कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
संगीत वार्ता

‘गायक गाउँदै छ कि लिप–सिंक गर्दैछ ?’

सजना बराल

‘अभया एन्ड द स्टिम इन्जिन्स’ की प्रमुख अभया सुब्बा नेपाली रक–पप संगीतप्रेमीमाझ चर्चित् छिन् । आफूलाई कोरियाली सांगीतिक समूह ‘बीटीएस’ को प्रसंशक बताउने उनी संगीतमा महिलाको उपस्थिति बढाउन बर्सेनि ‘विमेन इन कन्सर्ट’ आयोजना गर्छिन् । रक संगीत, महिला संगीतकर्मी र प्रविधिबारे सुब्बासँग सजना बरालको कुराकानी :

‘गायक गाउँदै छ कि लिप–सिंक गर्दैछ ?’

तपाईंले ‘बाँसको घारी’ गीतमाथि सोसल मिडियाहरूमा पोस्ट गरिरहनुभएको छ । यो गीत कहिले सार्वजनिक हुँदै छ ? कस्तो प्रकारको गीत हो ?

यो नारीहरूको व्यथा समेटिएको गीत हो । सानै उमेरमा बिहे भएर पारिवारिक जीवनमा अल्झिएका, कामले गलेर युवा उमेरमै पाको देखिने महिला सम्झिएर गीत तयार पारेकी हुँ । आजभोलि कतिपय महिलाले आफू सशक्त भइसकेपछि ‘के अरूका कुरा गरिबस्नु’ भन्ने गरेको सुन्छु । तर, मान्छेले आफ्नोबारे मात्रै सोचेर हुँदैन । हामी एउटा स्थानमा पुगिसकेपछि वा सशक्त भइसकेपछि वरिपरिका र पछि परिरहेका मान्छेलाई पनि माथि उठाउनुपर्छ ।

यसमा मेरा पहिलेका गीतहरूमा जस्तै लोकलय मिसिएको छ । यो सोलो गीत हो । म सोलोतिर किन लागेँ भने ब्यान्डसँग मात्रै गाउँदा मान्छेहरूले ‘ए यो गीत त यसका भाइहरू/केटाहरूले बनाइदिएको हो’ भने । मलाई प्रस्तोता मात्रै ठानेँ । तर, म गीत गाउने मात्रै होइन, लेख्ने, कम्पोज गर्ने सबै गर्छु । यसको श्रेय मैले नै पाउनुपर्छ भनेर सोलो निकालेकी हुँ । मेरो कामको जस अरूले नै पाइरहेको देखेपछि त्यो फिर्ता लिन खोजेकी हुँ । यसमा म घमन्डीजस्तो सुनिउँला, तर महिलाले आफ्नो काममाथि दाबी गर्न सक्नुपर्ने रहेछ । तर, ब्यान्डसँगको मेरो संगीत पनि निरन्तर छँदै छ ।

नेपाली संगीतको जुनै विधामा पनि लोक संगीत मिसाइएको हुन्छ । तपाईंका सोलो र ‘अभया एन्ड द स्टिम इन्जिन्स’ ब्यान्डका गीतमा पनि लोकलय छ । यो श्रोतासम्म पुग्ने बाध्यता हो वा आवश्यकता ?

बाध्यता होइन । गीत तयार गरिरहँदा मुड वा फ्रेम अफ माइन्ड केमा हुन्छ, त्यसले गीतको पनि मुड निर्धारण गर्छ । म अहिले मेलो फ्रेममा छु । नेपाली नारीको व्यथा नेपाली लोक लयले नै बोल्न वा अभिव्यक्त गर्न सक्छ भन्ने लाग्छ । गाउँबस्तीका नेपाली महिलाका लागि सिर्जना गरेको ‘बाँसको घारी’ पश्चिमा लयमा गाउनुको कुनै अर्थ र मीठास छैन । सानैमा बिहे गर, बच्चा जन्माउ, काम गर, त्यसमाथि बूढो भएपछि कतिलाई त बोक्सीको आरोप पनि लगाइन्छ । महिलाहरूको जीवन कष्टकर छ, तिनका मर्का बुझिदिनु जरुरी छ । यस्ता कथा गाउँ मात्रै होइन सहरमा पनि छन् ।

मेरै घरमा बस्ने एक जना बहिनीको जीवन हेरेर मलाई यो गीत लेख्ने सोच आयो । उनी स्मार्ट र राम्री थिइन् । म पढ, पढ भन्थेँ तर सानैमा बिहे गरिन्, बालबच्चा भयो, बिहानदेखि रातिसम्मै घर र खेतबारीको काम गर्नुपर्छ भन्थिन् । बिहेपछि आफ्नै घरको नोकरसरह बनेको देखें मैले । उनैको जीवनप्रति समर्पित छ– बाँसको घारी । पहिले–पहिले गीत बनाउँदा म म्युजिकलाई बढी ध्यान दिन्थेँ । स्टेजमा बबाल गर्छु भन्ने हिसाबले गीत बनाउथेँ । आजभोलि गीतबाटै केही भनौं, अनुभव अभिव्यक्त गरौं लाग्छ ।

तपाईंको गीत ‘लैजाऊ मलाई’ मा समावेश गरिएको लोक–संगीतलाई अग्रजहरूले कसरी हेरे ? नयाँ पुस्ता मात्रै हो कि अघिल्लो पुस्तामा पनि यो गीतमाथि रुचि छ ?

मलाई पहिल्यैदेखि नै लिम्बू भाका र भाषालाई मेरो गीतमा राख्ने इच्छा थियो । तर, म लिम्बू नै भए पनि लिम्बू भाषा र भाका मेरा लागि नौला थिए । यो गीतपछि म आफ्नोपनसँग अझै नजिक भएकी छु । मान्छेहरूले पनि ‘आफ्नो मौलिकता भुल्नुभएको छैन रहेछ’ भने । लिम्बू समाजले पनि सराहना गरेको पाउँदा खुसी लाग्यो किनभने यस्तो विषयमा लिम्बू समाज क्रिटिकल (आलोचनात्मक) छ । यो गीत युवा पुस्ताले नै बढी सुनेजस्तो लाग्छ । युवा भनिरहँदा जो उमेर होइन मनमा युवा छ, उनीहरू मेरा गीत सुन्छन् । पाको पुस्ता नयाँ रचना सुन्नभन्दा आफ्नै जमानाको, आफूले अनुभव गरेका विषयमा बढी केन्द्रित हुन्छ । मनैदेखि युवा नहुने हो भने आफूवरिपरि के चलिरहेको छ, त्यो सुनिँदै सुनिँदैन ।

कोभिड लकडाउनको बेला घरभित्र थुनिँदा म यतिसाह्रो आफैंभित्र पसेछु कि पछि बिस्तारै म गाउनै नसक्ने हुन थालेँ । संगीतकर्मीका रूपमा म त्यो बेला मरिसकेकी थिएँ । सबै जना फेसबुक लाइभमा गीत गाउँथे, मचाहिँ घाँटीबाट स्वर निकाल्न नसकेर आत्तिरहेकी थिएँ । डरलाग्दो अवस्थामा पुगेपछि मैले खाना बनाउन, सरसफाइ गर्न, श्रीमान्को हेरचाह र घरका अरू काम गर्न थालेँ । यी सबै मेरा लागि नौला अनुभव थिए किनभने मैले पहिले यस्ता काम गरेकै थिइनँ । तर, यी काम रमाइला हुँदारहेछन् भन्ने महसुस भयो । मलाई रमाइला लाग्ने चीजहरू पनि हिजोसम्म मेरा लागि अपरिचित रहेछन् भन्ने आभास भयो । त्यस्तै, लिम्बू भाका र भाषा पनि मेरो आफ्नो हो । तर, किन यो मलाई नौलो लाग्छ ? आफैंसँग प्रश्न गरेँ । त्यसपछि गीतमा लिम्बू लय राख्छु भनेर सोधीखोजी गर्न थालेँ । यो गीत आएपछि मलाई संगीतमा धेरै थोक गर्न सक्नेरहेछु, ब्यान्डबिनै पनि भन्ने आभास भयो र जोस पनि थपियो । ‘द भ्वाइस’ मा मैले जसरी काम गरेँ, त्यसले धेरै सिकायो ।

खास–खास समयमा संगीतका खास विधा लोकप्रिय हुन्छन् । रक संगीतको लोकप्रियता अहिले बढिरहेको छ कि घटिरहेको ?

सबैलाई थाहै छ, रक संगीत अहिले चल्तीमा छैन । तर, नयाँ कुरा आउने/जाने भनेको निरन्तर चलिरहने प्रक्रिया हो । रक संगीत फेरि फर्केला/नफर्केला ! तर, मान्छेले नयाँ पाराले सोच्ने र नयाँ रचना गरिरहनुपर्छ । पहिले–पहिले सिम्फोनी अर्केस्ट्राहरू हुन्थे, सय/दुई जना म्युजिसियन बसेर अर्केस्ट्रा चलाउँथे । दुई सयबाट घट्दै–घट्दै गएर १२ जनाले अर्केस्ट्रा गर्न थाले । १२ बाट घटेर ५ भए । अहिले त पाँचबाट पनि घटेर एउटा मात्रै भएको छ– डीजे । जिन्दगी यस्तै हो । परिवर्तनलाई स्विकार्नैपर्छ । रक म्युजिकमा पनि त्यही हो । अब यसलाई रिइम्याजिन वा रिलोड गर्नु (अर्को ढंगबाट ल्याउन) जरुरी छ ।

रक संगीतमा महिलाको सहभागिता बढाउन हरेक वर्ष ‘वुमन इन कन्सट’ शृंखला गर्नुभएको थियो । त्यो अभियान अहिले कहाँ पुग्यो ? त्यसको आवश्यकता किन छ ?

‘विमेन इन कन्सर्ट’ को उद्देश्य नयाँ गायक–गायिक वा ब्यान्ड उत्पादन गर्नु, नयाँ गीत, संगीत निकाल्नु मात्रै होइन । महिला आर्टिस्टले कौशल र ऊर्जा प्रदर्शन गर्दै स्टेज कब्जा गर्न सक्छन्, दर्शकलाई बाध्न/कन्ट्रोल गर्न सक्छन् भनेर देखाउनु पनि हो । कन्सर्टमा सहभागी महिलाहरूको प्रस्तुति हेर्दा देखिन्छ– उनीहरू साहसी छन्, सक्षम छन् । केटीहरूलाई ‘तिमी केही गर्न सक्छौ’ भन्ने आँट दिन पनि यो कार्यक्रम आवश्यक छ । मान्छेलाई पैसा वा स्रोतसाधन दिएर मात्रै हुँदैन उसमा साहस पनि भरिदिनुपर्छ । कन्सर्टको तयारी गर्दा हामी एक–अर्काका कथा, अनुभव र समस्या सेयर गर्ने माहोल बनाउँछौं । आफ्ना कुरा सेयर गर्दा उनीहरू थेरापीजस्तो हुने बताउँछन् ।

मलाई अब गाउँ–गाउँ गएर उतैका महिलासँग ‘विमेन इन कन्सर्ट’ गर्न मन छ । केही साता उनीहरूसँगै बसेर, तिनका कुरा सुनेर, तालिम दिएर कार्यक्रम गर्न मन छ । आउने प्रोजेक्टमा म त्यही गर्नेछु । गाउँतिरै कन्सर्ट गर्ने र एक/दुई जनालाई काठमाडौं ल्याएर गीत रेकर्ड गर्ने योजना छ । केही समयअघि धम्पुसको एक गाउँ पुगेकी थिएँ । त्यहाँ महिला मात्रै थिए, पुरुष विदेश गएका । महिलाको जीवन कामै काम, दुःखैदुःखले भरिएको थियो । हरेक मान्छेलाई आफू हुनुको महत्व र जिन्दगीको खुसी अनुभव गर्ने अधिकार छ । म महिलाको जीवनमा त्यही खुसी खोज्न चाहन्छु । उनीहरूको महत्त्वको आभास तिनलाई दिलाउन चाहन्छु ।

संगीत क्षेत्रमा लैंगिक विभेद भएकाले पनि तपाईंले यो अभियान चलाउनुभएको हो ? त्यो विभेद कस्तो छ ? संगीतमा महिलाको अवस्था दुई दशकको अन्तरालमा कस्तो पाउनुहुन्छ ? समान ज्याला, समान अवसरमा कुनै परितवर्तन आयो ?

त्यो पनि हो । सन् २००३ तिर महिलाहरूलाई आइडिया नै थिएन– संगीत कसरी गर्ने ! महिलालाई संगीत सृजना सिकाउन र त्यो किन आवश्यक छ भनेर छलफल गर्ने प्लाटफर्म दिन हाम्रो अभियान सुरु गरिएको थियो । कोभिडपछि यो कार्यक्रम झन् आवश्यक भयो । संगीत क्षेत्रमा लैंगिक विभेद छ । तर, पारिश्रमिक मा आफैंले चाहिँ विभेद भोगेको छैन । स्ट्रगलिङ फेजमा ‘म पनि छु है’ भनेर देखाइरहन कहिलेकाहीँ सित्तैंमा पनि गाएँ होला । तर, अहिले संगीतमा धेरै परिवर्तन आइसकेको छ । छोरीहरूलाई पनि गाउन, संगीत क्षेत्रमा लाग्न प्रोत्साहन गर्छन् अभिभावक । छोरीहरू पनि अब त विद्रोही भइसके, परिवर्तनका लागि विद्रोही हुनैपर्छ ।

रक संगीतमा स्टेज प्रस्तुतिको विशेष महत्त्व हुन्छ । हिजोका दिनमा र अचेल स्टेज उक्लँदा अनुभवी गायिकाका रूपमा के फरक महसुस हुन्छ ? समय फेरिँदा श्रोता, दर्शकको सहभागितामा के हेरफेर पाउनुहुन्छ ?

पहिले–पहिले ढुंगा हान्ने दर्शक पनि हुन्थे, अहिलेका सभ्य छन् । तर, आजभोलि दर्शक भाइरल गीतलाई मात्रै स्थान दिन खोज्छन्, अन्यलाई अवसरै दिन चाहँदैनन् । कुनै गीत जतिसुकै झुर किन नहोस् वा स्टेजमा जतिसुकै घीनलाग्दो प्रस्तुति नै किन नहोस्, गीत भाइरल छ भने दर्शक जहाँबाट पनि नाच्न आइपुग्छन् । कसले कसरी गाउँदै छ ? त्यो सुन्ने कान पहिलेका दर्शकमा थियो । कसले कस्तो पर्फर्म गर्दैछ ? कुन ब्यान्ड कस्तो छ ? दर्शक हेक्का राख्थे । अहिले त गाउनेले साँच्चै गाउँदै छ कि लिप–सिंक मात्रै गरिरहेको छ ? दर्शक थाहै पाउँदैनन् । गीत सुन्न वा प्रस्तुति हेर्न होइन टिकटक, इन्स्टाग्राम, फेसबुकको रिल्स बनाउन कन्सर्ट जाने दर्शक पनि देखिन्छ । तर, यसले सृजनात्मकतालाई खासै प्रभाव पार्दैनजस्तो लाग्छ । भन्छन् नि– क्रिएटिभिटी एन्ड ब्रिलियन्स अल्वेज साइन्स । राम्रो काम देखापरिहाल्छ, राम्रो संगीत वर्षौं बाँच्छ ।

नेपाली संगीत कुन बाटो हिँडिरहेको छ ?

नयाँनयाँ म्युजिसियन आइरहेका छन् । नयाँ पुस्ताका संगीतकर्मी देख्दा लाग्छ– नेपाली संगीत सही बाटोमै छ । परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ । संगीत मन र आत्मा हो । समयसँगै मन फराकिलो बनाउँदै जानुपर्छ । नयाँ पुस्तासँग नजिक हुनुपर्छ । उनीहरूबाट सिक्नुपर्छ । बुझ्नुपर्छ– उनीहरू के सुनिरहेका छन् !

पछिल्लो समय नयाँ प्रविधिहरू आइरहेका छन् । एआईले संगीत सृजना गर्न थालिसक्यो । यसलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

एआई डरलाग्दो विषय हो । सन् २०५० सम्ममा त हामीलाई मेसिनहरूले चलाइरहेको हुनेछ । तिनले अहिले नै हामीलाई कन्ट्रोल गर्न थालिसके । संगीतमा एआईले अहिल्यै कुनै असर नपारे पनि यसको फैलावटलाई काँटछाँट गर्नैपर्छ ।

प्रकाशित : जेष्ठ ६, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?