यो ऐँठन– मिथ, इतिहास र युद्धको

कान्तिपुर संवाददाता

लेखक विवेक ओझाको नयाँ उपन्यास ‘एोठन’ हालै प्रकाशित छ । ‘ऐलानी’ पाठकले रुचाएको उनको उपन्यास हो :

ऐँठन–कथा

हामीले भोगेको गृहयुद्ध नै यो उपन्यासको बीज हो । युद्धमा राज्य पक्ष र बिद्रोही पक्षका तर्फबाट थुप्रै विषय सहतमा आए । तर, युद्धमा सबैभन्दा बढी नोक्सानी आम नागरिकले बेहोर्नुपर्‍यो । आम नागरिकका कुरा जति चर्को किसिमले आउनुपर्थ्यो, आएन । त्यो कतै नेपथ्यमै रह्यो । आँकडा नै हेर्ने हो भने राज्य र विद्रोही पक्षका हतियारधारीभन्दा दोब्बर–तेब्बर संख्यामा आम नागरिक मारिए, जो युद्धमा कुनै पनि हिसाबले संलग्न थिएनन् । कैयौं बेपत्ता भए । लाखौं मानिसको जीवन ‘माथिको तल’ भयो । अङ्गभङ्गको कुनै हिसाब भएन । तीनै बेहिसाब क्षति भोगेका आम मानिसको कथा लेख्ने मेरो कोसिस हो ।

‘ऐलानी’ पश्चात् म दोस्रो आख्यानको तयारीमा जुटेँ । ‘अप्रकाशित’ कथासंग्रह पहिले नै तयार थियो । त्यसमै काम गर्ने मनसाय बन्यो । थन्किएको पाण्डुलिपि पढ्न थालेँ । त्यही क्रममा एक युद्ध—कथाले मेरो मन बिथोलिदियो । त्यो कथालाई उपन्यासको रूप दिने विचार गरें र लेख्न थालें । तत्कालीन राजनीतिक उन्माद अनि खिचातानी, जनताको बिजोग र वितृष्णाले नै उपन्यासका लागि ऊर्जा थप्यो । अध्ययनका लागि ठाउँठाउँ घुमेँ र आफूलाई चाहिने सामग्री छिचोल्न थालेँ । करिबकरिब अढाई वर्षको अन्तरालमा उपन्यासको पाण्डुलिपि तयार भयो । अन्ततः पाँच वर्षको अवधिमा ‘ऐँठन’ तयार भयो ।

उपन्यासको अस्थिपन्जर नेपाललको गृहयुद्ध भए पनि सगोल शरीर युद्धको समग्रता र जीवनको भोक हो । जस्तो हामीले हाम्रा भगवान्लाई हतियार भिराएका छौं, हाम्रा मिथहरू युद्धले भरिभराउ छन्, हामीले करोडौं मानिस विश्वयुद्ध नामको दुर्घटनामा गुमाएका छौं र आन्तरिक द्वन्दका कारण आजसम्म मारिएका मानिसको लेखाजोखा छैन । र, पनि मानिस हतियारमा लिप्त छ । यिनै मिथ, इतिहास र युद्धको नियतिलाई आम मानिसको आँखाबाट चियाउने मेरो प्रयास हो । हरेक समयरेखामा आम मान्छे कसरी निमोठिएको हुन्छ भन्ने कथाको अहम् मुद्दा हो । त्यसका लागि मैले यथार्थ र स्वैरकल्पनाको मिश्रण गर्ने कोसिस गरेको छु । युद्धको नियति, जीवनको मोल, चेतना र संसारमा हतियारको प्रभुत्व, यिनै कुराको ‘फ्याक्टर—कोफ्याक्टर’ लाई मैले पर्गेल्ने प्रयास गरेको छु ।

यी तीन किताब

म अहिले अमिताभ घोषको ‘द सी अफ पपिज’ पढिरहेको छु, जो ‘आइबिस ट्रिलोजी’ अन्तर्गतको पहिलो पुस्तक हो । पछिल्लो समय पढेका मन परेका पुस्तकमा नयनराज पाण्डेको ‘जियरा’, सञ्जीव उप्रेतीको ‘हंस’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ हो । ‘जियारा’ मा तेह्र कथा छन् । स्वैरकाल्पनिक र आञ्चलिकता मिसाएर बुनिएका कथा निकै चामत्कारिक छन् । मधेश र महिलाको मुद्दालाई कथाले केन्द्रमा राखेका छन् । कथाका शैली र ढाँचा अनि लेखकीय कल्पनाले पाठकलाई अचम्मित पारिराख्छ र कथाले आफूतिरै खिचिराख्छ ।

‘हंस’ ले मानवकेन्द्रित दृष्टिकोणलाई केही हदसम्म ड्यास हान्ने कोसिस गरेको छ । धरतीमा मानिसको मात्रै अधिकार, भावना र सपना बगिरहेको छैन । यहाँ सबैको जीवन उत्तिकै महत्त्वपूर्ण छ । त्यसका लागि उपन्यासमा मूलतः हाँस र मानिसको कथा भनिएको छ, जुन समानान्तर किसिमले बग्छन् र दुवै एकअर्कासँग जोडिएकाजस्ता लाग्छन् । हंसमा गरिएको फ्यान्टासीको प्रयोग मलाई खास मन परेको हो । अझ काली हसिनीको प्लटले मलाई भुतुक्कै बनाएको थियो ।

‘शून्यको मूल्य’ एक डक्टरको आँखाबाट लेखिएको सिर्जनात्मक गैरआख्यान हो । यसमा हाम्रो समाजको भुइँकथा छ । अझ भन्नुपर्दा कर्णालीको कहालीलाग्दो ब्यथा छ । स्वास्थ्य, शिक्षा र कर्णालीको जीवनशैली यो पुस्तकको केन्द्र हो । आख्यानको शैली र शिल्प लिएर कुदिएको गैरआख्यान, भाषा, परिवेष र चित्रणले पाठकलाई तिर्खा लगाइरहन्छ । यो किताबले ‘आधुनिक’ भनिएको समयलाई प्रश्न गरिरहन्छ । हाम्रो समाजको अभिलेखीकरण र सत्तालाई तेर्सिएको प्रश्नका कारण पनि यो किताब हाम्रै समाजको ऐना हो ।

प्रकाशित : वैशाख ३०, २०८० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

५० वर्षअघि, ५० वर्षपछि

तीन किसिमका सम्बन्ध प्याङगाउँमा कायमै छ– पितृवंशीय पारिवारिक एकाइसँग, सानो एकल जातीय गाउँसँग र बृहत् नेवार जातीय पहिचानसँग
प्याङगाउँका ढल्केका छाना समतल कौसी बनेका छन्, घरका तला अग्ला भएका छन्, कलात्मक कुँदिएका काठका झ्याल हराइसकेका छन्
जेरार्ड तोफाँ

जेरार्ड तोफाँ — सन् १९७० को दशकको सुरुवातमा मैले अध्ययन गरेको सानो एकल उपजातीय नेवार कृषि गाउँ हो– प्याङगाउँ । नेपालमा विगत ५० वर्षमा आएका ठूला परिवर्तनको प्रभाव कस्तो छ यो गाउँमा ? सन् २०२२ नोभेम्बरमा मैले प्रारम्भिक फिल्डवर्क गरेको ठाउँ (राजधानीभन्दा १७ किलोमिटर मात्रै टाढा) प्याङगाउँ फेरि घुमें । म पुग्दा मलाई केही युवाहरूले स्वागत गरे । ती मैले चिनेका पुराना गाउँलेका छोराहरू थिए । ती सबैको एउटै जोड थियो, ‘हाम्रो मौलिक संस्कृति जोगाउन तपाईंको सहयोग चाहियो ।’

म यस क्षेत्रमा अध्ययनपछि फर्केको त्यो पहिलो पटक थिएन, तर यसपटकको प्याङगाउँ भ्रमण नेपाल यात्राको मुख्य केन्द्रविन्दु बन्यो । कृषकहरूको विशेष जातको रैथाने बसोबास भएको प्याङगाउँमा (नेपाल भाषा वा नेवारीमा संगु) धेरै परिवर्तन भएको छ । इँटाका घरलाई सिमेन्टले विस्थापित गरेको छ । परम्परागत ढल्केको छाना अब समतल कौसी बनेका छन् । घरका तलाहरू अग्ला भएका छन् र कलात्मक कुँदिएका काठका झ्याल हराइसकेका छन् । गाउँको प्रवेशद्वारमै रहेको पोखरीवरिपरि नयाँ घरहरू बनाइएका छ । ती घर केही तामाङ र हिन्दु बाहुन–क्षत्रीहरूलाई भाडामा दिइएको छ ।

तर, ५० वर्षअघिभन्दा निकै सफा देखिन्छ गाउँ । टाढाटाढाका ठाउँसम्म दूध बिक्रीका लागि गरिने भैंसी–पालन पेसा अहिले यहाँबाट पूरै हराइसकेको छ । यद्यपि, यहाँको एक मात्रै सडकमा अहिले पनि दुवैतर्फ मकै सुकाउन काठका अग्ला थाम र छाने घरका दुई पङ्क्ति उस्तै छन् ।

गाउँको प्रवेशद्वारमै देखिन्छ– ढलान गरी बनाइएको एक नयाँ ढोका, जसले प्याङगाउँ र बाहिरी संसारबीचको सीमांकनलाई झनै बलियो बनाएको छ । र, मान्छे अझै ‘एक छुट्टै, भिन्न समुदायमा प्रवेश गरिरहेको छु’ भन्ने अनुभूतिले बाँधिन्छ ।

यहाँका मान्छेको जीवनस्तर र जीवनशैलीमा व्यापक सुधार आएको छ । सन् १९७० सम्म बिजुली नै नपुगेको यस गाउँका अधिकांश घरमा आज टीभी र आधुनिक फर्निचर छन् । गाउँ अब डिजिटल युगमा पसिसकेको छ । यहाँका धेरै युवासँग आज मोबाइल र इन्टरनेट छ । ती फेसबुक, टिकटक चलाउन पोख्त छन् ।

हुन त प्याङगाउँ (संगु) कहिल्यै आत्मनिर्भर थिएन । तर, अहिले यो बस्ती अत्यधिक रूपमा बजार अर्थतन्त्रमा निर्भर बन्दै छ । महिलाहरू भुइँमा बसी कपडा बुन्न प्रयोग गर्ने पुराना तानहरू अब व्यावहारिक रूपमै लोप भइसकेका छन् । अहिले बजारबाट रेडिमेड कपडा किनिन्छ । खेती (सिँचाइ गरि लगाइने धान, सिँचाइ नगरी लगाइने मकै, तोरी र गहुँ) अझै यहाँका बासिन्दाको मुख्य पेसा हो, तर पूर्णकालीन पेसा होइन । शिक्षामा पहुँच बढेकाले धेरै शिक्षित पुरुष र केही महिला नजिकैका सहरमा पुग्छन्, जागिरका लागि । तिनीहरूलाई मोटरसाइकलबाट बिहान काममा जान र बेलुका घर फर्किन ३० देखि ४५ मिनेट मात्रै लाग्छ । बाहिर जागिर गर्न जानेबाहेकका अरू पुरुष निर्माण क्षेत्रमा काम गर्छन् ।

गाउँबाट टाढाका खेतहरू धेरै महँगोमा बेचिएका छन् । यस अतिरिक्त युवाहरू बाँसका भाँडा, प्याङ (वा ड्याँचा, हापा । गाउँको नाम यही भाँडाबाट रहेको हो । जुन कुनै समय अन्न नाप्न र विभिन्न प्रकारका मसला भण्डार गर्न प्रयोग गरिन्थ्यो) बनाउने कलालाई ब्युँताउन खोजिरहेका छन् ।

जनसङ्ख्या दोब्बरभन्दा बढीले बढेको छ, तर (सन् १९७० मा ५५० रहेको जनसङ्ख्या अहिले १४०० पुगेको छ) यस गाउँले आफ्नो विशिष्ट पहिचान कायम राखेकै छ । यसको ग्रामीण चरित्र अझै नजिकका काठमाडौं र ललितपुरका सहरहरू भन्दा स्पष्ट रूपमा फरक छ । यहाँका मानिस अझै आफ्नै मौलिक नेवारी भाषा बोल्छन् । समाजशास्त्रीय दृष्टिकोणले सन् १९४० को दशकमा एक बाहिरी व्यक्तिसँगको विवादास्पद अन्तरजातीय विवाहका कारण गाउँमा आएको विभाजन र त्यसले छुट्याएको दुई वर्ग इतिहास बनिसकेको छ । अहिले बाहिरका युवतीसँग अन्तरजातीय विवाह बढ्दै गएको छ । यसले गाउँभित्र मात्रै विवाह चलाउने यहाँको परम्परागत पद्धतिलाई चुनौती दिएको छ । किशोरी सुमिना महर्जनले मसँग भनेकी थिइन्, ‘अहिले त सबैले बाहिरका केटीहरूसँग बिहे गर्छन् ।’ यसले गर्दा नयाँ र पुरानो पुस्ताबीचको खाडल फराकिलो हुँदै गइरहेको छ । यद्यपि, समाजशास्त्रीय रूपमा भने प्याङगाउँलाई पहिचान दिने विशेषता कायमै छ । यहाँका बासिन्दा (स्थानीय भाषामा संगुमी) अझै पनि एक सर्व–समावेशी सामाजिक व्यवस्थाभित्र बाँधिएकै छन् । उनीहरूले कार्यविभाजन, चाडपर्व तथा धार्मिक समारोह र आफन्तहरूप्रतिको दायित्वसम्बन्धी केही सामुदायिक नियम पालना गर्नैपर्छ ।

ती नियम मैले ५० वर्षअघि देखेभन्दा खासै फरक छैनन् । गाउँको कुनै युवकले उच्च जातकै भए पनि गाउँबाहिरको अर्की युवतीसँग विवाह गरे उनीहरूको स्थानीय समूह (गुठी) सदस्यता त कायम रहन्छ नै, तर तिनका छोराहरू भने मुख्य सामाजिक–धार्मिक अवसर तथा सहभागिताबाट वञ्चित हुन्छन् ।

समग्रमा यहाँ पितृवंशीय सम्बन्धलाई स्थानीय समाजले अत्यन्तै महत्त्व दिएको छ । तथापि, युवतीहरूले आत्मनिर्भर हुन, बचत व्यवस्थापन गर्न र प्याङ–भाँडो बनाउन बाँसको भित्री बोक्रालाई आगोमा तताउन ‘महिला समूह’ वा सहकारी चलाएका छन् । उनीहरू आफ्नो भविष्य आफैं निर्माण गर्न खोजिरहेका छन् । नेपालभरि नै चलिरहेको नारीवादी आन्दोलनको परिणाम र प्रतिविम्ब हो यो ।

त्यहाँको राजनीतिक झुकावबारे मलाई मेरा पुराना मित्र काष्ठकार नरेन्द्र महर्जनले भने, ‘हाल सालै स्थानीयहरू यहोभाका साक्षी (जेहोभा विट्नेस) चर्चको प्रभावमा धर्म परिवर्तन गरी इसाई बनेका छन् ।’ उनका अनुसार, गत नोभेम्बरको संसदीय निर्वाचनमा संगुमीले कुनै एक मात्र नभई कम्युनिस्ट, कांग्रेस आदि विभिन्न राजनीतिक दलका पक्षमा मतदान गरे । ‘एकै परिवारका पनि फरक–फरक व्यक्तिले फरक–फरक दल र उम्मेदवारलाई भोट दिए,’ नरेन्द्रले भनेका थिए ।

धर्म अहिले पनि यो समाजको मूल स्तम्भ हो । हिन्दु प्रकृतिका धेरै रीतिरिवाज र पर्वले यहाँको समाजलाई संरचना प्रदान गरेको छ । उदाहरणका लागि, प्याङँगाउँ अहिले पनि वर्षा ऋतुको अन्त्यमा मू याः भनिने एक दिने ठूलो उत्सव मनाउँछ, जसमा ग्वहाँ भनेर चिनिने यहाँका पाँच स्थानीय गुठी सहभागी हुन्छन् । यस पर्वका बेला मञ्चन गरिने पौराणिक कुँ प्याखा (राजारानी नाच) लाई आधुनिक ‘ट्वीस्ट’ का साथ ब्युँताइएको छ ।

नजिकैको ज्यापू/मालाकार समुदायको बसोबास रहेको थेचोमा गत साल सन् २०२२ मा भएको नवदुर्गा नाच हरेँ मैले । त्यस वर्ष नाचको बाह्रवर्षे जात्रा थियो । देउताहरूको नृत्य निकालिएको थियो । बाह्रवर्षे जात्राका बेला प्याङगाउँका बासिन्दाले नवदुर्गा नाचमा देउताको पोसाक र मुखौटा धारण गरी नाच्ने नर्तकहरूलाई फूल, अक्षता, पैसा चढाउनुपर्छ । नाच व्यवस्थापनको मुख्य जिम्मेवारी लिएका प्रशान्त मालाकारले मलाई सन् २०१५ को भूकम्पपछि पुनर्निर्मित नवदुर्गाको सानो मन्दिरभित्र पुर्‍याए । वर्षैभरि नवदुर्गाका मुखौटा यही मन्दिरमा राखिन्छन् । मन्दिर बाहिर, हरेक बाह्र वर्षमा गर्नुपर्ने महत्त्वपूर्ण अनुष्ठानका लागि प्रयोग हुने ठूलो झुपडी (बल्चा) को अवशेष त्यहाँ देखिन्थ्यो ।

यस संक्षिप्त लेखबाट दुई निष्कर्ष निकाल्न सकिन्छ । पहिलो, प्याङगाउँका बासिन्दाले तीन किसिमका सम्बन्ध कायम राखेका छन्– पितृवंशीय पारिवारिक एकाइसँग, सानो एकल जातीय गाउँसँग र बृहत् नेवार जातीय पहिचानसँग । यही त्रिकोणात्मक संरचनाले हिजोदेखि आजसम्म संगुमीको सामुदायिक प्रणालीलाई परिभाषित गरिरहेको छ । दोस्रो, सामाजिक रूपान्तरणको बृहत् राजनीतिक, जनसांख्यिक र आर्थिक तथ्याङ्कले महत्त्व राखे पनि कहिलेकाहीँ स्थानीय सामाजिक–सांस्कृतिक तथ्य उजागर गर्न, तिनीहरूलाई मिहिन ढंगले बुझ्न सूक्ष्म र केन्द्रित अध्ययनले ठूलो भूमिका खेल्छ ।

(लेखक फ्रान्सका मानवशास्त्री हुन् । यी तस्बिर तोफाँले प्याङगाउँको इन्द्रजात्राका बेला सन् १९७१ मा खिचेका हुन् ।)

तोफाँसँगको सहर वार्ता : सडकमा हिप्पी, झ्यालमा खुर्सानी

प्रकाशित : वैशाख ३०, २०८० १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×