिएको छैन । गान्धी, मार्टिन लुथर किङलगायतले प्रयास गरेका थिए तर असामायिक र अकल्पनीय मृत्युले उनीहरूलाई रोक्यो ।’

खैर, डोरेमीकै दिनमा फर्कौं । हाल बन्द भइसकेको ‘शुक्रबार’ साप्ताहिकका लागि ‘फूलको आँखामा’ गीतको कथा लेखिरहँदा मलाई ‘इम्यजिन’ गीतको पनि कथा बुझ्न मन लाग्यो । लेननले सुरुमा त्यो गीत आफैंले लेखेको बताए पनि पछि श्रीमती योको ओनोको कविताबाट प्रेरित भएको र गीतकारका रूपमा उनलाई पनि श्रेय दिनुपर्ने खुलासा गरेछन् । जापानी मूलकी गायिका ओनोले सन् १९६४ मा सार्वजनिक गरेको आफ्नो चित्र–पुस्तक ‘ग्रेपफ्रुट’ मा ‘इम्याजिन द क्लाउड्स’, ‘इम्याजिन माइसेल्फ क्राइङ’ जस्ता भावना लेखेकी थिइन् । त्यहीँबाट ‘इम्याजिन’ लगायत शब्दहरू टिपेर लेननले विश्व शान्तिको गीत बनाएका रहेछन् ।

‘फूलको आँखामा’ को प्रसंगमा न्ह्युले थप भनेका थिए, ‘कहिलेकाहीँ राम्रो सिर्जना तयार गर्न समय लाग्दैन, फ्याट्टै बन्छ र काम गर्दा निकै रमाइलो महसुस हुन्छ ।’ लेननले पनि एकै बिहानमा ‘इम्याजिन’ तयार पारेको अर्को सानो प्रसंग फे‍ला पारेपछि यी दुई शान्ति गीतको साइनो जोड्न पाउँदा मलाई पनि रमाइलो लागेको छ ।

प्रकाशित : मंसिर १६, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×