कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बनेपा गाथाकार ज्ञानकाजी माड्साप

जीवन्त समाजको प्रमुख त्रिआयाम– संस्कृति, साहित्य र शिक्षामा उनले जीवनका स्वर्णिम समय खर्चिए
दीपक सापकोटा

बर्खाको एक साँझ म उभिएको थिएँ, बनेपा तीनदोबाटो चोकछेउ । सँगसँगै ज्ञानकाजी मानन्धर ‘माड्साप’ पावरवाला बाक्लो चस्मा ठीकमुन्तिरबाट बनेपा–गाथा गाइरहेका थिए । सडकमा ठोक्किएको बत्तीको प्रकाशमा बिस्तारै घिस्रिरहेका छाताका छायाहरूतिर हेर्दै स्थानीय इतिहास र संस्कृति फर्माइरहेका थिए– मुहारमा गणेशको गह्रुँगो मखुन्डो लगाएर हरिया, राता, पहेंँला रंगीविरंगी पहिरनमा देखिने श्वेतकाली नाचिरहेका मानिसका कथा अनि लोककथाका सेता ख्याकको बयान ।

बनेपा गाथाकार ज्ञानकाजी माड्साप

खासमा उनी थिए– सहरका ओसिला गल्ली र घामले नछुने ठिहीग्रस्त चोकमा चुपचाप बसिरहेका मान्छेका साथी, बनेपाको घटना–प्रतिघटना, इतिहासका अनेक शासकको आगमन र बहिर्गमनको साक्षी पनि । भादगाउँले बुट्टे टोपी, निधारमा रातो टीका, ऊनीको फेटा, नीलो कोट– मेरो सम्झनामा यिनै थिए, उनको अक्सर पहिरन ।

लट्ठी टेकेर साँझ–बिहान बयोवृद्ध श्रीमती सुखवेती (९०) सँग बिस्तारै चोकतिर टहलिनु, मान्छेहरूले आदरसाथ गरेका नमस्कार फर्काउनु, कोही पुराना मानिस भेटे यस्सो गफिनु उनको दैनिकी थियो । अब बनेपाका चोक–गल्लीका पुराना कथा र मिथक बताउन तिनी कहिल्यै भेटिने छैनन् । अब ती दृश्य दोहोरिने छैनन् ।

गत शनिबार ज्ञानकाजी मानन्धर (विसं १९९१–२०८०) को महाप्रस्थानपछि सायद टोलाइरहेको छ त्यो चोक, शोकमग्न छ बनेपा । आफूसँग डुलिहिँड्ने माड्साप नरहेपछि श्रीमती सुखवेतीमा दुःख थपिएको छ । तर, अक्सिजनका पाइपहरूले जेलिएकी उनलाई श्रीमान् छेउमै छन्जस्तो भान छ ।

ज्ञानकाजीको प्रस्थानपछि त्यही चोकमा उभिएको छु म, जहाँ उभिएर म उनीसँग सुन्थें– बनेपाका कथा । उनी भन्थे, ‘काठमाडौं उपत्यका तलाउ छँदा बनेपा एक सानो राज्य थियो । बौद्ध आख्यानको थ्यासफूमा बनेपालाई धर्मपुर भनिएको छ । धर्मपुरका राजा धनी थिए । राजा बस्थे, त्यसैले यहाँ राजदरबार थियो...।’ यसरी उनी बनेपाको कथा हाल्थे । नामसँग कामको तालमेल अक्सर हुँदैन । तर, ज्ञानकाजी नामका मात्रै ज्ञानी थिएनन्, जीवन र जगत्को गहिरो ज्ञान पनि उनीसँग थियो, जो माड्सापको असली चिनारी हो । उनीपछि सम्भवतः यसरी आधिकारिक रूपमा आफ्नै सहरको कथा भन्ने अर्को इतिहासकार नहोला ।

शिक्षाविद् केदारभक्त माथेमाले ज्ञानकाजीसँग लामो संगत गरे । उनीसँग माथेमाका थुप्रै सम्झना छन् । नेपाल भाषामा मानन्धरले लेखेको नाटक ‘कपिलवस्तुस्् भगवान्’ काठमाडौंको सभागृहमा केही दशकअघि हेरेको स्मृति ताजै छ माथेमासँग । ‘यसको लोकप्रियताले नाटक लेखनमा ज्ञानकाजीले हासिल गरेको कौशल उजागर गर्छ । बुद्ध मिथकमाथिको त्यो नाटक प्रभावशाली थियो । उनीसँग नेवारी मिथोलजीबारे गहिरो ज्ञान थियो,’ माथेमा भन्छन्, ‘नेपालभाषामै लेखेर उनी कुनामा परे । तर, मुख्य विषय त भाषा होइन, सिर्जना हो । इतिहास, व्यापार र शिक्षा– तिनै पक्षलाई उनले कसरी सँगै हिँडाए, यो अचम्मलाग्दो छ ।’ काठमाडौं र काभ्रेका धेरै ठाउँमा ज्ञानकाजीका नाटक प्रदर्शन भएका थिए, धेरैले रुचाएका पनि थिए ।

मिथक, इतिहास र संस्कृतिसँग गहिरो नाता थियो ज्ञानकाजीको । नेपाली संस्कृतिका ती विद्वान्का प्रकाशित किताब हुन्– ‘कुमारी’, ‘कपिलवस्तुस् भगवान्,’ ‘अरनिकोया श्वेत चैत्य’, ‘खड्गजोगिनी,’ ‘मानन्धरतय्गु विषय छुं खँ’, ‘छगु पश्चात्ताप’, ‘झीगु आख्यान : झिगु प्याखं’, ‘बनेपा–स्तवन,’ ‘बनेपा सातगाउँ’, ‘संस्कृतिका केही पक्ष’, ‘नेपाल आख्यान र नाटक,’ ‘चण्डेश्वरी र प्राचीन भजन गीतहरू,’ ‘नेपाल लिजेन्ड एन्ड ड्रामा,’ ‘द लिजेन्ड्स अफ् नेपाल,’ र ‘मिथ्स एन्ड लिजेन्डस् अफ् नेपाल’ (इतिहास–संस्कृति र पूर्णाङ्की नाटक) । नेवा, खस नेपाली र अंग्रेजी भाषामा प्रकाशित यी कृति उनको गहिरो साधना, अनुसन्धान र सिर्जनशक्तिबाट मात्रै सम्भव थियो । अंग्रेजीका शिक्षक, नेपाल भाषाका नाटककार, खस नेपाली भाषाका प्राचीन संस्कृति–अन्वेषक मानन्धरको बनेपामा ठूलो स्थान छ ।

सांस्कृतिक इतिहासमा अहोरात्र चिन्तनशील ज्ञानकाजीले हामीलाई नयाँ निष्कर्षसम्म पुग्न सक्ने केही चर देखाएका छन् । दायाँ हातमा चन्द्रहास तरबार र बायाँ हातमा ‘प्रज्ञापारमिता’ किताब लिएका विद्वान् बौद्ध सन्त मञ्जुश्री बोधिसत्त्वलाई ज्ञानकाजीले बनेपाको इतिहाससँग जोडेका छन् । काठमाडौं उपत्यका नागदह (ठूलो तलाउ) छँदै मञ्जुश्री महाचीनबाट श्रीमतीहरू (केशिनी, उपकेशिनी) र केही चेलासँग नागदह आउँदा बनेपाको बाटो हुँदै आएका थिए, लेखेका छन् ज्ञानकाजीले । ‘धार्मिक नियमअनुसार कुनै पवित्रस्थललाई दाहिनेतिरबाट घुम्ने चलन छ, त्यसैले मञ्जुश्री नागदह आउँदा बनेपाकै बाटो आएको हुनुपर्छ । मञ्जुश्री बनेपा आउँदा यहाँका राजा धर्माकरसँग भेट भएको हुनुपर्छ, धर्माकार उनीसँग नागदह गए । ...तरबारले चोभार काटेर उपत्यकाको पानी सुकेपछि मञ्जुश्रीले मञ्जुपतन बस्ती बसाए र सँगै लिएर आएका धर्माकरलाई राजा बनाए ।’ (संस्कृतिका केही पक्ष, पृष्ठ. ५२) । तर, नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठले मञ्जुश्रीको त्यस मिथकलाई खण्डन गरेका छन् । पुष्पलाललाई उद्धृत गर्दै ज्ञानकाजी लेख्छन्, ‘साँखुका आख्यानअनुसार मञ्जुश्री न चिनियाँ थिए, न भारतीय, उनी साँखुका एक महापुरुष थिए ।’ यसरी ज्ञानकाजीले ऐतिहासिक पात्रहरूमाथि मीमांसा मात्रै गरेका छैनन्, पृथक दाबी पनि गरेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, ‘कुमारी नाटक रुसी भाषामा अनुवाद भई मस्कोस्थित नेपाल अध्ययन केन्द्रबाट सन् २००५ मा प्रकाशित भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा ज्ञानकाजी बहुचर्चित भए । तर, विडम्बना सिर्जनशील प्रतिभा भएका हाम्रा अधिकांश स्रष्टाहरू ओझेलमा सास फेर्न बाध्य छन् ।’ (ओझेलमा परेका स्रष्टाहरूमध्येका ज्ञानकाजी, जनमत, अंक १९३) ।

...

कुहिरिलो एक बिहान म मित्र दिनमान गुर्मछानलाई लिएर ज्ञानकाजीसँग ‘यसो कुरा गर्न’ गइरहेको थिएँ उनको घर । लायकुको जीर्ण पर्खाल देखेपछि उनले गरेको लायकु–व्याख्या सम्झना आएको थियो । के हो लायकु ? मल्लकाल अध्ययन गरेका उनले भनेका थिए, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भयो ।’ उनैले सुनाएका हुन्– नेवारी भाषामा ‘बने’ शब्दले ‘व्यापार’ र ‘पा’ शब्दले ‘देश’ वा ‘बस्ती’ बुझाउँछ । कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रेमा छरिएका स–साना ७ सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका थिए । ‘बनेपा सातगाउँ’ मा यस विषयमा उनले विशद लेखेका छन् ।

इतिहासकार महेशराज पन्तलाई लागेको छ– ज्ञानकाजी गएसँगै एक ज्ञानी, जान्ने मान्छे पनि गए र इतिहास लेखनमा एउटा क्षति भयो । पन्त भन्छन्, ‘ज्ञानकाजीले बनेपा, त्यस वरपरका गाउँ–सहरको कथा संग्रह गरे र मान्छेहरूलाई छाडेर गए । बनेपाको इतिहास खोतलखातल पारे । जीवनैभर शिक्षासेवी भएर ज्ञान बाँडिरहे । नेवारकालका ऐतिहासिक सामग्री र लिखतका थुप्रै संकलन उनीसँग थिए ।’ ज्ञानकाजीको अनुरोधमा (विसं २०७३, पुस २७) संशोधनमण्डलका केही साथीसहित बनेपा गएका थिए पन्त । उनको संग्रहमा रहेको ताडपत्रका लिखतहरूको फोटो खिचे पन्तले । तीमध्ये एउटा थियो– तात्कालिक राजा अर्जुनदेवले बनेपाका मानन्धरहरूलाई सम्बोधन गरी लेखेको नेपालसंवत् ४८५ (विसं १४२२) को लिखत । ‘ज्ञानकाजीको घरमा भएको त्यो लिखतबाट विसं ७९० पछि एकै पटक १४२२ को राजाको अभिलेख भेट्टाइयो । ७०० वर्षको अवधिमा राजाहरूले लेखेको केही पाइएको थिएन । त्यति महत्त्वपूर्ण सामग्री उनले आफ्नो संग्रहमा राखेका रहेछन्,’ पन्त सम्झिन्छन् । त्यस लिखतको व्याख्यासहित पन्तले ‘पूर्णिमा’ को १४४ अंकमा एक आलेख लेखेका छन् ।

ज्ञानकाजीलाई चिन्ता थियो– अब सहरको इतिहास किस्साहरूमै सीमित हुने भए । उनका स्मृतिमा ओहोरदोहोर गरिरहन्थे– बनेपाका पुराना मान्छे, दरबारका आख्यानहरू, जुन अब केवल धुलाम्य दस्तावेजहरूमै कतै च्यापिएका छन् । लेखक विश्व सिग्देलको विचारमा ज्ञानकाजी होहल्लाबाट टाढै बसेर अक्षर साधनामा लागेका शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी हुन् । भन्छन्, ‘समाजको जरोमा गाडिएर रहेका मिथक र जात्रापर्वको सांस्कृतिक तथा ऐतिहासिक पाटोलाई लिपिबद्ध गर्ने मानन्धर काभ्रेको माटोले सधैं गर्व गरिरहने स्रष्टा हुन् ।’

ढुंगा छापिएको बनेपाली प्राचीन गल्लीमा हिँडिरहेका ज्ञानकाजीको स्मरण मसँग ताजै छ । लौरो टेकेर हिँडिरहेकै बेला उनी केही झस्केजस्तो गर्थे र छेउकै पुरानो बजारको कृष्ण–मन्दिर वा शताब्दिऔं पुराना ढुंगेधाराको मिथक वा इतिहास भनिरहेका हुन्थे वा ‘भगवान’, ‘राक्षस’, ‘देवी’ का कथाहरूमा पसिरहेकै हुन्थे । उनका सम्झनाका एल्बममा आफूले पढाएको आजाद स्कुल (विसं २०१७–२०४५) का विद्यार्थीहरूको तस्बिर पल्टिन थाल्थ्यो । र, प्रत्येक श्यामश्वेत तस्बिरमा आउँथे बनेपाका पुराना समय– सिथि नखः र लायकु, मिथक र भजन, स्थापत्य र मन्दिर, चण्डेश्वरी देवीका कथा, पाटीमा टोलाइरहेका बाघचाल खेलाडीहरू ।

सिमेन्टका अग्ला घरहरूले छेकिएका घाम नपस्ने गल्लीमा उभिएर उनी चिन्तित मुद्रामा गम खाइरहेका हुन्थे । बनेपाको उप्किँदै गएको चित्र देखेर उदास हुन्थे । बदलिँदो बनेपाको अनुहारले उनलाई चिमोटिरहन्थ्यो । पटना विश्वविद्यालयबाट विसं २०१७ मा स्नातक गरेपछि उनले बनेपाको आजाद हाइस्कुलमा अंग्रेजी पढाउन थालेका थिए । शैक्षिक इतिहासमा रोचक तथ्य यो छ कि उनी बनेपा नगरकै प्रथम स्नातक हुन् । ज्ञानकाजीका प्रिय विद्यार्थी थिए– लेखक मोहन दुवाल । गुरुले वर्डस्वर्थका कविताहरू– लुसी ग्रे र सोल्टरी रिपर– लय हालेर पढ्दै सिकाउँदाका ती दिन अहिले पनि सम्झनाम ताजै छन् । ‘उनी थिए– मेरो मस्तिष्कमा ज्ञान भरिदिने आदरणीय ज्ञान–गुरु,’ दुवाल भन्छन्, ‘उनी हुन्, मेरा जीवनका ज्ञान निर्देशक ।’

ज्ञानकाजीको परिवारै संस्कृति–पारखी थियो । उनका पिता मोहनलाल खिं मानन्धर पनि संस्कृति–चिन्तन गर्थे, नाटक लेख्थे–मञ्चन गर्थे, ज्योतिषी थिए, खिं, धिमे, पछिमा, नाय्खिं, दवदव बजाउँथे । त्यसैले ज्ञानकाजीको रुचि संस्कृतितिर बढ्नु अनौठो थिएन । सुखद पाटो के थियो भने संस्कृतिप्रति उनको रुचि ‘सुन्दै आएको’, ‘भन्दै आएको’ भन्नेमा थिएन, तथ्य, प्रमाण वा दसीमा आधारित थियो ।

सामान्यतया संस्कृतिका पारखीहरू दन्त्यकथा र किंवदन्तीलाई ‘विश्वासको आधार’ बनाउँछन् । तर, ज्ञानकाजीको सांस्कृतिक ज्ञान विज्ञानमा पनि आधारित थियो । उनले संस्कृतिबारे त्यस्ता विषय मात्रै लेखेका छन्, जसको दसी उनी आफैंसँग सुरक्षित थियो । आफूसँगै सुरक्षित कतिपय ऐतिहासिक दस्तावेजबारे त उनले लेख्नै पाएनन् । मानन्धर समुदायमाथिको उनको किताब ‘मानन्धरतय्गु विषय छुं खँ’ लाई सूचनै सूचनाहरूको पोको मान्न सकिन्छ ।

ज्ञानकाजीबारे सोधखोज गरिरहेका लेखक सुरेश किरण भन्छन्, ‘उनी पूर्णकालीन अन्वेषक थिएनन् । उनको पेसा, व्यवसाय, जिम्मेवारी र रुचि अरू पनि थिए । त्यसैले उनले आफैंसँग भएका सामग्री पनि लेखनमा उतिविधि प्रयोग गरेनन् । ती दस्तावेज अरूलाई प्रयोग गर्न दिए ।’

ज्ञानकाजीसँग भएको दस्तावेजको हवाला दिएर उनका मित्र जितबहादुर मानन्धरले पनि संस्कृतिमाथि कतिपय लेख लेखेका छन् । ती दस्तावेज आफूसँगै राख्दा नष्ट हुन सक्ने भयले उनले केही कागजपत्र, ताडपत्र काठमाडौंको आशा सफूकुथि (आर्काइभ) लाई पनि दान गरेका छन् । ‘इतिहासका ती सामग्रीमाथि भोलि अरू नै कोही आएर न्याय गर्ला भन्ने विश्वास उनमा थियो सायद’, सुरेश भन्छन् ।

राज्य व्यवस्थाबाट सधैं उत्पीडनमा परेको आफ्नो जातीय–भाषिक समुदायप्रति पनि उनको ठूलो लगाव थियो । नेपालभाषा एकेडेमी र नेवाः जातिको राष्ट्रिय संगठन ‘नेवाः देय् दबू’ मा पनि आबद्ध भई काम गरेका थिए उनले । जीवन बुझ्ने मार्ग नै संस्कृति, मिथक र इतिहासलाई बनाए माड्सापले । सरल, संवेदनशील र ज्ञानी ती मानिसले केवल संस्कृतिका रूप–रङ–रीतिस्थिति लेखेनन्, स्वयं पनि सांस्कृतिक धरोहरै भएर बाँचे ।

ऐतिहासिक दरबार र खण्डहरका अवशेषलाई इतिहासको कसीमा घोट्थे उनी र तत्कालीन समाजको एउटा मोटामोटी स्वरूप नियाल्थे । संस्कृति, साहित्य र शिक्षा– यी तीन विधा हुन्, जसमा उनले आफ्नो जीवनका स्वर्णिम समय बिताए । लायकुझैं ज्ञानकाजीले बनेपा काँथुटोलको ‘मयजुकः दरबार’ र वकुटोलको ‘पुतली दरबार’ माथि पनि खोज गरेका थिए । इतिहासकार केदारनाथ प्रधानले ‘बनेपाको ऐतिहासिक रूपरेखा’ मा पनि ती दरबारमाथि लेखेका छन् । ज्ञानकाजी भन्थे, ‘काँथुटोलमा बारीहरू खन्दा पुराना भवनका ठूला जग देखिन्छन् भन्ने किस्सा अझै छ । वकुटोलमा पनि पुराना दरबारका अवशेष भेटिने गरेको सुनिन्छ । ती दरबारहरूबारे कसैले खोजे इतिहासका केही विशिष्ट तथ्य फेला पर्थे कि ?’

तर, उनले भनेझैं अब कसले गर्ला त्यो खोजीमेली ?

प्रकाशित : भाद्र १६, २०८० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×