२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लुइँचेको कुखुरा कायाकल्प 

लुइँचेलाई हजारौं वर्षदेखि आफूसँगै हुर्काएको थियो मान्छेले । मान्छे–कुखुरा सम्बन्ध त्यति नै पुरानो हो, जति कृषि युग थालनीको इतिहास । कुखुरामार्फत पुरानो मानव इतिहास, संस्कृति र बसाइँसराइ खोतल्न सकिन्छ ।
भोगीराज चाम्लिङ

मान्छे र कुखुराको सम्बन्ध पनि लगभग त्यति नै पुरानो छ, जति कृषि युगको थालनीको इतिहास छ । मान्छेहरू कृषि युगमा प्रवेश गरेको हाराहारीमै कुखुरा पालन सुरु भएको हो । यस अर्थमा घरपालुवा कुखुरामार्फत मान्छेको हजारौं वर्ष पुरानो इतिहास, हजारौं वर्ष पुरानो संस्कृति, हजारौं वर्षअघिको बसाइँसराइ इत्यादि खोतल्न सकिन्छ । 

लुइँचेको कुखुरा कायाकल्प 

मान्छेले खेतीपाती गर्न थालेपछि नै रूखरूखमा बस्ने, रूखका फूल र फल खाने वनकुखुरा लुइँचे जमिनमा मात्रै बस्ने घरपालुवा कुखुरा हुन पुगेको हो । कुनै बेला लुइँचेहरू घना बाँसघारीमा बाँसको फूल र दाना खाएर बाँच्थे । उनीहरू रमाउने संसार थियो– घना बाँसघारीहरू । त्यही भएकाले केही दक्षिणपूर्वी एसियाली भाषामा कुखुरालाई अहिले पनि ‘बाँसकुखुरा/बाँसपक्षी’ भनिन्छ । बाँसको घना जंगलभन्दा बाहिर लुइँचे बाँच्न सक्ने उपयुक्त स्थान भनेको मान्छेले वन फँडानी गरेर खेतीपाती गरेको भष्मे–खोरियाहरू नै थियो । मान्छेले खेतीपाती गरेको अन्न खान पाइने भएपछि जंगली चराहरू त्यसवरपर झुम्मिन थाले । सोही क्रममा मान्छे र लुइँचे सँगसँगै हुन थाले र पुर्खाहरूले लुइँचेलाई समातेर घरपालुवा पक्षी बनाए ।

मूलतः पुरातात्त्विक अध्ययनहरूले कागुनी प्रजातिको अन्न र धान खेती गरिएको क्षेत्रबाट वनकुखुरा लुइँचेलाई घरपालुवा बनाइएको प्रमाणित गरेको छ । भष्मे फाँडेर खेती गरिएको कागुनी खान आउने लुइँचेलाई समातेर चिनियाँ किसानहरूले घरपालुवा बनाएका हुन् । किनभने, चीनको ह्वाङ हो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुनी खेती सुरु भएकै समयदेखि चीनबाटै कुखुरा पालन सुरु भएको देखिएको छ । हालसालै गरिएको पुरातात्त्विक अध्ययनबाट चीनको दक्षिणी युनान र उत्तरी थाइल्यान्डमा इसापूर्व २००० अर्थात् आजभन्दा ४००० वर्षपहिले धान खेती गरिएको क्षेत्रमा वनकुखुरा लुइँचे पनि सँगै थियो भन्ने प्रमाणित भएको छ । खेतीपातीले मान्छेलाई त घरेलु बनायो नै, वनकुखुरालाई पनि घरेलु बनाइदियो । अहिले त कुखुरा मानव जीवनको अभिन्न सामाजिक पक्षी नै बनिसक्यो खाद्यका हिसाबले पनि, सांस्कृतिक हिसाबले पनि ।

कुखुराको मासु चाहिँ नखाने, तर सांस्कृतिक कार्यमा प्रयोग गर्ने आर्यहरू, कुखुराको मासु चाहिँ नखाने, तर खेलकुद र मनोरञ्जनका लागि पाल्ने सिन्धु सभ्यताका द्रविडहरूदेखि सांस्कृतिक कार्यहरूका साथै खाद्यवस्तुका रूपमा पनि प्रयोग गर्ने समुदायहरू छन् ।

वनकुखुरा लुइँचेलाई घरपालुवा बनाएर हजारौं वर्षदेखि आफूसँगै हुर्काएको हुनाले मान्छेहरूको समाज, संस्कृति र मिथकहरूको अभिन्न अंग बन्न पुगेको छ कुखुरा । कुखुरासम्बन्धी कतिपय मिथक यति पुराना छन् कि तपाईं–हामीले सहज अनुमानसमेत गर्न मुस्किल पर्छ । नेपाली समाजमा पनि त्यस्ता केही मिथकहरू प्रचलित छन् ।

गाउँका बूढापाकाहरू भन्नुहुन्थ्यो, ‘हाम्रो शरीर सुली र खरानीबाट बनेको हो । छाला कन्याउँदा खरानीजस्तै फुस्रो हुन्छ अनि गन्ध चाहिँ सुलीको आउँछ ।’

नभन्दै छाला कन्याएको ठाउँमा फुस्रो धुलो निस्कन्छ र गन्ध सुलीकै आउँछ । बूढापाकाबाट सुनेको सुली र खरानीबाट मान्छे बनेको मिथक पूर्वदेखि पश्चिम नेपालसम्मै दुरुस्तै प्रचलित छ । कसरी यस्तो भयो ? हामी मानवहरू कुखुराको सुली र खरानीबाट बनेका हौं भनेर किन भनियो ? यो विषय खुट्याउन हामी प्राग्इतिहाससम्मै पुग्नुपर्छ, आगोको प्रयोगसम्मै पुग्नुपर्छ, लुइँचेलाई घरपालुवा कुखुरामा परिणत गरेको इतिहाससम्मै पुग्नुपर्छ, जसबारे आदिम मिथकहरूले संकेत गरेका छन्, पुरातात्त्विक तथा आनुवंशिक (जेनेटिक) अध्ययनहरूले प्रामाणिक रूपमा तथ्य पत्ता लगाइसकेका छन् ।

***

कुखुरालाई मानव जातिले आदिम युगदेखि घरपालुवा बनाएका हुन् भन्ने विषय वैज्ञानिक अध्ययनहरूले त प्रमाणित गरिसकेकै छ । यद्यपि वैज्ञानिक रूपमा प्रमाणित हुनुपहिले पनि मान्छेहरूले त्यो कुरा मौखिक परम्परा र सांस्कृतिक अभ्यासमार्फत भन्दै आएका थिए । यस्तै एउटा मिथक प्रचलित छ किरात–राई समुदायमा । मिथकमा भनिन्छ– किरातीहरूका आदिम बजुहरू तयामा र खियामाले भोकले रुँदारुँदै सुतिगएको भाइ खोक्चिलिपा लामो समय नब्युँझिएपछि मर्‍यो भन्ठानेर विरहमा थातथलो छाडेर हिँडे ।

निद्राबाट ब्युँझिँदा दिदीहरू नदेखेपछि एक्लै बडो दुःखकष्ट खेपेर हुर्किए खोक्चिलिपा । हुर्किएपछि उनले माछा मार्न जाँदा भेटिएकी वाइलुङ्मासँग घरजम गरे र त्यस अवसरमा दिदीहरूलाई खोजेर निम्तो दिन कुखुराको भालेलाई पठाए । भालेले तयामा र खियामालाई तुवाचुङ डाँडामा फेला पारेर खोक्चिलिपाको नाम काढ्दै बास्न थाल्यो । मरेको भाइको नाम काढेर भालेले अपशकुन गर्‍यो भनेर लखेट्दै जाँदा दिदीहरू खोक्चिलिपाको घरमा पुगे र माइती–चेलीबीच सुखद पुनर्मिलन भयो । यो मिथकको पूर्ण विवरणले चाहिँ तयामा, खियामा र खोक्चिलिपाको समयमा किरातीहरू कृषि जीवनमा प्रवेश गरिसकेको संकेत गरेको छ । त्यस अर्थमा कृषि जीवनमा प्रवेश गरेपछि किरातीहरूले कुखुरा पाल्न थालेका थिए भन्न सकिन्छ ।

भारत प्रवेशपछि आर्यहरूले कुखुरालाई सांस्कृतिक कार्यमा प्रयोग गर्न थाले, तर खाद्यवस्तुका रूपमा चाहिँ अझै वर्जित छ ।

वैज्ञानिक अध्ययनका आधारमा वनकुखुरा लुइँचेबाट घरपालुवा कुखुरा विकास भएको बताउने पहिलो व्यक्ति चाहिँ चार्ल्स डार्बिन हुन् । हालसालैका आनुवंशिक (जेनेटिक) अध्ययनले पनि लुइँचे र घरपालुवा कुखुरामा वंशाणुगत समानता रहेको देखाएको छ । बरु रातो, खैरो र सिलोन गरी लुइँचेका मुख्य तीन प्रजातिबाट घरपालुवा कुखुरा विकास भएको थप विषय पनि अहिले पत्ता लागिसकेको छ ।

लुइँचेलाई घरपालुवा कुखुरा बनाइएको क्षेत्र एसिया हो । पुरातात्त्विक अध्ययनले प्राचीनकालमा चीन र भारतको जंगली वनकुखुराहरू पाइने क्षेत्रबाट कुखुरा पालन सुरु भएको देखाएको छ । हालसालै गरिएको आनुवंशिक अध्ययनले पनि दक्षिणपूर्वी एसिया, दक्षिण चीन र भारतीय उपमहाद्वीपबाटै कुखुरा पालन सुरु भएको प्रमाणित गरेको छ ।

पुरातात्त्विक अध्ययनहरूले देखाएअनुसार, कुखुरा पालनको सुरुवात इसापूर्व ६००० भन्दा पहिले अर्थात् आजभन्दा ८००० वर्षभन्दा पनि अघि दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो । त्यस्तै, मोहनजोदाडोमा गरिएको पुरातात्त्विक अध्ययनअनुसार, सिन्धु नदीको उपत्यकामा इसापूर्व २००० अर्थात् आजभन्दा ४००० वर्षपहिले कुखुरा पालन सुरु भएको हो । यद्यपि त्यसभन्दा निकै पहिले सिन्धु उपत्यकामा कुखुरा पालन सुरु भएको वैज्ञानिकहरूको अनुमान छ । उनीहरूले सिन्धुघाँटी उपत्यका इसापूर्व ३२०० अर्थात् आजभन्दा ५२०० वर्षअघि कुखुरा पालनको केन्द्रबिन्दु थियो भन्ने गरेका छन् ।

पुरातात्त्विक अध्ययनकै कुरा गर्दा इरानमा इसापूर्व ३९००, भारतमा इसापूर्व ३०००, टर्की र सिरियामा इसापूर्व २४००–२२००, जोर्डनमा इसापूर्व १२०० र इजिप्टमा इसापूर्व ११२० पहिले कुखुरा पालन सुरु भएको थियो । अफ्रिकामा भने निकै पछि मात्र कुखुरा पालन सुरु भएको थियो । अफ्रिकामा प्राप्त सबैभन्दा प्राचीन घरपालुवा कुखुराको हाड इसापूर्व ८२०–५९५ को मात्र रहेको छ । अझ पश्चिम अफ्रिकामा सन् ६०० र पूर्वी अफ्रिकामा त सन् ८०० मा मात्रै कुखुरा पालन राम्ररी फैलिएको हो ।

आनुवंशिक (जेनेटिक) अध्ययनले चाहिँ कुखुरा पालनको इतिहास अझ तन्काइदिएको छ । पुरातात्त्विक उत्खननका क्रममा फेला परेका कुखुराका हाडहरूबाट प्राप्त प्राचीन डीएनएको अध्ययनले उत्तरी चीनमा १० हजार वर्षअघि कुखुरा पालन सुरु भएको प्रमाणित गरेको छ । यो भनेको पुरातात्त्विक अध्ययनबाट पुष्टि भएभन्दा २००० वर्ष बढी हो ।

प्राचीनकालमा कुखुरा पालन खाद्यवस्तुका रूपमा मात्रै गरिँदैनथ्यो । जस्तो कि भारत प्रवेश गरेपछि आर्यहरूले पनि इसापूर्व १००० तिर कुखुरालाई सांस्कृतिक कार्यहरूमा प्रयोग गर्न सुरु गरेका थिए, तर खाद्यवस्तुका रूपमा चाहिँ अहिलेसम्म वर्जित छ । सिन्धु नदी सभ्यतामा कुखुरा पालन हुन्थ्यो तर खान होइन, खेलकुदका लागि मात्रै । इतिहासको निरन्तरताका रूपमा अहिले पनि मनोरञ्जनात्मक खेलका लागि कुखुरा पाल्ने संस्कृति जीवित छ । जस्तो कि इन्डोनेसियाको बाली क्षेत्र ।

मानवशास्त्री क्लिफोर्ड गिर्ज (डिप प्ले : नोट्स् अन द बालिनिज ककफाइट, १९७२) ले ४८ वर्षअघि इन्डोनसियाको बालीमा हुने भालेजुधाइबारे अध्ययन गरेका थिए । बालीमा भालेलाई साबुङ भनिन्छ र साबुङ शब्द थुप्रै लाक्षणिक अर्थमा प्रयोग हुन्छ– नायक, शूरवीर, बहादुर, राजनीतिक उम्मेदवार, कुमार, उत्कृष्ट, लेडिकिलर, सुकुलगुन्डा इत्यादि । यो भाषिक तथ्यले मात्रै पनि बताउँछ– इन्डोनेसियाको बाली क्षेत्रमा भालेको स्थान कति छ !

बालीका बासिन्दाहरूले कुखुराको भालेलाई खुबै मिहिनेतपूर्वक जुध्ने तालिम दिन्छन् । उनीहरू बढीभन्दा बढी समय भालेसँग बिताउँछन् । भालेलाई हुर्काउन, खुवाउन, भालेबारे कुराकानी गर्न, भाले जुधाएर रमिता हेर्नमा उनीहरूको समयको ठूलो हिस्सा खर्च हुन्छ । कतिसम्म भने भाले जुधाइको नियम ताडपत्रमा लेखिएको हुन्छ, जुन पुस्ता दरपुस्तादेखि चलिआएको परम्परा हो ।

लामो समयदेखि खाद्यवस्तु, संस्कृति, मनोरञ्जन र सजावटको पक्षीका रूपमा रहँदै आएकाले गर्दा घरपालुवा कुखुराको पालन र विश्वव्यापी प्रसार हुन पुगेको हो । जस्तो कि किरातीहरू प्राग्ऐतिहासिक युगमा पूर्वी नेपालबाट कसरी काठमाडौं उपत्यका प्रवेश गरे भन्ने थाहा पाउन कुखुराकै भालेको मिथकसम्म पुग्नुपर्छ ।

हालको संखुवासभा जिल्लाको प्राकृतिक रूपमा अति सुन्दर खेम्पालुङ क्षेत्रमा उहिले शक्तिशाली किरात राजाले राज्य गर्थ्यो । घुम्दै आइपुगेका महादेवले किरात राजालाई पिनास लगाइदिए । अनेक धामीझाँक्री लगाउँदा पनि सन्चो नभएपछि किरात राजा न्यानो ठाउँ विजयपुरतर्फ लागे । फर्किंदा बाटो नभुलियोस् भनेर बाटैभरि चौतारा, फलैंचा, देउराली बनाउँदै विजयपुरगढी पुगे । उनी सन्चो भएर फर्किंदा ती सबै कुरा भत्काएर महादेवले संखुवाखोलामा बगाइसकेका थिए, बरु बाटोभरि ठुल्ठूला भीरपहराहरू पनि बनाइदिएका थिए । बाटो भुलेर किरात राजा खेम्पालुङ पुग्न सकेनन् । बरु अरुण नदी पछ्याउँदै जाँदा महादेवले लखेटेका कारण डुलिहिँड्ने क्रममा नागराजासँग विवाह गरेर सिलिचुङ पर्वतको फेदमा बसोबास गरेर बसेकी आफ्नी रानीसँग पो उनको आकस्मिक मिलन भयो ।

साल्पा रानी बनेकी उनकी श्रीमतीले नागराजासँग विवाह गरिसकेको र नागराजाले थाहा पाए डसेर मार्छ भनेर सम्झाउँदै किरात राजालाई कुखुराको भाले दिएर भनिन्, ‘जहाँ बास्छ, त्यहाँ राज गर्नू ।’ पहिलो र दोस्रो बासमा भाले बासेन, तेस्रो दिन काठमाडौं उपत्यका आइपुग्दा भाले बासेको हुनाले किरात राजा काठमाडौंमा शासन गरेर बस्यो । यो मिथकले प्राचीनकालमा किरातीहरू पूर्वी नेपालबाट काठमाडौं उपत्यका प्रवेश गरेको र काठमाडौं प्रवेश गर्नुभन्दा पहिले नै किरातीहरूले कुखुरा पालन सुरु गरिसकेको संकेत गरेको छ । त्यस्तै, प्राचीनकालमा मान्छेहरूले बसाइँसराइका क्रममा आफूसँगै कुखुरालाई एक ठाउँबाट अर्को ठाउँमा सारेका थिए भन्ने संकेत पनि यो किराती मिथकले गरेको छ ।

हुन पनि हो मानवशास्त्री, पुरातत्त्वविद् र आनुवंशिक वैज्ञानिकहरूले दुई चरणमा कुखुरा पालन विश्वमा फैलिएको बताएका छन् । पहिलो चरणमा आदिम बसाइँसराइका क्रममा मान्छेहरूले आफूसँगै कुखुरा बोकेर हिँडे । दोस्रो चरणमा व्यापारका क्रममा कुखुरालाई साथमा लिएर विश्वभरि फैलाए ।

जस्तो कि पुरातात्त्विक अध्ययनअनुसार, चीनबाट कोरिया र कोरियाबाट जापानमा इसापूर्व ३०० देखि इसाको ३०० मा कुखुरा पुगेको हो । चीनबाटै युरोपमा कुखुरा फैलिएको हो ।

जस्तो कि अफ्रिकी गाउँहरूका घरपालुवा कुखुराहरूको आनुवंशिक अध्ययनले देखायो– जिम्बाबेका गाउँघरमा पालिने कुखुराहरू दक्षिणपूवी एसिया र भारतीय उपमहाद्वीपबाट फैलिएको हो । त्यस्तै मडागास्कर गाउँमा गरिएको आनुवंशिक अध्ययनअनुसार, त्यहाँ इन्डोनेसियाबाट कुखुरा पुगेको हो । अफ्रिकाका अन्य ठाउँमा पनि एसियाबाटै व्यापारिक मार्ग हुँदै कुखुरा पुगेको हो ।

लामो दूरीमा पनि बोक्न सजिलो भएकाले समुद्र यात्राबाट पनि कुखुरा एकदेखि अर्को ठाउँमा लैजान सम्भव भयो । यही तरिकाले कोलम्बसभन्दा पहिले नै दक्षिण अमेरिकामा कुखुरा पुर्‍याइएको थियो ।

***

निश्चय नै इतिहास अध्ययनमा आदिम मिथकका संकेतहरू निकै उपयोगी हुन्छन् । मैले सुरुमै उल्लेख गरेको कुखुराको सुली र खरानीबाट मान्छे बनेको मिथक सबैभन्दा पहिले गाउँका बूढापाकाहरूको मुखारविन्दबाट सुनेको थिएँ । ‘क्याम्पस’ पढ्न थालेपछि ठ्याक्कै त्यही मिथकलाई खसनेपाली साहित्यका विख्यात हास्यव्यंग्यकार भैरव अर्यालको ‘ब्रह्माको प्रयोगशालाबाट’ निबन्धका रूपमा फरक स्वाद र शैलीमा पढ्न पाएको थिएँ ।

भैरव अर्यालले मान्छे र समाजका कमीकमजोरीहरूमाथि रमरम व्यंग्य गर्ने शैलीमा कुखुराको सुली र खरानीबाट मान्छे बनेको मिथकलाई रोचक रूपमा प्रस्तुत गरेका छन् । ब्रह्माले मान्छे सृष्टि गर्नुभन्दा पहिले परीक्षणका रूपमा पानीमा माटोको धुलो मुछेर पक्षी बनाए र त्यो पक्षी यसरी बास्यो– कुखुरी काँ । परीक्षण सफल भएपछि ब्रह्माले सुनको मान्छे बनाएर बोलाए, तर बोलेन । एवम्रीतले चाँदी, तामाको मान्छे बनाएर बोलाए, तर बोलेन । रिसको झोंकमा ब्रह्माले त्यही कुखुराको सुली र अगेनाको खरानी मुछेर विरुपको मूर्ति बनाएर प्राण भर्दै बोलाए, ‘ओ मान्छे भाते ।’ त्यो विरुप मूर्ति पो मुन्टो निहुराएर बोल्यो, ‘ज्यू ।’ हो, यति रोचक निबन्धका रूपमा यो मिथक पढ्दा अर्कै मज्जा आउँछ ।

ठ्याक्कै यही मिथकलाई पश्चिम नेपालमा खस समुदायमा धामीहरूले कैरन (मन्त्र) का रूपमा फलाक्ने गर्छन् । अमेरिकी मानवशास्त्री ग्रेगोरी मस्कारिनेकले ‘नेपाली झाँक्री र यिनीहरूको मन्तर’ शीर्षकमा प्रकाशित गरेको कैरन पढ्दा त्यसको मज्जा अझ अर्कैखालको हुँदो रहेछ–

(महादेवले) लौ सुनको (मञ्जुत्या/मान्छे) बनाऊ भनेर

हात जोड्या, पाउ जोड्या, शिर जोड्या, भएन

त्यहाँबाट चाँदीको मञ्जुत्या बनाया

हात जोड्या, पाउ जोड्या, शिर जोड्या, भएन

त्यहाँबाट तामाको बनाया...

ऊ पनि बोलेन

त्यहाँबाट पितलको बनाया बोलेन

(महादेवले) त्यो कुखुरा (सुनभाल्या) को अभेद (सुली) र खरानी जमाया, मञ्जुत्या बनाया...

‘बोल् मञ्जुत्या’ भने,

हाँ हाँ हुँ हुँ गर्‍यो

‘मरी गयाइ’ भनी महादेवले सराप दिया ।

महादेवले अजम्बरी प्राणी बनाउँछु भनेर सुन, चाँदी, तामा, पितलको मान्छे बनाए, तर सफल भएनन् । बरु खरानी र सुलीबाट बनेको मरणशील मान्छे चाहिँ बोल्यो । मानव सृष्टिसम्बन्धी यो मिथक पूर्वी नेपालको किरात समुदायमा पनि उत्तिकै व्यापक छ, तर ससानो भिन्नतासहित । जस्तो कि थामी समाज (सारा बेथ स्नेइडरम्यान, रिचुअल्स एन्ड इथ्निसिटी, २००९) मा भनिन्छ– सुरुमा महादेवले सुनको मान्छे बनाए, तर बोलेन । चाँदीको मान्छे बनाए, तर बोलेन । क्रमैसँग फलाम र तामाको मान्छे बनाए, तर बोलेन । त्यसपछि विष्णुले खरानी र कुखुराको सुली मुछेर नाइटोभन्दा माथिको भाग बनाए, महादेवले नाइटोभन्दा मुनिको भाग बनाए अनि दुवैले बनाएको अलगअलग अंग जोडिदिए । ‘ए मनुवा’ भनेर बोलाउँदा बोल्यो । त्यसपछि भगवान्ले मनुष्यलाई ‘लु जा, तेरो मर्ने चोलो भयो’ भने ।

जस्तो कि लिम्बू समुदायमा प्रचलित मुन्धुम (बैरागी काइँला, चइःत् मुन्धुम : सृष्टिवर्णन, २०६०) मा यसरी भनिन्छ– पोरोक्मियम्फामिबाले सुन र चाँदीको मूर्ति बनाएर प्राण भरे, तर बोलेन । त्यसपछि माटाको धुलो मुछेर मूर्ति बनाएर बोलाउँदा ‘हौ’ गर्दै बोल्यो । त्यो क्षणभङ्गुर भएकाले पोरोक्मियम्फामिबाले देवनिगालो र मालिङ्गो डढेर बनेको खरानी र डाँफे–मुनाल चराहरूको विष्टा पानीमा मुछेर मान्छेको प्रतिमूर्ति बनाए । प्राण हालिदिएर बोलाए, ‘पृथ्वी भोग गर्ने मेरो मानषपुत्र हे मनुष्य ।’

मनुष्यले पनि ‘के भन्यौ हा’ भनेर जवाफ दियो । सृष्टिकर्ता पोरोक्मियम्फामिबा दिक्क भएर थुक्कथुक्क मनुवा भनेर गाली सराप दिँदा मान्छेको हंस (सातो) गएको हुनाले जोर कुखुरा भाकेर सातो हालिदिए ।

लिम्बू, थामी र खस समुदायबाट संकलन भएर प्रकाशित भएका मानव उत्पत्तिसम्बन्धी यी मिथकको आधारभूत कुरा एउटै छ । केवल खस समुदायमा प्रचलित कैरनमा महादेवले मानव सृष्टि गरेको वर्णन छ, थामी समाजमा महादेव र विष्णुले संयुक्त रूपमा सृष्टि गरेको वर्णन छ र लिम्बू समुदायमा मानव सृष्टि गर्ने पात्र पोरोक्मियम्फामिबा भनिएको छ । केवल थामी र खसमा कुखुराको सुली भनिएको छ, लिम्बूमा डाँफे र मुनालको सुलीसँग खरानी मुछेर मान्छे बनाएको भनिएको छ । मिथकमा आधारभूत कुरामा कुनै भिन्नता देखिँदैन, जबकि इतिहासमा खस र किरातीबीच एकअर्कालाई यति गम्भीर रूपमा प्रभावित गर्ने गरी अन्तरघुलन भएको देखिँदैन ।

मुन्दुम (मुन्धुम) र कैरन (मन्त्र) मा यति गम्भीर रूपमा प्रवेश पाउने मिथक एकअर्कामा साटासाट हुन धेरै लामो समयदेखि एकसाथ हुर्के/बढेको हुनुपर्छ । फेरि संस्कृतिमा धेरै कुरा प्रभाव पर्दापर्दै पनि, सामुदायिक अन्तरघुलन हुँदाहुँदै पनि मुन्दुममा बाह्य प्रभाव ज्यादै कम छ । त्यसमा पनि खस र किरातहरू त नेपालको वल्लो र पल्लो छेउमा बसोबास गर्ने हुनाले एकअर्काको प्रभाव पर्ने विषय स्वतः कम हुने भइहाल्यो । यस्तो अवस्थामा पनि किरात र खस समुदायमा मानव उत्पत्तिसम्बन्धी मिथक एउटै भयो कसरी ? यो मिथक नेपालको पूर्व–पश्चिम वारपार खसदेखि किराती समाजसम्म फैलियो कसरी ? यसको सम्भावित जवाफ लिन बोन धर्मसम्म पुग्नुपर्छ ।

खासमा संस्कृति भनौं अथवा मिथकहरू उही भाषा–संस्कृति समूहबाट विभिन्न शाखाप्रशाखाहरूमा फैलिने ठाडो (लम्बीय) प्रक्रिया र अलग भाषा–संस्कृति समूहमा फैलिने तेर्सो (क्षितिजीय) प्रक्रियामा प्रसार हुन्छ । यही दुई प्रक्रियामा मानव उत्पत्तिकथा ठाडो फैलिँदा किरातमा र तेर्सो फैलिँदा खस समुदायमा पुगेको हो । यसो भन्नका लागि बलियो आधार हो– महादेव ।

बोन परम्परामा सिद्पाको अवधारणा छ र त्यो सिद्पा नै संस्कृतमा शिव (महादेव) हुन पुगेको सम्भावना धेरै छ । र, महादेव बोन धर्मका शक्तिशाली तान्त्रिक पुरुष र धामीहरूका आदिगुरु हुन् । तिनी महादेवको निवासस्थल मानिन्छ कैलाश पर्वत क्षेत्र, जुन प्राचीन बोन धर्मको एउटा भव्य केन्द्र हो । प्राचीन समयमा त्यो बोन धर्मसँग खस र किरात दुवैको सम्बन्ध थियो । खसहरूको तिब्बतको बोन धर्म र बोन केन्द्रसँग लामो सहकार्य थियो । त्यही संगतका कारण खसहरूले बोन धर्मबाट थुप्रै कुरा ग्रहण गरेका छन् । त्यही क्रममा उनीहरूले मानव उत्पत्तिसम्बन्धी मिथक पनि अनुशरण गरेको हुनुपर्छ ।

किरातीहरूको त जरा नै बोन धर्म भइहाल्यो । आदिम मूल थलो बोन क्षेत्रबाट उनीहरू आदिम बसाइँसराइका क्रममा नेपाली भूभागमा फैलिएका हुन् भन्ने भाषिक, पुरातात्त्विक तथा आनुवंशिक अध्ययनहरूले देखाएका छन् । भाषाशास्त्रीय तथा आनुवंशिक अध्ययनअनुसार अहिलेका भोटबर्मेली भाषा बोल्ने जसमा किराती भाषाहरू पनि पर्छन् र चिनियाँ भाषा बोल्नेहरू लगभग ६ हजार वर्षअघि मात्रै अलग भएका हुन् ।

भन्नुको अर्थ हो, कम्तीमा पनि ६ हजार वर्षअघि किरातीहरूले सुली र खरानीबाट मानव उत्पत्ति भएको मिथक लिएर तिब्बत क्षेत्रबाट नेपालतिर प्रवेश गरेका हुन् । खसहरूले भने कैलाश पर्वत क्षेत्रबाट पछिल्लो समयमा बोन परम्परा अनुशरण गरेका हुन् । त्यस हिसाबले किरातीहरूले मानव सृष्टिसम्बन्धी कुखुराको सुली र खरानीसम्बन्धी मिथक प्राग्ऐतिहासिक कालमा ६ हजार वर्षअघि नै आदिम क्षेत्रबाट लिएर हिँडेका थिए, खसहरूले चाहिँ बोन धर्मसँग संगत बढेपछि इतिहासकालमा त्यो मिथक ग्रहण गरेको हुनुपर्छ । त्यसैले, मेरो आकलन हो– किरात र खसहरूको मानव उत्पत्तिसम्बन्धी मिथकको मूल स्रोत एउटै भएको हुनाले एकआपसमा निकटत्तम सम्बन्ध नभए पनि मिथकमा ठ्याम्मै समानता भएको हो ।

मानव जाति आगो र खरानीसँग परिचित भएको पनि लाखौं वर्ष भइसक्यो । सांस्कृतिक मिथकअनुसार, महादेव शरीर र ललाटभरि खरानी धसेर हिँड्छन् । भन्नुको अर्थ हो– खरानीसँग सम्बन्धित बोन र किरात धर्म–संस्कृतिको आफ्नै प्राचीन सांस्कृतिक विश्वासहरू छन् । त्यस्तो अवस्थामा खरानीले संस्कृति र चिन्तनमा अहम् स्थान पाउनु स्वाभाविक नै भयो । सम्भवतः मिथकको प्रारम्भमा खरानीको मात्रै कुरा आउँथ्यो, सुलीको प्रसंग पछि थपियो । मिथकमा सुलीको प्रसंग थपिनु चाहिँ बढीमा १० हजार वर्षयताको परिघटना हो किनभने १० हजार वर्षअघिदेखि मात्रै घरपालुवाका रूपमा कुखुरासँग मान्छेको संगत भएको छ ।

प्रकाशित : मंसिर ९, २०८० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x