कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

‘लाहुरे रीत नै नेपालको संस्कृति हो’

दीपक सापकोटा

तीसको दशकका अत्यन्त प्रखर कवि मीनबहादुर विष्ट (६९) डेरा सराइ, सेवा सराइ र देश सराइले आफ्ना रचना व्यवस्थित राख्न सकिएन भन्छन् । र, जीवन ‘धेरैअघि हराएको, फेरि भेट्टिएको पुरानो सिक्काजस्तो’ ठान्छन् । विष्टले जीवनलाई जसरी परिभाषित गरे पनि लामो समय कविता–संसारबाट टाढिएपछि अवकाशप्राप्त क्षणमा उनी नयाँ कवितासंग्रह ‘साला पहाडमें क्या है’ मार्फत प्रकाशित भएका छन् ।

‘लाहुरे रीत नै नेपालको संस्कृति हो’

प्रखर आलोचनात्मक चेतका कवि मानिने उनका यसअघि ‘शिक्षाको सिद्धान्त’ (२०३९) र ‘मीनबहादुर विष्टका कविता’ (२०६०) छापिइसकेका छन् । प्यूठानमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् भने फुलब्राइट छात्रवृत्तिअन्तर्गत युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि । नेपाली कविताको ५० वर्षको समयावधि, कविताको बाटो र समकालीन कवितामाथि उनीसँग दीपक सापकोटाको वार्ता :

शिक्षाविद् केदारभक्त माथेमाले तपाईंको किताबको ब्याक–कभरमा लेख्नुभएको छ, ‘सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।’ कवितालाई सरल, बोधगम्य बनाउने प्रयत्नमा तपाईं हुनुहुन्छ । खासमा तपाईंका लागि कविता के हो ?

मानवीय संवेग, अनुभव, अवलोकन वा कल्पनालाई शब्द र शैलीको प्रयोगबाट एउटा स्वरूप दिने प्रक्रिया नै कविता हो । यो अलि किताबी परिभाषाजस्तो भयो होला । मलाई लाग्छ, कविता बन्न सके त जादुमयी शैली र शब्द चयन होस्, जसका कारण कवि र पाठकबीच एउटा सहज संवाद स्थापित होस् र कविताले पाठकको हृदय स्पर्श गरोस् वा प्रेरित गरोस् । राम्रो कविताले त्यही बोलिरहेको हुन्छ, जो पाठकको मनभित्र लागिरहेको हुन्छ । त्यो हिसाबले कविता मेरो कल्पनाको अभिव्यक्ति त हो नै, सँगसँगै तमाम पाठकको वा समाजको भावनाकै अभिव्यक्ति हो । तपाईंले भन्नुभएझैं म सरल र बोधगम्य बन्ने प्रयासमा रहन्छु ।

तीसको दशकका चर्चित कविमध्येका प्रखर मानिनुहुने तपाईं अचेल लेख्न छाड्नुभएको छ । आखिर किन लेखनप्रति तपाईंमा चरम वितृष्णा आयो ?

हो, मेरा अधिकांश कविता तीसको दशकमा लेखिएका हुन् । म विश्वविद्यालयमै अध्यनरत थिएँ र राजनितिक रूपले कठिन परिस्थिति भए पनि कविता लेखनका लागि त्यो एउटा उर्वर समय थियो । तर, विश्वविद्यालयबाट निस्केर काममा लागिसकेपछि त्यसमै मेरो संलग्नता अलि बढी नै हुने परिस्थिति बन्यो । म मूलतः शिक्षाशास्त्रको विद्यार्थी थिएँ र कवितामा भन्दा मेरो आफ्नै क्षेत्रमा दक्षता बढाउनुपर्छ भन्ने सोच्थें । भइदियो के भने त्रिविविमा प्राध्यापन अतिरिक्त पुस्तक लेखन, तालिम, अनुसन्धानजस्ता काममा बिस्तारै संलग्नता बढ्यो । शिक्षाशास्त्र मेरो व्यावसायिक उत्थानका लागि मात्र होइन, जीविकाका लागि पनि जरुरी हुन गयो । त्यही बेलादेखि कवितामा अलिकति दूरी बढ्दै गएको हो । पछि सन् १९९० मा अमेरिकामा शिक्षाशास्त्रमै मास्टर्स गर्न फुलब्राइट छात्रवृत्ति प्राप्त गरेँ । त्यसै क्रममा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गर्ने मौका पनि जुर्‍यो । अमेरिकाबाट फर्किसकेपछि केही वर्ष प्राध्यापन, अध्ययन–अनुसन्धानमै व्यस्त भएँ । फेरि केही वर्षपछि त्रिविविबाट अलग भई युनेस्कोको शिक्षा विशेषज्ञका रूपमा एसियाका विभिन्न मुलुकमा काम गरेँ । काम प्रतिस्पर्धी र अलि बढी समय दिनुपर्ने खाले भएकाले पनि मैले साहित्यका लागि समय निकाल्न नसक्ने अवस्था बन्यो । साहित्यिक सृजनाका लागि जुन अध्ययन, संगत, लगनशीलता, चिन्तन चाहिन्छ त्यो दिन नसक्ने भएपछि म एक प्रकारले यसबाट टाढिन पुगेँ । तर, त्यो कविताप्रतिको वितृष्णा भने थिएन । अलि लामो स्पष्टीकरण दिएजस्तो भयो, सायद यो जरुरी पनि थियो ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

तपाईंलाई लोपोन्मुख र दुर्लभ कवि भन्छन् नि ?

बेलाबेला मैले पनि सुनेको छु, यसप्रकारको टिप्पणी । कविताको संसारबाट म किन टाढा हुन पुगेँ ? मैले अघि नै भनिसकेको छु । परिस्थितिले त्यस्तो बनाएको हो । मेरो आफ्नो पेसामा वा व्यावसायिक क्षेत्रमा राम्रो गरूँ भन्ने आशयबाट पनि यसो हुन गएको हो । तर, यो स्टेटमेन्टलाई म एकदमै सकारात्मक लिन्छु । सायद मेरा उसबखतका साथी र पाठकलाई मबाट धेरै कविताको अपेक्षा थियो । लेखन जारी राखोस् भन्ने पनि लागेको होला । त्यो सद्भाव र सदाशयताका कारण भनिएको हुन सक्छ । त्यसप्रति म आभारी छु । पछाडि फर्केर हेर्दा जीवनको त्यो चरणका मेरा रोजाइप्रति खेद त छैन, तर जीवनमा जुन प्रकारको ‘घोडा दौड’ गरियो त्यो अलि बढी भएको हो कि ! अहिले यस्तो लाग्छ, साहित्यलाई निरन्तरता दिन सकेको भए कति सुन्दर हुन्थ्यो होला ! गएका केही दशक मेरा लागि गुमेका अवसरजस्तै भए ।

तपाईंका बहुचर्चित कवितामध्ये ‘जर्साबको कुकुर’, ‘गाउँको पाठशाला’ अझै पाठकका मनमस्तिष्कमा ताजै छन् । जर्साबको अनुहार फेरिएको छ, तर उसको आतंक फेरिएको छैन । गाउँका धेरै पाठशालाको हालत झन्–झन् बिग्रेको छ । यस्तो अवस्थामा गणतन्त्रकालीन विकृतिमाथि पनि कविता लेख्ने जाँगर किन नचलेको होला ?

जुन बेला मैले ती कविता लेखें, त्यो एउटा भिन्न राजनीतिक परिस्थिति थियो । देशमा सामाजिक/राजनीतिक व्यवस्था परिवर्तनका लागि जुन लहर तयार हुँदै थियो, मैले चिनेका धेरै कवि/लेखक आफ्नो भूमिकाप्रति सजग थिए र तपाईंलाई थाहै छ, त्यसबेला लेखिएका कतिपय रचना राजनीतिक रूपले प्रेरित थिए । धेरै कविले निर्ममतापूर्वक त्यसबखत विद्यामान विकृति औंल्याएका छन् । मैले पनि त्यही दौरानमा ती कविता लेखेको हुँ । तपाईंले भन्नुभएजस्तै अहिले राजनीतिक प्रणाली फेरिएको छ । दुर्भाग्य के भइदियो भने त्यस परिवर्तनले विकृतिहरूको अन्त्य गरेको छैन र आम मानिसले तात्त्विक रूपमा परिवर्तनको कुनै अनुभव गर्न पाएका छैनन् । नयाँ राजनीतिक व्यवस्थालाई जरा हाल्न र परिपक्व बन्न केही समय त लाग्ला नै । त्यसो भन्दैमा विकृतिका जुन विकराल रूपहरू हामी देख्दै छौं, त्यसप्रति कमसेकम केही सर्जक सजग नै छन् । यस संग्रहमा मैले हालको दुरवस्थाबारे लेखेका केही कविता समावेश छ । त्यही क्रमलाई निरन्तरता दिने मेरो अठोट छ ।

के अब तपाईंको ‘विकास’ जस्ता मुक्तकहरूको सार्थकता सकियो ? राजनीतिक परिवर्तनपछि यस्ता रचनाको उपादेयता सकिएकै हो त ? तपाईंमा वर्तमान राजनीतिक परिस्थितिले सिर्जेका विसंगतिमाथि रचनात्मक प्रहार गर्ने दायित्व छैन ? कि लेखेर केही हुन्न भन्ने निचोडमा पुग्नुभयो ?

त्यसको सार्थकता सकिएको छैन । मैले अघि नै भनेजस्तो जुन प्रकारको समाजको परिकल्पना नेता तथा जनताले गरेका थिए, त्यस्तो समाज हामीले देख्न पाएनौं । मैले ‘विकास’ भन्ने त्यो मुक्तकमा त्यसवखत हामीले विकासको जुन विकृत रूप देख्यौं, त्यसलाई प्रहार गरेको हुँ । अहिले विकासका नाममा झन्झन् विकृत र घीनलाग्दा रूपहरू हेर्नुपरिरहेको छ । म केमा विश्वस्त छु भने कविता लेखन भनेको राजनीतिक कार्य हो । गणतन्त्रकालीन विकृतिमाथि कविहरूको ठूलो भूमिका हुनुपर्छ । कविताले शक्तिशाली रूपमा विकृति–विसंगति सम्प्रेषण गर्छ । यसो भन्दै गर्दा म के पनि भन्छु भने कविताको भूमिका राजनीतिक विसंगति औंल्याएर मात्रै पूरा हुँदैन । परिवर्तित सन्दर्भमा कविताको भूमिका र क्षेत्र धेरै विशाल छ र कविहरूले नयाँनयाँ विषयमा कलम चलाउनु जरुरी भइसकेको छ ।

‘साला पहाडमें क्या है’ मा तपाईंले पछिल्लो समयको हाम्रो विश्वविद्यालयको चित्र लेख्नुभएको छ– ‘हाम्रो विश्वविद्यालय, देशको विश्वविद्यालय’ कवितामा । त्यहाँ तपाईंको निचोड छ– ‘हाम्रो विश्वविद्यालय, नाम मात्रको विश्वविद्यालय ।’ यस्तो निष्कर्षमा कसरी पुग्नुभयो ?

म किन त्यस निष्कर्षमा पुगेँ, त्यो त कविताले नै व्यक्त गर्छ । तर, हो के भने उच्च शिक्षा भनेको देश विकासको बलियो आधारशिला हो । हामी जुन विकास र समृद्धिका कुरा गर्दै छौं, जुन समतामूलक समाजको परिकल्पना गर्दै छौं त्यसका लागि बलियो विश्वविद्यालयको आवश्यकता पर्छ, जसले विश्वस्तरको शिक्षा अथवा तुलनात्मक रूपले अरू देशसरह गुणस्तरीय शिक्षा दिन सक्छ । ज्ञान र प्रविधिमा विश्वले जुन फड्को मारिरहेको छ, त्यो केवल गुणस्तरीय उच्च शिक्षाबाट मात्रै सम्भव छ । देशको पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालयमा हामीहरू जे देखिरहेका छौं, त्यो कुनै पनि अवस्थामा स्वीकार्य छैन । प्रत्येक दिन विश्वविद्यालयको दुरवस्थाबारे सम्पादकीय लेखिएका छन्, मुख्य समाचार लेखिएका छन् । यस्तो लाग्छ, विश्वविद्यालय संकटमा छ र यो संकटमा हुनु भनेको देश संकटमा हुनु हो, देशको भविष्य संकटमा हुनु हो, वर्तमान र आगामी पुस्ता संकटमा हुनु हो । मैले यो कवितामा यिनै कुरा व्यक्त गर्न खोजेको हुँ । मेरो कविताले भनेजस्तै– हाम्रो देशको विश्वविद्यालय दिनभर सुतेर बस्छ, चन्द्रागिरीलाई सिरानी हालेर । अब सुतेको विश्वविद्यालय ब्युँझिनुपर्छ भन्ने असल मनसायले यो कविता लेखेको हुँ । यो पनि भन्नुपर्छ कि विश्वविद्यालयका समस्या केवल आन्तरिक कमजोरीले मात्र सिर्जित होइनन् । कतिपय विश्वविद्यालयको नियन्त्रणबाहिर रहेका बाह्य कारणले पनि यस्तो भइरहेको छ । केही कस्मेटिक सुधार गरेर मात्रै पुग्दैन ।

तपाईंले कथाहरू पनि लेख्नुभएको छ । केही कथा ‘मधुपर्क’ जस्ता पत्रिकामा पनि छापिएका थिए, जस्तो ‘विज्ञापन’ शीर्षकको कथा २०३८ सालमा । कथा लेख्न किन छाड्नुभयो ?

मुस्किलले मेरा ५/७ वटा कथा छापिए होलान् । अरू पनि केही कथा छन्, जो अप्रकाशित छन् । कथा लेख्न एक किसिमले जानी–जानी आफैंले छाडेको हुँ । एउटा कारण त के भने कथा लेख्न अलि धेरै समय लाग्ने, त्यसको लम्बाइ यकिन गर्न पनि नसकिने र त्यसका लागि मसँग धैर्य नहुने । अर्को, कविताबाट केही व्यक्त गर्दा जुन आनन्द आउँथ्यो, सायद कथाबाट प्राप्त भएन । लेख्दै जाँदा मलाई कविता नै आफ्नो क्षेत्र हो कि जस्तो लाग्न थाल्यो ।

‘साला पहाडमें क्या है’ कविताको पृष्ठभूमि बताइदिनुस् न, शीर्षक हिन्दीमा राख्नुको खास केही तात्पर्य छ कि ?

हाम्रो देशको संस्कृति भनेकै लाहुरे रीत हो । हाम्रो भूगोल, अर्थतन्त्र, यहाँको हावापानी, गरिबी, शासकीय असफलता आदि कारणले हाम्रो देशका युवा रोजगारीका लागि विदेश जानुपर्ने धेरैअघिदेखिको यो चलन अहिले पनि निरन्तरै छ । भयो के भने मैले त्रिविबाट मास्टर्सको अध्ययन पूरा गरिसकेपछि मलाई नेपालको शिक्षाको अवस्थाबारे अध्ययन गर्न जाने अवसर प्राप्त भयो । यसैक्रममा म पूर्व मेचीदेखि महाकालीसम्मै अधिकांश गाउँमा सर्वेक्षण गर्न निस्कें । त्यसबेला धेरै पहाडी जिल्लामा यात्रा गरें । कहिले नदीको किनारैकिनार उत्तरतिर त कहिले किनारैकिनार दक्षिणतिर । मसँगसँगै यात्रामा उक्लिरहेका वा ओर्लिरहेका, नदीको किनारैकिनार उत्तर वा दक्षिणतिर जान साथ दिनेहरू भारतका विभिन्न सहरमा काम गर्न जाने वा छुट्टीमा घर फर्कंदै गरेका लाहुरेहरू हुने गर्थे । उनीहरू देशभित्रै र विदेशमा भोग्नुपरेका दुःख–सुखका कहानी सुनाउँथे । कोही यस्ता हुन्थे, जो आधा हिन्दी, आधा नेपालीमा ‘बातचित’ गर्थे र बेलाबेला भन्ने गर्थे– ‘साला पहाड में क्या है !’ लाहुरेहरूको त्यो भनाइ यति शक्तिशाली थियो कि त्यसले मलाई धेरै समयसम्म पछ्याइरह्यो र अन्त्यमा त्यसैलाई शीर्षक बनाएर यो कविता पूरा गरेँ । मैले जे वर्णन गर्न खोजेको थिएँ, त्यसका लागि त्यही रूपमै अर्थात् हिन्दी भाषा नै प्रयोग गर्नुबाहेक अरू उपाय थिएन । रमाइलो के भने पछि म स्वयं लाहुरे बन्न पुगेँ । मेरो अन्तर्राष्ट्रिय जागिरको पहिलो ड्युटी स्टेसन नै पाकिस्तानको लाहोर बन्न पुग्यो । भनिन्छ, लाहुरे शब्दको उत्पत्ति पनि त्यहीँबाट भयो, जहाँ नेपालीहरू भारत र पाकिस्तान विभाजन हुनुअघि काम गर्न जाने गर्थे । अहिले साथीहरू भनिरहन्छन्– अब ‘साला देश में क्या है’ लेख्नुपर्‍यो ।

पहिले मान्छेहरू पहाडबाट रित्तिन्थे, अहिले त देशैबाट रित्तिरहेका छन् । तपाईंको कविता झनै सार्थक, सान्दर्भिक भएझैं लाग्छ । अहिलेचाहिँ पहाडको हालखबर कस्तो छ ?

पहाडको अवस्था त झनै दुःखदायी छ । गाउँबाट सहर पस्ने वा देश छाडेर विदेश जाने क्रम निरन्तर बढ्दो छ र गाउँका गाउँ रित्तिएका छन् । विकासका नाममा बुल्डोजर चलाइएको छ र बाढीपहिरोले पहाड कुरूप देखिएका छन् । नदीनालाहरू सुक्ने क्रम जारी छ । सहरकेन्द्रित विकासले कोही गाउँमा बस्न सक्ने अवस्था छैन । छन् त उनै– पहिले काल कुर्दै गरेका बूढाबूढी, अहिले कालभन्दा अघि विदेश गएको आफ्नो सन्तानलाई कालले लैजान्छ कि भन्ने त्रासमा बसिरहेका बूढाबूढी । त्यसमाथि प्राकृतिक परिवर्तन र ग्लोबल वार्मिङबाट उत्पन्न संकटका कारण संसारले जे अनुभव गर्दै छ, त्यसको ठूलो असर हाम्रा पहाडमा हुने निश्चित छ । ४–५ दशकअघि मैले त्यो ‘साला पहाड’ को वर्णन मात्रै गर्न खोजेको हुँ, भविष्यवाणी गर्न कदापि खोजेको होइन ।

‘साला पहाडमें क्या है’ शीर्षकलाई नेपालीकरण गरी त्रिभुवन विश्वविद्यालयको बीए ऐच्छिक नेपालीमा समावेश गरियो । र, ‘जरुर केही छ पहाडमा’ शीर्षक राखेर पढाइएको थियो । तपाईंलाई यसबारे केही खबर थियो ?

०४० सालमै यो कविता छापिएपछि ‘साला’ शब्द शिष्ट भएन भन्ने सुझाव आएको थियो । शीर्षक परिर्वतन गरी त्यसलाई त्रिवि नेपाली विभागको स्नातक तहमा पढाइन्छ भन्ने सुनेको थिएँ । एक जना प्राध्यापक भेट्न आएका थिए, ‘यो तपाईंको कविता धेरै राम्रो लाग्यो भाइ, कोर्समा राख्नुपर्‍यो’ भन्दै, तर उनले भनेका थिए, ‘शीर्षकचाहिँ अपाच्य भयो ।’ मैले ‘मेरा लागि त यही नै अन्तिम शीर्षक हो’ भनेको थिएँ । अहिले त्यो कोर्समा छ/छैन, थाहा भएन ।

‘गाउँको पाठशाला’ मा तपाईंले लेख्नुभएको छ– निदाइरहेका र निद्रामा बरबराइरहेका मास्टरहरू/र, मास्टरहरूको आदेशबमोजिम/लोरी गाइरहेका साना, दुब्ला र ख्याउटे विद्यार्थीहरू/जब म फर्किरहेको थिएँ/कसैले सोध्यो, ‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’/मैले भनेँ, ‘जसरी चलिरहेछ यो देश !’ त्यसबेला यसरी चलिरहेको रहेछ पाठशाला, अहिले कसरी चलिरहेको छ ?

नेपालको तत्कालीन शैक्षिक अवस्थाको अध्ययन गर्न विभिन्न जिल्लाका विद्यालय अवलोकन गर्दै जाँदा त्यतिबेला जे देखियो, त्यही लेखेको हुँ । अधिकांश स्थानमा स्कुलका भवनहरू भग्नावेषजस्ता थिए । मास्टरहरू या त हुँदैनथे, भइहाले भने विद्यालयको कोठाभित्र हेइन, रूखमुनि आराम गरिरहेका देखिन्थे । स्कुल भवनभित्र हुन्थे– गाईबाख्रा । स्कुल आएका दुब्ला सुकेनास लागेजस्ता केटाकेटीहरू कपुरी ‘क’ घोकेर पाठ बुझाउँथे र पानी खाने छुट्टी पाउँथे । कुरै गर्ने हो भने देश र पाठशालाको अवस्था पहिले र अहिले तात्त्विक रूपमा फरक भएजस्तो लाग्दैन । त्यसो भन्दै गर्दा संख्यात्मक रूपमा हाम्रो शिक्षा प्रणालीमा धेरै वृद्धि भएको चाहिँ सत्य हो ।

आरम्भिक कविता लेखनमा तपाईंमाथि कुन अग्रज कविहरूको बढी प्रभाव रह्यो ? तपाईंले दोहोर्‍याएर पढिरहने कवि को हुन् ?

प्रायःजसो सबै अग्रजका कृति अध्ययन गरें । तर, मैले दोहोर्‍याएर पढ्ने कविमा भूपी शेरचन अग्रपंक्तिमा आउँछन् । बैरागी काइँला पनि पढ्थें । अझै पढ्छु । म कवितामा केही प्रभावित भएँ वा कसैले प्रेरणा दिए भने ती हुन्– भूपी शेरचन । उनको शैली मन पर्छ ।

तपाईंका समकालीन र अझ पछिल्ला पुस्ताका कविहरूबारे भनिदिनोस् न, क–कसले राम्रो लेखिरहेका छन् ?

मलाई मन पर्ने समकालीन कवि हुन्– श्यामल, विमल निभा, विमल कोइराला, कृष्णभूषण वल । नयाँहरूमा विनोदविक्रम केसी, भूपिन, रमेश क्षिजितका कविता मन पर्छ । अहिलेका कवितामा झन् सशक्त रूपमा आजको समाजका विभिन्न आयामहरूबारे विभिन्न शैलीमा कविता लेखेको पाउँछु ।

नेपाली कविता देवकोटा, रिमाल र भूपी शेरचनभन्दा अघि बढेन भन्नेहरूलाई तपाईंको जवाफ कस्तो होला ?

देवकोटा, रिमाल र भूपीहरूले खास गरी कविता विधालाई ठूलो उचाइमा पुर्‍याएका हुन् । त्यसपछि लेख्ने लेखक–कविहरू उनीहरूबाट निश्चय नै प्रेरित भएका छन् । तर, उनीहरूभन्दा कविता माथि उठ्न सकेन भन्नेमा म सहमत हुन सक्दिनँ । अहिले नै धेरै कविले निकै राम्रा कविता लेख्दै गरेको देख्छु । नयाँ–नयाँ प्रयोग भइरहेका छन्, नयाँ विषयमा कविता लेखिएका छन्, शैलीमा बाहुल्य देखिन्छ, यसलाई सकारात्मक लिनुपर्छ । समाजको विकासक्रमसँगै कविताको पनि विकास त हुँदै छ ।

अहिलेको नेपाली कविताले समातेको लिक ठीकठीकै छ वा सानदार छ ?

अहिलेको नेपाली कविताले समातेको ट्रेन्ड लिकभन्दा बाहिर गएजस्तो लाग्दैन । पहिलेभन्दा झन् सुन्दर कविता लेखिनुपर्छ भन्ने आशय सबैको हो, तर निराशै हुनुपर्ने अवस्थाचाहिँ आइसकेको छैन । समयसँगै कविता नयाँ–नयाँ रूपमा प्रकट भएको हुन्छ र विभिन्न परिवेश–समयमा कविताको महत्त्व बदलिने पनि हुन सक्छ । नेपाली कविताको मेरो अध्ययन सीमित छ, तर जेजति म हेरिरहेको छु, त्यसले उत्साहित नै बनाएको छ ।

कविता सिर्जनमा कठोर र कोमल धारका कविता लेखिन्छन्/पढिन्छन् । तपाईं आफूलाई कुन धारको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ?

तपाईंको यो प्रश्नका दुई आयाम हुन सक्छन् । हुन त कवितालाई कठोर वा नरम भन्ने वर्गीकरण एक प्रकारले कृत्रिम पनि हुन सक्छ, तर तपाईंको प्रश्नलाई दुई किसिमले हेर्न सकिएला । पहिलो, संरचनागत र दोस्रो विषयगत । संरचनाको हिसाबले कठोर भनेको जटिल, दुरूह विम्ब र प्रतीकहरूको भारी बोकाइएको, कथित बौद्धिक भनिने कविता हुन सक्छ र नरम भनेको सरल, सहज, पहुँचयोग्य, बोधगम्य शैलीमा रचित कविता हुन सक्छ । यो हिसाबले मैले लेख्ने कविता दोस्रो दर्जामा पर्न सक्छन् । विषयगत हिसाबले समाजका विकृति, विसंगति, बेथितिलाई प्रहार गर्दै, राजनीतिक–सामाजिक चेत बढाउँदै सामाजिक न्याय र सशक्तीकरणका लागि लेखिने रचनालाई कठोर कविता र जीवनका पीडा, आँसुका भावनामा बगेका रचनालाई नरम कविता भनिएको हुन सक्छ । यस हिसाबले मेरा कविता मूलतः पहिलो क्याटेगोरीमा पर्छन्जस्तो लाग्छ । तर, अहिले यस संग्रहका लागि कविता संकलन गर्दै जाँदा के देखें भने कठोर भनिने विषयमा लेख्दालेख्दै पनि कतिपय कविता आँसु, नितान्त व्यक्तिगत पीडा र भावनासँग धेरै नजिक रहेछन् ।

कविताले समाज रूपान्तरण गर्न सक्छ भन्छन् कविहरू । सामाजिक, राजनीतिक रूपान्तरणमा कविताको भूमिका के हुन्छ ?

यो कठिन प्रश्न हो । कविताको सामाजिक–राजनीतिक रूपान्तरणमा अहम् भूमिका रहन्छ । पहिलो त कविहरूले आफ्नो शिल्पको माध्यमबाट सामाजिक–राजनीतिक विकृति–विसंगतिमा प्रहार गरेर, सामाजिक मुद्दामा जागरण ल्याएर, सचेतना फैलाएर परिवर्तनका लागि प्रेरित गर्न सक्छन् । अर्को, कविताले आन्तरिक पीडा, भावना, संवेग, दृष्टिकोणलाई अभिव्यक्त गरेर एकअर्कालाई बुझ्ने/बुझाउने वातावरण तयार गर्छ, जसले एउटा समावेशी समुदाय वा समाज निर्माणमा ठूलो भूमिका खेल्न सक्छ । अहिलेको जटिल बन्दै गइरहेको समयमा जताततै नैराश्यता व्याप्त छ । यस्तो बेला कविताले नकारात्मकता होइन, सकारात्मकतासहित जीवन–जगत्प्रति आशा पैदा गर्न सक्छ । हाम्रोजस्तो राजनीतिक वा अन्य प्रकारले विभाजित समाजमा सबैलाई जोड्ने काम कविताले गर्न सक्छ । तर, कविता एक्लैले सम्पूर्ण परिवर्तन ल्याउँछ भनेको होइन । सम्पूर्ण साहित्य, कला, मिडिया, सामाजिक अभियानसँगै सहयात्रीको भूमिका रहन्छ कविताको ।

कसैले भनेका छन्, ‘अँध्यारो समयमा अँध्यारोकै गीत गाइन्छ’ । यसमा तपाईं सहमत हुनुहुन्छ ?

तत्कालीन समयको साहित्यमा ठूलो प्रभाव रहन्छ । कविता पनि समकालीन समाजको राजनीतिक–सामाजिक चेतनाको उपज हो । कसैले भनेका छन्– कविता समयसापेक्ष हुन्छ र कविता समयविहीन पनि हुन्छ । आफ्नो समयको चित्रण गर्दागर्दै पनि कतिपय कविता सदाका लागि कालजयी हुँदा रहेछन् ।

तपाईंको काव्य सिर्जनमाथि आफ्नै विश्लेषण कस्तो छ ?

अघि नै तपाईंले भन्नुभएजस्तै कविताको संसारबाट लामो समयसम्म अलग भएर पुनः फर्किने प्रयासमा छु । धेरै दशकअघि मैले लेखेका केही कविताले मलाई साहित्यमा अझै जीवित राखेको देख्दा खुसी लाग्छ, तर अब त्यो पर्याप्त छैन । धेरैअघि हराएको, फेरि भेट्टिएको पुरानो सिक्काजस्तो यस्तै भइरहेछ जिन्दगी । अबको यात्रा अझ कठिन हुनेछ । पुरानै पारामा लेखिएका कविताले अब पुग्नेछैन । अरू त पाठकले, समीक्षकले मेरा सृजनाबारे मूल्यांकन गर्नु नै हुनेछ ।

प्रकाशित : आश्विन २०, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×