कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

यहुदीहरूको मुक्ति–कथा

इसाको डेढ शताब्दीपूर्वको राष्ट्रनिर्माण–प्रसवपीडालाई ‘माई ग्लोरियस ब्रदर्स’ मा काव्यात्मक ढङ्गले लेखेका छन् हावर्ड फास्टले
प्रदीप ज्ञवाली

इसापूर्व १६७ । झ्वाट्ट पढ्दा पाण्डवजस्ता लाग्ने पाँच भाइ । सोझो, शान्तिप्रिय र विद्याको उपासक जेठो जोन । असाध्यै भरपर्दो, भाइहरूको जिम्मेवारी काँधमा लिएको माइलो साइमन । अर्जुनजस्तो वीर र धीर जुडस । उत्तिकै वीर एलियाजार र कान्छो जोनाथन । व्यक्तित्वका हिसाबले भीष्मपितामह जस्ता लाग्ने बाबु मटाथियस बिन जान बिन साइमन, गाउँका मुखिया । द्रौपदीजस्तै कमनीय सुन्दरी रुथ । उसैलाई लिएर साइमन र जुडसबीच नजानिँदो प्रतिस्पर्धा अनि तुष ।

यहुदीहरूको मुक्ति–कथा

प्राचीन इजरायलको सानो गाउँ मोदिन, एकदमै उर्बर । यसै गाउँबाट इसाको डेढ शताब्दीपूर्व एउटा राष्ट्रनिर्माणको प्रसवपीडा सुरु हुन्छ, जसलाई हावर्ड फास्टले आफ्नो बहुचर्चित उपन्यास ‘माई ग्लोरियस ब्रदर्स’ मा काव्यात्मक ढङ्गले लेखेका छन् ।

यस आख्यानका पात्रहरू महाभारतका जस्तै छन् । तर, कथावस्तु भने अलि पृथक् छ । महाभारतमा पाण्डवहरू आफ्नै काका र उनका छोराहरूले छलपूर्वक खोसेको राज्य प्राप्तिका लागि लडेका थिए । वनवास र गुप्तवाससमेत जोड्ने हो भने उक्त लडाइँ १४ वर्षभन्दा केही कम लडिएको थियो । तर, इजरायल राष्ट्रनिर्माणको यो लडाइँ तीस वर्ष लामो छ, जसलाई उपन्यासमा असाध्यै मोहक ढङ्गले वर्णन गरिएको छ ।

प्राचीन यहुदीहरू शान्तिप्रिय छन् । उनीहरू मिहिनेती छन् । आफ्नै धर्म (निराकार ईश्वरको उपासना) मा रमाएका छन् । जेरुसेलमको प्रसिद्ध मन्दिरका उपासक ! अनावश्यक हिंसाका विरोधी ! आफूहरू कुनै बेला मिश्रका दास बन्न बाध्य हुनुपरेको थियो भन्ने हमेसा हेक्का राखेका ! दासप्रथा र भाडाका सिपाही राख्ने प्रणाली उनीहरूकहाँ छैन । कारणवश कोही दास भयो भने पनि सात वर्षमा उसले स्वतः मुक्ति पाउँछ ।

यो सुन्दर भूभागमा युनानीहरूका आँखा लाग्छन् । सबैभन्दा पहिले प्रहार सुरु हुन्छ यहुदीहरूको धर्म र संस्कृतिमाथि । ‘तिमीहरू फोहोरी जात, तिम्रा देउता कामै नलाग्ने, सिङ्गो समुदाय नै घृणित’ भनेर तिनलाई हेपिन्छ । पराइ धर्म अँगाल्न दबाब दिइन्छ । शाह अन्तियोकसलाई कर उठाएर दिन अत्याचारी कर संकलकहरू खटाइएका छन् र तिनीहरूले हुनसम्म दुःख दिन्छन् ।

एकजना कर संकलक पेरिक्लिजले कान्छो भाइ जोनाथनलाई मार्न खोज्छ– बाख्रा चराउन गएका बेला, ङ्याकेर । पाँचै भाइ मिलेर प्रतिवाद गर्छन् । यसक्रममा उसको हत्या हुन्छ । उनीहरूले बाबुसँग मिलेर उसको लास चुपचाप गाड्छन् । तत्काल त कसैलाई यसबारे थाहा हुन्न । तर, शान्त गाउँ मोदिनमाथि बिस्तारै संकटका काला बादल मडारिन थाल्छन् । बाबुले छोराहरूलाई सम्झाउँछ– उप्रान्त कहिल्यै नरुनू ।

पाँच भाइको बाल्यकाल यहीं आएर टुंगिन्छ । यसै झिल्कोबाट सुरु हुन्छ तीस वर्ष लामो स्वतन्त्रता सङ्ग्रामको डढेलो ।

मटाथियस पाँचै भाइलाई साथ राखेर संकल्प गराउँछ– हामी जीवनभर मिलेर लड्नेछौं, एकअर्काको रक्षा गर्नेछौं, कहिल्यै झगडा गर्ने छैनौं । पेरिक्लिजको ठाउँमा आउँछ ऐपिलिज भन्ने अर्को जिम्माल, जसले ज्ञान र सौन्दर्यबाट होइन भय र आतंकका बलमा युनानीकरण अभियान सुरु गर्छ । पालकी चढेर मोदिन आउँछ । गाउँलेलाई गाली गर्छ । ‘पेरिक्लिज हराएको होइन मारिएको हो, त्यो काम तिमीहरूले गरेका हौ’ भनेर धम्क्याउँछ । यहुदीहरूलाई घृणा गर्छ । मास्टर लेबेलकी आठ वर्षकी छोरी देबोराको अनाहकमा क्रूर हत्या गर्छ ।

त्यस घटनाले गाउँलेहरूमा एकैसाथ भय र प्रतिशोधको भाव जन्माउँछ । जुडस गम्छ– कुनै बाटो त होला नि, जहाँ हामी लड्न सिकौं र धरतीको पर्खाल बदल्न सकौं ।

पाँच भाइहरू बाबुसँग फेरि जेरुसेलम जान्छन् । तर, त्यहाँको तस्बिर बदलिएको छ । बाटैभरि ध्वंसका दर्दनाक दृश्य छन् । यहुदीहरूको शिर काटेर बाटैभरि खाँबोमा उनिएको, मन्दिरको मिनार भत्काइएको, भित्तैभरि अश्लील चित्र कोरिएको र सबैभन्दा डरलाग्दो दृश्य त– भगवान्को बेदीमा सुँगुरको टाउको रगतैसित फालिएको ।

यस तस्बिरले मटाथियासलाई अवाक् बनाउँछ । मन्दिर सफा गर्न खोज्ने आफ्ना छोराहरूलाई रोक्दै युनानीकरण भइसकेका यहुदी पुजारीहरूलाई सुनाउँछ, ‘युनानी सभ्यताको रसास्वादन गर्न मटाथियास बूढो आफ्ना पाँच भाइ छोरासँग आएको थियो भनेर मालिकहरूलाई सुनाइदिनू र यो पनि भन्दिनू कि बूढो फेरि पनि आउँछ अरे ।’

एक रात जुडस पहाडी भेगमा जान्छ– त्यहाँको भूगोल अध्ययन गर्न र मनोभावना विश्लेषण गर्न । अत्याचारले सीमा नाघ्दै गएको छ । महिलाहरूको बलात्कार भइरहेको छ । मान्छेलाई जिउँदै उसैको घरमा किला ठोकेर झुन्ड्याइएको छ । ऐपिलिज फेरि आउँछ, युनानी सभ्यता सिकाउने कुरा गर्छ ।

आफ्नो धर्म छाड्न भन्छ, स्कुल बन्द गर्न उर्दी दिन्छ र पवित्र ‘पाँच किताबहरू’ जलाउँछ ।

आदोन मटाथियस आँसुको घुड्का पिएर चुपचाप हेरिरहन्छ सबै । किताब जल्दै गरेको देखेर एक नौ वर्षको बच्चा हुर्रिएर जान्छ, तर ऐपिलिजको तीरको सिकार हुन्छ । उसलाई बचाउन गएकी रुथ निर्ममतापूर्वक मारिन्छे ।

सुन्दरी रुथ, जसलाई लिएर जुडस र साइमनबीच नजानिँदो तुष थियो । उसले साइमनसँग विवाह गर्ने कुरा गरेकी थिई । उसको पेटमा साइमनको गर्भ थियो ।

जुडस सोध्छ– उसलाई मर्ने बेला (रुथलाई) धेरै गाह्रो त भएन होला हगि ? दाइसँग वचन लिन्छ– यसको बदला म लिनेछु, ऐपिलिज मेरो सिकार हुनेछ ।

कतैबाट रागेश भन्ने धर्म गुरु आउँछ, उनीहरूलाई विद्रोहका लागि प्रेरित गर्छ । ‘धर्मले त हिंसा गर्नुहुँदैन भन्छ नि’ भन्ने प्रश्नको जवाफमा बाबु आदोन भन्छ, ‘धर्म पवित्र छ, तर जीवन पवित्रतम छ ।’ ऊ फेरि भन्छ, ‘घृणालाई शत्रुका निम्ति साँचेर राख ।’

यसै जगमा उभिएर उनीहरू विद्रोह संगठित गर्छन् । गाउँकै आरनमा हतियार बनाउँछन् । हामी लुटपाटका लागि होइन, धरतीका लागि लड्नेछौं– उनीहरू संकल्प गर्छन् । जुडस भन्छ– जसलाई स्वास्नी छोराछोरीका चिन्ता छ, हाम्रा पछाडि नलाग्नू ।

त्यति नै खेर बच्चाहरू सूचना ल्याउँछन्– ऐपिलिज यतै आउँदै छ । बेदीका लागि बलि चढाउनुपर्‍यो नि भन्दै गर्दा अर्काको धर्म अँगाल्न लागेको लेवाइट पुजारीको हत्या गरेर बूढो आदोनले ऐपिलिजतिर फाल्दै भन्छ– लौ यही हो बलिदान । ऐपिलिजले केही तयारी गर्न नपाउँदै यहुदीहरू जाइलाग्छन् र उनीहरूलाई सखाप पार्छन् । यसरी पहिलो लडाइँ सफलतापूर्वक सकिन्छ । त्यसपछि घरघरमा ताल्चा लगाएर उनीहरू इफ्रेम पहाडतिर लाग्छन्, अनकन्टार पहाडतिर ।

बिस्तारैबिस्तारै विद्रोह फैलिँदै जान्छ । गाउँमा युनानीहरूको अत्याचार खेप्न नसकेर हजारौं मान्छेहरू त्यही पहाडमा थुप्रिन्छन् । त्यसै पहाडबाट छापामार लडाइँ सुरु गर्छन् ।

सेनापति अपोलोनियस स्वयं आफैं हजारौं सेनाको नेतृत्व गर्दै इफ्रेम पहाडमा आउँछ । तर, यहुदीहरू ढुङ्गा पल्टाएर प्रतिरोध गर्छन् । बाटो छेकेर लडाइँ लड्छन् । र, समुद्रको छालजस्तो गरेर आउने सिरिया र युनानका अनेकौं आक्रमणलाई परास्त गर्छन् ।

आफूहरूले कहिल्यै नदेखेको हात्तीको फौज देखेर एकचोटि त यहुदीहरूको सातो जान्छ । तर, एलियाजारले साहसपूर्ण लडाइँ लड्छ, एउटा हात्ती मार्छ र भन्छ, जतिसुकै भीमकाय भए पनि हात्तीलाई जित्न सकिन्छ ।

यसरी १२ वटा ठूला र अनगिन्ती साना लडाइँहरू लडिन्छ ।

यसैक्रममा बूढा मथियाकसको मृत्यु हुन्छ– ‘एउटा गर्विलो मृत्यु । स्वतन्त्रताका लागि लड्दा लड्दैको मृत्यु, आफ्ना मूल्यहरूका लागि संघर्ष गर्दागर्दैको उत्सर्ग । यसरी उनीहरूले भन्दै आएको ‘स्वतन्त्रताको मूल्य रगतबाट चुक्ता गर्नुपर्छ’ भन्ने भनाइ सार्थक हुन्छ । जुडिया मुक्त हुन्छ ।

उनीहरूको मन्दिर पुनर्निर्माण हुन्छ– उस्तै पवित्रताका साथ, उस्तै भव्यताका साथ ।

यस शक्तिशाली राष्ट्रको जन्मको अर्थ, यसको सामर्थ्यको रहस्य, कुन कुराले यसलाई यति ‘रिजिल्यान्ट’, जब्बर र अपराजेय बनायो भन्ने बुझ्न आएको छ रोम साम्राज्यको राजदूत । उसको निष्कर्ष छ– किनकि यिनीहरूसँग दासप्रथा थिएन । किनकि यिनीहरूले पैसाका लागि अरूका लागि लडिदिने भाडाका सिपाहीहरू थिएनन् । किनकि उनीहरूले कसैको ‘हुकुम पालना’ बाट होइन, सामूहिक परामर्श र संकल्पका साथ लडे । किनकि उनीहरू कसैलाई बादशाह बनाउन होइन, आफैंलाई स्वाधीन बनाउन लडे । यही कारण हो, ‘जसले गर्दा यहुदीहरूले आफूभन्दा दसौं गुना ठूलो साम्राज्यका सेनालाई पनि परास्त गर्न सके । रोम साम्राज्यले उनीहरूसँग ‘डिल’ गर्दा यस कुरालाई हेक्का राख्नुपर्छ ।’

भाइहरूको मृत्युपछि मकाबी बनेर प्रशासन सञ्चालन गरिरहेको छ साइमनले, जसका स्मृतिहरू यस उपन्यासमा फ्ल्यासब्याकमा रूपमा आएका छन् । नेकीलाई आदर गर, बदीलाई घृणा– उपन्यासको सुन्दर सन्देश यही हो ।

हावर्ड फास्ट इतिहासका महत्त्वपूर्ण घटनालाई जनताको आँखाबाट कलात्मक पुनर्सिजन गर्ने सिद्धहस्त लेखक हुन् ।

आफ्नो ‘मास्टरपिस’ उपन्यास ‘आदिविद्रोही’ मा उनले संसारको पहिलो दास विद्रोहका अगुवा स्पार्टाकसलाई नायकत्व प्रदान गरेका थिए । ‘माई ग्लोरियस ब्रदर्स’ मा उनले एउटा राष्ट्र जन्माउन युगले कति पीडादायी प्रसव व्यथा सहनुपर्छ, त्यसको हृदयस्पर्शी तस्बिर उतारेका छन् । उपन्यासमा इतिहास, मानवमूल्य, स्वाभिमान, प्रतिरोध र जिजीविषाको अद्भूत सम्मिश्रण छ ।

हुन त ऐतिहासिक उपन्यासका सन्दर्भलाई आजसँग जोड्नु त्यति सान्दर्भिक नहोला, तर पुस्तक पढिसकेपछि यो प्रश्न भने तपाईंको मनमा अवश्य उठ्नेछ– आफैं यति कष्टकर र बलिदानी इतिहासबाट गुज्रिएका इजरायलीहरूले आज प्यालेस्टाइनीहरूको यस्तै पीडालाई किन सम–अनुभूति नगरेका होलान् ?

प्रकाशित : वैशाख १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?