कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जिन्दगी एक सफर

किशोर कुमारका गीतमा प्रेम, दुःख र जीवनका कथा छन् । संगीत अनुरागी भन्छन्– किशोरको गीतले यस्तो संसारमा पुर्‍याओस्– त्यहाँ दुःख पनि नहोस्, आँसु पनि नहोस् ।

कहाँ गयी वो तेरी अहिंसा
कहाँ गया वो प्यार 
गान्धी तेरे देश में ये कैसा अत्याचार
बापू तेरे देश में ये कैसा अत्याचार ।।

जिन्दगी एक सफर

इन्दीवरको शब्द र कल्याणजी–आनन्दजीको संगीतमा सन् १९७८ मा किशोर कुमारले चलचित्र ‘नशबन्दी’ का लागि गाएको गीत हो यो । बापूको देशमा हिजो पनि अत्याचार थियो, आज पनि छ । अत्याचार जनताले मात्रै होइन, कला क्षेत्रले पनि सहनुपरेको छ । पछिल्लो समय त भाजपाकरण नहुने हो भने ‘एन्टी नेसनल’ र ‘अर्बन नक्सलिस्ट’ को ट्यागसमेत लाग्ने खतरा छ ।

सत्ताकै महिमा गाउन नमान्दा किशोर कुमारका गीतमाथि प्रतिबन्ध लगाइयो । प्रसंग हो, इन्दिरा गान्धीले लगाएको संकटकाल । सन् १९७५ जुन १२ मा अलाहाबाद उच्च अदालतले भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई चुनावमा धाँधली गरेकामा दोषी ठहर गर्‍यो । १९७१ को लोकसभा चुनावमा उनले उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट जितेकी थिइन् । तर, समाजवादी नेता राज नारायणले इन्दिराले धाँधली गरेको आरोपसहित उच्च अदालतमा चुनौती दिए । न्यायाधीश जगमोहन सिन्हाको आदेशले गान्धीको मात्रै होइन भारतीय राजनीतिमै तरंग ल्यायो । आदेशअनुसार, गान्धीको सांसद पद खारेज भयो । उनलाई अर्को ६ वर्ष कुनै निर्वाचित पदमा बस्न पनि प्रतिबन्ध लगाइयो । लगत्तै गान्धी नेतृत्वको सरकारले तत्कालीन राष्ट्रपति फखरुद्दीन अली अहमदलाई संकटकाल घोषणा गर्न सिफारिस गर्‍यो, जुन २१ महिना लम्बियो ।

संकटकालमा जनताका अधिकार कुण्ठित मात्रै गरिएन, विपक्षी दलका नेताहरूलाई जेल हालियो, सञ्चारमाध्यममाथि सेन्सरसिप बढाइयो । प्रधानमन्त्री गान्धीलाई छोरा सञ्जयले पनि साथ दिए । सञ्जयले कलाकारलाई पनि आफ्नो पक्षमा पार्ने प्रयत्न गरेका थिए ।

एक दिन दिल्लीबाट किशोर कुमारलाई फोन आयो, ‘सञ्जय गान्धीको कार्यक्रम छ । तपाईंले गाइदिनुपर्‍यो ।’ किशोरले प्रश्न गरे, ‘तपाईं को हो ?’ उताबाट जवाफ आयो, ‘बर्नी’ । उनी थिए सूचना तथा प्रसारण मन्त्रालयका सचिव एसएमच बर्नी ।

तत्कालै किशोरले भने, ‘मेरो सेक्रेटरीसँग अपोइन्टमेन्ट लिएर कुरा गर्नुहोला ।’ किशोरलाई कांग्रेसको एउटा र्‍यालीमा गाउन बोलाइएको थियो । भारतको समृद्धिलगायतका विषयमा जोड दिँदै लगाइएको संकटकालको चर्चा कलाकारहरूले गरिदिऊन् भन्ने चाहन्थे सञ्जय । आफ्नो अभिनय र स्वरको जादुले सबैलाई मन्त्रमुग्ध पारिरहेका किशोरमाथि सञ्जयको नजर परिहाल्यो । सरकारको प्रशंसामा जिंगल गाउन किशोरलाई आग्रह गरियो ।

पत्रकार तथा कवि प्रितीश नन्दीसँगको कुराकानीमा किशोरले उक्त घटनामाथि बोलेका छन् । ‘उनीहरू मकहाँ किन आए थाहा छैन । तर, कसैले पनि मलाई यो गर त्यो नगर भन्न सक्दैन । म कसैको निर्देशन र चाहनामा गाउन सक्दिनँ ।’

वार्ता यत्तिमै सकियो, तर लडाइँ बाँकी थियो । सरकारले किशोर कुमारका गीतमाथि प्रतिबन्ध लगायो । गान्धीको चाकडीमा लागेका तत्कालीन सूचना तथा प्रशारणमन्त्री विद्याचरण शुक्लको सक्रियतामा ‘अल इन्डिया रेडियो’ र ‘दूरदर्शन टेलिभिजन’ मा उनका गीत बज्न छाडे । त्यति मात्रै होइन, उनी संलग्न विज्ञापन पनि रोकियो । उनको नाम उल्लेख नगरी बजाउन भने दिइयो । त्यतिबेला ‘रेडियो सिलोङ’ बाट बज्ने लोकप्रिय सांगीतिक कार्यक्रम ‘बिनाका गीतमाला’ मा भने उनका गीत बजिरहे, जुन एउटा काउन्टडाउन सो थियो, जसमा किशोरका गीत ‘हाल कैसा है जनाब’, ‘जिन्दगी एक सफर है सुहाना’, ‘कोरा कागज था मन मेरा’, ‘खाई के पान बनारसवाला’ जस्ता कालजयी गीत वर्षको सर्वोत्कृष्ट ठहरिए ।

माफी मागे उनका गीतमाथिको प्रतिबन्ध हट्ने सरकारले सन्देश पठायो । किशोरले माफी नमाग्ने जिद्दी कसे, ‘माफी माग्ने त सवालै छैन । बरु गाउनै छाडदिन्छु ।’ केही समयपछि शुक्लाकै पहलमा घटनालाई ‘मत्थर’ पारियो । किशोर कुमारसँग जोडिएका यी र यस्तै किस्सा हालै सार्वजनिक उनको जीवनी ‘किशोर कुमार : द अल्टिमेट बायोग्राफी’ मा लेखिएका छन् । अनिरुध भट्टाचार्य र पार्थिव धरको संयुक्त लेखन रहेको जीवनी किशोरका किस्सैकिस्साले भरिएको छ । यसअघि पनि ‘किशोर कुमार : द डेफिनिटिभ बायोग्राफी, किशोर भालिचा’, ‘किशोर कुमार : भर्सेटाइल जिनियस, शशिकान्त किनिकर’, ‘किशोर कुमार : मेथड इन म्याडनेस, डेरेक बोस’ शीर्षकमा किशोरका जीवनी प्रकाशित छन् ।

किशोर कुमारका अनेकौं किस्सा छन् । स–साना घटनाक्रमलाई पनि भट्टाचार्य र धरले समेटेका छन् । सन् १९५० को दशक हुँदै ८० को दशकसम्म आउँदा भारतीय सिने तथा संगीत क्षेत्रमा निकै उतारचढाव देखिए । त्यसबाट किशोर कुमार पनि अलग रहन सक्ने कुरै भएन ।

जिन्दगी एक सफर है सुहाना

यहाँ कल क्या हो किसने जाना ।। (अन्दाज, १९७१)

हसरत जयपुरीको शब्द र शंकर जयकिशनको संगीत रहेको यो गीतले भनेझैं किशोर कुमारको फिल्मी र सांगीतिक जीवन बाहिरबाट हेर्दा निकै सफल देखिन्छ । सन् १९७० को दशकमा देवानन्द, राजेश खन्ना, शशि कपूर, जीतेन्द्र र सञ्जीव कुमारलगायतका कलाकारको वास्तविक आवाज बने किशोर कुमार । सबका थिए किशोर, सब थिए किशोर– अभिनेता, निर्देशक, गायक, गीतकार, संगीत निर्देशक ।

४ अगस्ट, १९२९ मा मध्य प्रदेशको खण्डवामा बंगाली परिवारमा जन्मिएका आभासकुमार गांगुली नै एक अद्भुत गायक किशोर कुमार रूपमा उदाए । दिदी सतीरानीबाट गायनको प्रारम्भिक ज्ञान सिकेका किशोरको गायकीलाई कुन्दनलाल साइगल, सचिनदेव बर्मन, खेमचन्द प्रकाशलगायत दिग्ग्जले निखारे । किशोरले धेरै चलचित्रमा अभिनयसमेत गरे । ‘नोकरी’, ‘बन्दी’, ‘बाप रे बाप’, ‘चल्ती का नाम गाडी’, ‘हाफ टिकेट’ उनको अभिनयकै कारण सम्झिनुपर्ने चलचित्र पनि हुन् । किशोरभन्दा पहिले नै सिने क्षेत्रमा स्थापित दाजु अशोक कुमारकै कारण उनी अभिनयमा आएका हुन् । एकताका ‘गांगुली ब्रदर्स’ भनेर चिनिने अशोक कुमार, अनुप कुमार र किशोर कुमार ‘चल्ती का नाम गाडी’ मा सँगै देखिए पनि । सत्यन बोसको निर्देशन र एसडी बर्मनको संगीत रहेको ‘म्युजिकल कमेडी’ मा मधुबालाको समेत अभिनय छ ।

किशोर कुमार भौतिक संसारबाट बिदा भएको ३५ वर्ष भइसकेको छ, तर पनि उनका गीतहरू अझै उत्तिकै लोकप्रिय र रुचिकर छन् । किशोर कुमार सबैका मनमा बसेका छन्, आनन्द बख्शीको शब्द र राजेश रोशनको संगीतमा उनैले गाएको यही गीतसरी :

छू कर, मेरे मन को, किया तूने, क्या इशारा

बदला ये मौसम, लगे प्यारा जग सारा । (याराना, सन् १९७१)

किशोरलाई कसैले अभिनेता मान्थे, कसैले गायक । तर, उनी अभिनयभन्दा गायनमै स्थापित भए । किशोरमाथि बनेको एक वृत्तचित्रमा अमिताभ बच्चन सम्झन्छन्, ‘किशोर कुमारबारे छोटो समयमा भन्न सकिन्न । उहाँ प्लेब्याक सिंगरभन्दा पनि निर्देशक कलाकार बढी हुनुहुन्थ्यो । उहाँ प्लेब्याक सिंगिङमा एक्सिडेन्ट्ली आउनुभयोजस्तो लाग्छ । उहाँले देवानन्दलगायतका कलाकारका लागि निकै नै राम्रा गीत गाउनुभयो । तर, उहाँमा इन्सानियत थियो । जतिसुकै व्यस्त, जतिसुकै खुसी र संकटमा भए पनि उहाँमा इन्सानियत थियो ।’

किशोर कुमार थिए ठट्यौली पाराका थिए, सहकर्मीसँग मजाक गर्न रुचाउँथे । उनका मजाकका अनेकौं किस्सा छन् । निर्देशकले एकपटक मद्रासमा ५ दिनसम्म सुटिङ सुरु नगरेपछि उनले आफैंले टाटेपाटे बनाएर कपाल काटेको प्रसंग चर्चित छ । उनी कहिलेकाहीँ सेटमा अहिलेका प्र्यांकस्टारजस्ता देखिन्थे ।

किशोरका गीत सामान्य लागे पनि कठिन हुने गायिका लता मंगेशकरको अनुभव छ । ‘लता : सूर गाथा’ शिर्षकको यतीन्द्र मिश्रसँगको कुराकानीमा लता मंगेश्कर भन्छिन्, ‘तपाईं महिलाको कस्तो स्वर सुन्न चाहन्छु भन्ने कुरा तपाईंलाई नै छाड्न चाहन्छु । तर, पुरुष आवाजको कुरा गर्नुपर्दा किशोर कुमारले जस्तो गाउन सक्ने होस् ।’ किशोर प्रेम र उदासी गीत दुवैलाई आफ्नो स्वरले जीवन्त बनाउँथे । अमिताभ बच्चनका लागि ‘डन’ फिल्म गाएको ‘खाई के पान बनारसवाला’ सुन्दा सामान्य लागे पनि त्यो गाउन निकै कठिन भएको लताको भनाइ छ ।

किशोरसँग सन् १९८५ मा ‘द इलुस्ट्रेटेड विक्ली’ का लागि अन्तर्वार्ता लिएका प्रितीश नन्दी भन्छन्, ‘गायनमा उनी अद्भुत थिए । अभिनेताका रूपमा उनले केही सफलता हात पारे भने धेरै असफलता । केही चलचित्र त आफैँले बनाए पनि ।’ आयकरको लफडाबाट बच्न पनि किशोरले जानीजानी फ्लप फिल्म बनाएसमेत भनिन्छ । किशोर भारतीय उपमहाद्वीपमा मात्रै सीमित बन्न चाहन्थेनन् । उनले नन्दीसँग अंग्रेजी गीत गाउने चाहनासमेत राखेका थिए । तर, त्यतिबेला पश्चिमाहरूले हिन्दुस्तानी संगीतमा चासो नदिएकाले पनि त्यो काम पूरा नभएको नन्दीको बुझाइ छ ।

देवानन्द र राजेश खन्नाको आवाज

सुरुदेखि नै देवानन्दको रोजाइमा थिए किशोर । उनले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइभ’ मा उक्त प्रसंग उल्लेख गरेका पनि छन् । उनी भन्छन्, ‘जब–जब मलाई आवश्यकता हुन्थ्यो किशोरले मेरा लागि गाएका छन् । रेकर्डिङ स्टुडियोमा माइक्रोफोनअगाडि उनी देवानन्दको भूमिका निभाउन तयार थिए ।’

राजेश खन्ना किशोरको गायनबारे भन्छन्, ‘किशोरको गाना मैले गाएजस्तै लाग्थ्यो ।’ शशिकान्त किनिकर पनि ‘किशोर कुमार : भर्सेटाइल जिनियस’ मा लेख्छन्, ‘किशोर आराधनाका निर्माता–निर्देशक शक्ति सामन्तसँग गीतको रेकर्ड सुरु गर्नुभन्दा अगाडि राजेश खन्नासँग भेट्न चाहन्छु भन्थे ।’

किशोर कुमारले शास्त्रीय गायन सिकेका थिएनन् । तर, उनी शास्त्रीय गायनका धुरन्धर पण्डित भीमसेन जोशी, एटी कन्नन, कुमार गन्धर्व, अजोय चक्रवर्ती, मन्ना डेलगायतका लोकप्रिय थिए । बंगालमा एकताका किशोरबारे भनिन्थ्यो पनि, ‘किशोर कुमार क्लासिकल जाने ना ।’ किशोरको गायनको प्रशंसा गर्दर् ैपद्मभूषण र दादा साहेब फाल्के पुरस्कार विजेता मन्ना डे भन्छन्, ‘शास्त्रीय संगीत नजानेका किशोर कुमारसँग गाउन मलाई घबराहट हुन्थ्यो ।’ कहिलेकाहीँ शास्त्रीय संगीतका ज्ञातालाई पनि किशोरसँग गाउन निकै कठिन हुन्थ्यो । ‘अमीर गरिब’ को ‘मेरे प्याले में सराब डाल दे’ गाउँदा निकै गाह्रो भएको डेको सम्झना छ ।

यसैमा एउटा अर्को प्रसंग पनि छ– चलचित्र ‘मेहबूबा’ को । ‘मेरे नैना सावन भादों’ किशोरले लतासँग गाए । संगीतकार आरडी बर्मनले उक्त गीत शिवरागिनी रागमा आधारित रहेको किशोरलाई बताए । किशोरले मजाकिया पारामा भने, ‘राग कि ऐसी कि तैसी ।’ बर्मन किशोरलाई निकै प्रतिभाशाली गायकका रूपमा चित्रण गर्छन् । सुरुमा किशोरले गाउन गाह्रो माने । पहिले लतालाई गाउन दिइयो । लताले गाएकै सुनेर उनले एक हप्तामा ‘पर्फेक्ट’ गाए, जुन गीत अहिले पनि संगीतपारखीहरूको रोजाइमै छ । त्यस्तै राग यमनमा रहेको ‘छू कर मेरे मन को’ ले पनि धेरैको हृदय स्पर्श गरेको छ ।

अभिनेता शशि कपूर पनि किशोरका फ्यान हुन् । उनी किशोरलाई यसरी सम्झन्छन्, ‘म संगीतको जानकार त होइन, तर किशोर दा कमेडी, रोमान्टिक सिरियस, पेस र हाइपिचवाला सबै गीत निकै सुन्दरसँग गाउनुहुन्थ्यो । उहाँका गीत सुन्दा निकै आनन्द आउँछ ।’

चलचित्र र गायनमा दबदबा बनाएका किशोरलाई स्टेजमा ल्याउन भने सुनील दत्तको भूमिका छ । सुनील भन्छन्, ‘मैले स्टेजमा पनि गाउनुपर्छ भनेर निकै जोडबल गरेँ, त्यसपछि किशोर कुमार सिक्किमको नथुला बोर्डरनजिकै रहेको सैनिक क्याम्पमा गाउन तयार हुनुभयो ।’ त्यहाँ किशोरले गाएका थिए ः

मेरे सपनों की रानी

कब आयेगी तू

आयी रुत मस्तानी

कब आयेगी तू । (आराधना, सन् १९६९)

किशोर र निर्देशक सत्यजित रेको सम्बन्ध पनि सम्झनलायक छ । रेलाई सम्झिँदा नछुट्ने ‘पथेर पांचाली’ बनाइरहँदा किशोरले ५ हजार सापटीसमेत दिएका थिए । पछि रेले उक्त सापटी तिरे पनि । किशोरले रेको चलचित्र ‘चारुलता’ का लागि दुइटा गीत पनि गाए, तर पारिश्रमिक लिएनन् ।

विवाहका छुट्टै किस्सा

किशोरले चार विवाह गरे– रुमा गुहा, मधुबाला, योगीता बाली र लीना । रुमासँग जीवनलाई हेर्ने दृष्टिकोण नमिल्दा किशोर अलग भए । रुमा विवाहपछि पनि गायन र अभिनयमै आफ्नो करियर अगाडि बढाउन चाहन्थिन् । तर, किशोर उनकै शब्दमा ‘गाउँले टाइप’ का थिए । उनी रुमाले घर सम्हालून् भन्ने चाहन्थे । त्यसैमा कुरा मिलेन, अनि अलगअलग बाटो रोजे । रुमा र किशोरका छोरा अमित कुमार पनि भारतीय गायनमा स्थापित नाम हो ।

रुमापछि किशोरको जीवनमा आइन्– मधुबाला । ‘बेगम मुमताज जेहान देहलवी’ बाट ‘बेबी मुम्ताज’ हुँदै हिन्दी चलचित्रमा ‘मधुबाला’ का रूपमा चर्चित भएकी हुन् । उनलाई मुटुरोगले च्यापेको थियो । उनीसँग किशोर भावनात्मक रूपमा जोडिएका थिए । उनी भन्थे, ‘म उनीसँगै हाँस्थेँ, सँगै रुन्थेँ ।’ उनीहरू सन् १९६० देखि १९६९ सम्म सँगै रहे । मधुबाला आफैं भारतीय सिने क्षेत्रमा ‘द ब्युटी अफ ट्रेजेडी’ का रूपमा परिचित थिइन् । ‘बरसात की रात’, ‘मुगल–ए–आजम’, ‘अमर’ लगायत चलचित्रमा उनको दमदार अभिनय छ । ३६ वर्षको उमेरमै सन् १९६९ फेब्रुअरीमा उनको निधन भयो ।

मधुबालाको निधनको ७ वर्षपछि किशोरको जीवनमा आइन्– अभिनेत्री योगीता बाली । किशोरसँग उनको सम्बन्ध खासै जमेन । २ वर्षमै अलग भए । बाली भन्थिन्, ‘किशोरले समय नै दिएनन्, रातभरि पैसा गनिबस्थे ।’ नन्दीसँगको अन्तर्वार्तामा किशोरले यसको जवाफ दिएका छन्, ‘त्यस्तो लाग्छ तपाईंलाई ? के म पागल छु ? जे होस् छिट्टै छुट्टियो राम्रै भयो ।’ योगीता र किशोर सन् १९७८ मा अलग भए । त्यसको एक वर्षपछि उनले अभिनेता मिथुन चक्रवर्तीसँग बिहे गरिन् । त्यसपछि किशोरको जीवनमा आउने अभिनेत्री हुन्– लीना चन्दावरकर । त्यो विवाह किशोरका लागि चौथो थियो भने लीनाका लागि दोस्रो । लीनाका पहिलो पति व्यवसायी सिद्धार्थ बंडोडकरको एउटा बिहे पार्टीमा आफ्नै रिभल्भरबाट अचानक चलेको गोली लागी मृत्यु भएको थियो ।

साढे २ हजारभन्दा गीत गाएका किशोर कुमार २७ पटक फिल्मफेयर अवार्डमा सर्वोत्कृष्ट गायकका लागि मनोनीत भए । उनले ८ पटक अवार्ड हात पारे । किशोर–किस्सा धेरै छन्, सबै नसम्झन पनि सकिँदैन, सम्झिन पनि मुश्किल छ । सम्झिने भन्ने पनि आखिर रुचिकै कुरा त हो । हामी हाम्रा रुचिका चिज मात्र त सम्झिन खोज्छौं । किशोर–किस्सा एउटा लेखमा सम्भव पनि छैन । त्यसका लागि किशोरमाथि लेखिएका विभिन्न जीवनी पढ्नैपर्छ, उनीमाथि बनेका वृत्तचित्र हेर्नैपर्छ ।

किशोरका गीतले प्रेम, दुःख र जीवनका कथा बोलेका छन् । सबैलाई लाग्छ, किशोरको गीतले यस्तो संसारमा लैजाओस्, जहाँ दुःख पनि नहोस्, आँसु पनि नहोस् ।

आ चल के तुझे में ले चलुँ

ऐसे गगन के तले

जहाँ गम भी ना हो

आँसु भी ना हो

(दूर गगन कि छावों में)

प्रकाशित : चैत्र ११, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?