२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपेक्षित शान्तदास

शान्तदास बालसाहित्यका पाठशाला थिए । वैचारिक र लेखकीय जीवनको लामो सहयात्रामा उनी मेरा धेरैथोक थिए । बालकथा लेख्न मलाई प्रेमपूर्वक बाध्य गराउने पनि उनै थिए ।
खगेन्द्र संग्रौला

जगत्मा हुनु र नहुनुको कथा रहेछ जीवन । शान्तदास मानन्धर अलि दिनअघिसम्म हामीमाझ थिए, अब छैनन् । तर, यो ‘नहुनु’ केवल दृश्यगत हो, केवल दैहिक हो यो । हाम्रो भावलोकमा त शान्तदास छँदै छन् । शान्तदास हाम्रो स्मृतिमा झनै जीवन्त छन्, झनै निकट छन्, र छन् ती झनै प्रिय ।

उपेक्षित शान्तदास

शान्तदासबारे अनेक प्रसंगमा, अनेक कोणबाट मैले अनेक कुरा लेखिसकेको छु । दृश्य लोकबाट अलप भएका शान्तदास अहिले मेरा आफ्नै शब्दचित्रमा मेरो स्मृतिमा यसरी प्रकट हुन्छन्, ‘शिरमा ह्याट, देहमा कमिज सुरुवाल, कुममा ‘बालकोसेली’ को झोला, मनमा अगाध बालप्रेम, वचनमा सम्मोहक माधुर्य, ओठमा मृदु मुस्कान ।....स्वभावले बडो मिजासिला, हँसिला र फरासिला मानव ।’ बस्, यिनै हुन् मैले चिनेका, संगत गरेका र केही न केही बुझेका शान्तदास मानन्धर ।

***

शान्तदास बितेको खबर आयो । उमेर भएको थियो ९० वर्ष, त्यसकारण यो अप्रिय खबर अनपेक्षित थिएन । परिवारजनले शान्तदासको भौतिक देह पशुपति आर्यघाटमा सेलाउने भएछन्, विद्युतीय शवदाह गृहमा । मैले सूचना पाएँ । चिन्तक, लेखक वा कलाकारको अन्येष्टिमा घाटमा जान मलाई मन लाग्दैन । सत्ता राजनीतिका ठुल्दाइ र सान्दाइहरूले अघि नै शव घेरिसकेका हुन्छन् । तिनले हाम्रो माझबाट बिदा भएका पात्रको शवमाथि बलात् आफ्नो दलको स्वामित्व थोपर्छन् र शव बलात् आफ्ना दलको झन्डाले छोप्छन् । आफ्नो छविको प्रतिरक्षा गर्न अनुपस्थित पात्रलाई तिनले आफ्नै विकृत छविमा ढाल्ने धृष्टता गर्छन् । र, यसरी तिनले उक्त पात्रको जीवन–आदर्श, पहिचान र छविलाई हुनुसम्म विकृत तुल्याउँछन् । अझ कहिले त तिनले ती पात्रको कथित सम्मानमा तोपको भड्किलो, विलासी र हिंस्रक सलामीको विद्रूप अभिनय पनि गरिहाल्छन् । यस्ता अन्त्येष्टिमा हाजिरी जनाउनु मलाई यी ठुल्दाइ र सान्दाइको अहंकारको मतियार हुनु हो जस्तो लाग्छ । त्यसैले त भनें नि, यस्तोमा म प्रायः जान्नँ ।

वैचारिक र लेखकीय जीवनको लामो सहयात्रामा शान्तदास मेरा लागि धेरैथोक थिए । बालकथा लेख्न मलाई प्रेमपूर्वक बाध्य गराउने पनि त आखिर उनै शान्तदास थिए । यस्ता शान्तदासको अन्त्येष्टिमा हाजिर नहुनु चर्कै अकृतज्ञता पो होला कि ? जाऊँ कि नजाऊँको दोमनबीच म आर्यघाट पुगें । विद्युतीय शवदाह गृहको परिसरमा जे देखें, हर्षातिरेकले म चकित भएँ । त्यहाँ जो होलान् र ती जे गर्दै होलान् भन्ने अप्रिय अनुमान थियो, त्यहाँ ती कोही थिएनन् । शान्तदासकी बहिनीको आग्रहमा बौद्धविधिले एकदिने संक्षिप्त कर्मकाण्ड चल्दै थियो । परिसरको एक कुनामा गायक आभाष फुयाँलसँग बसेर देश–दुनियाँको दशाबारे बात मार्दै थिएँ म । शारदारमण नेपालले उताबाट आउँदै आश्चर्यको भावमा खुल्दुली प्रकट गरे— हैन, यहाँ सत्ता राजनीतिका लाठेहरू एउटै देख्दिनँ त म ? के भएको हो यो अचम्म ? प्रत्युत्तरमा हामीमाझ सुखद् मुस्कानको आदानप्रदान भयो ।

***

पच्चीस सालदेखि गन्दा शान्तदाससँग मेरो उठबस र सहकार्यको आयु पचपन्न वर्षको भएछ । यसबीच विचार र सहकार्यको मोर्चामा मेरा थुप्रै मित्र बने । यात्राक्रममा तीमध्ये थुप्रैसँग वैचारिक जीवनको मेरो बाटो फाट्यो । तर, शान्तदास र म अविच्छिन्न सँगै रह्यौं । यो ‘सँगै रहनु’ को कारणसहितको कथा छ । शान्तदासलाई पहिलो पटक मैले कहिले, कहाँ र कुन सन्दर्भमा भेटें, अहिले ठ्याक्कै सम्झना छैन । पच्चीस–छब्बीस सालको कुरा हो यो । तिनताक म त्रिचन्द्रमा बीए पढ्दै थिएँ ।

सुदूरपूर्वको ग्रामीण भेगबाट आएर काठमाडौं खाल्डो टेक्दा–नटेक्दै लाल चिन्तनसँग मेरो साइनो गाँसिइहाल्यो । त्यही चिन्तनले डोर्‍याएर मलाई जुद्धसडक पुर्‍यायो, जहाँ सानो कोठामा नेपाल–चीन मैत्री संघ थियो । गोविन्द भट्ट त्यहीं भेटिए । भट्ट मैत्री संघका पूर्वकालिक जागिरे थिए कि पटकेकर्मी थिए मलाई थाहा भएन । मैत्री संघमा लाल चीनका सूचना र साहित्यका–सामग्री सित्तैमा पाइन्थे । ती थिए ‘पेकिङ रिभ्यु’, ‘चाइनिज लिटरेचर’, ‘सचित्र चीन’ आदि । खल्ती पोटिलो नभएको विद्यार्थीकालमा ती ‘निःशुल्क’ सामग्रीले मलाई मैत्री संघतिर खिचिरहे । संगत गर्दै जाँदा थाहा भयो, भट्ट र शान्तदासलाई जोड्ने दुई सूत्र रहेछन्– माओ र लु स्युन । र, यी दुई मानव रहेछन् नङ–मासु सरहका वैचारिक मित्र । यिनको त्यही मित्रताले मलाई शान्तदाससँग त्यहीं भेट गरायो । शान्तदास आधुनिक चीनका महान् लेखक लु स्युनका निबन्ध र कथाका अनुवादक भइसकेका रहेछन् । तिनका अनूदित कृतिहरूले डोर्‍याएर मलाई घरीघरी तिनको समीपमा पुर्‍याए ।

ऊबेला नेपालका लाल कम्निस्ट दुई लाइनका थिए । माओ लाइनका र ख्रुश्चेभ लाइनका । चल्तीको लबजमा माओ लाइनकालाई चीनपन्थी भनिथ्यो र ख्रुश्चेभ लाइनकालाई भनिन्थ्यो– रुसपन्थी । भट्ट र शान्तदास थिए– माओ लाइनका ‘चीनपन्थी’ । महेन्द्रीय राष्ट्रवाद घुलमिल भएको गोर्खे लाल चिन्तनका अनुयायीहरू ‘चीनपन्थी’ कहलिनु औधी विरोधाभाषी कुरा थियो । विडम्बनावश, यो विरोधाभाषबारे यी अनुयायीहरूमाझ छिसिक्क चर्चा भएको मलाई फिटिक्कै याद छैन ।

काठमाडौंमा मेरो लाल चिन्तन र साहित्यिक घुलमिलको वृत्त उति ठूलो थिएन । भट्ट र शान्तदास त मेरो प्रारम्भिक मित्र भइहाले । कालक्रममा थपिए टीआर विश्वकर्मा र भवानी घिमिरे, सिद्धिचरण श्रेष्ठ र दुर्गालाल श्रेष्ठ, शारदारमण नेपाल र मोहन दुवाल आदि । रामबाबु सुवेदी त मेरा सहपाठी नै थिए । अभिनारायण सुवेदी थिए जन्मले मेरै भेगका, नाताले दाजु र भावनाले साथी ।

शान्तदासद्वारा अनूदित ‘ओयाङ हाईको गीत’ भर्खरै छापिएको थियो । वामवृत्तमा पठन र चर्चाको शिखरमा थियो त्यो । शान्तदासले मलाई त्यो पढ््न दिए । र, उनले मेरो पठन प्रतिक्रियाको परीक्षा गरे । उनले सोधे, ‘यसमा तपाईंलाई सबभन्दा के मन पर्‍यो ?’ मेरो लटरपटर जबाफ अहिले मैल्यै बिर्सें । शान्तदासको प्रश्न भने मलाई सम्झना छ, ‘भन्नोस् त खगेन्जी, ओयाङ हाईले त्यत्रो ढुंगो कसरी फोर्‍यो ?’ मैले जबाफ दिएँ, ‘ढुंगामा घन बजार्दा ओयाङ हाईलाई च्याङ काई शेकका थाप्लामा घन बजारेजस्तो लाग्यो । उसको क्रोध, जोस र तागत हलक्कै बढ्यो । र, ढुंगो चकनाचुर भयो ।’ बस्, उपन्यास मैले पढेको प्रमाणित भयो । र, शान्तदासका नजरमा मेरो महत्ता र इज्जत दुवै बढ्यो । अनि हाम्रो भेटघाट र बातचित बाक्लियो ।

***

शान्तदासका जगत्लाई बुझ्ने र जीवनलाई फेर्ने माध्यम तीनवटा थिए– राजनीति, शिक्षा र साहित्य । जीवनका भिन्नभिन्न कालखण्डमा उनले यी तीनमध्ये कहिले एउटालाई, कहिले अर्कोलाई प्राथमिकता दिए । शान्ददासलाई आफ्नो आस्थाप्रति दृढ विश्वास थियो । कसले के भन्छ उनलाई वास्ता थिएन, आफ्नो अन्तस्करणले के भन्छ उनलाई केवल त्यसमा वास्ता थियो । शान्तदास निकै वर्ष आफ्नो गृहटोल झोंछेको बालसेवा विद्याश्रमको प्रधानाध्यापक भए । आफू छन् विद्यालयका प्रमुख र अभिभावकको भूमिकामा, कार्यालयको भित्तोमा उनले झुन्ड्याए– मार्क्स, लेनिन र माओका तस्बिर । उनका नाकैअगाडि र उनका कन्नापछाडि उनका कुरा खुबै काटिए । समुदायको साझा विद्यालयलाई आफ्नो दलको गोटीतुल्य बनाउने ? विद्यालयको स्वच्छ पहिचानलाई प्रदूषित गर्ने ? यी यावत् कुरा कटाइ शान्तदासले एक कानले सुने, अर्को कानले उडाइदिए । उनलाई विद्यालयभित्र फाटो पारेको बात लाग्यो । त्यो बात पनि उनले एक कानले सुने, अर्को कानले उडाइदिए । उनको नाम र प्रतिष्ठाको शक्तिले धन्न बर्खास्त हुनबाट उनलाई जोगायो ।

***

एम.ए. पढ्दापढ्दै बुर्जुवा शिक्षा बहिष्कार गरेर लागें म लमजुङतिर । आवरणमा म हाईस्कुलको हेडमास्टर भएँ, भित्री मनसुवा थियो गाउँमा लाल क्रान्तिको सन्देश फिँजाउनु । यो अभियानका मेरा प्रत्यक्ष कमान्डर शशि शेरचन थिए । र, यो अभियानका मेरा परोक्ष प्रेरकहरू थिए– शान्तदास, गोविन्द भट्ट आदि ।

पाँच/सात महिनाको अन्तरालमा म काठमाडौं आउँथे । आउँदा बस्ने मेरा प्रेमिल बास दुईवटा थिए । एउटा थियो– शशि शेरचनको डेरा, अर्को थियो– शान्तदासको घर । राजनीतिमा शान्तदास अति गोप्यतावादीमा छन् भनिन्थ्यो । र, यो पनि खुसुक्क भनिन्थ्यो– अति गोप्यतावादीका नेता देब्रे ढल्कुवा लेखक श्यामप्रसाद हुन् । प्रत्येक भेटमा शान्तदास मलाई आफ्नो गुटका राजनीतिक लिखतहरू पढेर सुनाउँथे । हस्तलिखित ती एक–दुई पन्ने लिखतका शीर्षक थिए— ‘चौथो महाधिवेशनबारे’, ‘झापालीबारे’ आदि । ती लिखत जटिल विषयका अति संक्षिप्त र सरलीकृत प्रस्तुति थिए । पछि फर्केर गम खाँदा लाग्छ, कम्निस्ट गुटहरू कट्टर धार्मिक सम्प्रदायजस्ता थिए । आफ्ना नजरमा ती आफू सर्वाङ्ग चोखा थिए, तिनका नजरमा अरूहरू थिए सर्वाङ्ग खोटा । अतिगोप्यवादी यसको अपवाद थिएन । ती टुक्रे लिखतहरूमा मेरा लागि गहन कुरा केही थिएनन् । तिनमा अरू गुटका लाइनको नाटीकुटी थियो,

आफ्ना गुटको लाइनको कुनै मूर्त चित्र थिएन । सायद गुटको नाम अतिगोप्यतावादी भएझैं त्यसका लिखतका हरफहरूमाझ त्यसको सिद्धान्त र कार्यक्रम अतिगोप्य रहेको हुँदो हो, म अकिञ्चन त्यो कसरी जानूँ ? शान्तदासका मुखबाट घरीघरी ती अपूर्ण र अमूर्त लिखत सुन्दा मलाई म कुमलकोटीले गाँजिएको किरो पो हुँदै छु कि भन्ने लाग्थ्यो । र, मलाई एकदम झिझ्याट लागेर आउँथ्यो । हाम्रो वार्ताको अर्को विषय साहित्य थियो । त्यो भने मेरा लागि हुनुसम्म रोचक थियो । शान्तदास आफूले अनुवाद गरेका लु स्युनका कथा र निबन्ध स्वाद मानीमानीकन मलाई सुनाउँथे । उनले मलाई लु स्युनका ‘बौलाहाको डायरी’, ‘आह क्युको साँचो कथा’ आदि अर्थ्याए । अर्थ्याएपछि उनी मलाई सोध्थे— ठीक छ ? त्यो ‘ठीक छ’ मा उनको जोड यति कडा हुन्थ्यो कि त्यसको जबाफ ‘ठीक छ’ मात्र हुन सक्थ्यो ।

***

शान्तदासका जीवनको अर्को अभियान सुरु भयो । त्यो थियो बाल साहित्य अभियान । प्रचलित दृष्टिमा प्रौढ साहित्यको दाँजोमा बाल साहित्यको न त खासै महत्त्व थियो न त थियो इज्जत नै । बाल साहित्यका स्रष्टालाई ‘बाल साहित्यकार’ भनी हेय दृष्टिले हेरिन्थ्यो । यो हेय दृष्टिविरुद्ध शान्तदासको अभियान ‘बालपोष’ बाट सुरु भयो । जनकप्रसाद हुमागाईं त्यसका सहकर्मी थिए । वैचारिक, आर्थिक, शैलीगत वा स्वभावगत के कुरा मिलेन कुन्नि, जनकसँगको शान्तदासको सहकार्य भत्कियो । त्यसपछि शान्तदासले ‘बालकोसेली’ निकाले । यो थियो उनको एकल अभियानको माध्यम । शान्तदासको बाँकी जीवनको समय, ध्यान, लगन, ऊर्जा आदि सबैको लगानी यही ‘बालकोसेली’ मा भयो । शान्तदासले जनमानसमा ‘बालकोसेली’ लाई चिनाए, ‘बालकोसेली’ ले जनमानसमा शान्तदासको चिनारीलाई फैलायो ।

एकल अभियन्ता शान्तदास एकमा अनेक थिए । शान्तदासले आफैं बालकथा लेखक थिए, आफैं अनुवादक । आफैं टाइपकर्मी थिए, आफैं डिजाइनकर्मी । आफैं प्रकाशक थिए, आफैं प्रशिक्षक । आफैं प्रेस मालिक थिए, आफैं चित्रकार । आफैं हल्कारा टाइफको वितरक र वित्रेता थिए र आफैं थिए घरदैलो वा विद्यालय डुलुवा कथावाचक । एकल अभियन्ता शान्तदास आफैंमा बालसाहित्यको एउटा पाठशाला थिए । लेखकहरूलाई गृहकार्य दिने कडा गुरु थिए उनी । बालकथा लेख्ने मेरो कुनै सोच थिएन । मलाई न बालमनोविज्ञानको ज्ञान थियो, न त मलाई बालबालिकाको उमेरगत रुचि, क्षमता र शब्दभण्डारकै ज्ञान थियो । घरीघरी मकहाँ आएर शान्तदासले मलाई इख्याए र हौस्याए । उनले भने— आजका बालबालिका भोलिको नेपाल हुन् । आजका बालबालिका शारीरिक र मानसिक, वैचारिक र सांस्कृतिक दृष्टिले स्वस्थ र सुन्दर भए भोलिको नेपाल स्वस्थ र सुन्दर हुन्छ । स्वस्थ र सुन्दर नेपाल बनाउने सत्कर्ममा साथ दिन बालकथा नलेख्ने ? उनले मलाई लोभ्याए— बालसाहित्य लेख्ने लेखक–कविहरूको आयु बढ्छ । ती लेखक–कवि आजका कलिला बालबालिकाहरूको स्मृतिमा धेरै पछिसम्म जिउँछन् । नलेख्ने त खगेन्जी ?

शान्तदासको आग्रह सुन्दासुन्दा म थाकें, उनी थाके पो ! शान्तदासको अविराम आग्रहको मान राख्न मैले जानीनजानी बालकथा लेख्न थालें । शान्तदासको यस्तो गृहकार्य अरू थुप्रैलाई पनि आइलाग्यो । युद्धप्रसाद र श्यामप्रसादलाई त्यो आइलाग्यो । दुर्गालाल श्रेष्ठ र दिनेशराज पन्तलाई त्यो आइलाग्यो । शारदारमण र रामबाबुलाई त्यो आइलाग्यो । किशोर क्रान्ति पाण्डेलाई सम्म पनि त्यो आइलाग्यो । शान्तदासले गृहकार्यको शीर्षकै दिएर पनि लेखाए । यसको उदाहरण हो— ‘राम्रो–नराम्रो’ । यो गृहकार्यले पाका लेखकदेखि सिकारु बालबालिकासम्मलाई सिर्जन–कर्ममा लाग्न हौस्यायो ।

शान्तदास छनोटकारी र सृजनशील अनुवादक थिए । त्यसैले त उनले जोनाथन स्विफ्ट र हान्स क्रिश्चियन आन्डरसनजस्ता लेखक रोजे । उनले स्विफ्टको ‘गलिभरको यात्रा’ र आन्डसनका परिकथा टाइपका जादुगरी कथा अनुवाद गरे । अक्षरशः अनुवादमा शान्तदासको रुचि थिएन । उनले स्थानीय खाँचो हेरी अनुवादमा मौलिक रचनाको पुनःसिर्जन गरे । असल बालसाहित्यमा आनन्दसँगै ज्ञान दिने तत्त्व हुनुपर्छ । यो मान्यतामा शान्तदास दृढ थिए । बालसाहित्यमा पाण्डित्य र उपदेशलाई शान्तदास देखिसहँदैनथे । बालबालिकाको लोकतन्त्र उनको ध्याउन्नको माउ विषय थियो । त्यसैले त उनले बालबालिकालाई ‘तँ’ को अपमानजनक दर्जाबाट ‘तपाईं’ को सम्मानजनक दर्जामा उकास्न हर्दम् यत्न गरे ।

बालसाहित्य लेख्ने, कतै छाप्ने र ढुक्कसँग सुत्ने शान्तदासको बानी थिएन । उनी बालबालिकालाई रचना बुझ्न सघाउँथे, रचना रच्न हौस्याउँथे । बिछट्टको आंगिक हाउभाउ र माधुर्ययुक्त स्वरको उनको वाचनमा जादूगरी आकर्षण थियो । कथा सुनाउन धाएर घरैमा आउने ह्याटवाल हुलाकीको नाउँले उनी मेरा छोराछोरीका लागि अति प्रिय थिए । सायद आफ्ना आमाबाभन्दा पनि प्रिय !

शान्तदास दोहोर्‍याई–तेहर्‍याई भन्थे– असल बालसाहित्य लेखक बालबालिकाका आमाजस्तै हुनुपर्छ– करुणामयी, धैर्यशील, एकाग्र, अथक, त्यागी र क्षमाशील । नभन्दै उनी थिए पनि त्यस्तै ।

शान्तदास आजका बालबालिकाको भविष्यको चिन्ता गर्थे । यो चिन्तालाई व्यावहारिक रूप दिन उनले स्वस्थ र सुखकर बाल–खुराकीको निर्माणमा आफ्नो सारा ध्यान, यत्न र साधना अर्पित गरे । त्यो खुराकी थियो, बालबालिकालाई सचेत र स्वाभिमानी, संघर्षशील र लोकतान्त्रिक, करुणामयी र सहयोगी बनाउने सुन्दर साहित्य । आत्मप्रचार र प्रशंसा, पुरस्कार र पगरी एवम् हाई–हाई र स्याबासीप्रति शान्तदासमा कुनै लालसा थिएन । उनका लागि जीवनको आनन्द, पुरस्कार र प्रशंसाको मुहान आफ्नो अभीष्ट अनुरूपको सिर्जना, सिर्जना र केवल सिर्जना थियो, र थियो त्यसको उचित उपयोग ।

नयाँ संविधानमा नेपाललाई समाजवादउन्मुख भनिएको छ । समाजवाद नेपाली समाजको भोलिको सुन्दर सपना हो । सत्तामा ‘हामी समाजवादी हौं’ भनी कहिल्यै नथाक्ने जीबातहरू छन् । आश्चर्य ! बाल मस्तिष्कमा समाजवादका सपना भर्न नित्य यत्नशील शान्तदासलाई यिनले कत्ति चिन्दा रहेनछन् । शान्तदासको अन्त्येष्टिमा देखाएनन् त मुख यी कसैले पनि ! जीवनको सतह–सतहमा कुद्ने सञ्चार क्षेत्र पनि शान्तदासलाई खासै चिन्दोरहेनछ । खै, सम्मान र महत्तासाथ दिएनन् त प्रायःजसोले शान्तदासको अन्तिम विश्रामको समाचार र उनका सत्कर्महरूको मिहिन वृत्तान्त । यी नानाओली औतारीहरूले शान्तदासको चिन्तन र कर्मको जतिसुकै उपेक्षा गरून्, कष्टसाध्य यत्नद्वारा बालमस्तिष्कमा उनले बीजारोपण गरेका समाजवादका सपना कदापि मर्ने छैनन् ।

प्रकाशित : मंसिर ९, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?