त्यसैले जीवनप्रति प्रेम पनि छ

मेरा कथामा शब्द छन्, वाक्य छन् र पात्र छन्, तर सकेसम्म म तिनलाई बोल्न दिन्नँ । के म पात्रको वाक् स्वतन्त्रता लुट्ने एक निरंकुश लेखक हुँ ?
राजेन्द्र पराजुली

राजेन्द्र पराजुलीको भदौ २६ मा निधन भयो । ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जन्तरमन्तर’ लगायत किताबका लेखक उनी निबन्ध, समीक्षा पनि लेख्थे । प्रस्तुत निबन्ध पराजुलीले तीन साताअघि (भदौ ७) ‘कोसेली’ मा प्रकाशनार्थ पठाएका थिए ।

त्यसैले जीवनप्रति प्रेम पनि छ

मलाई कथामा सर्वाधिक विश्वास छ, सीमातीत प्रेम छ । कथा लेखन मेरा निम्ति जीवनको एक रोमाञ्चक यात्रा हो । कथामार्फत मलाई इच्छा लागेका कुरा लेख्न पाइरहेको छु, जसलाई म आफ्नो ठूलो प्राप्ति ठान्छु । मेरा निम्ति कथा ध्यान, विपश्यना, योग, व्यायाम र मनोपचारसमेत बन्न पुगेको छ । त्यसैले त म हिँडिरहेको छु कथाको बाटामा निरन्तर–निरन्तर । हिसाब गर्दा यो यात्राले चार दशक टेकेको छ । र, म कथाको छैटौं कृति झोलामा बोकेर यात्रारत् छु । म कथाको स्यानो झ्यालबाट विशाल संसार र यहाँका मानिस नियालिरहेछु । सानो झ्याल मलाई दूरबिनजस्तै लाग्छ । चाहेको विन्दुमा मिलाएर ठ्याक्कै हेर्न सकिने ।

तपाईं–हामी सबै फूलको स्वभावबारे परिचित छौं । फूलहरू कहिल्यै केही बोल्दैनन्, ती केवल देखाउँछन् अर्थात् तिनले दृश्यरूपी शब्द प्रकट गर्छन् र तिनै शब्दहरू मिलेर वाक्य बन्छन् । फूलले कहिल्यै पनि ती वाक्यका अर्थ बताएर बस्दैन । अर्थ बुझ्न फूलको सौन्दर्य बुझ्नुपर्छ । र, अर्थ एउटै नलाग्न पनि सक्छ । फूलले प्रकट गरेको शब्दको अर्थ भिन्नभिन्न लाग्न सक्छ ।

अन्य लेखकजस्तै मैले लेख्ने कथामा पनि शब्द छन्, वाक्य छन् र चरित्र (पात्र) छन्, तर सकेसम्म तिनलाई म बोल्न दिन्नँ । के पात्रको वाक् स्वतन्त्रता लुट्ने एक निरंकुश लेखक हुँ म ? त्यसो भन्दा पनि मेरो चित्त दुखाइ हुनेछैन । किनकि म पात्रलाई केवल देखाउन लगाउँछु, तिमी नबोल है भनेर विनम्र ढंगमा सम्झाइरहन्छु । तर, पात्र न हुन्, तिनले कहिलेकाहीँ बोलिदिइहाल्छन् । मलाई टेर्दैनन् । कुनैकुनै समयमा त अलि बढी नै बोलिदिन्छन् र फूलको चरित्र अर्थहीन बनाइदिन्छन् । त्यसबखत म केही दुःखी हुन्छु । त्यस्तो दुःख बेहोर्नु नपर्दा आफ्ना कथा आफैंलाई मन पर्छन्, दुःख बेहोर्नुपर्दा आफैंलाई कमजोर लाग्छन् ।

खोइ कुन्नि कसले, कुन सन्दर्भमा भनिदियो– कथा ‘लभ अफेयर’ हो, उपन्यास ‘म्यारिज’ अर्थात् विवाह । जसले भने पनि गज्जब भनेछन्, मलाई चित्तबुझ्दो कुरा गरेछन् र कथामा एकोहोरिनु भनेको प्रेममा एकोहोरिनुजस्तै रहेछ । हो, म अझै एकोहोरिन चाहन्छु कथामै । विवाह गरेर किन बन्धनमा बाँधिनु बरु प्रेममै सीमित रहेर स्वतन्त्रताको उडान भर्नु नै उत्तम हो भन्ने निष्कर्षमा यतिखेर म पुगेको छु ।

मलाई कथा र मानिसको जीवन उस्तैउस्तै लाग्छ । कथा मानिसका पीडा– आनन्द, जोस–क्रोध, तृष्णा र अन्यायको पुकार सुनाउने उत्कृष्ट माध्यम लाग्छ । कथाले कुनै पनि मानिसको सम्पूर्ण जीवन उधिन्न नसक्ला, तर के मानिसको जीवनबारे एउटा भीमकाय उपन्यास लेखे पनि पूर्ण होला र ? अहँ हुँदैन । हरेक मानिसमा असंख्य कथा लुकेका हुन्छन् । एउटै मात्रै कथा बोकेर मानिसको जीवन कहाँ पूरा हुन सक्छ र ? त्यसैले कुनै एक पक्ष मात्रै आउनेछ, जतिसुकै मोटो पुस्तक लेखे पनि । मानिस बडो जटिल प्राणी पनि त हो, ऊ पूर्ण रूपमा कसैसँग पनि खुल्दैन, आफैंसँग पनि केही कुरा लुकाइरहन्छ र त्यो बिर्सिएको जस्तो गरिदिन्छ । खासमा एउटा कथा अँध्यारोमा गरेको एक चुम्बनजस्तै हो । त्यस्तो चुम्बन ठीक ठाउँमा नपर्न सक्छ, गलत ठाउँमा नपरे पनि । किनकि, चुम्बन अँध्यारोमा गरिएको छ । तर, चुम्बन त आखिर चुम्बन नै हो, प्रेमिल अवस्था हो । चुम्बन गर्न प्रायः यो दुनियाँका पुरुषहरू बढी रुचाउँछन् । प्रायः महिलालाई चुम्बन अर्थात् प्रेम मात्रैले पुग्दैन, विश्वास चाहिन्छ र त्यो विश्वास विवाहमा परिणत हुनुपर्छ भन्ने कामना तिनको रहन्छ । कारण, दुनियाँका शंकालु आँखाले केवल महिलाका कमजोरी मात्रै नियाल्छ, पुरुषका ठूलै गल्ती पनि छोपिदिनेको जमात विशाल छ ।

कुनै एक कथाको मुड खासमा एउटै हुन्छ, कथाका महारथी एड्गर एलन पोले पनि यसै भनेका थिए । हामी प्रायः मुड शब्दलाई सामान्य अर्थमा परिस्थितिहरूको समग्र भावना वर्णन गर्नमा प्रयोग गर्छौं । मुड एक भावना हो, जसले व्यक्ति वा पात्रको मनको भावनात्मक अवस्था वा कथाको वातावरणलाई सान्दर्भिक बनाइदिन सक्छ । कथाहरूमा मुड सर्वव्यापी हुन्छ । उता, चलचित्रमा मुडलाई भिजुअल र ध्वनिमार्फत पनि सञ्चार गर्न सकिन्छ । कथामा मुडसँग भावना पनि जोडिएको हुन्छ । त्यसैले त कैयौं चर्चित कथा मुडमा लेखिएको भनी लेखकहरू नै भन्ने गर्छन् । कथा कुनै एउटा कुरामा अधिक लक्षित हुन्छ । जब त्यसले पाठकको मस्तिष्कमा हिर्काउन थाल्छ, तब तिनीहरूलाई कहिल्यै बिर्सन सकिँदैन । म कथा लेख्न बस्दा जे थिएँ वा अन्त्य गर्दा जे छु, त्यो म बाँकी रहन्न । मेरो अर्कै दुनियाँ निर्माण भइसकेको हुन्छ, त्यो दुनियाँमा म पुनः अर्को कथाको खोजीमा लाग्नेछु ।

एउटा राम्रो कथाले हाम्रो देश, देशवासी, हाम्रा आग्रह–पूर्वाग्रहहरू र हाम्रा विश्वासका सीमाहरू पार गर्छ । कथाले सधैं एउटा प्रश्न सोध्छ, जसको सरल शब्दमा जवाफ दिन सकिँदैन । र, वर्षौंपछि त्यही कथा पुनः पढ्दा त्यसको अर्थ थप घनीभूत बनिरहेको हुन सक्छ । कथामा सही विवरण राखिएन भने त्यो एकदमै अपत्यारिलो र नांगो हुन सक्छ । तिथिमितिबिनाका तथ्यमा आधारित विवरणहरूले कथालाई मानवीय बनाउँछ र कथा जति धेरै मानवीय हुन सक्छ, त्यति राम्रो हुन्छ । उता, कथा लेखनको सम्पूर्ण रहस्य खोल्दै ओ हेनरी भन्छन्, ‘कथाको नियमः आफैंलाई मन पर्ने कथा लेख । त्यहाँ कुनै नियम छैन ।’

अचेल केही युवा लेखक पहिलो पुस्तकका रूपमा नै उपन्यास लेखिरहेको देख्छु । केही युवा मसँग ठोक्किन पनि आइपुग्छन् र मलाई आफ्नो उपन्यासको पाण्डुलिपि दिएर ‘एक पटक पढिदिएर भन्दिनुपर्‍यो कि यो उपन्यास भयो कि भएन’ भन्छन् । तिनले सम्पादनको कुरा पनि गर्छन् । ती युवा, जो साहित्यको दुनियाँमा प्रवेश गर्न चाहन्छन् म तिनलाई ‘तिम्रो उपन्यास निकै कमजोर छ’ भनेर हतोत्साही बनाउन चाहन्नँ । म बरु ‘केही कथा लेखेर सुरु गरौं न साहित्ययात्रा अनि पछि उपन्यास लेख्दा भइहाल्छ’ भनेर थुमथुम्याउँछु । साँच्चै नै उपन्यास लेख्ने योजनामा रहेका युवा लेखकले केही कथा लेख्दा आख्यानात्मक शिल्पको विकास हुन जान्छ । यस्तो सुझाव दिँदा अर्को पनि फाइदा हुन्छ, नेपाली साहित्यमा केही कथा थपिन्छन् । के थाहा ती कथा नै त्यो युवा लेखकको जीवनकै उत्कृष्ट आख्यान नै पो बन्ने हो कि ! यस्तो हुनु असम्भव छ र !

कहिलेकाहीँ म कथाका पात्रहरूद्वारा सपनामा लखेटिन्छु । पछिल्लो समय लेखेको ‘जन्तरमन्तर’ संग्रहमा रहेको ‘मासु बेच्ने केटो’ शीर्षकको कथाको प्रकाश नामको प्रोटागोनिस्टले मलाई हैरान पारेको छ, सपनामा । त्यो कथा लेखेको झन्डै तीन वर्ष भयो, प्रकाश मेरो सपनामा दुई पटक आइसक्यो र मलाई सुत्नै नसक्ने बनाएर गएको छ ऊ । कहिले ‘मुस्तफा हुसेनको साइकल’ को मुस्तफा आउँछ, कहिले बूढा मार्क्स (सपनामा मार्क्सका) आउँछन् । निद्रा बिथोलेर सुत्न नदिने थुप्रै कथाका पात्रहरूलाई बेहोरिरहेको छु म, लामो समयदेखि ।

जब म कुनै कथा लेखिसक्छु वा अरूको कथा पढिसक्छु अलि बढी सचेत र वरपरको दुनियाँको मलाई साह्रै माया लागेर आउँछ । यो समयमा व्याप्त अन्धकारले मलाई दिउँसै ऐँठन पार्छ । साँच्चै कति ‘डार्क’ छ है, यो समय ? कसले हाम्रो उज्यालो खोसेर हामी भुइँमान्छेको भागमा अन्धकार मात्रै छाडिदियो ? को हो त्यो खलनायक ? त्यो कहाँ लुकेर बसेको छ ? त्यसको चरित्र कस्तो छ ? हामीलाई अन्धकार वितरण गर्ने त्यो ‘भिलेन’ सर्वत्र छ । म हरदम ती भिलेनहरूको जासुसी गरिरहेको छु र कथामार्फत तिनका कर्तुत पत्ता लगाउने कोसिस गरिरहेको छु ।

राजनीति, समाज, शिक्षा, पत्रकारितामा मात्र होइन, त्यो प्रेममा पनि भित्र पसिसकेको छ । र, त्यसले सबथोकलाई संक्रमित पारिसकेको छ । त्यो संक्रमणले विशेषगरी युवापुस्तालाई ‘होपलेस’ बनाइदिएको छ । देशप्रति नै वितृष्णा जगाइदिएको छ । मेरो खोज त्यही भिलेनलाई कथामार्फत सार्वजनिक गर्ने र नंग्याउने प्रयत्न हो । यही कारण नै यो ‘डार्क टाइम’ को कथा लेख्न उत्प्रेरित बनेको छु ।

आजभन्दा करिब सवा सय वर्षअघि बर्तोल्त ब्रेख्तले लेखेका थिए– ‘इन द डार्क टाइम्स, विल देयर अल्सो बी सिंगिङ ? एस, देयर विल अल्सो बी सिंगिङ, अबाउट द डार्क टाइम्स’ । राजनीति अति खराब भएको समय अर्थात् पहिलो विश्वयुद्ध चलिरहँदा मानिसले भोग्नुपरेको कष्टलाई ब्रेख्तले ‘डार्क टाइम’ को संज्ञा दिएका थिए । अहिले नेपालमा कुनै युद्ध वा द्वन्द्व छैन, विचारको लडाइँ पनि छैन, तर पनि किन हामी अँध्यारो समय भोग्न अभिशप्त छौं ? उत्तर स्पष्ट छ, विभिन्न खालका सत्ताको मठमा बस्नेहरूको ‘बेइमानी’ का कारण यो अन्धकार व्याप्त भएको हो । म त्यही अन्धकारको वैचारिक गीत लेख्ने प्रयत्नमा छु । मेरा कथामा कतै ‘उज्यालो’ देखिएछ भने त्यो ‘अपवाद’ मात्रै हो । म चाहन्छु मेरा कथाहरूको अन्त्य सुखद होस् । तर, के गर्नु हाम्रो जीवन यति कष्टपूर्ण बन्न पुगेको छ कि, सुखद अन्त्य पाउन अझै लामो समय कुर्नुपर्ने हुन सक्छ । तर, पनि स्मरणमा के राख्छु भने बाँच्न जति गाह्रो छ त्यति नै रमाइलो पनि त छ । सर्वत्र निराशा छ, त्यसैले त जीवनप्रति प्रेम पनि छ ।

सन् १८६० मा जन्मिएका एन्टोन चेखभका कथाहरूमा धेरै किसिमका निराशा र असफलता देख्न पाइन्छ । उनका कथामा प्रायः प्रोटागोनिस्टहरू घटनाबाट भ्रमित हुन्छन्, जसले उनीहरूलाई आफ्नो व्यक्तिगत दर्शन र संसारको बुझाइको पुनः मूल्यांकन गर्न बाध्य तुल्याउँछ र यस्तो भ्रम सामान्यतया कथाको अन्त्यतिर हुन्छ । मानिस उहिलेउहिलेदेखि नै निराश रहेछन्, भ्रमित रहेछन् । मानिसहरू आफ्ना ‘होप’ हरूको हत्या भएको विवश भएर टुलुटुलु हेर्न बाध्य रहेछन्, जुन अहिले आएर यो समयमा पनि जारी छ ।

मैले कस्तो कथा लेख्ने र के विषय वा घटनामा लेख्ने भन्ने सवालमा म स्पष्ट छु । कथामार्फत कस्तो सन्देश प्रवाह गर्ने र कसको पक्षपोषण गर्ने भन्ने सन्दर्भमा पनि ममा कुनै द्विविधा छैन । तर, कसरी लेख्ने ? अझै कसिलो र भरिलो कसरी बनाउने भन्ने कुरामा गम्भीर मिहिनेत जारी छ । मेरो लेखनीबारे म स्वयम्जत्तिको क्रूर समालोचक अरू कोही छैन भन्ने मेरो ठोकुवा छ ।

कतिपय विश्लेषक तथा अनुसन्धाताहरू अचेलको गद्य लेखनमा कथामा सबैभन्दा कठिन र अनुशासनात्मक रूप देख्छन् । कहाँ र कुन आधार वा कस्तो क्षेत्रमा गरिएको अनुसन्धान हो त्यो, त्यसको निष्कर्ष त्यसमै आधारित हुन्छ । मेरा निम्ति कथा लेखन सबैभन्दा ‘कम्फर्टेबल जोन’ हो । त्यही कम्फर्टेबल जोनमा बसेर म कथाको झरीमा रुझिरहेको छु । यो झरी ‘साउने’ बनोस्, अनवरत् बर्सिरहने । कथाको संक्षिप्तता, तीव्रता, सन्तुलन र सीमित तर धारिला शब्दहरूमाथि खेल्न पाउनु मलाई बौद्धिक उत्तेजना बढाउनुजस्तै लाग्छ ।

प्रकाशित : भाद्र ३०, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x