कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
डिप्रेसन–कथा

कस्सम, मलाई मेरै माया लाग्छ !

डिप्रेसनसँग जुधिरहँदा महसुस हुनै छाडेको थियो– के राम्रो, के नराम्रो ? के सही, के गलत ? के असल, के खराब ? मभित्र दनदनी बलिरहेको थियो, आगोको लप्का । म कतै चिसो तलाउमुनि डुब्न र वर्षौं निदाउन चाहन्थेँ । तर, अब म आफैंलाई माया गर्न व्यस्त छु ।
विष बनेर आउने ‘अवसरहरू’ अब मलाई चाहिँदैन । मैले सरल जीवन रोजेकी छु । ठूलो संघर्षपछि आफूलाई उभ्याएकी छु । मेरो संसारमा म मात्रै अटाउनेछु ।
शिक्षा रिसाल

प्रत्येकको जीवनमा एकपटक यस्तो समय आउँछ, जहाँ आफूले आफैंलाई रोज्नुपर्ने हुन्छ । परिवार, साथीभाइ, काम, वातावरण, कुनै विषय पनि त्यति महत्त्वपूर्ण हुँदैनन्, जति आफ्नो मनको शान्ति हुन्छ । त्यस्तो बेला आफैंलाई प्राथमिकतामा राख्नुपर्छ अनि केलाउनुपर्छ– तपाईंलाई के कुराले सताइरहेको छ ? के कुराले खुसी बनाउँछ ?

कस्सम, मलाई मेरै माया लाग्छ !

४ वर्षअघि डिप्रेसनसँग जुध्दा मलाई लाग्थ्यो– अब मेरो जीवन सकियो । मलाई कुनै पनि विषयले खुसी नै दिँदैनथ्यो । मलाई महसुसै हुन छाड्यो– के राम्रो ? के नराम्रो ? के सही ? के गलत ? के असल ? के खराब ? द्वन्द्व आफैंसँग नभएर अरूसँग भइदिएको भए सायद लड्न सहज हुन्थ्यो, तर आफैंसँगको लडाइँमा न जित्ने उर्जा हुन्छ, न हार्ने साहस । म आफू भित्रभित्रै बाढी, पहिरो, आँधीबेहरी, भूकम्प, डढेलो, खडेरी सबै महसुस गरिरहेकी थिएँ ।

ती सुरुवाती दिनमा आफूलाई सम्हाल्ने प्रयास गरेँ । म काममा जान्थेँ, अरूका अघि धेरै हाँस्थे, गफ पनि गर्थें, मान्छेहरूको प्यारो पनि थिएँ । तर, म भित्रभित्रै आगोको लप्का दनदनी बलिरहेको थियो । म कतै चिसो तलाउमुनि गएर डुब्न चाहन्थें । अनि वर्षौंसम्म निदाउन चाहन्थेँ ।

न बिहान आँखा खोल्न मन लाग्थ्यो, न साँझ आँखा बन्द गर्न । निद्रा पर्दैनथ्यो, तर म हरबखत सुतिरहन्थेँ । म पत्थरजस्तै भएकी थिएँ । एक ठूलो चट्टानले मलाई थिचिरहेछ जस्तो हुन्थ्यो । कानमा भयानक आवाजले साउती गर्थे अनि हाँस्थे । मलाई लाग्थ्यो, यिनीहरू मेरो परिस्थितिदेखि हाँसिरहेछन् । मध्यरातमा आँखाअघि आउने डरलाग्दा अनुहारहरूले गिज्याउँदै मलाई भन्थे, ‘तँ जिन्दगीदेखि हारिस् शिक्षा, तँ अब कहिल्यै अघि बढ्न सक्दिनस् !’

...

१८ वर्षकी छँदा पत्रकारितामा प्रवेश गरेकी थिएँ म । १८ वर्षको उमेर मेरा लागि खास थियो । पहिलो पटक मैले प्रेम अनुभव गर्न थालेकी थिएँ । जीवनमा केही गर्ने अठोट थियो, अनि आँखाभरि उमंग । पत्रकारिता फगत एक जागिर थिएन । सपना थियो । लगन थियो । मलाई समाचारप्रति दायित्वबोध हुन्थ्यो । तर, त्यतिबेलाका मेरा विचार कहिल्यै समाजसँग मेल खान सकेनन् । म धेरै जान्ने–बुझ्ने पनि थिइनँ । सिक्दै थिएँ । राजनीतिक कुरा म बुझ्दिन थिएँ । मलाई चासो पनि थिएन ।

‘पत्रकार भएर राजनीतिको बारेमा थाहा नहुने ?’

हो म गवार नै थिएँ । कम बोल्थेँ । धेरै अबसर्भ गर्थें । त्यसैले धेरैपटक आफैंलाई प्रश्न गरिरहन्थेँ, ‘के पत्रकारिता साँच्चिकै मेरो क्षेत्र हो र ?’

आफ्ना लालाबाला, छोराछेरी छोडेर विदेश जान बाध्य भएकी आमाको आँसु लेखेर म समाचार कक्षमा पुग्थेँ, कति जना विदेश गए, कति रेमिट्यान्स भित्रियो भन्ने फ्याक्ट मागिन्थ्यो, अघिल्लो आवको तुलनामा । म फुटपाथमा नांग्लो पसल खोलेर बस्ने बुबाको जीवन केलाउने प्रयास गर्थेँ । समाचार कक्ष मलाई फाइनान्सको एक साधारणसभामा कति लाभांश वितरण भयो भन्ने फ्याक्ट माग्थ्यो ।

पत्रकारिताको समुद्रमा भर्खरै हाम फालेकी थिएँ । पौडिन जानिन सायद । न डुबेँ न तैरिएँ, हिसाब गर्नै आएन । म गणितमा बच्चैदेखि कमजोर थिएँ ।

बिहान ७ बजे अफिस पुग्नेबित्तिकै मेरा सिनियरले मलाई एक गरुङ्गो कालो ब्याग थमाउँदै भने, ‘तल हिँड, हामी रिपोर्टिङ जानुपर्ने भयो ।’

त्यो गरुङ्गो ब्याग पछाडि बोकेर म उनको पछि–पछि लागेँ । पार्किङमा गएर हिरोहोन्डा स्पेल्नडरको पछाडि बसेँ, केही पनि नबोली । म बस्न नपाउँदै उनले बाइक हुँइक्याउँदा त्यो भारी झोलासँगै म बेस्सरी पछिल्तिर हुत्तिएको थिएँ ।

मैले सिनियरलाई सोधेँ, ‘हामी केको रिपोर्टिङलाई जान लागेको ?’

उनले बाइकको दाहिने ऐना सोझ्याए, लुकिङ ग्लासमा मेरो अनुहार हेरे अनि मुसुमुसु हाँस्दै भने, ‘रिपोर्टिङ हैन हामी रिसोर्ट जाने ।’

मैले केही बोल्न सकिन । मलाई जवाफ फर्काउनै आएन । उनले रिसोर्ट त लगेनन् । ठूलो घर लगे । त्यतिबेलाका एक उच्चपदस्थ व्यक्ति बस्ने रहेछन् । देशको नाम चलेका नेता ।

म सिनियरको पछि–पछि लागेर दोस्रो तल्ला उक्लिएँ । राजनीतिक उच्चपदस्थ व्यक्तिहरूका फोटो–फ्रेम भित्ताभरि टाँसिएका थिए । ठूलो–ठूलो झ्यालबाट खेतका हरिया फाँटहरू सुन्दर देखिएका थिए । झ्यालमा सेता पर्दा झुन्डिएको ठूलो कोठामा हामी पुग्यौँ । मेरो सिनियरले ‘यता बस’ भन्दै कालो सोफातिर इसारा गरे ।

‘देख्यौ यस्तो ठूलो मान्छेको घरमा आउन पाउने तिमी कति भाग्यमानी !’

ती सिनियरले मलाई संसारकै सबैभन्दा ठूलो पुरस्कार दिएजसरी भने अनि आँखा सन्काउँदै हाँसे । मलाई फेरि पनि केही बोल्नै आएन ।

मानिसहरूको आउने–जाने क्रम चलिरहेकै थियो त्यो घरमा । १०/१५ जना घरवरपर घुमिरहेका थिए ।

एउटा गमलाको माटो सुक्खा थियो अनि बिरुवाको एउटा पात कालो भएर अन्तिम सास फेरिरहेको थियो ।

हामीले अन्तर्वार्ता लिन कुरिरहेका नेता केहीबेरमा आए । उनी ढोकाबाट आउँदा–आउँदै मेरा सिनियरले मलाई नमस्ते गर्न आँखाले निर्देशन दिए । मैले हत्तपत्त उठेर दुई हात जोडेर टाउको निहुराएर नमस्ते गरेँ । उनले वास्ता गरेनन् । उनी सोफामा थचक्क बसे अनि मेरो टाउकादेखि खुट्टासम्म हेर्दै सिनियरलाई सोधे, ‘को हो यो नानी ?’

‘अफिसको नयाँ बैनी हो,’ सिनियरले तत्काल जवाफ दिए । न उनले मेरो नाम भने, न ती नेताले नै मेरो नाम सोधे । मैले फेरि दोस्रोपटक दुई हात जोडेर नमस्कार गरेँ । यो पटक भने उनले एउटा हात उठाउँदै मेरो नमस्तेको इज्जत राखिदिएजस्तो गरे ।

उनी शक्तिशाली नेता रहेछन् क्यार, तर मैले चिनेको थिइनँ ।

‘पत्रकारिता राम्रो छ नानी, राम्रो गर्नू ।’

म थोरै मुस्कुराएँ, टाउको हल्लाउँदै भने, ‘हस् ।’

उनीहरू देश, जनता, व्यापार, राजनीतिका गफ गरिरहेका थिए । म केहीबेरअघि एक युवकले ल्याइदिएको चिया घोप्टिँदै सुर्काउँदै थिएँ । उनीहरूको ठूला–ठूला गफ मैले बुझेको पनि थिइनँ । मैले चासो पनि दिइनँ ।

चियामा चिनी एकदमै कम थियो । रङ निकै कडा ।

केहीबेर पछि ती नेतालाई के कुरामा चित्त बुझेन, उनी एकैचोटि जंगिए । केहीबेरअघि चिया लिएर आएका ती युवकलाई बोलाए अनि बेस्सरी हप्काए ।

ठ्याक्कै के भने मलाई अहिले याद छैन, तर उनको आशय थियो, ‘एउटा काम गर्न यत्तिका बेर लाग्छ ?’

एकछिनअघि ती युवकको आँखामा मैले थोरै डर देखेको थिएँ अनि धेरै उदासी । ती नेताको हप्काइपछि युवकको आँखामा टिलपिल आँसु पनि देखियो ।

‘जा मेरो लुगा ठीक पारिदे ।’

युवक केही नबोली लुसुक्क गए ।

आँखामा डर, उदासी अनि प्रश्नै–प्रश्नको भारी बोकेर, हिचकिचाउँदै म बाइकपछाडि बसेँ । कालो गरुङ्गो झोला भिरेर ।

बाटाभरि ‘रिपोर्टिङ हैन रिसोर्ट’ भन्ने वाक्यले मेरो दिमाग बिथोलिरह्यो । अनि मेरा आँखा पनि टिलपिल भए ।

ती युवक र म मा के फरक रह्यो ?

हामी दुवैले जवाफ फर्काउन सकेनौं, ‘ठूला’ मान्छेहरूका अघि ।

मान्छेहरूले कसैलाई रिस पोख्न, हप्काउन, थर्काउन कसरी सक्छन् ? कसैलाई ‘म तँलाई रिसोर्ट लैजान्छु’ भन्दै तर्साउन कसरी सक्छन् ? आफ्नो सुपरभिजनमा काम गर्नेहरूको मनोविज्ञानसँग मनलागी गर्न उनीहरूले केही विशेष किसिमको लाइसेन्स पाएका हुन्छन् र ?

कि कामको कन्ट्र्याक्ट पेपरमा साइन गर्दा ‘यदि हाकिमको मुड खराब भएमा भर्वल अब्युजको सामना गर्नुपर्नेछ’, ‘जिस्किने मुड भएमा फर्ल्ट गर्न सकिनेछ,’ ‘कराउन, हप्काउन, पाइनेछ, तर तिमीले जवाफ फर्काउन पाउनेछैनौ’ भन्ने बुँदाहरू समावेश गरिएका हुन्छन् ? मैले ध्यान दिएर पढिनछु कि ?

...

बेरोजगारी, बेथिति अनि साना–साना काम गर्न पनि ठूलै सोर्स–फोर्स लगाउनुपर्ने, चाकडी गर्नुपर्ने प्रवृत्तिदेखि वाक्क भएर मसँग पढेका थुप्रै साथी दशकअघि नै बिदेसिए । उतै पढे, उतै जागिर खाए, उतै घरजम गरे । म प्रशिक्षार्थी भएर रिपोर्टिङ गर्न दौडिरहेका बेला उनीहरू पुतलीसडक र बागबजारका कन्सल्टेन्सी वरपर भेटिन्थे । म त्यतिबेला खुल्न थालेका विभिन्न मिडियातिर आफ्नो बायोडाटा बुझाउन दिनभर हिँड्थें । उनीहरू शैक्षिक प्रमाणपत्र बोकेर दिनदिनै कन्सलटेन्सी धाइरहेका हुन्थे । उनीहरूको र मेरो बाटो त्यहीँबाट मोडियो । गन्तव्य पनि फेरियो । उनीहरू अहिले के कति खुसी वा सन्तुष्ट छन्, मैले विस्तारमा सोध्न पाएको छैन । सायद धेरै व्यस्त हुन्छन्, आफूभन्दा बाहिरको कुरा केलाई केलाई सोच्ने फुर्सद पनि पाउँदैनन् ।

धेरैपटक सुन्छु– ‘मोफसलबाट आएर केन्द्रमा पत्रकारिता गर्न हाम्रा लागि ठूलो संघर्ष थियो । तिम्रो त घर नै यहीँ थियो । सजिलो थियो होला ।’

तर, भौतिक दूरीका हिसाबले मोफसलबाट नजिकै भए पनि केन्द्रको पत्रकारिता मभन्दा धेरै पर थियो ।

टेलिभिजनहरू खुल्न थालेका थिए । नयाँ–नयाँ दैनिक पत्रिकाहरू प्रकाशित हुन थालेका थिए । फेसबुक बल्ल चलाउन जानेको थिएँ । साइबरमा गएर फेसबुक खोल्दै नाम चलेका ठूला–ठूला पत्रकारलाई रिक्वेस्ट पठाउँथे । अनि आफ्नो पत्रकार बन्ने चाहना व्यक्त गर्थें ।

म विभिन्न मिडिया हाउसहरू धाउन थालेँ । सम्पादकहरू भेट्न थालेँ । कतिले रिसेप्सनबाटै फर्काइदिन्थे । कतिले ‘इमेलमा समाचार पठाउनू’ भन्दै फोन काट्थे । ती इमेलका रिप्लाई कहिल्यै आएनन् ।

एकपटक एक नयाँ खुलेको टेलिभिजनका प्रचार विभागका हाकिमले मलाई अफिसमा भेट्न बोलाए । म निकै खुसी भएँ । राम्रोसँग बायोडाटा बनाएर म उनको अफिस पुगेँ । रिसेप्सनमा एक घण्टा कुराएपछि उनले मलाई भित्र बोलाए । मैले दुई हात जोडेर नमस्ते गरेँ ।

‘तिमीलाई एक्लै आऊ भनेको होइन ?,’ उनी मलाई हप्काउन थाले ।

म एक जना केटी साथी लिएर गएकी थिएँ ।

म छक्क परेँ । मैले आफ्नो बायोडाटा देखाउन खोजेँ । उनले वास्ता गरेनन् ।

‘यो आफूसँगै लग । एक्लै आएको भए केही हुन सक्थ्यो, अब जागिर पाइँदैन । तिमी जाऊ ।’

म त्यतिबेला टिलपिल आँखा लिएर बाहिरिएकी थिएँ । त्यो बेलाको ह्युमिलेसनले आफैंप्रतिको आत्मविश्वासको धज्जिया उडेको थियो ।

तर, पनि म आफ्नो सपनामा अडिग नै भएँ । पत्रकारिताका पाइला चल्दै गएँ । यस्ता घटनाहरू पटकपटक दाहोरिए । ‘रिसोर्ट जाने हो’ भनेर तर्सिएकी मलाई अब विभिन्न मखुण्डोधारीहरूले बेफिक्री सोध्न थाले, ‘डिनर टुनाइट ?’

कोही भन्थे, ‘हामी साथी बनौँ, एकदम मिल्ने साथी ।’

कोही भन्थे, ‘२४ वर्षपछि तिम्रो आँखा देखेर मेरो मुटुमा प्रेम पलायो ।’

कोही भन्थे, ‘तिमी झमझम पानीमा रुझेको देखेर मैले झ्यालबाट हेरिरहेँ, तिमीलाई जस्तै मलाई पनि झरी मन पर्छ ।’

सँगै रिपोर्टिङ जाने सहकर्मी बेस्सरी बाइक हुँइक्याउँथे । बत्तिँदै आएको हावाले मेरो अनुहार रातो बनाउँदा उनी हाँस्दै भन्थे, ‘डर लाग्यो भने मलाई च्याप्प समात्नू ल । म ब्रेक लगाई–लगाई चलाउँला ।’

कसैसँग यस्ता कुरा सेयर गर्न खोज्दा मलाई जवाफ आउँथ्यो, ‘यस्ता कुरा सामान्य हुन् । ह्या कति सोच्न सकेको ?’ यी र यस्तै खाले विभिन्न कुराले मलाई बिथोलिरहे । मैले धेरै ठाउँमा निरन्तर काम गरिरहन सकिनँ । मैले बाटो मोड्न खोजिरहेँ । सबैबाट दूरी बढाउँदै गएँ । त्यसैले १५ वर्षमा म कसैलाई चिन्दिनँ र कसैले मलाई चिन्दैन । यहाँ मेरो पीआर बहुतै खराब छ ।

...

कामका दौरान विभिन्न वर्ग, क्षेत्रका महिलासँग मेरो कुराकानी भइरहन्थ्यो । एक पटक वैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरूको जीवनबारे स्टोरी बनाउने सोचेँ । केही महिलालाई भेँटेँ । लेख्नु थियो, उनीहरू किन बिदेसिए ? विदेशमा के–के भोगे ? नेपाल कसरी फर्किए ? अहिले नेपालमा के गरिरहेका छन् ? उनीहरूको कहालीलाग्दो कथा सुनेपछि म कयौँ रात अनिदो बसेकी छु । ताप्लेजुङबाट बिमला कुवेत पुगेकी थिइन् । आफ्ना श्रीमान् सडक दुर्घटनामा परेपछि उनी बच्चाहरू छोडेर बिदेसिएकी थिइन् । नयाँ कामको खोजीमा उनी हिँडेको बाटामा भोगेका हिंसाको कुनै हिसाब थिएन ।

उनले सुनाएकी थिइन्, ‘दलाल, दलालका साथीले रक्सी खाएर दुर्व्यवहार गरे । सँगै बसेको होटेलमा मेरो कोठामै आएर बलात्कार गरे । मेरो साथमा पैसा पनि थिएन । पासपोर्ट उनीहरूसँगै थियो । विदेशमा लगेर बेच्ने हुन् कि भन्ने डर थियो ।’

कुवेतमा घरेलु कामदार भएर काम गर्न सुरु गरेपछि उनको जीवन झनै अन्धकार बन्यो । भन्थिन्, ‘बिहान ६ बजेदेखि काम लगाउँथे । घर सफा गर्ने, भाँडा माझ्ने । उनीहरूका घरको सबै काम गरिसकेर उनीहरूको आफन्तको घरमा गएर काम गर्नुपर्थ्यो । अलिकति थाकियो, बिरामी पर्‍यो पनि भन्न पाइँदैन थियो । साउ र साउनीले धेरै पटक बेहोशै हुने गरी लात्ताले मेरो कोखामा हानेका छन् ।’

उनी भन्थिन्, ‘म मरे पनि अब त्यहाँ जान्न । नेपालमै केही गर्छु, खान नपाए पनि आफ्ना छोरा छोरीलाई हुर्किरहेको देख्न त पाउँछु ।’ उनलाई त्यो मानसिक आघातले जीवनभर बिथोलिरहनेछ । उनले आफ्ना ढाडमा लगाएको टाँका देखाउन खोज्दा मेरो शरीरमा काँडा उम्रिएको थियो ।

अर्को कथा छ, झापाकी रूपाको । उनलाई श्रीमान्–हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइयो । उनको प्रेम विवाह भएको थियो रे ! तर, विवाहपछि प्रेम बाँकी रहेन । श्रीमान्ले उनलाई दिन–रात रक्सी खाएर कुट्थे । घरपरिवारले श्रीमान् रिझाउन नसकेकी भनेर उनकै खेदो खन्थ्यो । एक दिन रक्सी खाएर आएका श्रीमान्सँग कुटपिटका क्रममा उनका श्रीमान् ढले । मुखबाट फिँजैफिँज आउन थाल्यो । आँखा बटारियो । अस्पताल लैजाँदा लैजाँदै श्रीमान्को ज्यान गयो । उनको परिवारले तत्कालै श्रीमान् हत्याको अभियोगमा प्रहरी बोलाएर उनलाई जेल पठायो । उनी २८ वर्षकी मात्रै थिइन् । साथमा एक वर्षकी छोरी । उनलाई जन्मकैदको सजाय भयो । अबको जिन्दगी के गर्ने ? उनलाई पत्तो थिएन । न माइती, न घर, उनलाई कसैले वास्ता गरेनन् । उनले यो कथा सुनाइरहँदा आफूलाई सम्हाल्नै मुस्किल भएको थियो । धेरैपटक म पनि उनीसँगै भक्कानिएकी थिएँ ।

कहिलेकाहीँ सोच्छु, देशका नागरिकलाई यो हदसम्म गर्न बाध्य बनाउने यो राज्यविरुद्ध एक मुद्दा चलाइदिऊँ ! फेरि म नाथे को हो र भनेर कोठाको ढोका बन्द गरेर बस्छु ।

उनीहरू र मैले बाँचेको जीवन बिलकुलै फरक थियो । मेरो जीवनलाई खुसी र सम्पन्न देख्थेँ ।

महिलाहरूलाई अवसर छन्, तर उनीहरू बोल्ड हुनुपर्छ रे । तर, मलाई त पटक–पटक यही क्षेत्रका ठेकेदारहरूले चुप गराए । म बोल्नै सकिनँ । म बिरामी परिरहन्थेँ ।

एकपटक एक सम्पादक आफैंले भनेका थिए, ‘तिमी कति बिरामी परिरहन्छौ ! कहिले के हुन्छ, कहिले के । छोड्देऊ यो पत्रकारिता । खुरुक्क ९ टु ५ जागिर खाऊ । बरु मै खोजिदिउँला ।’

...

५ वर्षको कहालीलाग्दा दिनरात र आफैंसँगको जटिल संघर्षपछि मैले बिस्तारै मेरा तत्त्वहरू केलाउँदै गएँ । मेरो साइको थेरापिस्टले म माथि धेरै विधि प्रयोग गरे । बल्ल–बल्ल पत्ता लाग्यो यी गाँठाहरू भर्खरै बनेका पनि होइन रहेछन् । ६ वर्षकी बालख हुँदादेखि नै बन्दै गएको गाँठाहरू थिए । बालयौन हिंसाको गाँठो, बाबाको वियोगको गाँठो, एक्ली आमाको संषर्घका दौरान हुने चिडचिडापनले बालमनस्थितिमा टन्किएको गाँठो, त्यसपछि यो समाजले गरेको हेँलाको गाँठो, अभाव, वियोग, शारीरिक रोग अनि बालयौन हिंसाको चक्र । यी यस्तै गाँठाहरू त्यतिबेला बेस्सरी टन्कियो, जब बाहिरी समाजमा फेरि यस्तै–यस्तै घटना र पात्रहरूको सामाना गर्नुपर्‍यो ।

वर्षौंदेखिको गाँठो कस्सिँदाकस्सिँदा म सासै फेर्न नसक्ने भएँ । विभिन्न पारिवारिक–व्यक्तिगत परिस्थिति, वातावरण, समाज र यो समाजमा हुर्कंदै गएको म । ट्रमा थेरापीका क्रममा देखापरेका यी गाँठाहरू बिस्तारै फुकाउनु जरुरी थियो । आफूले आफैंलाई धेरै माया गर्नु नै यसको पहिलो पाइला थियो । सबै कुरालाई पछि छोडेर मैले आफूलाई रोज्नु थियो । म केही वर्षपछि ओछ्यानबाट उठेँ, अनि प्रकृतिसँग नजिक भएँ । मलाई ती भयानक आवाजहरूले तर्साउन छोडे । ती डरलाग्दा अनुहारहरूले गिज्याउन आएनन् । तर, मेरो बालमनस्थितिमा जरो गडेर बसेको आघातको खाटा भने अझै छ ।

मान्छे बिन्दास हुनुपर्छ रे । सबै कुरा मनमा लिनु हुँदैन रे । तर, सबैले सबै कुरा क्याजुअली लिन पनि सक्दैनन् । मेरो साइकोथेरापिस्ट भन्नुहुन्छ, ‘आफूलाई ध्यान दिनुस् न ! तपाईं किन समाज, देश, राजनीतिबारे सोचेर चिन्ता लिनुहुन्छ ? तपाईं समाचार नै नहेर्नुस् । नपढ्नुस । नलेख्नुस् । संसारमा यस्ता कुरा भइरहन्छन् । तपाईं बस् आफूलाई माया गर्ने काम गर्नुस्, बाँकी ठेक्का लिन संसारका ठेकेदारहरू छँदै छन् नि ।’

म फिस्स हाँस्छु ।

यो देशमा हुने घटनाहरूले, बेथेतिले मलाई मात्रै हो र फ्रस्टेटेड बनाउने ? के तपाईंहरूको रगत उम्लिँदैन ? दिन–रात तिनै सत्ता र शक्तिका गुणगान गाउँदा, हाकिमको चाकडी गर्दा आएको तलबले दिने खुसी नै तपाईंको जीवन हो र ?

...

डिप्रेसनको बादल झन्–झन् बाक्लिँदै थियो । मैले मेरो सपना देखेको पत्रकारिता क्षेत्र पनि छोडिसकेकी थिएँ । निरन्तरता पनि म कसरी दिन्थें र ! मानसिक आघातबाट गुज्रिरहेका बेला केही ‘ठूला’ भनिएका व्यक्ति सान्त्वनाका शब्दसहित नजिक हुन्थे । हिचकिचाउँदै उनीहरूले सहयोग गर्न दिएको हात थाम्दा तिनले मलाई बेस्सरी निमोठे, मेरो आशा, सपना, भरोसा सबै

निमिट्यान्न पारिदिए । पत्रकारितामा मेरो पखेटा काटियो । अनि फेरि सोच्न बाध्य भएँ, यो समाज मेरा लागि हुँदै होइन । ‘रिपोर्टिङ होइन, रिसोर्ट’ भन्ने आशयका वाक्य पटक–पटक दोहोरिइरहे विभिन्न पात्रबाट, विभिन्न क्षेत्रबाट । ‘मिडियामा यस्तै त हो नि’ भन्ने तुच्छ प्रतिक्रिया सुन्नुपर्ने डरले म यस क्षेत्रबाटै टाढिएँ । ती पात्र आज–भोलि पनि समाजमा उच्च विचारधारा भएका व्यक्तिको छवि बोकेरै हिँडिरहेकै छन् । डुलिरहेकै छन्, बेफिक्री ।

...

‘आजकल त लेख्नै छाड्नुभयो त ?,’ मेरा एक शुभचिन्तकले मलाई फेरि यो प्रश्न सोध्नुभयो ।

‘लेख्न छाडेकी त छैन । विषयवस्तु फरक परेका हुन् । अनि लेख छापिन पनि,’ यही भन्न मन थियो । तर, फिस्स हाँसेर टारिदिँए । धेरैजसो कुरालाई फिस्स हाँसेर टार्न सिकेकी छु । यो जवाफ नदिई टार्नसक्नु पनि एउटा कला रहेछ । सबै प्रश्नका जवाफ पनि त हुँदैनन् । भए पनि कसैलाई दिइरहन जरुरी छ र ?

तर, सायद आज–भोलि मलाई केही लेख्नै मन लाग्दैन । या भनौँ लेख्नै आउँदैन ।

लेखिरहने मान्छे लेख्न छोडेपछि बहुलाउँछ रे ! यत्तिका महिना आफ्ना कुराहरू, कुण्ठाहरू नपोखी बसिरहँदा सायद म पनि अलिअलि बहुलाएकी छु । लेखौँ भनेर बस्छु, के–के लेख्छु आफैं पत्तो पाउँदिनँ । कहिले केही लेख्ने विषय थाहा हुँदैन । केको बारेमा लेखौँ ? कहिले यति धेरै विषयले दिमागमा तान्डब मच्चाउँछन् कि टाउको समात्दा समात्दै महिनौँ बित्छ, तर शब्द फिटिक्कै फुर्दैनन् ।

‘तपाईं धेरै गन्थन नलेख्नुस् । भूमिका बाँध्नु पर्दैन । फ्याक्ट जे हो त्यही लेख्नुस्,’ धेरै समयपछि मिडियामा फर्किएपछि मैले समाचारकक्षमा सुन्नुपरेको वाक्य हो यो ।

तर, फ्याक्ट हो चाहिँ के त ? केलाई फ्याक्ट भन्ने ? हुन त समाचारमा लेख्ने नै फ्याक्ट हो । तर, के हामी सबै फ्याक्ट नै लेखिरहेका छौँ त ? कि हामीले देखेका कुरा सबै फ्याक्ट हुन् ? फ्याक्टलाई फ्याक्ट भनेर जाँच गर्ने कुनै विधि छ र ?

यो समाजका लागि म जब्बर भइसकेँ । चाहेर–नचाहेर यो क्षेत्रमा घुमिरहँदा, दौडिरहँदा म पनि उनीहरूजस्तै भएँ, जवाफ फर्काउने ।

जवाफ नफर्काउँदा उनीहरू मलाई कमजोर भन्थे । ‘यस्तो इन्ट्रोभट पनि पत्रकार भएर खान्छ ?? बोल्ड बन बोल्ड ।’

जवाफ फर्काउने भएपछि भन्छन्, ‘यो केटीको त सोमतै छैन, सिनियरहरूलाई सम्मान गर्न सक्दिन । अलि ठिस छे ।’

‘आफ्नो फाइदाका लागि दुस्मनलाई पनि अँगाल्नुपर्छ’ भन्ने वाक्यलाई मैले अहिलेसम्मको जीवनमा उतार्न सकिनँ । दुईपटक शिर निहुराएर, हात जोडेर नमस्ते गर्ने म अब कसैका अघि पनि झुक्नै सक्दिनँ । तर, यहाँ हात जोडेर नमस्ते गर्ने मलाई पनि अघि बढ्न दिइएको थिएन । ‘पत्रकारहरू बोल्ड हुनुपर्छ’ भन्नेहरूले मेरो कसैसँग नझुक्ने बानी पनि स्विकार्न सकेनन् ।

अब मलाई कुनै पनि विषयले फरक पर्न छाडिसक्यो । कसैले केही भनोस् वा नभनोस्, मलाई चाकडी गर्न आउँदैन । मलाई ती पत्रकारको ठेक्का लिएर बसेकाहरूलाई खुसी पार्न आउँदैन । कोही मेरो जीवनमा होस्, नहोस् मलाई यो समाजमा अटाउन गर्नैपर्ने मीठो भलाकुसारी गर्न आउँदैन । मलाई ठूला–ठूला गफ गर्न आउँदैन । म केही कुरामा प्रतिक्रिया दिन पनि चाहन्नँ । बेतुक लाग्छ ती सब । आफ्ना लागि अरूलाई प्रयोग गर्न पनि आउँदैन ।

‘अवसरहरू ग्य्राब गर्न सिक्नुपर्छ’ भन्ने अर्ती, उपदेश बेलाबेला आइरहन्छन् । तर, विष बनेर आउने यस्ता अवसरहरू अब मलाई कहिल्यै चाहिन्न । मैले आफ्ना लागि सरल जीवन रोजेकी छु । मलाई कसैसँग पीआर बनाउनु छैन । लोकसेवा पनि लड्नु छैन । यो देशको सेवा गर्नु पनि छैन । यसमा सायद अवसरहरू कम छन् । तर, मैले जीवनभर भोग्नुपर्ने मानसिक आघात अब थपिनेछैनन् । धेरै संघर्षपछि मैले आफूलाई आज उभ्याएकी छु, त्यसैले मेरो संसारमा म मात्रै अटाउनेछु । यसमा कसैका लागि ठाउँ छैन ।

‘मेरो बर्कतले भ्याएसम्म यो देशको सेवा गरिरन्छु म,’ २०५३ सालतिर नेपाल टेलिभिजनमा १२ बजेको बाल कार्यक्रम आउनुअघि यो गीत बज्थ्यो । त्यसबेला लाग्थ्यो, यो देशको माया यी गायकलाई जति त कसैलाई पनि लाग्दैन । त्यतिबेला मलाई पनि देशको माया लागेर शरीरभरि काँडा उम्रिन्थ्यो । तर, त्यसपछिका घटनाले र पटक–पटक शरीरमा उम्रिएका काँडाको कुनै मूल्य चुकाउन यो समाजले सक्दैन । त्यसैले अब म आफैंलाई माया गर्न व्यस्त छु । कस्सम ! मलाई मेरो अति नै माया लाग्छ ।

प्रकाशित : वैशाख २३, २०८० ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x