कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

१४० वर्षपछि कार्ल मार्क्स

मार्क्स कठोर अध्येता, अविश्रान्त लेखक, दुरूह दार्शनिक थिए, अनि थिए– एक अप्रतिम प्रेमी । स्नेहालु बाबु, दिलदार मित्र थिए, असलमा एक संवेदनशील मान्छे थिए । नाटकले ती स्वप्निल, मायालु र कोमल मार्क्सको व्यक्तिगत जिन्दगी चित्रण गर्छ ।
प्रदीप ज्ञवाली

चैत १७, साँझ साढे पाँच बजे । काठमाडौंमा अचानक झुल्किए कार्ल मार्क्स । निधन भएको १४० वर्षपछि काठमाडौंमा मार्क्सको अवतरण अपत्यारिलो थियो । त्यसो त मार्क्स आफूले जिन्दगीका अधिकांश कष्टप्रद समय गुजारेको लन्डनको ‘सोहो’ मा ओर्लिन खोजेका रहेछन्, तर ‘ब्युरोक्रेसी’ न हो, काठमाडौंमा नाटकको ‘शो’ मा उनी ल्याइपुर्‍याइदिए ।
पूर्ण जीवनकालमा कहिल्यै एसिया नटेकेका मार्क्सलाई काठमाडौंमा ल्याउने काम गरेको थियो– आरोहण गुरुकुलले । हावर्ड जिनले सन् १९९९ मा लेखेको नाटक ‘मार्क्स इन सोहो’ को नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ काठमाडौंमा मञ्चन भइरहेको छ ।

१४० वर्षपछि कार्ल मार्क्स

सायद शेक्सपियरले हो, भनेका थिए– ‘तिमी मलाई माया गर या घृणा, दुवै मेरै पक्षमा हुनेछ । माया गर्‍यौ भने म तिम्रो मुटुमा बास गर्नेछु, घृणा गर्‍यौ भने तिम्रो मस्तिष्कमा डेरा जमाउनेछु ।’ यो भनाइ ठ्याक्कै लागू हुन्छ मार्क्सको हकमा । मृत्युपछि पनि उनी संसारका करोडौं मानिसको मुटुमै छन् । शोषित–उत्पीडितहरू आज पनि उनले देखाएको नयाँ संसारका लागि सङ्घर्षरत छन् । तर, उनको विरोध गर्नेको पनि कमी छैन । विरोधीको मस्तिष्कमा ‘भूत’ बनेर बसेका मार्क्सले तिनलाई तर्साइरहेकै छन् । केही वर्षअघि ‘बीबीसी’ ले गरेको एक सर्वेक्षणमा दोस्रो सहस्राब्दी (सन् १००१–२०००) का सर्वाधिक प्रभावकारी दार्शनिकका रूपमा चुनिएका मार्क्सको लोकप्रियतामाथि थप भनिरहनु पर्दैन ।

वास्तवमा मार्क्स कठोर अध्येता थिए । धुरन्धर विद्वान् थिए । अविश्रान्त लेखक थिए । जुझारु पत्रकार थिए । कम्युनिस्ट लिग, प्रथम अन्तर्राष्ट्रियका सङ्गठक र ‘मेन्टर’ थिए । श्रमजीवी वर्गको मुक्तिका स्वप्नद्रष्टा थिए । समाजवादका आर्किटेक्ट थिए । त्यो प्राप्तिका लागि लडिरहेका सङ्घर्षका अभियन्ता थिए । पुँजीवादका निर्मम आलोचक थिए । एक अप्रतिम प्रेमी पनि थिए । स्नेहालु बाबु पनि थिए । दिलदार मित्र पनि थिए । सर्वोपरि रूपमा, उनी एक संवेदनशील मान्छे थिए ।

नाटकले जब्बर सिद्धान्तकार, क्लिष्ट अर्थशास्त्री, दुरूह दार्शनिकभित्र लुकेका यिनै स्वप्निल, मायालु र कोमल मार्क्सको व्यक्तिगत जिन्दगीको जीवन्त चित्रण गर्छ । उनी बाँचिरहेको समयको पुँजीवादको अमानवीय चेहरा देखाउँछ र उनले भोगेको जिन्दगीको चरम कष्ट दर्साउँछ । मैनबत्ती जस्तै आफू निख्रिएर मार्क्सलाई उज्यालो पारिरहने जेनीको प्रेरणादायी तस्बिर उतार्छ । चुलबुले, मेधावी र विलक्षण कान्छी छोरी इलिन्योरको व्यक्तित्वको पोर्ट्रेट खडा गर्छ ।

त्यतिबेला पनि आजजस्तै मार्क्सको नाम भजाएर खानेहरू रहेछन् । उनले लेखेका या बोलेका शब्द, वाक्यलाई जथाभावी उद्धरण गर्दै आफूलाई धुरन्धर मार्क्सवादी देखाउने, आन्दोलन कमजोर पार्ने र त्यसबाट आफ्नो दुनो सोझ्याउनेहरू रहेछन् उतिबेला पनि । त्यस्ता मान्छेहरूबाट वाक्क भएर मार्क्स उनीहरूलाई भन्छन्, ‘म मार्क्सवादी होइन क्यारे ।’ पिपर नाम गरेको पात्रको माध्यमबाट मार्क्सका यस्ता ‘अनुयायीहरू’ को मुखुन्डो नाटकमा उतारिएको छ । जेनीसँग उनको अन्तरङ्ग संवाद छ, जहाँ उनी सोध्छन्– ‘जेनी, म के कुराबाट सबैभन्दा बढी डराउँछु थाहा छ ?’ आफैं जवाफ दिन्छन्, ‘पिपरजस्ता मान्छेहरूबाट, जसले मेरा विचारहरूलाई तोडमरोड गरेर विकृत पार्नेछन् ।’

नाटकले सधैं लखेट्याइमा परेका मार्क्सको कष्टपूर्ण जिन्दगी र लन्डनमा उनले बिताएका कहरका दिनहरूको बयान गर्छ ।

समाजवादका नाममा भएका कतिपय सर्वसत्तावादी अभ्यासकै कारण मार्क्सवादबारे गलत भाष्य निर्माण गरिएको छ– मार्क्सवाद र स्वतन्त्रता विपर्यायी हुन्, समाजवादभित्र स्वतन्त्रता हुनै सक्दैन । तर, मार्क्स त्यसको ठीक विपरीत सोच्थे । नाटकमा उनी भन्छन्, ‘संसारमा पुँजीवादी साम्राज्यका ठाउँमा साम्यवादी साम्राज्य स्थापना गर्नु मेरो लक्ष्य होइन ।’ ‘कम्युनिस्ट घोषणापत्र’ को यो बहुचर्चित वाक्यांश दोहोर्‍याएर उनी आफूले देखेको समाजवादको सपनाको चर्चा गर्छन्, ‘हामी यस्तो सङ्घको निर्माण गर्न चाहन्छौं, जहाँ व्यक्तिको स्वतन्त्रता नै समाजको स्वतन्त्रताको पूर्वसर्त हुनेछ ।’

मार्क्सले व्यक्तिगत रूपमा असाध्यै पीडा भोगे । उनलाई विश्वविद्यालयबाट निकालियो । उनी आबद्ध पत्रिका बन्द गरियो । राइनल्यान्डको आन्दोलनमा सङ्लग्न भएबापत् जर्मनीबाट देशनिकाला गरियो । फ्रान्स पुगे, तर त्यहाँ पनि बस्न–खान दिइएन । ब्रसेल्स पुगे, त्यहाँबाट पनि लखेटियो । अनि उनी र उनको परिवारले लन्डनको एउटा पिछडिएको बस्ती सोहोमा सिङ्गो जिन्दगी गुजार्नुपर्‍यो । नाटकले लखेट्याइमा परेका उनको कष्टपूर्ण जिन्दगी र लन्डनमा बिताएका कहरका दिनहरूमाथि जीवन्त ढङ्गले वर्णन गर्छ ।

जब मार्क्स आफूहरूले घरका फर्निचर, गरगहना, लत्ताकपडा र यहाँसम्म कि जाडोका बेला ओभरकोटसमेत बन्धकी राखेर छाक टार्नुपरेको कथा सुनाउँछन्, हामीलाई यी महान् दार्शनिकको पीडा आफैंभित्र अवतरित भएझैं लाग्छ । ‘गुमाउनका लागि तिमीसँग नेल र हत्कडीबाहेक केही छैन, जित्नका लागि सिङ्गै संसार छ’ भनेर संसारभरका श्रमिकलाई उत्प्रेरित–उद्वेलित गर्ने मार्क्स जब आफ्ना तीन जना नानीहरू कसरी कुपोषण र बिमारीका कारण एक–एक गर्दै मरे भन्ने पीडादायी कथा अश्रुपुरित आँखाले वर्णन गर्छन्, दर्शकका आँखा नरसाइरहन सक्दैनन् । कति मार्मिक लाग्छ यो भनाइ, जब जेनीको मृत्युपछि उनको सम्झनामा टोलाउँदै मार्क्स भन्छन्, ‘अर्को जुनी हुनेरहेछ भने जेनी फेरि जन्मियून्, तर उनले मसँग विवाह नगरून्, किनभने उनले यस्तो दुःख पाएको म देख्न सक्दिनँ ।’

मार्क्सलाई आफ्नो लेखनी सरल–सुबोध बनाउन, सिद्धान्तमा मात्रै नरमाउन र लैंगिक प्रश्नमा अझै स्पष्ट हुन निरन्तर घच्घच्याउने, जस्तासुकै पीडालाई पनि धरतीजस्तै सहन गर्ने जेनीले दर्शकमाझ अमिट छाप छाड्छिन् । धन्न उनीहरूले एङ्गेल्सजस्ता साथी पाएका थिए, जसले प्रत्येक सुख–दुःखमा उनीहरूलाई आजीवन साथ दिइरहे ।

नाटकमा झुल्किने कान्छी छोरी इलिन्योरले दर्शकलाई नमेटिने सम्झना छाड्छिन् । आयरिस आन्दोलनकी समर्थक, अब्राहम लिङ्कनलाई सानै उमेरमा चिठी लेख्न सक्ने, बाबुआमासँग जमेर बहस गर्न सक्ने ती मेधावी इल्यिनोर ।

नाटकका अर्का बिर्सनै नहुने पात्र हुन् बाकुनिन– अराजक, उद्दण्ड, राज्य नामक संरचनाका अन्त्यहीन विरोधी र त्यसलाई नष्ट गर्नुपर्ने विचारका पैरवीकार, तर मार्क्सका साथी । उनीसँगको बहसमा मार्क्सका विचारका दूरदर्शिता, गाम्भीर्य र वैज्ञानिकताको थप अभिव्यक्ति प्राप्त हुन्छ ।

‘मार्क्स फर्किए’ मा मार्क्सको भूमिकामा एकदमै सुहाएका छन्– सुनील पोखरेल । सुनील आफैंमा एक तपस्वी हुन् । कलाका यी तपस्वीले विचारका तपस्वीका रूपमा खेलेको भूमिका जमेको छ । जेनीका रूपमा निशा शर्मा पनि निकै सुहाउँदिली छन् । इल्यिनोरका रूपमा अभिनय गर्ने सुनिशा बजगाईं, बाकुनिनको भूमिकामा चन्द्र नेपाली र अरू कलाकार सुवास तिमल्सिना, एलिजा तुम्बापो, राज न्यौपानेलगायतको अभिनय पनि गज्जबको छ ।

निर्देशक प्रवीण खतिवडाले नाटकलाई नेपालीपन दिने राम्रो कोसिस गरेका छन् । दृश्यपटमा देखिने धरहरा, पशुपतिले मात्रै होइन, ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने गीत, कर्णालीको लबज बोल्ने स्वर्गका सिपाहीहरू र मार्क्सले गरेको पुँजीवादको चरित्र–चित्रणको नेपाली सन्दर्भ पनि सुहाउँदिलो छ ।

मार्क्सका अनुयायीहरूले यो नाटक हेर्नुपर्छ र मार्क्ससँग आफूहरूका कुरा एवं कामको सङ्गति कहाँ मिलेको छैन– नियाल्नुपर्छ । मार्क्सलाई मन नपराउनेहरूले पनि नाटक हेर्नुपर्छ र उनीप्रतिको पूर्वाग्रह त्यागेर तटस्थ भावमा उनलाई हेर्नुपर्छ । आखिर अन्तिम सत्य ठानिएको पुँजीवादका सीमा, अमानवीयता र यसले गरेको भयावह विषमताबारे कसलाई पो थाहा छैन र ? आखिर न्याय र समानताका निम्ति चलिरहेको लडाइँ कहाँ रोकिएको छ र ?

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?