२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

राजा, राणा र कांग्रेसको ‘लभ ट्र्यांगल’

नयराज पन्तको यो डायरी इतिहास जान्न चाहनेका लागि सर्वाधिक खोजी गरिएको एक कालखण्डको सजीव आँखीझ्याल हो
शंकर तिवारी

इतिहासकार नयराज पन्तले विसं २००७ कात्तिक–२००८ चैत्रसम्मको समयावधिमा लेखेको संस्कृतको डायरी मूल संस्कृत र नेपाली अनुवादसहित प्रकाशित छ– ‘राजा, राणा र कांग्रेस : नयराज पन्तको डायरी’ शीर्षकमा । किताबका सम्पादक/अनुवादक उनकै ज्येष्ठ सुपुत्र इतिहासकार महेशराज पन्त हुन् । साहित्यिक/राजनीतिक व्यक्तित्त्वका डायरी बग्रेल्ती प्रकाशन हुने भए पनि बीपी कोइरालाको डायरीमा आधारित चार किताबपछि यसरी डायरी सार्वजनिक वृत्तमा आउने विरल नेपालीमा परेका छन्– नयराज पन्त ।

राजा, राणा र कांग्रेसको ‘लभ ट्र्यांगल’

बीपी कोइराला, मातृकाप्रसाद कोइराला, हृषिकेश साह, काशीनाथ आचार्य दीक्षित, राममणि आचार्य दीक्षित लगायतका व्यक्तिको आत्मकथा वा डायरी प्रकाशित हुँदा तत् तत् सम्पादकहरूको लापरबाही वा अन्य कारणले मूल रूपबाट विमुख भएका छन् भन्ने किटान महेशराज पन्तले कान्तिपुर दैनिक ‘कोसेली’ साउन ९, २०७८, बीपीको कलम फेर्दै सम्पादक) मा गरेका थिए । आफूले खडा गरेको मानकमा भने उनले यो किताबलाई ठीकठाक र तरोताजा प्रस्तुत गरेका छन् । मूल संस्कृत पनि सँगै प्रकाशित गरेर उनले सम्भावित आलोचनालाई मत्थर पारेका छन् । यो किताब मूल लेखक जीवित छँदै अंशका रूपमा अन्यत्र पनि छापिन सुरु भएको अनि संस्कृतको साफी उनकै चेला ज्ञानमणि नेपालले गरेकाले यसको शुद्धतामा खासै शंका गर्नुपर्ने देखिँदैन र अन्य त्रुटिको सम्भावना घटेको अनुमान गर्न सकिन्छ ।

यो डायरीको शीर्षकअनुरूप नै प्रजातन्त्र आरम्भका दिनहरू राजा, राणा र कांग्रेसवरिपरि घुमेका थिए, तर केही दुनियाँदार पनि यसमा अटाएका छन् । कांग्रेसको हकमा त सुवर्ण र मातृकाको एकाध प्रसंगबाहेक बीपी ज्यादा छाएका छन् । डायरी राजा त्रिभुवन सपरिवार भारतीय दूतावास हुँदै दिल्ली सवारी भएपछि मोहनशमशेरले भारदारी सभा गरेर नाति ज्ञानेन्द्र शाहलाई गद्दीनसीन गराएको दिनबाट सुरु हुन्छ ।

सम्पादकले ‘नयराज पन्तले आफ्ना दृष्टिअनुसार घटनाको विश्लेषण गरेको मात्र देखिन्छ, कुनै उद्देश्य विशेषको पूर्ति गर्न कलम चलाएको देखिँदैन’ भनेका छन् । एक नवोदित इतिहासकार ३७/३८ को उमेरमा वरिपरिका घटनालाई कसरी हेर्थे ? उनको विश्वदृष्टि र बौद्धिक वृत्ति कसरी विकसित भइरहेको थियो ? यो बुझ्न पनि डायरी मानक बनेको छ । त्यसरी हेर्दा नयराज पन्तको विश्वदृष्टि ‘कौटिल्यको अर्थशास्त्र’ मा आधारित र समिति देखिन्छ । लेखाइमा ‘कामन्दकीय नीतिसार’ पनि समेटिएको भए उनको शास्त्रीय विश्वदृष्टि अझै व्यापक हुने थियो ।

डायरीमा सबैभन्दा पहिले भीमसेन थापाले निजी ठूलो महल बनाएको, राणा प्रधानमन्त्री जंगबहादुर अनि रणउद्दीपले त्यसैको सिको गरे पनि स्वदेशी सम्पत्ति बाहिर लैजान रोकेको, तर वीरशमशेरदेखि सम्पति बाहिर लैजाने परम्परा मोहनशमशेरसम्म निरन्तर रहेको उल्लेख छ । त्रिभुवनको सचिवमा भारतीय नागरिकहरूको नियुक्तिले राज्यको गुह्य रहस्य बाहिर जान सजिलो भएको साँचो हो । त्रिभुवनको पाश्चत्य शैलीको विलासी जीवनबारे पनि डायरीमा लेखिएको छ ।

राणाको जेलमा सर्वाधिक लामो समय बिताएर सकुशल रिहा भइ खद्दर मात्रै लगाउने गान्धीवादी खड्ग सिंहको विवाह तडकभडकसहित सम्पन्न भएको प्रसंगलाई मूल्य मान्यताको पतनका रूपमा डायरीमा पेस गरिएको छ । बालकृष्ण सममाथिका प्रसंग रोचक त छन् नै, तर तिनमा लेखकको वैरभावै भएझैं खोइरो खनेको प्रतीत हुन्छ । नयराज पन्तले बारम्बार प्रजातन्त्रलाई विदेशी नक्कल मानेका छन् । तर, राणाशाही, राजा र प्रजा मिलेर गरेको क्रान्तिको जगमा राणाबाट राजालाई अधिकार फिर्ता गरि कसरी नयाँ व्यवस्था ल्याउने भन्ने बनिबनाउ स्वदेशी मोडल नभएको पनि स्वीकार नगरेको ठर्हछ ।

उनको संकेत शासनको नमुनाका लागि पृथ्वीनारायण शाहको दिव्योपदेशतर्फ भएको अनुमान गर्न सकिन्छ, तर त्यो किटेर लेखेका पनि छैनन् । नेपालबाहिर गई अध्ययन गरेको र इतिहासकारका रूपमा निक्खरता ल्याउने कोसिस गरेको व्यक्तिले प्रजातन्त्रका प्रयोक्ताहरूलाई वस्तुगत आधार र कारणबिनै उपेक्षा–दृष्टिले हेर्नु पक्कै शोभनीय होइन । नेपालले प्रजातन्त्रका लागि आवश्यक न्यूनतम पूर्वाधारबिनै प्रजातन्त्र अभ्यास सुरु गर्दै थियो । भारत स्वतन्त्रतापूर्व नै प्रान्तीय सरकार र केन्द्र सरकारको अभ्यासपश्चात् मात्रै नयाँ युगमा प्रवेश गरेको थियो । बनारसको राजकीय संस्कृत पाठशालाबाट विसं १९९५ मा सिद्धान्तज्योतिषमा प्रथम श्रेणीमा आचार्य गरेका नयराजले अमेरिकी, फ्रेन्च र रुसी क्रान्तिबारे केही पनि पढेनन् होला भन्नु उनको अपमान हुन जान्छ । क्रान्तिपछि प्रतिक्रान्ति हुनसक्छ भन्ने संकेत उनले गरेका छन् । तर, क्रान्तिपछि हुने अन्योललाई स्वाभाविक मानेर त्यसलाई बौद्धिक रूपमा चिर्न नसकेका आधारमा नयराज पन्तलाई ‘पश्चिमबाट अनाक्रान्त आधुनिकताबाट सम्पन्न’ भनिए पनि उनको आधुनिकता कति आधुनिक छ भन्ने संशय पाठकका मनमा आउनुलाई अन्यथा मान्न मिल्दैन ।

नयराज पन्तले ‘सुवर्णशमशेर नेता भएका’ भनी बारम्बार उल्लेख गरेका छन् । उनलाई ‘मठ्याहा’ राणाहरूको पैसामा मात्रै बीपीले क्रान्ति गरेको भ्रम पर्न गएको बुझ्न सकिन्छ । बीपी सात सालको क्रान्तिका दार्शनिक द्रष्टा थिए भन्ने जगजाहेरै छ । त्यस अलावा बीपी अन्तरिम सरकारमा क्रान्तिकारी पक्षको नेतृत्व गरी गएको र सुवर्ण पनि सोही सरकारमा सहभागी हुँदा वरीयतामा बीपीभन्दा तल रहेको तथ्यबाट त्यो भ्रम निवारण हुनेपर्ने थियो । त्यसका बावजुद दीर्घायु जीवन बाँचेका उनले बीपी सुवर्णभन्दा अग्लो हैसियतले इतिहासमा विराजमान रहेको तथ्य डायरीमा सच्चाउन नचाहनु लेखकीय इमानदारी मान्न सकिन्छ ।

त्यस्तै उनले बीपीले मेट्रिक पास गरेको बनारसको विद्यालयलाई आयस्ताभन्दा धेरै चन्दा दिएको र बीपीको आनीबानीलाई शंकाको दृष्टिले हेर्नुपर्छ भनी आलोचनात्मक शैलीमा लेखेका छन् । बीपीका पिताजीले भन्सार विभाग लगायतको ठेक्कापट्टाको काम गरेको, सर्वस्वहरणमा परेको र प्रजातन्त्र आउनासाथ त्यो फुकुवा भएको अनुमान गर्न उनले आनाकानी गरेको देखिन्छ । बीपी भ्रष्ट थिएनन् र घरबार जोड्ने कुरा उनको रुचिको विषय थिएन । राजा महेन्द्रले २०१७ मा भ्रष्टाचारसमेतको आरोप लगाएर ‘कू’ गर्दा बीपी त के उनका मन्त्रिपरिषद्का सदस्यसमेतलाई दोषी प्रमाणित गर्न सकेका थिएनन् ।

विराटनगर जुट मिलको हडतालबाट राजनीतिक रूपमा उदाएका थिए बीपी । बीपी गृहमन्त्री छँदा सरकारी अड्डाका कारिन्दाले हड्ताल गर्न खोज्दा निषेध गरेको विषयलाई नयराज पन्तले बीपी घमन्डले मत्त भएको भनी लेखेका छन् । केही राणाजीका घरमा धेरै अनाज संग्रह गरिएको भन्दै खोजबिन गरेको प्रकरणलाई उनले हिसाबकिताबसहित सरकारले लोकहितभन्दा तिनीहरूको अपमान गर्न उद्यत भएको साबित गरिदिएका छन् ।

मोहनशमशेरले पनि चन्द्रशमशेरको सिको गरेको तर बदलिएको भूराजनीतिक परिस्थिति आकलन गर्न नसकेको अनि हवाई सेना र जल सेना राख्नुपर्ने विषय वैज्ञानिक नै हो । डायरीमा लेखकको निजात्मक अनुभूति निकै कम छन् । डायरी सत्ता–राजनीतिवरिपरै लेखिएको छ । व्यवस्था परिवर्तनपछि राणाहरूको स्तुतिपाठक, ढोका ढुक्ने र भक्तिपूर्वक गर्धन निहुराउने सेवकहरू नै त्यही पद्धतिसहित कोइराला आवासमा हाजिर हुने गरेको विषयले काठमाडौंमा विद्यमान चाकरी–चरित्र उजागर हुन्छ ।

यो डायरीमा चर्चा भएका विदेशी पात्र हुन्– महात्मा गान्धी । गान्धीबारे गरिएको टिप्पणी छ– गान्धीले विद्यार्थीलाई स्वतन्त्रता संग्रामका बेला आन्दोलनमा प्रवृत् गराएकाले विद्यार्थीहरूको ध्यान पढ्नेभन्दा हूलदंगामा ज्यादा केन्द्रित भएको र पछि तिनै विद्यार्थी नेता बन्दा भारतको शिक्षाको स्तर खस्केको नियति नेपालले पनि हुबहु बेहोर्नुपर्‍यो । पन्तको त्यो अनुमान बिलकुल सही होइन । गान्धीले आन्दोलनका क्रममा स्वदेशी शिक्षालाई जोड दिन गुजरातमा गुजरात विद्यापीठ विश्वविद्यालय नै स्थापना गरेका थिए । उनैको सिकोमा जकिर हुसेन लगायतले दिल्लीमा जमिया मिलिय इसलामिया युनिभर्सिटी स्थापना गरेका थिए । यो डायरी ती विश्वविद्यालय स्थापना गरिएको ३० वर्षपछि लेखिँदै थियो र लेखक स्वयं उच्च शिक्षाका लागि भारत पुगेका थिए । निरन्तरको विद्यार्थी आन्दोलनले शिक्षाको गुणस्तर खस्किएको विषय एकांगी लाग्छ । गान्धीको व्यक्तित्वबारे गरिएको पन्तको टिप्पणी अपरिपक्व छ ।

दरबारनिकट थिए पन्त । त्यति हुँदाहुँदै २००७ सालअघिको डायरी लेख्दा पनि गुप्तलिपि प्रयोग गरेका छन् । संस्कृतमा यो डायरी लेख्नु संस्कृत भाषाको अनुशीलनको रहर त होला नै, सँगै सरकारबाट खानतलास हुँदा फस्नु नपरोस्/बात नलागोस् भन्ने डर पनि हुन सक्छ । भर्खरै खुला समाजमा प्रवेश गरेका बेलाको डायरीलाई आजको कोणबाट हेर्नु/पढ्नु अन्याय हुन्छ ।

किताबमा सात साल फागुन ७ गतेको महादिनको पञ्जी भने छैन । डायरीमा घटना र व्यक्तिबारे टिप्पणीका अलावा राजकाज (सेना, परराष्ट्र, आर्थिक नीति) सँग सम्बन्धित अन्यत्र नभेटिने अनेकन् शास्त्रीय व्याख्यासहित सुक्तिहरूसमेत छन् । त्यसैले यो किताब जानकारीमूलक मात्रै नभएर ज्ञानमूलक र ओजिलो पनि छ ।

सम्पादक महेशराज पन्तले बीपीबारेको पुरानो लेखमा लेखेको ‘हाम्रो लेखा त बीपी दुर्गृहीत परसंस्कृतिका उपजभन्दा बढी होइनन्’ भन्ने धारणालाई यस पुस्तकको उपोद्घातमा प्रजातन्त्रकालको ‘प्रयोक्त चूडामणि’ को उपमा दिएर संशोधन गरेको प्रस्ट हुन्छ । उनी पुरानो धङधङीबाट ढिलै भए पनि मुक्त भएको विषयलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ । यो डायरी पढीसक्दा विसं १९९४ देखि परलोक हुनु केही वर्षअघिसम्म पनि नयराज पन्तले लेखेका अरू डायरी पढ्ने कौतूहल पाठकमा जागृत हुन्छ ।

नयराज पन्तको डायरीको महत्त्व उनकै भाषामा ‘इतिहासबाट निस्केको दोष र गुणको परीक्षा नै राजनीतिको बाटोमा आलोक स्तम्भको काम गर्ने भएकाले’ प्रचुर छ । बीपीको डायरी प्रत्येक पटक पढ्दा नयाँ रहस्य उद्घाटित भएझैं इतिहास जान्न–बुझ्न चाहनेका लागि यो डायरी पनि खास बनेको छ । त्यसैले निर्धक्क भन्न सकिन्छ– नेपाली इतिहास लेखनमा गुरुकिल्ली मानिएको संशोधन मण्डलका संस्थापक नयराज पन्तको २००७/०८ सालको डायरी नेपाली इतिहासमा सर्वाधिक खोजी र उद्धृत गरिएको कालखण्डको सजीव, मौलिक, रोचक र पठनीय आँखीझ्याल हो ।

प्रकाशित : असार १६, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?