कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०
ती दिन

सेतो सलको उकुसमुकुस

शिक्षिका भन्नुहुन्थ्यो–  छातीको भाग ढाकिने गरी सल ओढ, संस्कारी विद्यार्थी बन ! सडक किनारका केटाहरू जिब्रो पड्काउँदै भन्थे– क्या दामी हरियो जामा, क्या दामी सल ! 
मधु शाही

गाउँको स्कुल छाडेर काठमाडौं सहरमा पहिलो पाइला टेक्दा मनभरि थियो, उत्साह । नयाँ सहर, नयाँ साथी, नयाँ जीवनशैली ! मेरो खास चासो थियो– कुन स्कुल पढ्ने ! टाई, सर्ट, पाइन्टमा ठाँटिएर स्कुल जाने रहर थियो मेरो, तर त्यो रहर आखिर सपना भइगयो । 

सेतो सलको उकुसमुकुस

काठमाडौंको स्कुलमा भर्ना त भएँ । स्कुल ड्रेसचाहिँ मैले सोचेभन्दा बिलकुलै फरक थियो । डिल्लीबजारको पद्मकन्या विद्याश्रममा ९ कक्षामा भर्ना हुन पुगेकी थिएँ, मेरा आँखाले अनौठा र रोचक दृश्यहरू देखे– जहाँ हेर्‍यो केटी नै केटी, हरिया जामा र सेतो सल लगाएका । ०५९ सालतिरको त्यो दिनको सम्झना मनमै छ । सोचेकी थिएँ– के यो स्कुलमा केटाहरू नै छैनन् ?

हरियो जामा, सुरुवाल र टाइको सट्टा सेतो सल । घाँटीमा मिलाएर त्यो सल लगाउन नयाँ विद्यार्थीलाई निकै सास्ती हुन्थ्यो । सल मात्रैले कहाँ पुग्नु ? त्यसलाई अड्याउन तीन/चारवटा खिपसमेत चाहिन्थ्यो । कहिलेकाहीँ खिपले नअडिएको सल सम्हाल्न सकसै हुन्थ्यो । त्यो सल सम्हाल्न केटीहरू कक्षाकोठा, शौचालय, खेल मैदान, जहाँ हुन्छ, त्यहीँ बाध्य हुन्थे । वास्तवमा ती दिनहरूमा सल कुनै कपडा मात्रै थिएन, तनावको अर्को विम्ब पनि थियो ।

आखिर सलभित्र त्यस्तो के छ हजुर ? अझै छाती ढाकेरै हिँड्नुपर्ने किन ? घाँटीमा मिलाएर त्यो सेतो सल लगाउन केटीहरूलाई असाध्यै सास्ती हुन्थ्यो, सम्हाल्न झनै सकस । ती दिनहरूमा सल केवल कपडा थिएन, तनावको विम्ब पनि थियो ।

मेरी साथी भगवती सल चिटिक्क पारेर लगाउन सिपालु भइसकेकी थिई । म पढाइमा नि लद्दु अनि सल मिलाउन नि लद्दु । ऊ मलाई खिपले अड्याउन सिकाउनै व्यस्त हुन्थी । स्कुलमा कसले सल चिटिक्क मिलाएर लगाएको छ ? सबैको चासो त्यसमा हुन्थ्यो ।

‘लुट’ फिल्मको गीत ‘उध्रेको चोली छ है...’ मा आइटम डान्स गरेर लोकप्रिय बनेकी नायिका सुष्मा कार्की र म एउटै ब्याचका विद्यार्थी थियौं, सेक्सन फरक थियो । बोलचाल कम, देखादेख बढी हुन्थ्यो । उनी पहिलेदेखि नै रूपवती थिइन् । चिटिक्क पारेर सल लगाएर आउँथिन् । हामी उनको लगाइको निकै चर्चा गर्थ्यौं । तर, सल छोटो पारेर लगाइयो भने शिक्षकबाट गाली खाइन्थ्यो । छातीको भाग सकेसम्म सलले छोप्नैपर्थ्यो । होमसाइन्स पढाउने शिक्षिका हुनुहुन्थ्यो, जो भनिरहनुहुन्थ्यो, ‘छातीको भाग ढाकिने गरी सल ओढ, संस्कारी विद्यार्थी बन !’ उतिबेला बुझिनँ कुरा । सोच्थें– आखिर सलभित्र के छ त्यस्तो संस्कार ? अझै छाती नै ढाकेर हिँड्नुपर्ने कारण के होला ?

घट्टेकुलो बस्ने म हिँड्दै डिल्लीबजारको विद्यालय आउँथे । बाटैभरि सललाई नै ताकेर सडक किनारमा बसेर हेर्ने पुरुष धेरै हुन्थे । ती प्वाक्कै बोली पनि हाल्थे– लेग्रो तान्दै, जिब्रो पड्काउँदै ती भन्थे, ‘क्या दामी हरियो जामा, क्या दामी सल !

एक दिन भगवती र म आफ्नै धुनमा गफिँदै स्कुल जाँदै थियौं । डिल्लीबजार नपुग्दै पीपलबोटनिर सडकपेटीमा केटाहरूको ग्याङ थियो । एक जनाले नजिकै आएर कानैमा फुक्यो, ‘यो सलभित्र के छ ?’ जवाफ थिएन । कपडाकै कारण उसले हेपेको महसुस भयो । सायद, सल नभइदिएको भए त्यो केटोले त्यस्तो जिज्ञासा राख्थेन कि ?

पढेर थाहा पाएकी थिएँ, लेखक पारिजातले यही स्कुलबाट १७ वर्षको उमेरमा एसएलसी दिएकी थिइन् । मैलेजस्तै, यही सलको सास्ती उनले पनि खेप्नुपरेको थियो होला । यहा सल असमानताको प्रतिविम्ब थियो । नारी अस्तित्वलाई हेर्ने खोक्रो आवरण थियो । २००४ सालमा पद्मशमशेरले नारी शिक्षाको प्रोत्साहन गर्न पद्मकन्या विद्याश्रम सञ्चालन गरे । ७ दशक उमेर नाघेको यस विद्यालयले अहिले सल र जामा हटाएर पाइन्ट सर्ट राखेको छ । यो मात्रै होइन, आधुनिक शिक्षामा पनि जोड दिएको छ । पाइन्ट, सर्टले विद्यार्थीलाई सजिलो बनाएको छ भन्नुहुन्छ शिक्षिका निमा पाण्डे । निमा म्याडमले मलाई पनि पढाउनुभएको हो । अहिलेसम्म पनि विद्यालयमै हुनुहुन्छ । ऊबेला सल मिलाएर नलगाउँदा उहाँ पनि गाली गर्नुहुन्थ्यो । नङ पालेका केटीहरूको चौरमै नङ काटिदिनुहुन्थ्यो । केटीहरू कहाँ के गर्दै छन् ? यसमा पनि शिक्षकलाई विशेष चासो हुन्थ्यो ।

बिहानको प्रार्थनाको समयमा आधाजसो केटी हराउँथे, आफ्नै स्कुलमा । बिहान ८, साढे ८ बजेको बीचमा ९ र १० कक्षाका किशोरीको ठूलै हूल स्कुलअघिको पहेंलो घर ताकेर बस्थ्यो । खासगरी छत र त्यो घरको बार्दलीमा उनीहरूका आँखा गाडिएका हुन्थे । ती किशोरीहरू त्यतिबेलाका चर्चित पप गायक नवीन के. भट्टराईलाई हेर्न तँछाडमछाड गर्थे । कन्या स्कुलको छेउमै उनको घर छ । बिहान ८ बजेतिर छत या बार्दलीमा टहलिन निस्किन्थे उनी । कहिलेकाहीँ सेतो गन्जी लगाएर देखा पर्थे भने कहिले उनको शरीरमा जिन्स पाइन्ट मात्रै हुन्थ्यो । कहिलेकाहीँ गिटार बोकेर छतमा आफ्नै गीत गुनगुनाइरहन्थे, ‘तिमीले हेर्दा कसैलाई... गाह्रो हुन्छ यो मनलाई... ।’

उनको जुनसुकै रूप हेर्न पनि कन्या स्कुलका हामी किशोरीको उत्सुकता बढ्थ्यो । उनी देख्दा कोही सिट्टी बजाउँथे त कोही ‘लभ यु ∕’ भन्दै चिच्याउँथे । बल्लतल्ल झुल्किएका गायक हाम्रै हल्लाले तुरुन्तै ओझेल पर्थे । उनकै गीतले भनेझैं हामीले हेर्दा उनलाई गाह्रो पर्थ्यो । हल्ला र सिट्टीले उनी मुस्कुराउँदै कोठामा पस्थे । उनी नदेखिएको दिन केटीहरू स्कुलको छतमा पुग्थे ।

स्कुलपारि अर्को स्कुल छ– विजय स्मारक । त्यहाँका केटा विद्यार्थीहरू प्रायः टिफिन टाइममा छतमै हुन्थे । अनि कन्याका केटीहरू पनि छतमै । छतको देखादेखमै ‘फलना केटासँग लभ परेको छ’ भन्दै सपना बुन्ने केटीहरू पनि थिए । हाम्रो स्कुलमा थोरै पुरुष शिक्षक थिए, म्याथटिचर अलि युवा नै थिए, लुरे ज्यान, चुच्चो नाक, हाँसोचाहिँ मीठो थियो । तर, रोजाइ प्रशस्त नहुँदा यिनै एक पुरुष शिक्षक पनि विद्यार्थीमाझ आकर्षणकै केन्द्र थिए । म्याथ शिक्षक नआएको दिन केही केटीहरूको मुख अँध्यारो हुन्थ्यो । पढ्ने, लेख्ने काम त्यो दिन कमै हुन्थ्यो । ‘किन आएन ? के भयो सरलाई ?’ केटीहरू दिनैभरि खासखुस गरिरहन्थे ।

एक दिन त म्याथ टिचरका विषयमा दस कक्षाका केटीहरूबीच ठूलै लफडा परेछ । मनमनै म्याथ टिचरको तानातान गर्न थालेछन् । एकले अर्कालाई ‘मैले मन पराछु’ भन्न थालेछन् । झगडा चर्को भएपछि एक कान दुई कान खबर सरकै कानमा पुग्यो । सरले खै कसरी झगडाको टुंगो लगाए, याद छैन । कन्या स्कुलमा पढ्ने हामी किशोरीमा एउटै अभाव खड्किन्थ्यो– पुरुष साथीको ।

कन्या स्कुलको ड्रेस र विद्यालयको पहिचानले विद्यार्थीमाथि हिंसा पनि भएका छन् । ‘कन्या स्कुल’ भन्दै हिँडिरहेका केटीलाई काननेरै आएर ट्वाक्क जिब्रो पड्काऊँ केटाहरू । ‘वाह हरियो जामा’ भन्दै व्यंग्य गर्थे केटाहरू । म ती सबै चुपचाप सहन्थें, घोप्टे मुन्टो लगाएर ।

पुरुषहरूबाट जोगिन, सुरक्षित हुन, सभ्य र अनुसाशीत विद्यार्थी बन्न कन्या स्कुल भर्ना भएकी मलाई कहिल्यै हिंसा र असुरक्षाले छोडेन । केटी पढ्ने स्कुल भएकैले धेरैले हेपिरहे । त्योभन्दा पनि बढी मानसिक रूपले विक्षिप्त थिए– कन्या स्कुल पढ्ने मेरा साथीहरू । कुनै पुरुष साथी बनाउनु त परै जाओस्, कुरासमेत गर्नु पाप होजस्तो लाग्थ्यो । तर, अधिकांश किशोरीको मन, मस्तिष्क र मुखमा पुरुषै गजधम्म बसिरहेको हुन्थ्यो । कन्या स्कुलमा सुरक्षित हुने आशाले परिवारले पढ्न पठाएकी मेरी एक साथीले दस कक्षा पुगेकै वर्ष भागी बिहे गरेकी थिई ।

धेरैपछि मैले महसुस गरेँ– पुरुष र महिलाको अन्तरघुलन निकै जरुरी छ । कन्या स्कुलबाट एसएलसी पास गरेपछि मेरो अंकलले यही मनोविज्ञान बुझेर रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना गरिदिनुभयो ।

केटीहरू मात्रै पढ्ने थलोबाट आएकी म कलेजको पहिलो दिन नै निस्फिक्री छाती फुलाएर हिँड्ने केटाहरूको भीडमा पुगें । कलेज पुग्दा पनि टाई, पाइन्ट, सर्ट लगाउने मेरो चाहना अधुरै रह्यो । त्यहाँ पनि केटीहरूले लगाउने ड्रेस कुर्था–सुरुवालै थियो । फेरि सल सम्हाल्दै पहिलोपटक क्याम्पस पुगें । सबै बेन्च भरीभराउ थियो, एउटा अलि खुकुलो देखें । केटा र केटी मिश्रित बसेका थिए– मुना कट्वाल, सेन्मी राई र शिव । मैले ‘थोरै बस्छु ल’ भन्दा बेन्चछेउ बसेका शिवले जुरुक्क उठेर सर्टको टाँक खोल्दै, छाती देखाउँदै भनेका थिए, ‘तपाईं भन्नुहुन्छ भने, यहाँ नि खाली ठाउँ छ ।’

केटाको नामैले तर्सिने कन्या स्कुलकी विद्यार्थी मलाई उसको त्यो व्यवहारले रातोपिरो बनायो । म त आँखाभरि आँसु लिएर उसकै अघि ठिंग उभिएछु । मेरो बिजोग देखेर कक्षाभरि हाँसो गुन्जियो । पछि उही शिव मेरो मिल्ने साथी बन्यो । ऊजस्ता थुप्रै केटासँग मैले मित्रता बनाएँ । ऊजस्तो उट्पट्याङ गर्थ्यो, मनको सफा थियो । पछि ऊ आफैं नबसी मेरा लागि सिट खाली गरिदिन्थ्यो । आफू कक्षाकोठाको पछाडि गएर हल्ला गर्थ्यो । मैले सुरुमा जुन धारणा ऊप्रति बनाएकी थिएँ, ठीक विपरीत पाएँ उसलाई । ऊ मात्रै होइन, केटा साथीहरू हरेक कुरामा सहयोगी र मिलनसार पाएँ । कन्याबाट रत्नराज्यसम्म आउँदा पुरुष र महिलाको मित्रवत् व्यवहार बनाउन अन्तरघुलन हुनुपर्ने महसुस गरेँ मैले ।

हामी विभदेका स्वरूप अन्त्य गर्ने प्रयास गर्छौं, तर समानताका आधारलाई कोसौं टाढा राख्छौं । महिला र पुरुष शत्रु होइनन्, मित्र हुन् । उनीहरू जति सहज तरिकाले एकार्काका साथी बनेर दैनिक जीवनयापन गर्न सक्छन्, त्यति नै हिंसात्मक भावना हट्न सक्छ । म कन्या स्कुलको विद्यार्थी छँदा जति हिंसात्मक मनोभावले प्रभावित थिएँ, पुरुष र महिला पढ्ने कलेजमा पुगेपछि त्यति कम पाएँ । पुरुष–महिलाबीचको दूरी मेटाउनु नै हिंसाको अन्त्य हो र समानताको समाज निर्माण हुनु हो । विभेदको अन्त्य दुई विपरीतबीचको अन्तरघुलनमा हुनेरहेछ ।

विपरीत लिङ्गप्रतिको आकर्षण प्राकृतिक विषय हो । तर, यही आकर्षण हिंसात्मक नभई सकारात्मक मनोभवमा विकसित हुने हो भने पुरुष र महिलाको मित्रता पवित्र हुन्छ । तर, विडम्बना के भने, अझै हाम्रा स्कुलमा हामी छोरा–छोरीको संस्कार, हुर्काइ, सोचदेखि आचरणसम्मै विभाजन गरिरहेका छौं । जस्तो स्कुलमै पनि केटा र केटी बस्ने फरक बेन्च राखिनु, उनीहरूलाई खेलमा सहकार्य गर्न नदिनु, बोल्दा, खाँदा, मित्र बनाउँदा सिधै यौनिकतासँग दाँज्नु आदि । मलाई बेलाबखत भन्छन् साथीहरू– ‘तिम्रा कति धेरै केटा साथीहरू छन्, हगि !’ म भने मुस्कुराउँदै भन्छु, ‘थ्यांक यु !’

प्रकाशित : जेष्ठ २०, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?