कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रिभोल्युसनरी रकस्टार

रबिन थिए आडम्बरहीन र नकाबरहित मान्छे, नकाबको चलन चलेको समाजका लागि एक रिभोल्युसनरी
विप्लव प्रतीक

चमेली फिल्मबाट प्रसिद्धि कमाएका निर्देशक रवि बरालले हो, मलाई रबिन तामाङसँग परिचय गराएको । ठमेलमा ब्याम्बुस भन्ने रेस्टुराँ थियो उनको र त्यहीँ उनी हरेक शुक्रबार आफ्नो प्रस्तुति पनि दिन्थे ।

रिभोल्युसनरी रकस्टार

पहिलो भेटमै हामीबीच स्नेहले भरिएको सम्बन्ध सुरु भयो । त्यसताका म ‘हिमाल’ खबरपत्रिकामा काम गर्थें । म आफ्नो काम सिध्याएर अक्सर उनकै रेस्टुराँमा पुग्थें । शुक्रबार त भेटिन्थे नै, तर भीडमभीड र प्रस्तुतिमा व्यस्त ! त्यसैले म अरू बार जान्थें । यदाकदा भेट हुन्थ्यो र कुरा रहन्थ्यो संगीतमै केन्द्रित । एक साँझ हामी निकै अबेरसम्म बस्यौँ । केही पुराना गीतहरूलाई रकमा रिमेक गर्दै गरेको सुनाए उनले । म संगीत भनेपछि हुरुक्कै हुन्छु र कलामा नवीन प्रयोग गरेको मलाई मन पर्छ । मैले सुन्न चाहेँ । उनी त्यतिखेर गाउने मुडमा थिएनन्, फुर्सदको आनन्दमा डुब्ने मनोदशामा थिए । उनी चुपचाप बाहिर निस्किए र रेस्टुराँमा रहेको उनको निजी दराजबाट केही लिएर फर्किए । त्यो उनले रिमेक गरेको गीतहरूले भरिएको क्यासेट थियो । सिडीको आगमन भइसके तापनि क्यासेटको प्रचलन शिखरमै थियो । क्यासेट दिँदै भने, ‘आई निड योर क्रिटिकल ओपिनियन अन दिस । एन्ड आई वान्ट यु टु राइट अ सङ्ग फर मी । आई विल कम्पोज इट ।’ त्यस साँझको अन्तिम घुट्का रित्याएपछि म घर फर्किएँ । र, फ्रेस भएर ओछ्यानमा ढल्किएँ । प्लेयरमा क्यासेट हुलिसकेपछि बटन प्रेस गरेँ र सुविधाजनक अवस्थामा पल्टिएँ । मेरो सारा ध्यान केन्द्रित थियो, क्यासेटबाट बज्न लागेको गीततर्फ । पहिले प्रिल्युड बज्यो, अनि गीत सुरु भयो । गीत चिनिहालेँ, त्यो रञ्जित गजमेरको संगीतमा डेनी डेन्जोङ्ग्पाले गाएको लोकप्रिय गीतमध्ये एक थियो– ‘चिसो चिसो हावामा, यो मन त्यसै बरालिन्छ ।’ तर, त्यो गीत जुन प्रकारले डेनीले गाएका थिए, त्यसअनुरूप थिएन, पूरै रकमा थियो । मलाई रबिनको रक–रिमेक सहेर सुन्न गाह्रो भयो । अंग्रेजी रक त मन पर्थ्यो, यो नेपाली रक किन मन परेन मलाई ? मैले केही भेउ पाउन सकिनँ । पूरै क्यासेट सुनिसकेपछि म सुत्ने तर्खरमा लागेँ । तर, भोलि रबिनलाई भेट्दा के जवाफ दिने भन्ने कुरा मनमा खेल्न थाल्यो । झूट बोल्न नसक्ने मसँग सत्य बोल्ने आँट थिएन । मित्रवत् सम्बन्ध भइसकेको मान्छेको चित्त दुखाउन मलाई किमार्थ मन थिएन ।

केही दिनपछि हाम्रो भेट भयो । उनले सोधे, ‘कस्तो लाग्यो गीत ?’ ‘आई लाइक्ड इट,’ मेरो मुखबाट यही फुस्कियो । कुरा त्यत्तिमै सीमित रह्यो । त्यही भेटमा मैले उनीसँग रक म्युजिकको बेसिक्स जान्न खोजेँ । उनैका अनुसार, रक म्युजिक आमतौरमा फोर/फोर बिटको हुन्छ र अधिकांश गीत भर्स–कोरस स्ट्रक्चरमा बन्छन् । र, रक म्युजिक विभिन्न विषयमा बन्न सक्छन्, तर यिनमा अक्सर प्रेम, समाज र राजनीतिजस्ता विषयलाई प्रधानता दिइन्छ । यसको लयमा सम्मोहन हुनुपर्छ र यसले लामो समयसम्म प्रभाव छोड्न सक्नुपर्छ । मैले उनका गीतहरू फेरि दोहोर्‍याएर सुनेँ । उनको एक्सप्रेसन र म्युजिकको डिजाइनलाई मनन गर्दै सुनेँ । फेरि सुनेँ र त्यही प्रस्तुतिमा मिसियो मेरो इन्द्रिय । गीतको रिमेकले मेरो मन स्पर्श गर्‍यो । हामीले एकै प्रकारको संगीत सुनिरह्यौं

भने अर्को खालको संगीतले दिन सक्ने प्रभाव ग्रहण गर्न सक्दैनौँ । एक प्रकारको गीतमा रमिसकेका छौँ भने अर्को स्वरूपमा त्यस गीतलाई लिन सक्दैनौँ । रबिनको संगतमा मैले यही कुरा सिकें र सम्भवतः मेरो संगीत श्रवणको क्षितिज फराकिलो हुन त्यसले मद्दत गर्‍यो ।

अनिश्चित नै निश्चित छ र संयोग अपेक्षित हुँदैन । त्यस्तै भयो– ब्याम्बुसमा हुने रबिनको प्रस्तुति मैले कहिल्यै पनि हेर्न र सुन्न पाइनँ । त्यसैले एक दिन उनको लाइभ पर्फमेन्स हेर्न म ‘रेड अनियन’ पुगेँ । सिगार खाँदै, ब्रेकमा दर्शककै सामु मदिरा पिउँदै उनले गीत गाइरहँदा मलाई कता–कता असहज भएको थियो ।

कार्यक्रमपछि मैले उनलाई सोधेँ, ‘पब्लिकको अगाडि पिउँदै गाउँदा अन्कम्फर्टेबल हुँदैन ?’ ‘हुँदैन । मैले गीत बिगारेँ भने अन्कम्फर्टेबल हुन्छ,’ उनको संक्षिप्त जवाफ थियो । र, मलाई थाहा छ– म्युजिक र रक म्युजिकसँग खेलाँची गर्‍यो भने रबिनलाई अन्कम्फर्टेबल हुन्थ्यो । वास्तवमा रबिन जे थिए, त्यही रूपमा प्रस्तुत हुन चाहने कलाकार थिए, आडम्बरहीन र नकाबरहित– अहिले नकाबको चलन चलेको समाजका लागि एक रिभोल्युसनरी ।

रबिनसँग केही समयपछि मेरो संगत पातलिँदै गयो । कारण, म अमेरिका गएँ र लामो समय उतै बसेँ । नेपाल फर्किएपछि हामी भेटियौँ, ‘वुमन इन कन्सर्ट’ मा सँगै जज भयौँ । अभया एन्ड स्टिम इन्जिन्सकी अभया सुब्बाले हरेक वर्ष गर्ने सेलिब्रेटेड इभेन्ट थियो त्यो । बीबीचमा हाम्रो भेट त हुन्थ्यो । तर, छोटो भलाकुसारीमै टुंगिन्थ्यो ।

भूषण शिल्पकार र उनको समूहले बर्सेनि गर्ने कार्यक्रम हो– ‘इकोज इन द भ्याली’ । यसपालि १८ मार्चमा त्यसको अन्तिम दिन असनमा सम्पन्न भयो, जहाँ मैले लेखेको ‘गौंथली’ कविता सुनाउन भूषणले मलाई निम्तो दिएका थिए । असनको पृष्ठभूमिमा लेखिएको कविता थियो त्यो । म सहर्ष सुनाउन गएँ र सुनाइसकेपछि दर्शकदीर्घामा गएँ । बीच सडकमा श्रोताहरूमाझ अलग्गै चिनिने ६ फुटे गायक रबिन आफ्नी साथीसँग उभिएका थिए । अक्सर क्रियटिभ इभेन्टमा स्वेच्छाले उपस्थित हुने रबिनलाई त्यहाँ भेट्दा आश्चर्य लागेन, बहुतै खुसी लाग्यो । उनी सहरमा हुने यस्ता इभेन्ट प्रायःजसो छुटाउँदैनथे । त्यस दिन म हतारमा भएकाले बिदा मागेँ । उनले पनि मसँग उहिल्यै गीत मागेका थिए । तर, गीत दिने अवसर कहिल्यै जुरेको थिएन । त्यस दिन मुसुमुसु हाँस्दै उनले फेरि दोहोर्‍याए, ‘गीत दिने होइन ? दिज डेज आई लिभ इन बुढानीलकण्ठ । कम सम डे, वी विल ह्याभ फ्यु ड्रिङ्क्स एन्ड वर्क अन अ सङ ।’ मैले ‘स्योर’ भनें ।

हामी अहिलेको समयमा के हुँदै गएका छौँ, मलाई थाहा छैन । कस्तो खालको व्यस्तताको अजिङ्गरले हामीलाई निल्दै गइरहेको छ, थाहा छैन । हामी आफूसँग–आत्मीयहरूसँग–जीवनको उत्सवसँग दूर हुँदै गएका छौँ कि करिब छौँ, थाहा छैन । कुन खालको व्यस्तताले मैले रबिनसँग भेट्ने मौका मिलाउन पाइनँ, त्यो पनि याद छैन । अचेल व्यस्त छैन म, फुर्सदमा छु । पहिलेको समयमा बुढानीलकण्ठ निकै टाढा हुन्थ्यो काठमाडौँका बासिन्दालाई । अहिले त्यो टाढा पनि छैन । तर, रबिन टाढा गइसकेका छन् । मसँग गीत छन्, तर रबिन छैनन् । हुन त, रबिन नभए पनि उनका गीतहरू छन् । हो, थाहा छ मलाई । तर, ती गीतले रबिनको न्यास्रो मेटाउला–नमेटाउला, यतिखेर म त्यसको कल्पना गरिरहेको छैन, हो यो कुरा पनि थाहा छ मलाई ।

प्रकाशित : असार २३, २०८० १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×