कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्व साइकल दिवस

साइकलको समाजशास्त्र

हामी किन कार–कल्चरकै सपना बोकिहिँड्छौं ? विश्वविद्यालयले त जरासँग जोडिने र जल, जमिन, जंगलसँग सम्बन्ध नतोड्ने ज्ञान पो बाँड्नुपर्छ । 
तारालाल श्रेष्ठ

विश्व साइकल दिवसको संघारमा साइकल हाँकिहिँड्दा मनमनै प्रश्न गर्छु– जुन देशमा राष्ट्रिय साइकल दिवस मनाइन्न त्यस देशमा अन्तर्राष्ट्रिय साइकल दिवस मनाउनुको मतलब के ? एक सामाजिक वैज्ञानिक प्राध्यापकले भुइँतहबाट हाँकेको समाजशास्त्रीय अभियानलाई संयुक्त राष्ट्रसंघले कसरी विश्व साइकल दिवसको मान्यता दियो ?

साइकलको समाजशास्त्र

शताब्दियौँदेखि मानव जीवनमा व्यापक प्रभाव पारेको बहुआयामिक विशिष्टतम साइकल संस्कृतिबारे नेपाली साइकल अभियानकर्ताको बुझाइ कस्तो छ ? आफ्ना अनुभव, अनुभूतिका आधारमा यी प्रश्नको उत्तर खोज्नु यस आलेखको अभीष्ट हो ।

विश्वविद्यालयमा साइकल समुदाय

साइकल आविष्कारले विश्वजगत्मा आमूल प्रभाव पारेको दुई शताब्दी नाघिसक्यो । आफ्नो कर्मथलो त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा साइकल समुदाय सिला खोज्नुपर्ने अवस्थामा छ । हामीले साइकल संस्कृतिको बहुआयामिक सौन्दर्यबारे विश्वविद्यालयभित्र अलिकति बहससमेत चलाएका छैनौँ । पाठ्यक्रममा साइकल शिक्षा प्रवेश गराएका छैनौँ । साइकल पूर्वाधार प्राथमिकतामा परेकै छैन । एकाध प्राध्यापक नियमित साइकलमा विश्वविद्यालय आउँछन् ।

साइकल हाँक्ने प्राध्यापकमाथि साइकल नहाँक्ने प्राध्यापकबाट हस्सीमजाक, हुमिलियट हुनेगर्छ । नियमित साइकल हाँक्नु राम्रो भन्ने प्राध्यापकहरू पनि ‘सडकमा यस्तो छैन, उस्तो छैन, सरकारले पहिले यस्तो गरिदियोस्, उस्तो गरिदियोस्, अनि साइकल हाँक्छु’ भन्छन् । नेपाल प्रहरीका सक्रिय साइकले एसएसपी सञ्जीव शर्मा भन्छन्, ‘बहाना नबनाऔँ, जस्तो छ त्यस्तै सडकमा पेडल पेलौँ ।’

विश्वविद्यालयमा साइकल साथी खोज्छु । कोही देख्दिनँ, भेट्दिनँ । विश्वविद्यालय बाहिर बरु साइकल साथी प्रशस्तै छन् । विश्वविद्यालयको कक्षाकोठाका झ्याल–ढोकासम्म यान्त्रिक साधनको लाइन हुन्छ । साइकल पार्किङ कहिँकतै छैन । पर्यावरण साहित्यमा विद्यावारिधि गरेका मेरा विभागीय प्रमुखलाई साइकल स्ट्यान्ड स्थापना गर्न डेढ वर्षअघि निवेदन दिएको थिएँ । आफैं दाता खोजेर साइकल स्टयान्ड राख्छु पनि भनेँ । त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा एउटा साइकल स्ट्यान्डसम्म छैन । अन्य पूर्वाधारको कुरै नगरौँ । त्रिवि केन्द्रीय कार्यालयमा सौन्दर्यकरणका कामहरू भइरहेको देख्छु । पैदलमार्ग, प्रतीक्षालय, आकर्षक गेट बन्दै छन् । साइकल पूर्वाधारतिर ध्यान पुगेको देख्दिनँ ।

स्वास्थ्य, वातावरण, खेलकुद, भाषा, साहित्य, कला, संस्कृति, समाजशास्त्र आदि विषयमा विद्यावारिधि गर्ने प्राध्यापकहरू पनि कार–क्रेजी देख्छु । विद्यार्थीको ब्लडमा समेत कार–बाइक पसिसक्यो । कार–बाइककै (कु)लततिर सामाजिक वैज्ञानिकहरू पनि फसिसके । साइकल दिवससमेत विश्वविद्यालयभित्र मनाउन सक्ने अवस्था छैन ।

त्रिविमा साइकल संस्कृति स्थापना गर्ने धोको अधुरै छ, जहाँ साइकल समुदाय यत्रतत्र भेटियोस् । साइकलमैत्री स्वैरकल्पनामा वर्षैदेखि डुबिरहेछौँ । त्रिविका उपकुलपति, रेक्टर, पदाधिकारी, डाइरेक्टर भेटिरहेछौँ, साइकल संस्कृति स्थापनाका सपना सुनाइरहेछौँ । त्रिविलाई साइकल संस्कृतिले सहजै सजाउन सकिन्छ । साहित्य, कला, संगीत, जीवन, जगत्, संस्कृति, प्रकृति सबैसँग साइकलको समाजशास्त्र जोडिन्छन् । साथीहरू साइकलमा स्विच हुँदै हुन्नन् । नयाँ कार–बाइकका ब्रान्डहरूबारे चर्चा चल्छ । साइकलको ब्रान्डहरूबारे बोल्दै बोल्दैनन् ।

हामीले साइकल संस्कृतिको बहुआयामिक सौन्दर्यमाथि विश्वविद्यालयमा बहस चलाएका छैनौं । पाठ्यक्रममा साइकल शिक्षा प्रवेश गराएका छैनौं ।

तराईमा फिट हुने साइकल पहाडमा फिट हुन्नन् । जहाँतहीँ माउन्टेन बाइक–साइकल चाहिन्न । सही हो, तराईमा सामान्य साइकल ठीक होला । कसैले अत्याधुनिक साइकल हाँक्छन् भने किन टाउको दुखाउनु ? साइकलै त हो, जस्तो हाँके पनि । जसले इन्धन बाल्नुको साटो बोसो पगाल्छ । समाजमा सौन्दर्य थप्छ ।

बरु हामी अलिकति व्यक्तित्व विकास गर्नेबित्तिकै कार कल्चरकै सपना किन बोकिबस्छौँ ? गोल्ड मेडलिस्ट, विद्यावारिधि डिग्रीधारी, लब्धप्रतिष्ठित प्राध्यापक पनि किन कारक्रेजी बनिरहेछौँ ? शिक्षित, दीक्षित, सफल व्यक्तित्वको पहिचान जमिन छोड्न होइन, जरासँग जोडिन पो होला । विश्वविद्यालयले जरासँग जोडने, जल, जमिन, जंगलसँग सम्बन्ध नतोड्ने ज्ञान पो दिनुपर्ने होइन ? साइकल हाँक्दै गर्दा यस्ता विचारहरू साइकलको गतिसँगै सलबलाइरहन्छन् ।

आशाका आभाहरू

गत हप्ता त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले बोलायो । आगजनीबाट युनियन भवन ध्यस्त भएको थाहा थियो । नयाँ स्ववियु कार्यालय स्थापना भएको थाहा थिएन । युनियन अफिस खोज्दै साइकल हुइँक्याएर पुगेँ । साइकल संस्कृतिबारे बहस गर्न समय मिलाइएको रहेछ । नियमित साइकल नहाँक्ने विद्यार्थीमाझ सधैँ साइकल हाँकिहिँड्ने शिक्षकको प्रस्तुति विशिष्ट थियो । कीर्तिपुरमा साइकल घोषणापत्र कार्यशाला भएको केही विद्यार्थीलाई थाहा थियो ।

केही विद्यार्थी उम्मेदवारले निर्वाचनका बेलामा त्रिवि, कीर्तिपुरलाई साइकल संस्कृतिले सजाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूमध्ये केहीले चुनाव जितेछन् । तीन जना विजेता अंग्रेजी केन्द्रीय विभागकै रहेछन्, अध्यक्षसहित, जसले त्रिविमा साइकल संस्कृति विकासबारे बहस चलाउन खोज्दै छन् । गत महिना प्रिन्सिपल कार्यालयले पनि त्रिविमा साइकल संस्कृति स्थापनाको सम्भावनाबारे औपचारिक बहस गरेको थियो । प्राध्यापकहरूले त्रिविलाई साइकल सौन्दर्यले सजाउने प्रक्रियाका जटिलता र सम्भाव्यताबारे महत्त्वपूर्ण सुझाव दिनुभएको थियो । आफ्नो मातृसंस्थामा मुठीदानबाट साइकल पूर्वाधार बनाउने सपनाले हामीलाई हौस्याइरहेको छ ।

अझ अघि साइकल संस्कृतिबारे कुरा गर्न भीसी सरलाई भेटेका थियौँ, रेक्टर सरसहित । भीसी सरले त्रिविको बेथिति तथा नयाँ काम थाल्दाका सकस सुनाएका थिए । यद्यपि त्रिविलाई साइकल संस्कृतिले सजाउन सकिन्छ । हामीले हिम्मत हारेनौँ, हिम्मत हार्दैनौँ । हामी परामर्शदाता होइनौँ । साइकल अभियानमा समर्पित निस्वार्थी अभियानकर्मी हौँ । साझा अभियानको आधारपत्रसहित साइकल कानुनको माग गर्दै अभियानमा अघि बढ्दै छौँ । अन्ततः स्ववियुसमेत साइकल संस्कृतिमा सकारात्मक देखिँदै छ ।

साइकल राइडमा विश्वविद्यालयबाहिर जान्छु, टुँडिखेलदेखि धुलिखेलसम्म । सयौँ साइकल साथीहरू महिला, पुरुष, युवा, ज्येष्ठ नागरिक सराबरी पेडल पेलिरहेछन् । इलामदेखि रारा, काठमाडौँदेखि लुम्बिनी अनि कुशीनगर पुगेका छन्, साइकलमा । टीयू टु केयू राइडसहित कार्यशाला गर्ने सोच्दै छौँ । मेचीदेखि महाकाली साइकलमा घुम्दै छौँ । अनगिन्ती साइकल साथी भेट्दै छौँ । कबाडीवाला साइकल समुदाय नै लाखौँ रहेछन्, नेपालमा । तराईतिर साइकल जीवन जिउने आधारशिला हो ।

विविध स्वरूपका सक्रिय साइकल समुदाय देखेर चकित हुन्छु । अनि त्रिविका बौद्धिक समुदाय सम्झन्छु । युवा विद्यार्थी–प्राध्यापकसँग केही किलोमिटर पेडल पेल्ने जुनुन छैन् । बटुकाझैँ उपत्यका मानव बस्न नसक्ने गरी प्रदूषित भइसक्यो । साइकल अभियानकर्मी थाकिसके । स्वदेशमा हराएको सपना विदेशमा खोज्न तम्सँदै छन् । आफ्नै गाउँघर, सहर सजाउने सपना हाम्रो विश्वविद्यालयले देखाउनुपर्छ ।

प्राध्यापक लेस्जेक सिविल्स्कीले समाजशास्त्र कक्षाको भुइँतहबाट अभियान हाँकेर विश्व साइकल दिवस स्थापित गरे । हामीले हाम्रो विश्वविद्यालयबाट कम्तीमा राष्ट्रिय साइकल दिवसको मार्गप्रशस्त त गर्न सक्छौँ । हाम्रा सम्पदा सहरहरूले साइकल संस्कृति कुरिरहेछन् । साइकल सौन्दर्यका विषयले हाम्रा विश्वविद्यालयभित्र प्रवेश पाएमा नेपाली साइकल अभियानमा आभा थपिने छ ।

साइकल अभियानको अन्तर्य

विश्वमा सन् १८०० को सुरुवातबाटै साइकल आविष्कारमा विभिन्न प्रयोगहरू भए । एकपछि अर्को नयाँ आविष्कारले आमजनलाई थप लोभ्याउँदै लग्यो । सन् १८६० र ७० को दशकदेखि विश्व बजारमा बाइसाइकल बुम भइगयो । सुरुमा केही चटकी साहसिक खेलाडी पुरुषको माझमा मात्रै सीमित साइकलमा नवीनता थपिँदै गयो । साइकल क्रमशः आमजनको जनजीवन जीविकोसँग जोडियो ।

सन् १९८५ देखि साइकल केटाकेटीदेखि बयस्क, ज्येष्ठ नागरिक सबै तहतप्काको अभिन्न अङ्ग बन्यो । तर, साइकलयात्रीले सुरुबाटै विभिन्न अवरोधहरू सहनुपर्‍यो । सडकमा साइकल हुइँकिन थालेपछि घोडाघोडी, गोरुभैंसीहरू तर्सिए । साइकल प्रयोगविरुद्ध आवाज उर्लियो । साइकल प्रयोगकर्ताले धेरै पटक पिटाइ पनि खाए । पैदलयात्रीले समेत साइकलबाट अवरोध बोध गरे । गाडाबग्गी, भरिया, पैदले सबै मिलेर साइकल प्रयोगकर्ताविरुद्ध उजुरी गरे । कतिपय सार्वजनिक स्थलहरूमा साइकल हाँक्न रोक लगाइयो ।

यद्यपि, साइकलको उपयोगिता मानव समाजमा कहिल्यै कम भएन । विश्व जगत्मा क्रमशः साइकल कानुन बन्न थाल्यो । साइकल प्रयोगमा ऐनकानुनबाटै प्रोत्साहन बढ्यो । आजभन्दा एक सय ५० वर्ष अघिदेखि साइकल प्रयोगलाई प्रोत्साहन कि निरुत्साहित गर्ने भन्नेबारे विविध कोणबाट बहस भए । सन् १८८० देखि साइकल संस्कृतिलाई संरक्षण प्रवर्द्धन गर्न संगठित रूपमा साइकल अभियन्ता एकताबद्ध बने ।

साइकल पूर्वाधार विकास तथा ऐनकानुन निर्माणमा उनीहरू लगातार हातेमालो गर्दै समर्पित छन् । त्यही बेलादेखि युरोअमेरिकी मुलुकहरूमा आइतबार चर्चमा प्रार्थना गर्न जाँदा अत्यधिक साइकल प्रयोग हुन्थ्यो । पादरीहरू पनि उही समयदेखि साइकल हाँक्न थाले । शासकहरू साइकलाई प्रेम गर्न थाले । घोडाबग्गी सवारीको साटो सम्भ्रान्तहरू साइकल हाँक्न थाले । सर्वसाधारण जनजीविकोपार्जनको साधनका रूपमा साइकल प्रयोग गर्न थाले । सिपाहीहरू साइकल प्रयोगबाट बढी प्रभावशाली ढङ्गले युद्धमा होमिए । आममानिस साइकलतिर आकर्षित भए । मानव समाजमा साइकल आविष्कारले निकै ठूलो हलचल ल्यायो ।

मान्छेहरूले साइकल संस्कृतिविरुद्ध अफवाह फैलाउन थाले– साइकल बढी हाँक्दा छिटै रोगी भइन्छ, फोक्सो, घाँटी, घुँडा, कम्मरमा समस्या हुन्छ, छिटै मृत्यु हुन पनि सक्छ, लामो समयसम्म पेडलिङ गरिरहदा शरीरै बाङ्गिन्छ । साइकलयात्रीहरू निरोगी पो देखिन थाले । नियमित साइक्लिङले बाथरोग, अपच, अनिद्रा, अरुचि, लिभर तथा नसाको समस्यादेखि धूमपान मध्यपानको कुलतसम्म कम भएको भेटियो ।

मेडिकल एकेडेमीका चिकित्सकहरूले सन् १८९५ मै साइक्लिङ गर्नेहरू साधारणत बढी स्वस्थ्य–स्फूर्त पाइएको घोषणा गरिदियो । साइक्लिङले शारीरिक मात्रै नभई बौद्धिक मानसिक स्वास्थ्य समेत सुध्रिएको देखायो । साइक्लिङ व्यायामका लागि सबैभन्दा उत्तम साधन सिद्ध भयो । जब स्वास्थ्यविद्हरू साइकलको पक्षमा तथ्यसहित बोल्न थाले तब साइकलविरोधीको बोली बन्द भयो ।

गतिशीलता अब सम्भ्रान्तको सोखको विषय मात्रै रहेन । दमित वर्गसमेत साइकलमा सवार हुन थाले । महिला समुदायले साइकललाई स्वतन्त्रताको विम्बै बनाए । प्रतिरोधको लडाइँ लड्ने माध्यमका रूपमा साइकल प्रयोग हुन थाल्यो । महिलालाई बन्धनमा राख्ने ड्रेसकोड, कठोर मूल्यमान्यताका पर्खालहरू साइकलले भञ्जन गरिदियो । साइकलले महिलाको पहिरनमै पूरै परिवर्तन ल्याइदियो ।

साइकलबाटै काममा जाने, अफिस आवतजावत, जीविकोपार्जन चल्न थाल्यो । गोजी रित्तै हुनेहरू पनि परपरसम्म साइकलमा सित्तैंमा सवार हुन थाले । राम्रो शिक्षा, जागिर, रोजगारी, व्यापार गर्न परपरसम्म बिनाखर्च साइकल सवारीले सम्भव बनायो । नयाँ स्थान, जनजीवन, वातावरण बुझ्न साइकलले सघायो । साइकलले गतिशीलतासँगै विश्वदृष्टिबारे जानकार गरायो । संगठित भईकन आफ्नो अधिकार खोज्न साइकलले मद्दत गर्‍यो । साइकल भेलाबाट सामाजिक न्यायका नारा घन्किन थाल्यो ।

जाँदाजाँदै

नेपालमा भर्खर सामूहिक साइकल भेलामार्फत अधिकारका कुरा उठ्दै छ । मौलिक सौन्दय संरक्षणका कुरा केन्द्रमा आएको छ । जल, जमिन, जंगलको रक्षार्थ बोल्ने आधार साइकल संस्कृति बनेको छ । सहरहरू साइकल संस्कृतितिर फर्किंदै छन्, साइकलको समाजशास्त्रबारे अनुसन्धान आविष्कारसहित । कतिपय वैज्ञानिकको तर्कमा साइक्लिङले मानव डीएनएकै केही क्षेत्रमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको देखिन्छ ।

अन्ततः विविधताले सम्पन्न विशिष्टतम नेपाली साइकल अभियानकर्मी साइकल अभियानमा होमिएका छन् । साइकल कानुन, साइकल शिक्षा र साइकल पूर्वाधारमा नेपाल बामे सर्दै छ । आशा गरौँ, अब हाम्रा विश्वविद्यालयले समाज र शिक्षालयबीच विद्यमान खाडल पुर्दै साइकल संस्कृति अभियानलाई सघाउनेछ । विश्वविद्यालयभित्र साइकल दिवस मनाउने वातावरण बन्नेछ ।

(लेखक अंग्रेजी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन्)

प्रकाशित : जेष्ठ २०, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?