कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कमिन्स : द रियल हिरो

कमिन्स भन्थे, ‘अस्ट्रेलियाले वान डे विश्वकप जित्नु विश्व क्रिकेट शिखरमा पुग्नुजत्तिकै हो ।’ त्यसैले कमिन्स भए– एक असली नायक ।
हिमेश

कुरा सुरु गरौं, एउटा ‘हाइपोथेटिकल’ प्रश्नबाट । केही गरी प्याट कमिन्सले त्यो १२ रन नबनाएको भए के हुन्थ्यो ? त्यो पनि नटआउट रहेर ! साँच्चै नबनाएको भए, ग्लेन म्याक्सवेलले दोहोरो शतक बनाउने थिएनन् । वान डे क्रिकेटकै त्यो सर्वकालीन महान इनिङ्स सम्भव हुने थिएन । भनेपछि अस्ट्रेलियाले त्यो खेल जित्ने थिएन । बरु अफगानिस्तान विजयी हुन्थ्यो । अस्ट्रेलिया सेमिफाइनल पनि पुग्दैनथ्यो । अनि त अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ पनि जित्ने थिएन । 

कमिन्स : द रियल हिरो

तर, कमिन्सले नटआउट रहेर त्यो १२ रन बनाएपछि सबथोक त्यही भएको छ, जुन हामीसामु इतिहासका रूपमा छ । भारतमा भएको यो विश्वकप जितेर अस्ट्रेलियाली टिम आफ्नो देश फर्किसकेको छ । उल्टै भारत ट्वान्टी-ट्वान्टी क्रिकेटको एउटा घरेलु शृंखला अस्ट्रेलियासँग खेलिरहेको छ । तर, पनि यो विश्वकपमा के कस्तो भयो भनेर क्रिकेट पण्डितहरूले चिरफार गर्ने काम चलिरहेको छ । त्यसकै अन्तिम सार हो, अस्ट्रेलियालाई विश्वकप जिताउने असली नायक त कमिन्स पो हुन् ।

टेस्ट र वान डे क्रिकेट खेल्ने टिमको नेतृत्व उनैले सम्हाल्ने गर्छन् । उनकै नेतृत्वमा अस्ट्रेलियाले कीर्तिमान छैटौंपल्ट विश्वकपको उपाधि जित्यो । तर, अस्ट्रेलियाको सुरुवात प्रतियोगितामा कहाँ राम्रो थियो र ? अस्ट्रेलिया सुरुमै लिग चरणका दुई खेलमा पराजित भएको थियो । आलोचकहरूले भन्न सुरु गरेका थिए, यो टिममा दम छैन । यो टिम चाँडै घर फर्कनेछ, हात लाग्यो शून्यको स्थितिमा । तर, अस्ट्रेलिया नै घर फर्कने अन्तिम टिम बन्यो, कप उचालेर ।

सुरुका दुई हार बिर्सेर अस्ट्रेलियाले लिग चरणका बाँकी सबै सात खेल लगातार जित्यो, अनि सेमिफाइनलमा दक्षिण अफ्रिकालाई माथ दियो । फाइनलमा अस्ट्रेलियाले कसरी भारतलाई हरायो, त्यो त सबैलाई थाहा छ । अब त यस्तो भन्न पनि सुरु भएको छ, अस्ट्रेलियाली खेलाडीको रगतमै जित्ने ‘डीएनए’ छ । त्यो पनि निर्णायक र महत्त्वपूर्ण अवस्थामा । अस्ट्रेलियालाई यस्तो उपमा दिइरहँदा भारतमाथि भने ‘चोकर्स’ को उपनाम पो जोडिन थालेको छ ।

‘चोकर्स’ अर्थात् निर्णायक मोडमा चुक्ने । यसअघि दक्षिण अफ्रिका र केही हदसम्म न्युजिल्यान्ड विश्व क्रिकेटका सही ‘चोकर्स’ थिए, अब त्यसमा भारत पनि थपिएको छ । भारतले यसपल्टको विश्वकपमा दामी खेल्यो । लागिरहेको थियो, भारतले कतै हार्न त बिर्सेको छैन् ? तर, भारत फाइनलमा यसरी हार्‍यो कि अब लागिरहेको छ, भारतलाई फाइनल खेल्नै आउँदैन । फाइनल अर्थात् सबैभन्दा निर्णायक खेल । अस्ट्रेलियालाई मज्जाले खेल्न आउने भनेको यस्तै खेल हो ।

अब एउटा सूची बनाऔं न, अस्ट्रेलियाका लागि वान डे विश्वकप जित्ने कप्तानहरूको । त्यसमा कमिन्सभन्दा अगाडि छन्, एलान बोडर, स्टिभ वा, रिकी पोन्टिङ र माइकल क्लार्क । यिनीहरू सबै पक्कापक्की त्यस्ता जबरजस्त अस्ट्रेलियाली खेलाडी हुन्, जसको ब्याट बोल्ने गर्छ । फेरि विश्व क्रिकेटमै पनि अधिकांश समय कप्तानी गर्नेहरू यस्तै ब्याटरहरू हुने गर्छन् । कमिन्स ब्याटर होइनन्, न त अलराउन्डर नै । उनी त बलर हुन्, फास्ट बलर ।

यस्तोमा बोडर, वा पोन्टिङ र क्लार्कसँग उनी ठ्याक्कै अलग देखिन्छन् । यो कुरा अर्कै भयो कि तिनै कमिन्सले त्यो महान् १२ रनको नटआउट इनिङ्स खेले । फेरि कमिन्सलाई धेरै बोलिरहनु पनि पर्दैन । एक प्रकारले आफ्नो काममै मस्त देखिन्छन् । यो पनि भनिन्छ, भाग्यले बहादुर खेलाडीलाई नै साथ दिन्छ । सायद उनी अगाडिका कप्तान टिम पेन एक ‘सेक्स स्क्यान्डल’ मा फस्दैन थिए त कमिन्सले सायदै कप्तानी पाउँथे, अथवा पाउँदै पाउँदैनथे ।

कप्तान नियुक्त भएपछिको पहिलो टेस्टमा उनको फिल्डिङ पोजिसन पनि फेरिएको थियो किनभने कप्तान त मैदानको बीचतिर हुनुपर्‍यो । नत्र फास्ट बलरजस्तै उनी फिल्डिङका बेला बाउन्ड्रीतिर अलमल भइरहन्थे । कप्तान भएपछि बीचमा रहेर सरसल्लाह गरिरहनुपर्‍यो । तर, एकपल्ट कप्तान भएपछि उनले यस्तो काम गरेर देखाए, लाग्छ उनलाई कप्तानीमै महारथ प्राप्त छ । यी ३० वर्षीय खेलाडी कप्तान भएको पनि लगभग ६ महिना मात्रै भएको छ ।

तर, यसबीच अस्ट्रेलियाले जे खेल्यो, त्यही जितेको छ । उनकै कप्तानीमा अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप जित्यो । त्यसपछि इंग्ल्यान्डलाई एसेज सिरिजमा माथ दियो । अब विश्वकप क्रिकेट । फाइनल अगाडि नै उनले एउटा निकै मीठो ‘माइन्ड गेम’ पनि खेले । उनले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नुअगाडि केही पनि ठूला दाबी गरेनन् । खालि यति मात्रै भने, ‘खचाखच भरिएको स्टेडियमका घरेलु समर्थकलाई चुपचाप शान्त बनाउनु जत्तिको मज्जा अरू केही हुने छैन ।’

साँच्चै त्यस्तै भयो । फेरि टस जितेर पहिले बलिङ रोज्नु पनि सर्वाधिक महत्त्वको निर्णय भयो । पछि अस्ट्रेलियाबाटै कुरा निस्केको हो, त्यहाँका अधिकांश पुराना खेलाडीलाई के लागेको थियो भने कमिन्सले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गर्नुपर्थ्यो, तर गरेनन् । यो त गलत निर्णय भयो । तर, अन्त्यमा गलत उनीहरू नै भए । कमिन्सको पहिले बलिङ गर्ने निर्णय वास्तवमै धेरैका लागि जोखिमले भरिएको आश्चर्यजनक निर्णय थियो ।

भारतलाई पनि लागिरहेको थियो, पहिले ब्याटिङ नै त हो, उसले खासमा चाहेको पनि । बलिङका क्रममा पनि कमिन्सले असाध्यै धेरै चलाखी गरे । मिचेल स्टार्कलाई सुरुमा एक छेउबाट बलिङ गराए, पछि अर्को छेउ लगे । बीचबीचमा एक ओभरका लागि म्याक्सवेल ल्याए, अनि दुई ओभरमा लागि एडम जाम्पालाई । फाइनलको तथ्यांकले भन्छ, कमिन्सले बलिङका क्रममा २२ पल्ट ‘स्विच’ गरे । लगातार एकै बलरलाई अवसर दिएनन् ।

यसकै अगाडि त हो, भारतीय ब्याटरले अचम्मले चकित खाएको । आफूले भनेजस्तो खेल्नै सकेनन्, उनीहरू । विश्वास नहुन सक्छ, भारतले आफ्नो इनिङ्सको ११ देखि ५० ओभरमा जम्माजम्मी चारपल्ट बललाई बाउन्ड्री पुर्‍याउन सक्यो । फाइनल जितिसकेपछि कप्तान कमिन्सका रूपमा उत्तिकै सटीक बोले । उनी भन्थे, ‘अस्ट्रेलियाले अहिलेको वान डे विश्वकप जित्नु भनेको त सफलताको विश्व क्रिकेटमा शिखरमा पुग्नु जत्तिकै हो ।’ हो पनि । त्यसैले त कमिन्स हुन्, असली नायक– ‘द रियल हिरो’ ।

प्रकाशित : मंसिर ९, २०८० ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×