कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

परका भूपी, घरका भूपी

काव्यपारखीका आँखामा भूपी शेरचन ख्यातनामा कवि हुन् । दुनियाँमा भूपीको एउटा छवि छ । छोरीका आँखाबाट पिता भूपी कस्ता देखिँदा हुन् ?
दीपक सापकोटा

सम्भवतः लोकप्रियतम नेपाली कविको नाम हो– भूपी शेरचन (विसं १९९२–२०४६) । काव्यपारखीका आँखामा उनी भव्य र ख्यातनामा कवि हुन् । मित्रमण्डलीका आँखामा उदारमना र रसिक साथी थिए ।

परका भूपी, घरका भूपी

आलोचकका आँखामा उनी जीवनको उत्तरार्द्धतिर ‘विचारबाट विचलित’ र ‘श्रीपेचसामु नतमस्तक’ कवि हुन् (त्यसो त दिनमा कुनै एक जनालाई भए पनि निर्मम प्रहार नगरी राति निदाउनै नसक्ने आलोचकहरूको ठेक्का कसले लिइराखोस् ?) तर, भूपीका कविता भने जोसुकैका आँखाबाट हेर्दा पनि उत्तिकै प्रिय र उत्तिकै असरदार बाँचेकै छन् ।

छोरीका आँखाबाट चाहिँ पिता भूपी कस्ता देखिँदा हुन् ?

भर्खरै मात्र ‘भूपी : अ डटर्स मेमोयर’ लेखिभ्याएकी कविता शेरचन पिताको सुन्दर कविता ‘म’ का हरफहरू— ‘म एक पुत्र/एक पति/र एक पिता हुँ/एक न्वारान/एक विवाह/र एक चिता हुँ’— लाई, मानौं, पुत्रीवत् जवाफ फर्काउँदै भन्छिन्, ‘एक नम्र, एक मृदुभाषी, एक असल र एक मायालु पिता ।’

नक्साल, नारायणचौर, काठमाडौंको ‘भूपी–कान्ति’ निवासमा पिताका स्मृति–भूगोलमा पदयात्रा गरिरहेकी छिन्– कविता । ‘भूपेन्द्रमान, सर्वहारा र भूपीसम्मको यात्रा’ समेटेर बुबामाथि सिङ्गै किताब लेखिसकेपछि पनि उनका सम्झनाहरू निख्रिएका छैनन्, बरु एकपछि अर्को गरी नयाँ–नयाँ सम्झना जन्मिरहेका छन् । यस्तो लाग्छ, स्मृतिको लहर–नृत्यमा मग्न छिन् उनी ।

कविता फिलिपिन्स बस्छिन् । मनिलाको एसियाली विकास बैंकमा कम्युनिकेसन एन्ड नलेज म्यानेजमेन्ट कन्सल्ट्यान्ट छिन् । भूपीको निधन हुँदा कविता १८ वर्ष टेक्दै थिइन् । र, आज ३४ वर्षपछि उनी पितासँगका स्वप्निल र कलिला यादका साँझहरूतिर बरालिएकी छिन् । झरी परिरहेको एक साँझ कविता सभावुकता ती दिनतिर पसिरहेकी थिइन् । मोतीविन्दुले धमिला भएका, बाक्लो चस्मा अड्याइएका पिताका ती जोर आँखा; टेबुलतिर ढल्केर कापीमा केही लेखिरहेका वा पाइप तानिरहेका एकाग्र सर्जक; ओछ्यानमा घ्यार–घ्यार गरिरहेका र अक्सिजन–मास्क लगाएर निरीह आँखाले छोरीलाई हेरिरहेका पिता... ! यस्ता अगणित अनुस्मरण छन् ।

भूपीका श्रीमती कान्ति र छोरी कविता शेरचन (बायाँबाट) । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

यो आलेख एक प्रख्यात कविको प्रख्यात स्मृतिहरूको सङ्कलन होइन । यो त खासै नसुनिएका र अलिखित सम्झना–संगालो हो, एक प्रिय छोरीको पितास्मरण । उनका मस्तिष्कका पत्रहरूमा थपक्क बसेका पितास्मृति, जुन आजसम्म उनले आफैंभित्र जोगाएकी छिन् ।

‘मैनबत्तीको शिखा’, ‘घण्टाघर’, ‘भैरहवा’, ‘हो ची मिन्हलाई चिठी’, ‘हामी’ भूपीका प्रभावशाली कविता हुन् । छोरी कवितालाई भने भूपीको म्याग्नम–अपस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (विसं २०२५) भित्रको ‘मेरो चोक’ असाध्यै प्रिय छ । ‘यो मेरो हृदयमै छापिएको कविता हो,’ कविता भन्छिन् ।

भूपीलाई एक अन्तर्वार्तामा सोधिएको थियो, ‘के तपाईं सफल पति र सफल पिता हुनुहुन्छ ?’ जगदीश घिमिरेसँग भूपीले भनेका थिए, ‘सायद छैन... । मभित्रको भूपी बाँचुन्जेल म सफल पारिवारिक हुन सक्तिनँ (‘स्थान, काल, पात्र’, पृष्ठ. १२३) । भूपीको त्यो इमानदार ‘स्टेटमेन्ट’ आएको वर्षौंपछि श्रीमती कान्ति र छोरी कविताले त्यसलाई खारेज गरिदिएका छन् । ‘घर परिवारप्रति अति संवेदनशील उहाँ वास्तवमा लेखन, व्यवहार र सम्बन्धमा असल मान्छे हुनुहुन्थ्यो’, कान्ति भन्छिन् ।

छोरीका आँखामा भूपी असाध्यै मायालु पिता हुन् । ‘उहाँ जेन्टल र अनुशासित हुनुहुन्थ्यो,’ कविताको आत्मैदेखिको समीक्षा छ, ‘बुबाका कविता नारीप्रति निकै संवेदनशील छन्, पिताका रूपमा पनि उस्तै संवेदनशील पाएँ । बुबाले मलाई ‘महिलाले गर्न नसक्ने केही पनि छैन’ भनेर हुर्काउनुभयो ।’

आम मानिसमा पितालाई हेर्ने सीमित र मौलिक दृष्टिकोण हुन्छ । तर, सार्वजनिक पहिचान भएकाहरूका सन्ततिसँग निजी सम्झना मात्रै हुँदैन, समाजले बनाइदिएको दृष्टिकोण पनि हुन्छ । आफूले जानेको, सधैं देखिरहेको र काख–पोल्टामा हुर्काएको मानिसप्रति उत्तिकै अनुरागले जब अरू असंख्य मानिसका मनमा पनि एउटा तस्बिर हुनु र त्यो आफ्नो निजात्मक अनुभूतिमा बनेको तस्बिरसँग कहीँकहीँ मात्रै मेल खानुले सन्ततिको हृदयमा कस्तो असर पार्दो हो ?

भूपी शेरचनले बजाउने हार्मोनियम ।

दुनियाँमा भूपीको एउटा छवि छ, छोरी कविताको मनमा भिन्नै भूपी छन् ।

भूपीको बारम्बर ‘कोट’ गरिने कविता छ– मैले पिएकोमा रिसाएका साथीहरू/पिएर त हेर, पिउन झन् गाह्रो छ/मरेर सहिद हुनेहरू/जिएर त हेर, जिउन झन् गाह्रो छ !

मानिसहरू (उनीसँग धेरथोर संगत गरेका र कहिल्यै नभेटेकाले समेत) भन्छन्– भूपी एकदम पिउँथे । पिएबापत साथीहरू रिसाएको त भूपीले इतिहासबद्ध गरिदिइहाले । के भूपीले पिएकोमा छोरी कविता पनि रिसाइन् कि ?

‘म साढे दुई वर्षकी छँदा सायद बुबा कतैबाट पिएर आउनुभएछ,’ उनी अतीतमा पुग्छिन्, ‘मलाई बोक्न खोज्दा बालसुलभ तरिकाले भनेछु– यो मेरो बुबा होइन, छिमेकको जँड्याहा हो । उहाँलाई रक्सी र आफ्नो स्वभावप्रति निकै ग्लानि भएछ र ०३०, ०३१ सालपछि रक्सी छोड्नुभयो । त्यसपछि बुबाले पिएको कहिल्यै देखिनँ । रक्सी पिएर कहिल्यै कसैलाई दुर्व्यवहार गर्नुभएको सम्झना आमासँग पनि छैन, सायद कोहीसँग छैन ।’ तर, मान्छेहरू जब ‘भूपी जीवनभर जँड्याहा थिए’ भनिदिन्छन्, कविताको टाउको चर्किन्छ ।

बाल्यकालमा छोरी कविता बुबा भूपीसँग ।

जस्तो ‘मात्नुबारे तपाईंको अनुभव ?’ प्रश्नमा भूपी आफैंले भनेका छन्, ‘मात्दथें, लगातार मातिरहन्थें... । मेरो घरको नाउँ भूपेन्द्रमान शेरचन हो, साहित्यमा भूपी । मभित्रको भूपी मात्दछ.... बोहेमियन जिन्दगी बिताउन चाहन्छ । तर, कहिलेकाँही भूपेन्द्र ब्युँझन्छ र उसले रक्सी खान छोडिदिन्छ । बाँच्न चाहन्छ.... आफ्ना छोराछोरी र पत्नीप्रति दायित्व पूरा गर्न चाहन्छ ।’ (‘स्थान, काल, पात्र’, पृष्ठ. १२३) ।

भूपी र रक्सीमाथि धेरैले धेरैथोक लेखेका छन् । जस्तो निबन्धकार शंकर लामिछानेले भूपीको शब्दचित्र उतारेका छन्, ‘आजकालचाहिँ रक्सी भएन भने उसको खुट्टा लरबराउँछ । ऊ भन्थ्यो– म नढलमलाई हिँड्नै सक्दिनँ, नपिएको बेला ।’ लामिछानेलाई भूपीले भनेका रहेछन्, ‘बाहिरबाट आएका बेला पहिलो कामचाहिँ झ्याल बन्द गर्नु हुन्छ मेरो । नत्र राति झ्याललाई ढोका ठानी बाहिर जान खोजें भने भित्र आउन सक्दिनँ फेरि (उसको कोठा वटुमा चार तलामाथि छ) ।’ (विम्ब प्रतिविम्ब, पृष्ठ. ९९) ।

सारा संसारले मस्त मातेर सडकमा ढलपल–ढलपल गर्दै हिँड्ने भूपीलाई देख्नु, तर खुद उनकी छोरीले यस्तो दृश्य कहिल्यै नदेख्नु... कति विरोधाभासपूर्ण छ !

हुन त, सम्झनामा मात्रै होइन, सिर्जनामा पनि भूपी उस्तै छैनन् । संसार अनित्य छ भन्ने मान्ने हो भने उनका मान्यताहरू पनि अनित्य रहे । जस्तो कि, ‘धनवाद तिम्रो, जनवाद हाम्रो, एक दिन दाँजौंला/आमाको काखमा, देशको नाममा, एक दिन बाझौंला’ भनेर राजालाई २०१५ सालतिर कवितामा औंलो ठड्याउने भूपीले उही औंला जम्लाहात गरेर २०४३ तिरको एक हिउँदमा लेखे, ‘अत्यन्त लायक, नेपालनायक वीरेन्द्र जिन्दावाद, शान्तिप्रदायक, भूस्वर्ग नायक वीरेन्द्र जिन्दावाद !’

युवास्थामा कवि भूपी शेरचन ।

अघिल्लो कविता लेखेबापत कम्युनिस्टहरूले भूपीलाई अँगालेका थिए । पछि, दोस्रो कविता लेखेपछि दुत्कारेका थिए । ‘बुबाले कम्युनिस्ट छाड्नुभयो र राजावादी हुनुभयो भनेर म त्यसलाई विचलन भन्दिनँ,’ भूपीको रसिया भ्रमण सम्झिन्छिन् कविता, ‘एक नेपाली राजनीतिज्ञले रुसीसँग नेपाललाई झन्डै–झन्डै भुटानजस्तै बनाउने कुरा गरेको स्मरण गर्दै बुबाले भन्नुभएको थियो– देशै बेच्ने कुरा गर्ने कम्युनिस्ट देखेपछि मैले कम्युनिजम छोडें र जहाँ कम्युनिजमको जन्म भयो, त्यही देशमा कम्युनिजम गाडेर आएँ ।’

कविताको बुझाइमा ‘बुबालाई राजा वीरेन्द्र खूब मन पर्थ्यो, महेन्द्रलाई चाहिँ कहिल्यै मन पराउनुभएन ।’ भन्छिन्, ‘मान्छेको आ–आफ्नो विचारधारा हो । कविलाई कुनै पार्टीले बोक्नुपर्छ भन्ने लाग्दैन । बुबालाई कम्युनिस्टले नबोकेकै ठीक छ, जसले कवितालाई प्रेम गर्छ, उसैले बुबालाई पनि प्रेम गरून् ।’

रक्सी होइन, कवितालाई सम्झना छ– भूपीले दैनिक तीन बट्टासम्म चुरोट पिएको । पहिले चार्मिनार, डनहिल, ५५५ पिउँथे पछि उनको प्रिय ब्रान्ड बन्यो– याक । घरमा विदेशी सुर्ती थियो, त्यसलाई कागजमा बेरेर पाइप तान्थे । कविता भन्छिन्, ‘बुबा सम्झिँदा सँगै दृश्यमा आउँछ– त्यो पाइप, चुरोट, एस्ट्रे र पानीको ठूलो थर्मस । थर्मसमा चिया वा कफी हुन्थ्यो । अनि ओछ्यानभरि छरपस्ट पत्रिका । बुबाको मृत्युको कारण रक्सी होइन, चुरोट हो ।’

भूपी परिवार : कविता, भूपी, कान्ति र भूपेश (२०४४, साउन २३)

अब बुबाको भूपेन्द्रमान–अवतारको रक्स्याहा–छवि बदलिनुपर्छ सोच्छिन् कविता । भन्छिन्, ‘उहाँ खर्चालु हुनुहुन्थ्यो, रक्सीसहित आवारागिरी गर्नुहुन्थ्यो भन्नेजस्ता किस्साहरूले दुःखी हुन्छु म । बुबा त्यस्तो हुनुहुन्थेन भन्ने होइन, तर पछिल्लो भूपीको भिन्न संसार पनि मान्छेले सम्झून् भन्ने हो ।’

...

कविताले बुबालाई प्रायः घरमै देखिन् वा लेखनकक्षमा पाइन् । ‘बुबा लेख्दै हुनुहुन्छ’ भन्ने थाहा पाएपछि सोच्थिन्– डिस्टर्ब गर्नु हुँदैन । तर, भूपी हुन्जेल कविताले उनका कविता पढिनन् र लेख्ने रहर पनि गरिनन् । घरमा मान्छेहरू ‘कविजी’ भन्दै आइपुग्थे । तर, उनलाई कविको गुरुत्व थाहा थिएन । भूपीले कवितालाई ‘मेरो कविता पढ’ कहिल्यै भनेनन् । भूपीले संसार छाड्दासम्म कविताले उनका कुनै पनि कविता पढेकी थिइनन्, नेपाली साहित्यै पढेकी थिइनन् । हुर्कंदा बुबालाई बुबाकै रूपमा मात्रै देखिन् । तर, अहिले लाग्दोरहेछ– ‘सानो छँदा उनका कविता पढेको भए, ‘बुझाइदिनु’ भनेको भए झनै बुझ्थें ।’

कवितासँग नमेटिने अनेक स्मृति छन्– बुबासँग लाडिएको, खेलेको, उनले हार्मोनियम बजाएर गाउँदा आफू नाचेको... । बुबा भूपी कस्ता भने निकै रसिक किसिमका अनि भावुक पनि । खेल्नुपर्ने, जिस्किनुपर्ने, अनेक गर्नुपर्ने ! जस्तो छोरा–छोरी रुँदा रोइदिने, हाँस्दा साना नानीजस्तै हाँसिदिने । कविताको स्मृति–सङ्ग्रहालयका भित्ताभित्तामा टाँगिएका ‘कलाकृति’ एक खेप किन अवलोकन नगर्ने ?

भूपी बिरामी थिए (०४२ साल) । परिवारै एकै पलङमा तास र लुडो खेल्थे । नियम थियो– खेलमा हार्नेले कुकुरको आवाजमा भुक्नुपर्थ्यो वा गधाको आवाज निकाल्नुपर्थ्यो । बुबा र कविता एउटा टिम, भाइ भूपेश र कान्ति अर्को । सबैलाई जित्नैपर्ने । तर, प्रायजसो खेल हार्थ्यो भूपी–टिमले । कोठाको ढोकादेखि नै कुकुर–आवाजमा भुक्दै भित्र पस्थे भूपी कि गधाको आवाजमा कराउँथे । र, सबै खेलको रेकर्ड राख्न चाहन्थे, सायद कुनै बेला त जितिएला भन्ने सोच्थे ! रजिस्टर राखिएको थियो रेकर्डका लागि, जित्ने–हार्नेले ‘हरूवा–विजेता’ को मेनुमा सिग्नेचर गर्नैपर्थ्यो ।


भूपीको आँखा खैरो थियो, मोतीविन्दुले । थोरै पैसामा तासको पप्लु खेल्थे एक आफन्तसँग, ती कान्तिका भाइ पर्थे । सधैं तिनै आफन्तले जित्दारैछन् । भूपी भन्थे– दिज्जुलाई नभन्नू, म तिमीले जितेको सबै पैसा तिर्छु । भूपीले आँखा कम देखेको फाइदा आफन्तले यसरी उठाएछन्– तिनी तासमा रंगीचंगी कलरले मार्क गर्दारैछन् ।

सेन्ट मेरिज हाइस्कुल, जावलाखेल पढ्थिन् कविता । कुनै दिन स्कुलमा अनुपस्थित रहे बुबा वा आमाको चिठी लैजानुपर्थ्यो, कारणसहित । भूपी भन्थे– ‘कविता तिम्रो स्कुल छुटेछ, म चिठी लेखिदिन्छु ।’ चिठी लेख्नुपर्थ्यो, अंग्रेजीमा । भूपी निकै लामा वाक्यमा, पुरानो भाषामा, खाँदाखाँद अक्षरमा कम्तीमा पनि एक पानाको चिठी लेखिदिन्थे मिहिनेत गरेर, ‘तपाईंहरूलाई सन्चै होला, म पनि यहाँ आरामै छु’ स्टाइलमा । कवितालाई लाज लाग्थ्यो– चिठी पढेर टिचरले के भन्लान् !उनी बुबाले लेखेको चिठी कच्याककुचुक पारेर फाल्थिन् ! आमालाई एक वाक्यको लेख्न भन्थिन्, आफैं डिक्टेट गरेर, ‘मेरो छोरी हिजो बिरामी थियो, रजिस्टरमा कृपया बिरामी मार्क गरिदिनुहोला, धन्यवाद ।’ भूपीले चिठी लेखिरहे, उनले कुनामा मिल्काइरहिन् । अहिले उनलाई ‘म बेबकुफ रहेछु’ अनुभव हुन्छ ।

बच्चाहरूलाई असाध्यै प्रेम गर्थे भूपी । जादु देखाउँथे– रुमालको, फूलको... । कान्तिलाई बढी नै जिस्क्याउँथे, महिला आफन्तका आवाज दुरुस्तै निकालेर ।

एक दिन घरमै ‘डाँकु’ आए– अनुहारमा गम्छा बेरेका, कालो कुर्ता, आँखामा कालो गाजल, निधारमा कालै टीका लगाएका । चिसो महिनामा आमाले भाइ र कवितालाई ‘धर्मयुग’ का कथा सुनाइरहेकी थिइन् । एक्कासि ‘जय काली’ भन्दै कोही आइपुग्यो । सबै तर्सिए । लगत्तै चिरपरिचित हाँसो सुनियो– ती त डाँकुको भेषमा भूपी रहेछन्, तर खुट्टामा जुत्ताचाहिँ थिएन । साह्रै मिहिनेतले मेकअप गरेर, घरको टुवेल्भ–बोर बन्दुक बोकेर डाँकु बनेका थिए, भूपी ।भूपीकी छोरी कविता ।

कवितासँग भूपी रिसाएको एउटै मात्र स्मृति छ, रोएको अनेक । एक पटक केही गल्ती गर्दा कान्तिले बेतको मेचमा कविता र भूपेशको हात बाँधिदिएकी थिइन् । अचानक भूपी आइपुगे, हात खोलिदिए र फकाए ‘चकचक नगर्नू’ भन्दै अनि उनीहरूसँगै रोइरहे– धुरुधुरु ।

कोठामा परेवा छिरेछ एक दिन । भूपेशले चक्कु लिएर लखेटे, कविता पनि साथै थिइन् । परेवा एक कुनाबाट अर्को कुनामा ठोक्किइरह्यो । भूपीले त्यो दृश्य देखे, भव्य रिसाए र दुई जनाको टाउको एकअर्कासँग जोडले ठोक्काइदिए अनि बाहिरिए । र, आफैं घुँक्कघुँक्क रुन थाले ।

कविताको स्कुलको रिपोर्ट–कार्ड आएपछि भूपी खल्तीमै बोकेर हिँड्थे । कोही भेटिए सोधिहाल्थे– ‘तपाईंको नानीको रिपोर्ट कार्ड आयो ?’ र, ‘मेरी छोरीको त आयो, ल हेर्नुस्’ भन्दै देखाउँथे । कविता एकदमै लजाउँथिन् ।

भूपी रेडियोमा बेस्सरी कान जोडेर समाचार र क्रिकेट कमेन्ट्री सुन्थे । कोही छेउ परे र समाचार वा महत्त्वपूर्ण कमेन्ट्री छुटे तीन दिन बोल्दैनथे । कवितालाई उनको एउटै बानी मन परेन– ठुस्किरहने !

भूपी क्रिकेट खेल्थे– बनारस र पोखरा छँदा । आँखामा मोतीविन्दु भए पनि क्यारमबोर्ड गजबैसँग खेल्थे, जित्न जोकसैलाई गाह्रै थियो । आँखा कमजोर थियो, तर क्यारम–निसाना तेज ।

...

मसिना घटनाहरूलाई आत्मसात् गरेरै कोही कवि बन्न सक्छ भन्ने बुझाइ छ कविताको । पिताको, पतिको, आफन्तको, साहित्यको सबै जिम्मेवारी निर्वाह गरेरै पनि भूपीमा कविता देख्थिन्– अनेक आयाम, शालीन कवि । सोच्थिन्– बुबासँग केही ऊर्जा पक्कै छ ।

भूपी सधैं चिटिक्क परेर हिँड्थे । कवितालाई भन्थे– ‘मान्छेमा स्ट्रेन्थ अफ क्यारेक्टर हुन्छ, उसमा आत्मविश्वास हुनुपर्छ । आफ्नै खुट्टामा उभिएर पो जीवनमा केही हुन्छ ।’ त्यो वचन आत्मसात् गरेकी छिन् उनले ।

कवितालाई लाग्दोरहेछ– भूपी ‘पर्फेक्ट’ होइनन्, तर न्यायका लागि लड्ने कवि हुन् । भन्छिन्, ‘फ्युडल पृष्ठभूमिको भए पनि लेखन र विचारमा क्रान्तिकारी हुनुहुन्थ्यो ।’

झरीले भिजेको साँझ कविताले भूपीका साथीहरूको सम्झना गरिन् । झरीकै कुनै रसिलो साँझ ध्रुवचन्द्र गौतमलाई भूपीले निकै अघि भनेका रहेछन्, ‘छोरी जन्मि भने उसको नाम कविता राख्नेछु, कविकी छोरी कविता !’

रुसमा भूपी ।

ध्रुवचन्द्र, अम्बर गुरुङ, शंकर लामिछानेहरू थिए– भूपीका मित्रमण्डली । कविताले देख्दा घरमा सधैंजसो ओहोरदोहोर गरिरहन्थे– शशिविक्रम शाह, उत्तम नेपाली, कृष्ण मानन्धरहरू । ईश्वर बरालका भाषामा ‘उर्दूको खानीबाट जुहार लिएर नेपाली साहित्यमा झुल्किएका, खास किसिमको मस्ती र भाषाको खानी लिएर आएका’ कवि भीमदर्शन रोका थिए– भूपीका झनै प्रिय । मृदुभाषी, सानो स्वर, पातलो ज्यानका उनी सधैं एउटा गोडा खोच्याउँथे । एउटा साइकल थियो, त्यो चढेर वनस्थलीदेखि भूपी भेट्न आउँथे, बिरामी भएपछि आउजाउ झन् बाक्लियो । भूपीछेउ बस्थे र सानो स्वरमा खासखुस–खासखुस गरिरहन्थे । भूपी स्वर्गे भएको खबर पाउँदा रोका स्कुलमा पढाइरहेका थिए, थुचुक्क बेन्चमा बसे र विद्यार्थीहरूलाई नै उदास बनाउने गरी धुरुधुरु रोए ।

कविहरूले ध्यानस्त भई कविता पाठ गरिरहेको, बुबाले टाउको हल्लाउँदै सुनिरहेको विम्ब खुब याद आउँछ कवितालाई । भूपीले कविता पढ्दा कसैले चुइँक्क बोल्न पनि पाउँदैनथ्यो, ताली त यसै पनि प्रतिबन्धित थियो ।

...

जीवनको उत्तरार्द्धमा ‘इन्सोम्निया’ (अनिद्रा) ले ग्रसित भूपी आत्मकथा लेख्दै थिए– ‘टुकुचेबाट टुकुचासम्म’ । आत्मकथाको एक अंश कविताजस्तै लयमा लेखिएको छ, जुन भावनाको उत्ताल छालझैं बग्छ । सायद त्यो उनले पूरा गर्न सकेनन् । हामीले आत्मकथाका केही पृष्ठ मात्रै फेला पार्‍यौं, जुन कविताका अनुसार, अहिलेसम्मै अप्रकाशित छ । सायद निद्रा नलागेर बेचैन बितेको कुनै रात उनले लेखेको त्यो अप्रकाशित आत्मकथाको अंश यस्तो छ–

‘टुकुचे थाक–खोला गाउँमा थ्यो एउटा सामन्ती, तर असल परिवार, जसको रजाइँ थ्यो, बाजा बजाइँ थ्यो । मुकुटबिनाको सरकार त्यस परिवारको थकालीका थिए– चार भाइ छोरा । एउटी छोरीको ठूलो चाहना थ्यो, छोराले मात्र भो र ? कालान्तरमा त्यो ठूलो घरमा फैल्यो हर्षको लहर– बुढीमाउले भुँडी बोकिन्, पुग्ने भो मनको रहर । तर, अफसोस, छोरीको साटो जन्मिदियो पाँचौं छोरा । छोरी नभई मूलमा परेको, पुसेऔंसीको मूलमा परेको, अलच्छिना मोरा ।... तर, दैवलाई सहन भएन त्यस शिशुको अवतरण । ५ वर्ष के पूरा गरेथ्यो, अकस्मात् भैगो माताको मरण । घरमा ठूलो आक्रोश फैलियो– आमा टोकुवा भन्दै । अलि ठूलो भयो, बुझ्न थाल्यो उसले । लाग्न थाल्यो उसलाई, जीवन घीनलाग्दो र एकदम व्यर्थ । विधिको विधान, छैन ठूलो निदान, नामकरण भो– भाग्यमान । पुर्पुरोमाथि हिर्काइ साथी ऊ चिच्यायो– हे भगवान्, के मै मात्र दोषको पात्र ? अरू दाइ जम्मै पवित्र चोखा ? नदिनु जन्म दिइहाल्यौ प्रभु, किन दियौ फेरि विचित्र धोका ? टुकुचे गाउँ वरपर थिए– थुप्रै सल्ला र धुपी । तीनै धुपीका छायामा पल्टी रुन थाल्यो कठैबरा भूपी । डरले काँप्थ्यो, कलिला दाँत छाम्थ्यो, सोच्थ्यो– यस्ता दाँतले कसरी मैले पाँच वर्ष पहिले टोकें हुँला आमालाई ? कुन आँटले ?’


अप्रकाशित काव्यात्मक आत्मकथामा भूपीको बालापनको मनोदशा राम्रोसँग चित्रित छ । भूपी भन्थे– जसरी हिमाल पग्लेर खोला बन्छ, मान्छेको मन पग्लेर ऊ कवि बन्छ । ‘बाल्यकालमा बेहोरेका कष्टले बुबालाई कवि बनायोजस्तो लाग्छ मलाई,’ कविता भन्छिन् ।

...

भूपी बितेको लामो समयपछि पनि– उनी छोरी कविताको सपनामा आउँथे, बोलाउँथे । ‘म सपनामा स्कुलबाट आउँथे, बिरामी बुबा पलङमै सुतिरहनुभएको हुन्थ्यो । आमा भन्नुहुन्थ्यो– हेर न कविता, बुबा स्वर्गे हुनुभएको होइन रहेछ नि, यहीँ सुतिरहनुभएको छ त !’ कान्तिलाई अहिले पनि लाग्छ– भूपी आफूसँगै छन् । भन्छिन्, ‘उहाँ जिउँदै हुनुहुन्छजस्तो लाग्छ । यतैकतै मसँगै हुनुहुन्छ ।’ पछिपछि मरुन रङको हाइनेक लगाएका भूपीलाई कविताले सपनामा देख्न छाडिन् ।

दुनियाँका आँखामा भूपी शेरचन बेजोड कवि हुन् (कसैका आँखामा तुकबन्दीवाला कवि पनि हुन्), कसैका आँखामा कम्युनिस्ट हुन् (कसैका आँखामा प्रतिगामी पनि हुन्), कसैका आँखामा मदिराप्रेमी हुन् (कसैका आँखामा मदहोस पनि हुन्) । आँखाहरूको संसारमा भूपी केही न केही अवश्य हुन् ।

तर, छोरी कविताका आँखामा उनी केवल र केवल मायालु पिता हुन् ।

प्रकाशित : श्रावण २०, २०८० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×