कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘पहिचान एकदमै अस्थायी विषय हो’

सानैदेखि लेखपढ संगीत र साहित्यमा सोख राख्ने उदय राई पछि कागजी चिनारीमा उद्धव राई बनेका हुन् । भोजपुरको छिनामखुमा जन्मे–हुर्केका उदय जीवनको छोटो समय शिक्षण, प्राध्यापन र बढी समय राष्ट्रिय–अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा आबद्ध रहे ।

‘पहिचान एकदमै अस्थायी विषय हो’

त्रिभुवन विश्वविद्यालयबाट ‘चेपाङहरूको खाद्य सुरक्षा’ मा पीएचडी (२०१३) गरेका राईले जीवनमा भोगेको–बेहोरेको अनुभव विचित्रको सुनिन्छ । ६१ वर्षीय राईको भर्खरै प्रकाशित किताब ‘कोशी किनारका पाइलाहरू’ को सेरोफेरोमा गरिएको कुराकानी :

तपाईं आफैं पनि पूर्वी पहाडको राई–लिम्बू समुदायबाट निस्किएर यहाँसम्म आउनुभएको छ । पूर्वी पहाडमै पनि आर्थिक/सामाजिक दुरवस्थाका आधारमा राई, लिम्बू वा बाहुन/क्षत्री समुदायसमेत सीमान्तकृत छन् । तर, सबै सरकारी/गैरसरकारी वा व्यक्ति/निकाय चेपाङ, राउटे, कुसुन्डातिरै खनिएका हुन्छन् । समाजशास्त्रीय अध्ययन पनि एकांकी बनेको हो त ?

अरूका कारण आआफ्नै होलान् । मलाई भने एउटा घटनाले छोएर चेपाङमा लागेको हुँ । यो सन् १९९८ तिरको कुरा हो । हुम्लामा झन्डै ५ सय जति मान्छे एकाएक मरेको समाचार आयो । खासमा नेपालगन्ज–सुर्खेतबाट चामल लगेर खाने रुटमा ‘ब्लकेज’ आएको रहेछ । त्यसबाट उब्जिएको भोकमरी र लगत्तैको हैजाले स्थिति भयावह बनेको रहेछ । त्यसैको अर्को बर्षतिर, चेपाङ समुदाय पनि मर्न थालेको खबर आयो । अनि म आफैं चेपाङ बस्तीमा पुगेर कारण खोज्न थालें । डाँडापारि सिंहदरबार छ, वारि भोकमरी । कसरी होला ? अध्ययनबाट थाहा भयो– चेपाङलाई सम्बोधन गर्ने खालको राज्य व्यवस्थाको नीति नै छैन । उनीहरूको खानेकुराको प्रकृति मिल्दो पद्धतिको विश्लेषण नै गरिएको छैन । मुस्किलले ७० हजारको संख्यामा रहेको यो जाति ‘बत्तीमुनिको अँध्यारो’ स्थितिमै रहेछ भन्ने थाहा भयो, नजिकै हामी चर्को उज्यालोमा छौं, उनीहरू ‘इन्क्ल्युजन’ को अर्थमा बत्तीमुनि बसिरहेकै छन् ।

अहिलेको बजारीकरण र विश्वव्यापीकरणले गर्दा परिवर्तन हुँदै छ, उनीहरू पनि भौतिकवादी बन्ने क्रममा छन् । यो समयचक्रमा आएको स्वाभाविक परिवर्तन हो । तर, योभन्दा बढी यो समुदायमा बाहिरी प्रभाव र पहुँचको फलस्वरूप सबैभन्दा बढी धर्मान्तरणको लहर देखिन्छ । समाजशास्त्री डिल्लीराम दाहालको एक अध्ययनमा नेपालमा सबैभन्दा बढी क्रिस्चियन धर्ममा लाग्ने समुदायमा राई र चेपाङ देखिएका छन् ।

समाजशास्त्रीय कुरा गर्दा आफ्नै दृष्टिकोण फेला पारेर तपाईं चेपाङतिर जानुभयो । तर, के अरू जातजातिबारेको कठिनाइ र सामाजिक–आर्थिक संकटपूर्ण अवस्थाबारे खोजी भएको छ ?

यो सबैतिर भएको छैन र हुँदैन पनि । नजर नपुगेको ठाउँमा अध्ययन पनि पुगेको छैन । जस्तो, ताप्लेजुङको कुनै अक्कर पहाडी कुनोमा एउटा बाहुन–क्षत्री अझै ओडारमा बसिरहेको होला, हुन सक्छ । यो भनेको राज्यले हेर्ने नीतिको कुरा छ । प्रतिव्यक्ति आय भनेझैं प्रतिव्यक्ति लगानीको कुरा पनि रहन्छ नै । शिक्षा/स्वास्थ्य/पोषणमा उद्धव राईले राज्यबाट कति पाउने, अर्को हर्के चेपाङले कति पाउने ? यो हिसाब हुनु जरुरी छ । सामाजिक न्यायको सिद्धान्त जहाँ पनि लागू हुनुपर्ने हो, त्यो भएको छैन ।

तपाईं छिनामखु हुँदै बाहिरी विश्वको भागदौडमा मिसिन आइपुग्नुभएको छ । तपाईं कोयु राई (बान्तवाभाषी) हुँदै आज पौड्याल (बाहुन) को ज्वाइँ बन्नुभएको छ । तपाईंको छोराछोरीले आज आफ्नै मातृभाषा (वालुङ) बोल्न सक्दैनन् । आखिरमा यो ‘पहिचान’ भनेको हो ? के ‘पहिचान’ स्थायी कुरा हो ?

होइन, पहिचान स्थायी कुरा हुँदै होइन, एकदमै अस्थायी हो । अस्थायी यस अर्थमा कि म भोजपुर बसें भने मेरो पहिचान अर्कै हुन्छ । काठमाडौं बसे पहिचान अर्कै भइसक्छ । भोजपुरमा बस्दा राई भाषा बोले मात्रै पुग्थ्यो होला, काठमाडौं आएपछि यसले मात्रै पुग्दैन । हङकङ वा अमेरिकाको पहिचान अर्कै हुन्छ । परिस्थितिअनुकूल पहिचान बन्छ नै । तर, यसलाई स्थायी बनाउनुपर्ने कुरा भने सबैभन्दा महत्त्वपूर्ण हो । पहिचानमा स्थायित्व भएन भने सबै कुरा सकिन्छ । नाम, शब्द, संस्कार, रहनसहन सबै सकिन्छ अनि अर्कै भइन्छ । यसकारण पहिचान स्थायी हुनुपर्छ भन्ने एउटा आदर्श हो, आइडल हो । यो आदर्शलाई नीति नियमले समर्थन गर्छ, गरेको हुनुपर्छ । पहिचानलाई जेगाउनुपर्छ भन्ने बुद्धिविवेक सायद सबै कुरा हराइसकेपछि मात्रै आउँछ होला ।

यहाँ त पहिचानको आवाज, नारा, आन्दोलन खुबै चलेको छ । तर, व्यवहारमा पहिचान कहाँ छ त ?

हो, पहिचान एकदमै क्षणभंगूर कुरा हो । अहिले पहिचान भावनाले मात्रै चलेको छ । आदर्शमा ठीक छ तर, व्यवहारमा ठीक छैन । कस्तो भइदियो भने सँगै बसिएको छ, तर तुरुन्तै बहिष्करणमा परिने स्थिति आएको छ । तपाईंले किरात प्रदेशको कुरामा संकेत गर्नुभएको होला । म यसमा भने किरातवादी हुँ, किनभने किरात भनेको संस्कृति हो, सभ्यता हो, सम्पदा हो । यसो भनिरहँदा मेरो किताब ‘कोशी किनारका पाइलाहरू’ भनेर निस्कियो । यो कोशीमा भावनाको संयोग मात्रै जोडिएको छ, पहिचानको अन्तर्य होइन ।

तपाईं के डायरी लेख्नुहुन्छ ? ‘कोशी किनारका पाइलाहरु’मा पुराना घटना र क्षणलाई रौंचिरा सम्झनुभएको छ । यो कसरी सम्भव भयो ?

हो, पहिले क्याम्पस पढ्दैदेखि मेरो डायरी लेख्ने बानी थियो, अझै छँदैछ । यसो हुँदा पुराना घटना र स्मृतिहरु केलाउन सजिलो हुने रहेछ । अबको क्रममा डायरीको दैनिकी कृति निकाल्ने योजनामा छु ।

तपाईं आफूलाई प्रभाव परेको कृति, लेखक ?

म जे सामुमा भेट्यो, त्यही पढ्छु । तर, कुनै किताब समातेपछि छाड्न मिल्दैन । मलाई सामयिक मनपर्दा लेखकको नाम सम्झँदा अमर न्यौपाने, बुद्धिसागर निकै मन पर्छ । बसन्त बस्नेतले हाम्रै पूर्वको कथा, कुरा (महाभारा) लेखेकाले यो पनि मन परेको छ । बाहिरका हकमा भने मण्डेला, लि क्वान युको पुस्तक पढेर म निकै समय उद्धेलित बनेको थिएँ । जिन्दगीको उतारचढाव पढ्न भने रिचर्ड ब्रान्सनको जीवनी पढेर म अचम्ममा परेको छु । नेपाली संगीत, संगीतकारको पुस्तकमा खुबै रुची छ । गणेश रसिक, पिटर कार्थकका कृतिहरु पढेको छु । मलाई पढ्न चाहेर पनि नपाएको विषय भने एउटै छ– बच्चुकैलाशको जीवन । रसिकले जोरसिमलको बिम्बमा रामेश–मन्जुलको कथानक लेखेझैं स्मृतिको मधुर सम्झना मलाई निकै प्रिय लाग्छ ।

तपाईंको किताब पढ्दा लेखक अमेरिका, बेलायत जता पुगे पनि पिखुवाको डिलमा बसेर गम खाइरहेको अनुभूति हुन्छ नि ?

हो नि । अहिले पनि म भोजपुर जाँदा यही कोशीको किनार भएर अघि बढिरहेको हुन्छु । उही पिखुवा खोला आएपछि तल कतै ढुंगाको चपेटीमा बसेर पिखुवामा हराइरहेको हुन्छु, आफ्नै आगत–विगत सम्झेर । मसँग मेरो छिनामखुदेखिको माटो, ढुंगा, पानी सबै आएको छ । मलाई धेरैले सोध्छन्–अमेरिका किन नबसेको ?

तस्बिर : अंगद ढकाल/कान्तिपुर

तर, म आफ्नो सपनामा सधैं त्यही ट्याम्के र मैंयु, अथवा त्यही पिखुवा मात्रै देख्छु । अमेरिकामा रहे पनि आफूले आफूलाई गुमनाम पाएपछि म कुदेर पिखुवा पुगिहाल्छु । ‘कोशी किनारका पाइलाहरू’ मेरो सपना र बिपनाको यही दोसाँधको स्मरण–किताब हो ।

प्रकाशित : चैत्र १८, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×