कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मुल्तानदेखि क्यान्डीसम्म

क्रिकेट मैदानमा मात्रै सीमित छैन– एसिया कप । सार्क राष्ट्रको कूटनीति स्थापित गर्नेदेखि भारत–पाकिस्तानबीच खिचातानीको आक्रोश पोख्नेसम्मको स्थल हो यो । नेपालले पहिलो पटक एसिया कप खेल्दै दक्षिण एसियाको क्रिकेट–संस्कारलाई आगालेको थियो ।
विनोद पाण्डे

भारत–पाकिस्तानबीचको कटुतासहित धेरै अन्योलता चिर्दै एसिया कप क्रिकेट सुचारु हुँदा नेपालले ‘डेब्यु’ गर्ने अवसर पाएको थियो । पहिलो पटक एसिया कपमा छनोट भएको नेपालले यही भारत र पाकिस्तानसँग समूह चरणमा खेल्दै इतिहास मात्रै कोरेन, राम्रो सम्भावनाको छाप छोड्दै दक्षिण एसियाको संस्कार मानिएको क्रिकेटमा आफू पनि कम नभएको प्रदर्शन गर्‍यो ।

मुल्तानदेखि क्यान्डीसम्म

विगतमा नेपाल छनोट भएर पनि एसिया कप खेल्न पाएको थिएन, कारण भारत र पाकिस्तानबीचको तनावलाई लिएरै थियो । यस पटक पनि नेपाल छनोट भएलगत्तै पुनः यस्तै समाचार आयो र एसिया कपलाई लिएर अन्योलता छायो । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको आयोजक राष्ट्र पाकिस्तान थियो । भारतले पाकिस्तानमा गएर खेल्न ठाडै अस्वीकार गरिदियो । यहींबाट एसिया कपको आयोजनालाई लिएर कालो बादल मडारिएको थियो ।

वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट भएको थियो । एसीसी ट्रफीको परिमार्जित स्वरूप हो– एसीसी प्रिमियर कप । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्ने टेस्ट राष्ट्रबाहेक नेपाल लगायतका एसोसिएट राष्ट्रलाई एसिया कपका लागि छनोटको आधार यही एसीसी ट्रफी हुन्थ्यो । सन् २००२ को एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसिया कपमा छनोट भएको खुसी र दुर्भाग्य पनि साथमै आयो, जब भारत र पाकिस्तानबीच कार्गिल युद्ध भयो र एकअर्काविरुद्ध खेल्न अस्वीकार गरिदिए । त्यो वर्ष एसिया कप नै हुन सकेन । नेपाल छनोट भएर पनि खेल्न नपाएपछि राजु खड्का र उनको टोली निराश हुनु बाहेकको विकल्प थिएन ।

इतिहास दोहोरिने क्रममा थियो, पाकिस्तान गएर नखेल्ने भारतको अडान कायमै थियो । भारत एसिया कप खेल्न पाकिस्तान नआए आफूहरू पनि विश्वकप खेल्न भारत नजाने भन्दै एक चरण घुर्की पाकिस्तानले पनि लगाएको थियो । आयोजनालाई लिएर त्यसपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हाइब्रिड मोडल ल्याएको थियो, जसअनुसार पाकिस्तानमा चार खेल मात्रै आयोजना हुने र बाँकी ८ खेल अर्को देशमा हुने । पहिलो तटस्थ भूमिमा यूएईको नाम आएको थियो । बंगलादेश र श्रीलंकाले यो प्रस्ताव अस्वीकार गरेपछि अन्योलता थपिँदै गएको थियो । यस पटक एसिया कप हुन्छ नै भन्ने एउटा आधार के थियो भने अक्टोबर–नोभेम्बरमा भारतले विश्वकप आयोजना गर्दै थियो, त्यसका लागि एसिया कप रिहर्सल जस्तो थियो । विश्वकपअघि योभन्दा राम्रो तयारी अरू केही हुनै सक्दैनथ्यो । अन्त्यमा पाकिस्तानपछि बाँकी खेलहरू श्रीलंकामा खेल्नेमा सहमति जुट्यो ।

तस्बिरहरू : एएफपी/क्यान

एसिया कप क्रिकेट मैदानमा मात्रै सीमित छैन । सार्क राष्ट्रको कूटनीति स्थापित गर्नेदेखि भारत र पाकिस्तानबीचको खिचातानीको आक्रोश पोख्ने स्थान पनि एसिया कप नै हो । यसको सबैभन्दा ठूलो प्रभाव आर्थिक पक्षले राख्छ । २००२ मा नेपालले एसिया कपमा सहभागी हुन पाएको भए मात्रै १ लाख डलर पाउने थियो । त्यतिखेरको स्थितिलाई तुलना गर्ने हो भने यो रकम एसीसीले प्रदान गर्ने वार्षिक अनुदान बराबरको थियो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिन वार्षिक ग्रान्टभन्दा २ लाख मात्रै कम थियो । सीमित बजेटमा घस्रिरहेको नेपाललाई त्यो १ लाख डलरको महत्त्व कति थियो भनेर अहिले पनि हिसाबकिताब गर्दा चुकचुकाउन मात्रै सकिन्छ । २१ वर्षअघि नै एसिया कप खेलेको भए सम्भवतः अनुभवले खारिएको नेपाल विश्व क्रिकेट लिगको तल्लो डिभिजनमै अड्किरहनु पनि पर्दैन थियो होला ।

...

पीसीबीका अध्यक्ष नजम सेठीले भारत र पाकिस्तानलाई हेरेर एसिया कपको खेल तालिका बनाइएको उद्घोष गरेका थिए । उनका अनुसार, भारत र पाकिस्तानको खेलबाट एसिया कपको आम्दानीको ८० प्रतिशत रकम संकलन हुने तथा त्यहीअनुरूप भारत र पाकिस्तानबीच एसिया कपमा एक पटक होइन, तीन पटकसम्म खेल्न सकिने गरी तालिका डिजाइन गरिएको थियो । सेठीका अनुसार, भारत र पाकिस्तान समूह चरणमा आमनेसामने हुने र नेपालको चुनौतीलाई पन्छाइँदै सुपर फोरबाट सम्भावित फाइनलमा भिड्ने समीकरण मिलाई एसिया कपको खेल तालिका बनाइएको थियो । नेपालले सुपर फोरमा पुग्न यो डिजाइनलाई चिर्नुपर्ने थियो, अर्थात् भारत र पाकिस्तानमध्ये एकलाई पराजित गर्नुपर्ने थियो । त्यसो भएमा मात्रै नेपाल विश्व क्रिकेटको महाशक्ति भारत र विश्व नम्बर एक पाकिस्तानमध्ये एकलाई स्तब्ध पार्दै दोस्रो चरण पुग्ने सम्भावना बन्ने थियो । तर, नेपालका लागि एसिया कप खेल्न पाउनु नै ठूलो सफलता थियो, मैदानभित्र देखाउने प्रदर्शन दोस्रो प्राथमिकता मात्रै थियो ।

एसिया कप हुनु दुई महिनाअघि जस्तोमा पीसीबीमा दक्षिण एसियाको जड राजनीति हस्तक्षेपको रोग सल्केको थियो । पाकिस्तानी सरकारले सेठीको नेतृत्वमा रहेको पीसीबीलाई विघटन गरी जाका असराफको नेतृत्वमा नयाँ कमिटी बनाएको थियो । जाका पञ्जाब प्रान्तका हुन् र चारै खेल लाहोरमा हुने निश्चित भइसकेको अवस्थामा एक खेल आफ्नो प्रान्तको मुल्तान सहरमा ल्याएका थिए । संयोगले त्यो खेल प्रतियोगिताको उद्घाटन खेल थियो र पाकिस्तानले नेपालको सामना गर्ने भएको थियो । मुल्तानमा नेपाली टोलीले भव्य स्वागत पाएको थियो । स्थिति यतिसम्म रह्यो कि नेपालजस्तो आतिथ्यता सत्कार नपाएकोमा लाहोर पुगेको अफगानिस्तान क्रिकेटले पाकिस्तानसमक्ष गुनासो पनि गर्‍यो । एसिया कपको उद्घाटन खेलका लागि मुल्तान सुरक्षाकर्मीले घेरिएका थिए । पाकिस्तान र नेपालबीचको खेल रिपोर्टिङ गर्न मुल्तान पुगेका दुई विदेशी पत्रकारमध्ये एक मेरा लागि ६ जना हतियारधारी सुरक्षाकर्मी खटाइएको थियो । होटलबाट कहींकतै बाहिर निस्किनुपरे २ घण्टाअघि त्यसको जानकारी गराउनुपर्ने थियो र सुरक्षाकर्मीको स्कर्टिङमा मात्रै होटल बाहिर निस्किन पाइन्थ्यो । नेपालको खेल हेर्न मुल्तान पुगेका समर्थकका लागि पनि पाकिस्तान ‘इन र आउट’ मात्रै थियो । सुरक्षाका हिसाबले होटल र रंगशाला बाहिर जाने जोखिम कसैले लिएका थिएनन् । १९ वर्षपछि पुनः पाकिस्तान पुग्दा विगतभन्दा जीवनशैली केही फरक रहेको पाएको थिएँ । मानिसहरू सहज रूपमा बजारमा निस्किएका थिए । ठूलो प्रतियोगिता आयोजना गरिरहेकाले सुरक्षाकर्मी चाहिनेभन्दा बढी तैनाथ गरिएको भन्दै ट्याक्सी चालक मोहम्मद इकबाल झर्को मानिरहेका थिए ।

जसरी प्रतियोगिताको डिजाइन गरिएको थियो, त्यसै अनुरूप पाकिस्तानी मिडिया आफ्ना देशका कप्तान बाबर आजमलाई प्रश्न तेर्स्याइरहेका थिए । नेपालसँग खेलेको ५ दिनपछि पाकिस्तानको भेट श्रीलंकाको क्यान्डीमा चिर प्रतिद्वन्द्वी भारतसँग थियो । प्रायः प्रश्न भारतसँगको खेललाई लिएर मात्रै थियो । तर, एसिया कपको पहिलो खेल भएकाले नेपालविरुद्ध पाकिस्तान पूर्ण शक्ति लगाएर मैदानमा उत्रिन तयार थियो । नेपालसँग कुनै अप्रत्याशित नतिजा आएमा भारत र पाकिस्तान एसिया कपमा तीन पटकसम्म खेल्ने डिजाइन तुहिन्थ्यो । बाबरले पाकिस्तानसँगको खेलको अघिल्लो दिन नै नेपाललाई पूर्ण सम्मान दिएर खेल्ने जनाएका थिए । अफगानिस्तानसँग श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेली पाकिस्तान मुल्तान पुगेको थियो । अफगानिस्तानविरुद्ध अन्तिम खेलमा आराम दिएका प्रमुख खेलाडीहरू नसिम शाह, हरिस राउफ, इफ्तिखार अहमद र सदाब खानलाई पाकिस्तानले नेपालविरुद्ध उतारेको थियो ।

नेपाललाई अतिथिको हिसाबमा स्वागत गरे पनि खासै ठूलो प्रतिद्वन्द्वीका रूपमा लिएका थिएनन्, चाहे त्यो दर्शकहरूले होस् वा मिडियाहरूले । आँपको सहर मुल्तानमा नेपालले पनि खल्लो प्रदर्शन भने गरेन । फिल्डिङलाई बिर्सने हो भने ४२ ओभरसम्म नेपाली बलिङले विश्वका शीर्ष पाँचमध्येको ३ ब्याटर रहेको पाकिस्तानको राम्रै परीक्षा लियो । पाकिस्तानी दिशाबाट हेर्दा सुरुका ४० ओभर नेपालले नियन्त्रण गरेको खेल नभई पाकिस्तानले नियन्त्रित भएर खेलेको खेल थियो । २ सय ५० माथिको स्कोरले नेपाललाई दबाब दिन सकिन्छ भन्नेमा उनीहरू विश्वस्त थिए र नियन्त्रित भएर इनिङ्स तानेका थिए । त्यसैले त अन्तिम ८ ओभरमा पाकिस्तानले आफ्नो पूरा अनुभव देखाउँदै १ सय १४ रन जोडेको थियो । कप्तान बाबर आजम र अहमदले पाकिस्तानलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए ।

२००२ मा नेपाल एसिया कपका लागि छनोट हुँदा यू–१९ टोलीमा रहेका कनिष्क चौंगाई एसिया क्षेत्रलाई विश्वकपसरह रहेको प्रतियोगितामा खेल्ने सपना देखिरहेका थिए । उनी एसिया कपमा नेपालको समूहमा जोसुकै परे पनि श्रीलंका नपरोस् भन्ने कामना गरिरहेका हुन्थे । कारण श्रीलंकाको तीव्र गतिको बलिङ नेपालका लागि खेल्न होइन, देख्न पनि गाह्रो हुने अड्कल उनको थियो । अहिले खेलिरहेका भए कनिष्कले आफ्ना भनाइ फेरिसकेका हुन्थे । किनभने तीव्र बलिङमा पाकिस्तान निकै मजबुत टिम बनेको छ । शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफको ‘एक्का ट्रायल’ बलिङले ‘स्पिड स्टार’ शोएव अख्तरलाई आफ्नो जवानी याद दिलाइदिएको छ । एसिया कपमा पाकिस्तानले खेलेका ३ खेलमा अफ्रिदी, शाह र राउफले २३ विकेट लिइसकेका छन् । सातमध्येको ४ विकेट लेग स्पिनर सदाव खानले नेपालविरुद्ध लिएका थिए । सद्धावअघि नै अफ्रिदी, शाह र राउफले नेपालको ब्याटिङलाई तहसनहस पारिसकेका थिए । अफ्रिदीले पहिलो ओभरमै २ विकेट लिने क्रममा नेपालका कप्तान रोहित पौडेललाई उनले सामना गरेको पहिलो बलमै एलबीडब्लू आउट गरेका थिए । अफ्रिदीले फालेको बलमा जुन गति थियो, रोहितलाई त्यो ठम्याउनै गाह्रो परेको थियो । आरिफ शेख र सोमपाल कामीले केही प्रतिरोध गरे पनि नेपालले मुस्किलले १ सय रन कटाएको थियो । नेपालसँग २ सयभन्दा ठूलो रन अन्तरले विजय हात पारेपछि पाकिस्तानले सुपर फोरमा आफ्नो स्थान मजबुत बनाइसकेको थियो अर्थात् एसिया कपको खेल तालिका जसरी डिजाइन गरिएको थियो, त्यसअनुरूप पाकिस्तान अगाडि बढिसकेको थियो ।

...

भारतको पाकिस्तानसँगको बहुप्रतीक्षित भिडन्त र नेपालसँगको खेल श्रीलंकाको पहाडी सहर क्यान्डीमा थियो । २०१९ को विश्वकपपछि भारत र पाकिस्तान पहिलो पटक एकदिवसीयमा आमनेसामने हुन लाग्दा बादल पुनः मडारिएको थियो । यस पटक आयोजनाका अन्योलतालाई नभएर वर्षाको आगमनलाई लिएर बादल जम्मा हुँदा क्यान्डी सहर धुम्म बनेको थियो । पूर्वानुमान बमोजिम नै वर्षाले पूरा खेल हुन दिएन । एउटा इनिङ्स मात्रै सम्भव भएको थियो, त्यसमा भारतले ब्याटिङ र पाकिस्तानले बलिङमा पूर्ण मनोरन्जन दिएको थियो । ठूला प्रतियोगितामा साधारणतया ‘प्रि–म्याच’ मा कप्तान र ‘पोस्ट म्याच’ मा प्रशिक्षक आएर मिडियाको प्रश्नहरू ट्याकल गर्ने गर्छन् ।

भारत र पाकिस्तान दुवै टोलीका कोही नआएपछि नेपालसँगको आगामी खेलबारे भारतीय प्रतिनिधिलाई सोध्ने प्रश्न अधुरै रह्यो । भोलिपल्ट अर्थात् नेपालसँगको खेलको एक दिनअघि भारतीय प्रतिनिधि पत्रकार सम्मेलनमा पुनः अनुपस्थित रहे । फलतः भारतीय मिडियाबाट ‘रोहित’ घेरिन पुगे । उनी भारतीय कप्तान रोहित शर्मा नभई नेपालका कप्तान रोहित पौडेल थिए ।

भारतसँग खेल्न पाउनु नै सपना जस्तो रहेको र यसले धेरै नेपालीको सपना पूरा गरेको रोहित बताइरहेका थिए । रोहित शर्मा, विराट कोहलीजस्ता खेलाडीको खेल हेरेर हुर्केका रोहित पौडेल लगायतका नेपाली खेलाडीहरूलाई उनीहरूकै देश भारतसँग खेल्न पाउनु अवसर र सपनाभन्दा माथि नै थियो । पहिलो सात बल सम्भवतः नेपाल र भारत दुवैले नसोचेको जस्तो भयो । कुशल भुर्तेलले पहिलो ओभरको अन्तिम बल र आसिफ शेखले दोस्रो ओभरको पहिलो बलमा जीवनदान पाए । श्रेयस ऐर र कोहलीजस्ता खेलाडीले नियमित क्याच लिन चुकेका थिए । यसको फाइदा कुशल र आसिफले भरपूर उठाई नेपाललाई सानदार सुरुआत दिलाए । नेपालले १० ओभरमा ६५ रन जोडिसकेको थियो । भारतीय कप्तान रोहित पटक–पटक टाउकोमा हात पुर्‍याई निराशाको भाव पोखिरहेका हुन्थे । निर्धारित ५० ओभर खेल्नु र १० बल अगाडि अलआउट हुनुपूर्व नेपालले २ सय ३० रन जोडेको थियो ।

‘नेपाललाई अलआउट गर्न भारतको पसिना छुट्यो,’ भारतीय अनलाइन ‘हिन्दुस्तान’ मा यो हेडलाइनसहितको समाचारले नेपालको ब्याटिङ प्रभाव प्रस्ट पार्थ्यो । ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने धम्की दिएको दुई दिनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपालसँगको भारतको खेल हेर्न क्यान्डी पुगेका थिए ।

पूर्वगृहमन्त्री रवि लामिछाने दम्पती, उद्योगीहरू शेखर गोल्छा, पशुपति मुरारका, वीरेन्द्र शाह, कलाकार वर्षा सिवाकोटी, पूर्वप्रहरी अधिकारीहरू रमेश खरेल, नवराज सिलवाललगायत क्यान्डीको पालेकेले क्रिकेट रंगशाला पुगेका झन्डै ३ हजारको संख्यामा रहेका नेपाली दर्शकलाई भारतविरुद्धको ब्याटिङले ठूलो खुसीयाली दिएको थियो ।

एसिया कप खेल्न जानुअघि नेपालका प्रशिक्षक मोन्टी देसाईले पाकिस्तान र भारतसँग खेल्न पाउनु नेपालका लागि उत्सवजस्तै रहेको बताएका थिए । भारतसँगको ब्याटिङलाई धेरै नेपालीले पर्वजसरी मनाउने अवसर पाए । नेपालको खेल हेर्न सदाबहार अलराउन्डर शक्ति गौचन क्यान्डी पुगेका थिए । उनका अनुसार, नेपाली टोलीको संरचनामा रहेका ३० मध्येका अधिकांश खेलाडी २०–२२ वर्षका छन् । त्यही भएर नेपाली क्रिकेटले आउँदो १० वर्ष योजनाका साथ जाने हो भने अझै राम्रो गर्न सक्छ ।

चार वर्षअघि नेपाल क्रिकेट संघको निर्वाचनमा अध्यक्षका लागि आमनेसामने भएका विनयराज पाण्डे र चतुरबहादुर चन्दलाई नेपालको भारतसँगको खेलले पुनः एकै स्थलमा भेट गराएको थियो । भारत र पाकिस्तानसँग खेल्न पाउनु एक जुगमा एक दिन जस्तै अवस्था रहेको स्थितिमा नेपालले एसिया कपमा आफ्नो पहिलो उपस्थितिमै जुझारु प्रदर्शन गरेको थियो । भारतले ब्याटिङमा भने नेपाललाई कुनै मौका दिएन । वर्षाका कारण २३ ओभरमा छोट्याइएको खेलमा रोहित शर्मा र सुबमन गिलले नेपाली बलरमाथि सहजै आक्रामक रूपमा प्रस्तुत भई १० विकेटको विजय दिलाएका थिए । यसले विराट कोहली, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याजस्ता ब्याटरविरुद्ध नेपालको बलिङ गर्ने योजना अधुरै रह्यो ।

एसिया कपमा प्रवेश गराएसँगै नेपालका भारतीय प्रशिक्षक देसाईले ध्यान आफूतिर केन्द्रित गराएका थिए । पाकिस्तान र भारत दुवैसँगको खेल उनका लागि विशेष थियो । भारतीय नागरिकका रूपमा उनी नेपालको प्रशिक्षक भएर पाकिस्तानी भूमिमा टेकिरहेका थिए । यसमा उनी आफू क्रिकेटमा मात्रै केन्द्रित रहेको भन्दै विवादमा पर्न चाहेनन् र कुनै प्रतिक्रिया दिएनन् ।

आफ्नो मातृभूमि भारतसँग नेपाललाई उतार्दा झन् विशेष हुने भइहाल्यो । नेपाल र भारतको खेलमा मोन्टीले दुवै देशको राष्ट्रिय गीत गाएका थिए । हरेक खेलपछि उनी आफ्ना खेलाडीहरूलाई ड्रेसिङ रुममा मेडल दिने गर्छन्, चाहे जितमा होस् वा हारमा । यस पटक अवार्ड दिन उनले नै अतिथि खोजेर ल्याएका थिए । विराट कोहली, हार्दिक पाण्ड्या, प्रशिक्षक राहुल द्रबिडसहित भारतीय टोली नेपाली खेलाडीलाई मेडल दिन पुगेका थिए । यसको प्रभाव पक्कै पनि नेपाली टोलीसँग लामो समयसम्म रहनेछ ।

नेपालले एसिया कपको एउटा खेल श्रीलंकामा खेल्नु पनि विशेष थियो । श्रीलंका क्रिकेट बोर्डले नेपालको क्रिकेटलाई यो स्थितिमा ल्याउन धेरै सहयोग गरेको थियो । श्रीलंकाका पूर्वखेलाडीद्वय रोय डायस र पुबुदु दासानायके नेपालको प्रशिक्षक थिए । १० वर्षको बसाइ क्रममा उनले आफूलाई नेपाली क्रिकेटको ‘गड फादर’ छवि बनाए । श्रीलंका यू–१९ टोलीसँग व्यस्त रहेका कारण उनले नेपालको खेल मैदानमै गएरै हेर्न त पाएनन्, तर नेपालको यो सफलतामा उनी खुसीका भावहरू पोखिरहेका थिए । नेपाली क्रिकेटलाई एक्सपोज गरेका दासानायकेले ट्वान्टी–२० विश्वकप नै खेलाए ।

एसीसीको प्रतिनिधिका रूपमा बन्दुला वार्नापुरा र रुमेश रत्नायके नेपालको क्रिकेट विकासमा खटिएका थिए । यति मात्रै होइन, नेपाल प्रमुख प्रतियोगिता खेल्न जानुअघि धेरै पटक श्रीलंकामा १ देखि २ साता प्रशिक्षण गरेर जाने गर्थ्यो । श्रीलंका बसाइको सम्पूर्ण खर्च धेरै पटक श्रीलंका क्रिकेट बोर्डले बेहोर्ने गरेको थियो । श्रीलंका अहिले आर्थिक मन्दीका कारण अप्ठ्यारो स्थितिमा छ । नेपाली नेताहरू आफ्नो देश श्रीलंका नबनोस् भनेर भाषण गरिरहेका हुन्छन् ।

बाहिरी रूपमा हेर्दा श्रीलंका त्यस्तो पतन बनिसकेको देखिएन । जे होस्, श्रीलंकाको यस्तो आर्थिक संकटमा पनि झन्डै ३ हजार नेपालीहरू काठमाडौंबाट मात्रै नभई अमेरिका, बेलायत, अस्ट्रेलिया, अफगानिस्तानबाट कोलम्बो हुँदै क्यान्डी पुगेका थिए । नेपालले श्रीलंका क्रिकेटलाई जस्तै श्रीलंका सरकारले पनि पक्कै नेपाली समर्थकको यो गुण सम्झिइरहनेछ ।

प्रकाशित : भाद्र २३, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×