२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दमनको इख

छोरीको बिहे गरेर पठाउन पाए टाउकोबाट ट्युमर हटाएजस्तो महसुस किन हुन्छ, बा–आमालाई ? किन सुनिन्छ एउटै वाक्य– यही एउटा पीर थियो अब हलुंगो भयो !
शिक्षा रिसाल

मैले घरमा दुई हप्ताअघि ‘बम’ खसालें । त्यो बमले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मैले आमासामु उभिएर भनें, ‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?’

दमनको इख

मैले संविधानको प्रस्तावना पढेर सुनाएँ । आमाको रगत उम्लिसकेको थियो । थामथुम पारेर १६ औं पृष्ठको मौलिक हकमा पुर्‍याएँ । धारा ३८ को ‘महिलाको हक’ मा औंलो पुर्‍याएर भनें, ‘संविधान नै मान्दिनँ भन्नुभो भने त अदालत जान्छु ।’

आमा रन्किनुभो, ‘तँ अदालत गइस् भने म पनि वकिल लगाउँछु ।’ आमाले समाजको डर देखाएर मलाई धम्क्याउने अनेक प्रयास गर्नुभो । भारतमा बस्ने दिदीले पनि भनी, ‘तैंले त्यस्तो गरिस् भने अदालतमा त जित्नेछस्, तर समाज र सम्बन्धमा हार्नेछस् । समाजमा मुख देखाउन नसक्ने हुन्छेस् ।’

म गल्नेवाला थिइनँ । भनें, ‘वरपरका ७–८ जनाले जे सोचे सोचून् । बाँकी संसारले मलाई साथ दिनेछ ।’

...

धेरै पटक सोच्छु, ‘म किन छोरी भएर जन्मिएँ ?’

नेपाली समाजको एक हुनेखाने ब्राह्मण परिवारको घरमा दुईवटा छोरीको जरुरत थिएन । दोस्रा छोरीहरू छोराको आसमा जन्माइएका हुन्छन् । दोस्रा छोरीहरू जन्मिँदा पक्कै बा–आमा प्रफुल्ल थिएनन् । दोस्रा छोरीहरू भार हुन्छन् । म पनि छोराको आसमा जन्मिएकी, तर हुन नसकेको छोरा हुँ ।

मभन्दा अघि मेरी दिदी जन्मिइसकेकी थिई । छोरीको कोटा त उसले पूरा गरिदिइसकेकी थिई । मेरो घर–परिवारमा म जन्मिनु वा नजन्मिनुको कुनै उत्साह र उमंग थिएन । तर, पनि म जन्मिएँ । मेरा बा–आमालाई म थप जिम्मेवारी थिएँ । मेरो सट्टा मेरो भाइ जन्मिदिएको भए सम्भवतः यो धर्तीमा एउटा जनसंख्या कम हुन्थ्यो । हुन त यो देशका लागि हामी जनसंख्याको एउटा अंकबाहेक अरू केही पनि त होइनौं ।

भाइलाई देखेर म कहिलेकाहीँ रिसाउँछु— ‘तँ अलि चाँडै जन्मेको भए मलाई यो जिन्दगीको चक्कर नै लगाउनु पर्थेन । यो सर्कसमा नाच्नु पर्थेन ।’

किनभने बीचका छोरीछोरीहरू यता न उताका हुन्छन् । पहिलो बच्चाले यत्तिकै माया पाइहाल्ने भयो । अन्तिम बच्चा सबैको प्यारो । यी बीचका बच्चा–बच्ची मझधारमा अल्झिने ढुंगाजस्ता हुने रहेछन् । न त बाउको प्यारो न त आमाको । बीचका छोराछोरीहरू त्यसैले एक्ला–एक्ला हुन्छन् ।

म आमालाई सोध्थें, ‘मलाई किन जन्माएको ?’

आमा ठाडै भनिदिनुहुन्थ्यो, ‘छोरा होला भनेर जन्माएको, तँ जन्मिइस् ।’ अनि म पनि हाँसेरै उल्टो प्रश्न सोधिदिन्थें, ‘जन्मिनेबित्तिकै किन नछोडिदिएको त ?’

आमा भन्नुहुन्थ्यो, ‘जन्मिएपछि त माया लागिहाल्यो नि । तर, जन्मिँदा तँ घीनलाग्दी नै थिइस् । अहिले बल्ल हेर्नलायककी भएकी छेस् ।’ आमाले जे भने पनि साँचो कुरो के हो भने मेरो परिवार म जन्मिनुको पछुतोमा जलिरहेको छ ।

३० वर्ष कटिसकें— बिहे भएको छैन ।

भलादमी र संस्कारी छोरीको गुण टाढा–टाढासम्म छैन ।

केटाको कुरा ल्यायो— कतिले मलाई पत्याउँदैनन्, कतिलाई म पत्याउँदिनँ । चुप बस्नु यहाँ संस्कार हो । बिस्तारै हिँड्नु संस्कार हो । सानो आवाजमा बोल्नु संस्कार हो । आफ्नो हकका लागि नलडेर सहीबस्नु संस्कार हो ।

म यी सबै संस्कार कुल्चेर हिँडेकी कुसंस्कारी हुँ । आमालाई चिन्ता छ— मैले गरिखान सक्दिनँ । बिहे गरिहाली भने पनि सासू–ससुराले कसरी सहलान् ?

दुई हप्ताअघि मैले प्रत्युत्तर दिएँ, ‘कमाएपछि कसैले सहनु पर्दैन । सम्पत्तिमा अधिकार हुने छोरीहरू कसैको अगाडि झुक्दैनन् ।’

‘कमाइस् खुइलित्त पारेर,’ आमा झर्किनुभो ।

‘अनि पैत्रिक सम्पत्तिमा मेरो हक छैन त ?,’ मैले कुरा कोट्याएँ । आमा मानौं तलाउमा डुब्नुभो । सुन्न हुनुभो । समय हलचल नगरी रोकियो । आमा अनुहार बिगारेर ठुस्स पर्नुभो ।

‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?,’ वाल्ल परेकी आमासामु फेरि मैले क्षेप्यास्त्र हानें ।

त्यो क्षेप्यास्त्रले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मलाई परिवारमार्फत पितृसत्तामाथि धावा बोल्नु थियो, बोलें । संविधान धारा र कानुनका दफा सुनाउँदा पनि आमा अडानबाट पछि हट्नुभएन । मलाई थाहा छ— कानुनी उपचारमा गएँ भने मैले सम्पत्ति पाउँछु, परिवार गुमाउँछु । अधिकारको यो लडाइँमा परिवार गुमाउन पनि तयार भएर मैले शिरमा रातो फेटा बाँधेकी छु ।

मेरो भाइ बुझ्ने नहुँदै आमाले पैत्रिक सम्पत्तिमा उसको नाम चढाइसक्नुभएको थियो । छोराहरूका लागि सम्पत्तिमाथिको अधिकार जन्मजात हो । छोरीहरूको मुखबाट सम्पत्तिको ‘स’ मात्रै निस्किँदा समाजको कठघरामा उभिनुपर्छ । मानौं— उनीहरूले सामाजिक अपराध गरेका छन् । तर, अब त्यस्तो हुँदैन । म घरबाट अंश लिन्छु । आफ्नो काम गर्छु । मन पर्ने कोही भेटे बिहे गर्छु, नत्र घुमेर जिन्दगी बिताइदिन्छु ।

...

मेरो गाउँको एक जना कान्छा हजुरबुबाले ७० को दशकमा भन्सारको जागिरबाट बोनस पाउनुभएको रहेछ— ५ हजार । हजुरबाले कान्छी आमालाई भन्नुभो, ‘तिमी भोलि नै गएर नयाँ सुनको गहना बनाएर लगाऊ है । तिमीलाई अहिलेसम्म केही जोडिदिनै पाएको छैन । कस्तो मन पर्छ, त्यस्तै बनाएर लगाऊ ।’

कान्छी आमा दूरदर्शी हुनुहुँदो रहेछ । उहाँले भन्नुभो, ‘सुन लगाएर के गर्नु ! बरु अलिकति पैसा थपेर जग्गा किनौँ । जग्गा नै जोडौँ ।’

हजुरबालाई सुनका गहना किनिदिन मन थियो । हजुरआमालाई जग्गामा लगानी गर्न । केही दिन सल्लाहपछि ५ हजारमा जग्गा किन्नुभयो । जग्गामा बा–आमाका दुई छोरीहरूले पनि खूब मेहनत गरे । सकेजति काम गरेर सघाए । पानी लगाउने, सिजनमा खेती गर्ने, रोपाहारलाई खाजा बाँड्ने, रोपाइँ गर्ने सबै गर्नुभयो । तर, ती दिदीहरूका भाइ जुल्फी कोरेर, साइकल हुइँक्याउँदै दौडिन्थे । ती दिदीहरूको १६–१७ वर्षमै बिहे भयो । आ–आफ्ना घर जानुभो । घरमा कान्छी हजुरआमाकै हालीमुहाली थियो । जग्गाको भाउ ५ हजारबाट २० हजार, ५ लाख, ५० लाख हुँदै ५ करोडसम्म पुग्यो । जुल्फी कोर्दै टोलटोल दौडिने ती भाइ अहिले त्यो जग्गाका मालिक छन् । कार चढेर हिँड्छन् । त्यो खेतमा दिनरात घोटिएका दिदीहरू बसमा कोचिएर माइत आउँछन् । घर फर्किने बेला कान्छी आमाले हातमा सय रुपैयाँ थमाइदिनुहुन्छ ।

एक पटक दिदीहरूले कसैसँग पोख्न नसकेको गुनासो मसँग पोख्नुभयो, ‘बिहे नहुँदा माइतमा कति दुःख गरियो गरियो नानी, अहिले आ’र तीजमा एक छाक खान नि बोलाएनन् । माइत भन्या आफ्नो नहुँदो रै’छ ।’ सोच्छु— हजुरबुबाले किनेको जग्गाको मूल्य कुनै दिन सायद ५० करोड पुग्नेछ । ती दाइको रवाफ अझै बढ्नेछ । अनि म ती दाइकी छोरीलाई हेर्छु अनि कहिलेकाहीँ मन चोर्न खोज्छु । तर, ऊ सौम्य छे । ज्ञानी छे । बिस्तारै बोल्छे । ‘विवाह’ को अमृता रावजस्ती । कुशल । गुणवान् । उसलाई आफ्नो पुर्खाको केही पनि चाहिँदैन ।

ऊ भन्छे, ‘अहिलेसम्म पढाएर यत्रो बनाउनुभयो अनि मैले हक दाबी गर्ने ? मलाई त केही पनि चाहिँदैन । म त आफैं कमाउँछु । आफैं आफ्नो घर बनाउँछु । आफैं जागिर खान्छु । पढ्छु । जोसँग भन्नुहुन्छ, उसैसँग बिहे गर्छु । आमाबुबाले नराम्रो खोज्नुहुन्न ।’

हो, ऊ विद्रोही छैन । उसलाई आफ्नो अधिकारबारे त थाहा छ, तर उसलाई त्यो अधिकार चाहिएको छैन । त्यसैले ऊ यो समाजको ज्ञानी छोरी हो । ‘सके आफ्नो बा–आमाका लागि अझ धेरै गर्छु, तर मलाई पैत्रिक सम्पत्ति चाहिँदैन ।’

आहा ! कति राम्रो ! नेपाली समाजलाई चाहिएको असल छोरी यस्तो पो हो ! अनि यस्तै असल छोरीहरू मात्रै पछि गएर संस्कारी बुहारी बन्न सक्छन् ।

आफू परियो ठ्याक्कै उल्टो ।

वैशाखतिर भारत भ्रमण सकेर धनगढी हुँदै काठमाडौं आउन लागेकी थिएँ । धनगढीको ३८ डिग्री गर्मीमा १ बजे उड्ने फ्लाइटलाई ५ बजेसम्म पर्खिएर बस्नुपरेको थियो । यो धनगढीको लागि नौलो कुरै भएन । त्यहाँ थरीथरीका मान्छे थिए । गर्मीले खपिनसक्नु भएर म पंखाको मुनि गएर भुइँमा थचक्क बसेँ । ब्यागबाट पानी–बोतल झिकेँ । मेरो आँखा एक महिलासँग पुगेर अडियो । उनी मुसुक्क हाँसिन् । उनकी दुई वर्षकी जति छोरी पनि साथमा थिइन् । छोरी मसँग निकै झ्याम्मिएकी थिई । ऊ घरी–घरी मेरो नजिक आउँथी, आफ्नो खेलौना दिन्थी, हाँस्थी, दौडिन्थी । मलाई यस्ता चकचके बच्चाहरू मन पर्छन् । ती दिदी मेरो नजिक आएर बसिन् । छोरी खेल्दाखेल्दा थाकेर सुस्ताउन लागेकी थिई । ‘बिहे भाको छ त ? छैन होला नि ?,’ उनले प्रश्न पनि आफैं सोधिन्, उत्तर पनि आफैं अनुमान लगाइन् ।

‘छैन,’ म हाँसें ।

उनले सकेजति ज्ञान बाँड्न थालिन् । म यदाकदा भेटिने महिलाहरूका गफ चाख मानेर सुनिदिन्छु । केही समयका लागि भेटिएका अञ्जान मान्छेसँग उनीहरू आफ्ना वर्षौं पुराना गुनासा असरसल्ल पारेर पोखिदिन्छन् ।

‘बिहे बेलैमा गर्नुपर्छ के नानी । बच्चाहरूले पनि कति रुचाउने रै’चन नि । बिहे गरेर बेलैमा छोराछोरी पाउनुपर्छ के,’ म मुसुक्क हाँसें । मलाई यस्तो बेलामा जवाफ दिन खासै आउँदैन ।

‘बच्चा पाउन बिहै नै गर्नु पर्दैन, म ‘सिंगल मदर’ भएरै जीवन बिताइदिन सक्छु,’ उनलाई म यही भन्न चाहन्थें तर सुनें मात्रै, बोलिनँ । उनले अब आफ्नै कथा सुनाउन थालिन्, ‘मेरी अर्की छोरी छे ११ वर्षकी । यो त कान्छी हो ।’

‘ओहो ! अनि यत्रो ग्यापमा किन पाउनुभा’को नि ?,’ उनका ठूलाठूला गाजलु आँखामा एकाएक आँसु देखिए ।

‘के गर्नु नानी, भन्यो भने भन्याजस्तो हुन्छ । एउटा छोरी भइहाल्यो अब एउटा छोरा होस् भनेर पर्खिंदा पर्खिंदा... !’

उनी बोल्नै सकिनन् । घुटुक्क थुक निलिन् । मैले उनीतिर पानीको बोतल तेर्स्याएँ । उनले पानी समाउँदै गर्दा आँखाबाट आँसु बगे । उनले फेरि भन्न थालिन्, ‘मेरा ससुरा पनि एक्ला छोरा, बूढा पनि एक्ला छोरा, तर मेरो आफ्नो छोरा भएन । सम्पत्ति छ, छोरा छैन । ठूलीले बहिनीलाई कति माया गर्छे । तर, पनि छोराको रहर लाग्ने रहेछ । तर, भएन त भएन भनेर चित्त बुझाइसकियो । ज्यान पनि कति बिग्रिसक्यो ।’

उनले आफैं गुनासो गरिन्, आफैं चित्त बुझाइन् । मैले चुपचाप सुनिरहें । ‘छोरीहरूलाई राम्रोसँग पढाउने अब । त्यसैले घर बनाउने जग्गा हेर्न काठमाडौं जान लागेको । एक जना दाइले कीर्तिपुरमा भन्नुभएको छ,’ उनले फरर फेहरिस्त सुनाइन् ।

प्लेन चढ्नुअघि मैले भनें, ‘दिदी, प्रकृतिले तपाईंलाई कुनै न कुनै उद्देश्यले यो धर्तीमा पठाएको छ । तपाईंका दुई छोरीलाई पनि त्यस्तै केही उद्देश्य दिएर पठाएको छ । त्यो उद्देश्य तपाईं तीन जनाबाटै मात्रै पूरा हुन्छ । त्यसका लागि छोरा चाहिँदैन । यत्ति बुझ्नुभो भने जीवन सार्थक हुन्छ ।’

उनी नाजवाफ भएर सिटतिर लागिन् । काठमाडौंमा ओर्लिने बेला उनले मुख खोलिन्, ‘तपाईंले भन्नुभएको कुराले मलाई भित्रैसम्म हान्यो । फेरि धनगढी आउँदा फोन गर्नुहोला, खाना खाउँला है ?’

मोबाइल नम्बर दिएर उनी अलप भइन् ।

...

एक चिनेकी बहिनी छिन् । उनको २३ वर्षमै बिहे भयो, आफूभन्दा १० वर्ष पाको केटासँग । बुबाआमाकी असल छोरी बनेर उसले बिहे गरी । उसको परिवारसँग पोखरा र काठमाडौंमा जतिसक्दो सम्पत्ति छ । त्यो उसका बाले कमाएका होइनन् । पुर्ख्यौली सम्पत्ति हो । तर, ती बहिनीको वैवाहिक जीवन सोचेजस्तो भएन । उनीहरू दुवै जना व्यक्ति असल थिए, तर एकअर्काका लागि बिलकुलै गलत । लामो संघर्षपछि उनीहरूले छुट्टिने निर्णय गरे ।

उनले आफ्नो श्रीमान्बाट केही पाइन । उनीसँग आफ्नो नामको केही छैन । जसोतसो एउटा कोठा लिएर बसेकी छन् । दिनभरि काम गर्छिन् । हेर्दा बिन्दास लाग्छिन् । तर, उनलाई ‘डिभोर्सी’ को ट्याग दिँदै ‘बिचरी बिचरी’ गर्नेका संख्या गनिनसक्नु छ । बिचरी त उनी पहिला थिइन्, जब सम्बन्धमा थिइन् । ‘जसरी पनि सम्बन्ध बचाएर बस’ भन्नेजस्ता सडेगलेका सुझाव उनले अनगिन्ती पाइन् । तर, अन्ततः स्वतन्त्रताको जित भयो ।

तर, त्यसका लागि उनले ठूलै मूल्य चुकाउनुपर्‍यो— डिप्रेसन, उदासी, एक्लोपन, आर्थिक कमजोरी आदि । उनका बुबा र दाइ करोडौंका मालिक थिए । दुबईमा पारिवारिक भ्याकेसन गरिरहेका थिए । तर, उनी जिन्दगीको खराब दिनहरूसँग लडिरहेकी थिइन् । समाजबाट थोरै अलग्गिएर आफ्ना लागि गरेको निर्णयका कारण यत्रो संघर्षमा परिवारले पनि एक्लै छोडिदियो । सोच्दा कुनै बलिउड फिल्मजस्तो लाग्छ । आजकल बेलाबेला आमाले फोन गरेर भन्छिन् रे, ‘के गर्नु, तेरो भाग्य यस्तै रहेछ ।’

उनी अब हाँसेरै यस्ता कुरा उडाइदिन्छिन् । तर, म उनका आँखा बुझ्छु । ती आँखाले खोजिरेहेको सहारा देख्छु ।

एउटै कोख, एकै बाआमा, एकै घर, एउटै सिकाइ । तर, जब समानताको कुरा आउँछ— यो समाजको सोचाइ यति धेरै किन पिछडिएको छ ? बा–आमालाई अझै पनि छोरीको बिहे गरेर दिन पाए टाउकोबाट ट्युमर हटाएजस्तो महसुस किन हुन्छ ? ‘यही एउटा पीर थियो अब हलुंगो भयो’ भन्नेजस्ता वाक्य किन हरेक विवाहमा सुनिन्छ ?

कथम्कदाचित छोरीले आफ्नो हक–अधिकारको कुरा उठाइहाली भने यो समाजले जिब्रो टोक्छ । त्यसैले अधिकांश छोरीहरू आफ्नो अधिकारका लागि लड्न चाहँदैनन् । चलिआएको रीतअनुसार उनीहरू बुबाआमाका प्यारा र संस्कारी छोरी बनेर बिहेबारी गर्छन् अनि सुटुक्क माइतीको संसारबाट बिदा हुन्छन् । उनीहरूभित्र चर्को द्वन्द्व हुन्छ, जीवनभरका गुनासा हुन्छन्, तर पनि देवताजस्ता बाआमाका अघि प्रश्न उठाउन सक्दैनन् । किनकि उनीहरू छोरी हुन् ।

एउटी आमाले आफूमाथि भएको भेदभावको ईख लिएर जबसम्म आफ्ना छोरीहरूलाई समान व्यवहार गर्दैनन्, तबसम्म यहाँ हरेक पुस्ताका छोरीहरू पिल्सिरहनेछन् । हरबखत महिलामाथि प्रश्न उठाउन तम्तयार यो समाजसँग लड्ने त परको कुरा, छोरी आफैंसँग लड्न सक्ने छैनन् । छोरीको यो आत्मसम्ममानका लागि हरेक आमा अराजक हुनैपर्छ । जब एक आमाले आफ्नो छोरीलाई आफूजस्तै बनाउन खोज्छिन्, आफ्ना संघर्षका कथा सुनाएर छोरीलाई उति नै सहनशील बनाउने प्रयास गर्छिन्, समाज त्यहीँनेर पिछडिन्छ ।

मेरी आमाले जीवनभर भोगेका दुःख अनन्त छन् । उहाँका पीडा र संघर्ष म कल्पना गर्न सक्दिनँ । त्यसैले मलाई आमाप्रति गहिरो सम्मान छ । तर, उहाँ अझै पनि पितृसत्ताको रक्षामा लागिरहनुभएको छ । मेरी आमाले मलाई जति माया र विश्वास गरे पनि ‘छोरी भएपछि सहनशील हुनुपर्छ, बिहे गरेर चुपचाप जानुपर्छ, आफ्नो भाग्यले गरिखानुपर्छ’ भन्नुका पछाडि उहाँले भोगेको समाजको छाया छ । म त्यही छाया मेट्न हिँडेकी छु ।

किनकि— सम्पत्तिमाथिको अधिकारले मात्रै समाजमा महिलालाई ठिंग उभिने साहस र शक्ति दिन्छ ।

म आमालाई सम्मान गर्छु, तर प्रश्न गर्न डराउँदिनँ । म एक्लो बाँच्न तयार छु, तर आत्मसम्मान गुमाउन तयार छैन । म असंस्कारी बन्न तयार छु, तर चुपचाप समाजको नियम मान्न तयार छैन । मलाई मेरी आमाजस्तो बन्नु छैन । मेरी छोरीलाई म आफूभन्दा अराजक बनाउन चाहन्छु । जबसम्म महिलाहरू महिलाका लागि जाग्दैनन्, तबसम्म समाजमा पितृसत्ता मौलाइरहन्छ ।

हामी महिला सशक्तीकरणका कुरा गर्छौं, तर आफ्नै घरमा आफ्नै दिदिबहिनी, आमा र आफैंमाथि भएका अत्याचारबारे बोल्न सक्दैनौं । किनकि हामी यही पितृसत्ताका दास हौं ।

यो सबै लेखिसक्दा ती महिलाहरूप्रति मेरो केही आपत्ति छैन, जो आ–आफूले रोजेको जिन्दगीमा खुसी छन् । जसका लागि केटी भएपछि समयमै बिहे गरेर बच्चा जन्माउनु प्राकृतिक नियम हो । जसका लागि आफ्ना इच्छा र आकांक्षाको कुनै मोल छैन । जो आफ्ना बा–आमाको मनशान्तिका लागि लागि पराई घर गइदिन्छन् । उनीहरूसँग केही गुनासो छैन । सबै लड्न सक्दैनन् । कोही लड्नै चाहँदैनन् ।

हामीजस्ता लड्नेहरूको जीवन कठिन छ । एक त यो बाटोमा एक्लोपन धेरै छ । ‘फेमिनिस्ट’, ‘डलरवादी’ र ‘परिचालित’ भन्दै हरपल यो समाज आलोचना गरिरहन्छ । भन्छ– यिनीहरू लेखमा र कार्यक्रममा कुर्लंने न हुन्, यिनीहरूकै व्यक्तिगत जीवन र मानसिक स्वास्थ्य ध्वस्त हुने त हो नि !’ तर, आफ्नो हक माग्न छोड्ने होइन । त्यसका लागि आफ्नै बा–आमालाई अदालतसम्मै घिसार्न किन नपरोस् !

प्रकाशित : भाद्र १६, २०८० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?