भोक, भोग र सम्भोगको यात्रा

यो यौनकथा होइन । भोक, भोग र सम्भोग–दर्शनको कथा हो । मान्छेको सबैभन्दा ठूलो चिन्ता नै भोक हो ।
दिनमान गुर्मछान

आकर्षण पनि बनिदिँदोरहेछ– नाम । भन्न त भन्छन् मान्छेहरू– नाममा के छ र ? तर, त्यो भन्नेहरू नै नामको पछि दौडिरहेका हुन्छन् । आख्यानकार शिवप्रकाशको उपन्यासको सन्दर्भमा पनि भन्न सकिन्छ– नामै काफी छ । यसअघि पनि शब्दकोशमै नभएको शब्द शीर्षकमा प्रयोग गरेर उनका दुई कथासंग्रह छापिएका छन् ।

नितान्त नयाँ नाम राख्ने उनको यो शैलीको अर्को निरन्तरता हो– समभोक । उपन्यासले भन्छ– भोककै कारण मान्छे बाँचेको छ, दौडेको छ अनि संघर्षरत छ । ‘समभोक’ उपन्यासको माध्यमबाट शिवप्रकाशले समाजको फरक कथावाचन गरेका छन् ।

देश छाडेर होइन परिवार छाडेर बिदेसिनेको भोक कस्तो हुन्छ ? ‘समभोक’ ले त्यो कथा भन्छ । अमेरिकामा समयको अभाव छ, कामको चाप छ, त्यो अभाव र चापबीच पनि मान्छेहरू मन मिल्ने साथीको खोजीमा हुन्छन् । केही आकर्षणले मान्छे केही विषयमा तानिन्छन् केही माध्यमले । र, व्यस्तताको बावजुद पनि अर्को मान्छे भेट्न आतुर हुन्छन्, जसका लागि सबै व्यय भोग्न पनि तयार हुन्छन् । आतुरी र संयमतालाई मान्छेले सदुपयोग गरेन भने दुर्घटना घट्न सक्छ । भोक, भोग र सम्भोगको चेत चैतन्यमा पर्न पनि संयमताको खाँचो पर्छ भन्छ– समभोक ।

इशु, जसलाई मुख्य पात्र बनाएर भोकका अनेक आयाम बताउँदै शिवप्रकाशले कथा भनेका छन् । पाठकलाई लाग्छ– इशु भोगको भोको छ । तर, ऊसँगै लहसिएकी सुवीको भोकचाहिँ के हो ? यो रोचक कथाको गाँठो कस्दै–कस्दै पाठकलाई अमेरिकाका सहरहरू घुमाइदिन्छन् लेखक । उसो त फूलकुमार, अँणबहादुर, सुन्दासको साँझको पार्टीपछिको संवाद सुन्दा लाग्छ– अमेरिकामा पुगेर आप्रवासी नेपाली उतैका भइसके । अर्थात् सेक्स–फ्री भूगोलमा बसेर निकै फ्री सोच्ने भइसके । तर, वास्तवमा अवचेतन मनका ढोका खोलेर हेर्ने हो भने उपन्यासले आखिरमा मान्छे भोककै लागि त भौंतारिने रहेछ नि भन्छ । किताब पढेपछि लाग्छ, अन्तरमनको सन्तुष्टि नै जीवनमा ठूलो विषय रैछ ।

भोकको कारण मान्छेले के गर्दैन ? भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकका अगाडि मान्छे जस्तो पनि बन्न सक्छ । इशुको भोक यस्तै छ । पाँच वर्षसम्म उसको भोकले एउटा तपस्या नै गरेझैं लाग्छ । भोक मेट्न कोही पाँच वर्षसम्म पनि पर्खिन सक्छ ? यो त एउटा तपस्या नै हो । यहाँसम्म कि इशुका साथीहरू मामासिताको भोकमा चुर्लुम्म डुब्दा पनि इशु इमानदार छ । मान्छेले भोकमा जे गरे पनि इमानदारीचाहिँ त्याग्नु हुँदैन भन्छ किताब । तर, त्यही भोकको परिभाषाको अनेक रूप देखाउन सुवी काफी छ । पुरुषलाई मोह–पासमा अल्झाएर दुहुनो गाई बनाउन महिला कति अग्रसर हुन्छन् ? यो बुझ्न सुवीलाई पढे हुन्छ । सुवीको पछि लाग्दालाग्दै पनि इशुको भोक टरेको चाहिँ छैन, जसले पाठकलाई झन् व्याकुल बनाइसक्छ । यो व्याकुलतामै छ– उपन्यासका लामा घटना र रोचक पक्ष ।

शिवप्रकाशको ‘समभोक’ को सुन्दर पाटो भनेकै पाठकलाई अल्झाइराहने खुबी हो । इशुको भोकको विसर्जन कतिबेला होला ? कौतूहलको बन्दी बनेर पाठक किताबमा डुबिरहन्छ । उपन्यासको तीन खण्डमा सुवीको पछिपछि लागेर पनि इशुको भोक मेटिँदैन र मुग्धासँग भेट पुग्छ । तेस्रो खण्डमा सिन्धुका टुप्लुक्क आइपुग्छे कथामा, जसले इशुको जीवनमा नयाँ मोड ल्याइदिन्छ । हुन त भोक, भोग र सम्भोगको तीन घुम्ती यहीँ भेटिन्छ । यही तीन घुम्तीमा छ– सुन्दासजस्तो लोग्ने र सुवीजस्तो स्वास्नीको कथा । घटनाहरूले कथा, अवस्था र जिन्दगी बताइरहे पनि पाठकलाई लाग्न सक्छ, भोकको ज्यादती भइरहेको छ । सुन्दास जसरी परस्त्रीको भोको छ उसैगरी सुवीमा पनि परपुरुषको भोक छ । यसले अमेरिकाको फ्री–सेक्सको झल्को दिएको छ । भोकका विभिन्न आयाम र चरण छन् । भोक सबैतिर छ । व्याप्त भोकको पछि लाग्नेको हालत के हुन्छ ? भोकको परिणाम बुझ्न पनि ‘समभोक’ पढ्नैपर्छ ।

यो प्रवासी नेपालीको कथा हो । परिवेशचाहिँ अमेरिका । अनि पात्रहरूको रवैया उही ‘छाडा छोडिएका’ मान्छेको झैं छ । दुःख गरेर आयआर्जन गर्न पुगेको ठाउँमा समेत भोकको चपेटामा परेर मान्छे कस्तोसम्म हुन्छ ? यो बुझ्न किताब सहयोगी छ । पाठकले किताब पढेरै कथा र घटनाको माध्यमबाट अमेरिका बस्नेलाई छाम्न सक्छन् । त्यसमाथि भोकले जीवनलाई कतिसम्म दौडाएको छ भने उपन्यासको हरेक घटनाले कौतूहल जगाइदिन्छ ।

तर, पाठक एउटै भुमरीमा फसिरहन पनि चाहँदैनन् । जतिबेला पनि भोकको वर्णनले पाठकलाई बोर लाग्न सक्छ । उसलाई आजित पनि बनाउन सक्छ । कथा एकोहोरो बगे पनि किताब सक्ने लालशाले भने तानिरहन्छ । यो यौनकथा होइन । भोक, भोग र सम्भोगको दर्शनको कथा हो । छोटो, मीठो वाक्य–गठन र रसिलो कथाले पाठकलाई आनन्दित तुल्याउन सक्छ । किताब पढेपछि लाग्छ– भोक मान्छेको सबैभन्दा ठूलो बौद्धिकता हो, बौद्धिक सम्पत्ति हो, मान्छेको चिन्ता नै भोक हो । भोकको भुलभुलैयामा भुलिरहन ‘समभोक’ पढ्नुस् ।

प्रकाशित : चैत्र ११, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेली नेपाली साहित्यको रूपरेखा

कान्तिपुर संवाददाता

प्राचीन नेपालमा काठमाडौं नजिकैको काभ्रेको संस्कृति समृद्ध थियो, आधुनिककालमा पनि छ । तर, आधुनिककालबारे भने त्यति जानकारी पाइन्न । काठमाडौं उपत्यकाको तुलनामा काभ्रेको वास्तुकला, संगीत, नाट्य, भाषा–साहित्यलगायतको अध्ययन कमै भएको छ ।

यस अर्थमा काभ्रेको साहित्यको इतिहासको परिचय र वर्तमान अवस्थितिको जानकारी समेटेर पुस्तकको आकार दिएका विजय सापकोटाको काम सराहनीय छ । पाठकले यो पुस्तकमा काभ्रेको भाषा–साहित्यको गतिविधि, त्यसमा संलग्न संस्था, व्यक्तिहरूको परिचय पाउँछन्, थप बुझ्न सन्दर्भसूची पनि ।

कुनै भूगोलविशेषको साहित्यिक सक्रियताले त्यहाँका पाठकलाई, समग्र समाजलाई नै सचेत बनाइरहेको हुन्छ । लेखकलाई पनि तिखारिरहेको हुन्छ ती गतिविधिले । काठमाडौं र अरू ठूला सहरमा यस्तो साहित्यक माहोल बढी हुन्छ । तर, धेरै स्थानका गतिविधिको खोजबिन गरेर पाठकसमक्ष ल्याउन सकिएको छैन । यस्तोमा काभ्रेको साहित्यको परिचय दिन सापकोटाले गरेको प्रयास अनुकरणीय छ । यो पुस्तकमा काभ्रेको साहित्यक लेखन, प्रकाशन र गतिविधिको गम्भीर विश्लेषण नभेटिए पनि, यसले हिजो र आजको सर्वेक्षण भने गरेको छ ।

सापकोटाले १३ अध्ययामा काभ्रेको साहित्यिक पत्रपत्रिका, संस्थाहरू, तिनका केकस्ता गतिविधि भएदेखि महत्त्वपूर्ण अभियान तथा घटनालाई समेटेका छन् । बाल साहित्य, समालोचना, निबन्ध, नाटक, उपन्यास, कथा, कविताजस्ता विधिमा काभ्रेका कुन लेखकले कहिले र कहाँ के लेखे भन्ने कुरालाई पनि खुट्याएका छन् । पुस्तकको अर्को सबल पक्ष हो– काभ्रेमा रहेका विभिन्न जाति विशेषका लोकगीतका कुरा । जस्तो असारे, झ्याउरे, घासे, जुहारी, सेलो, मारुनीलगायतको पनि परिचय किताबमा पाइन्छ ।

काभ्रेपलाञ्चोकको साहित्यिक रूपरेखा सम्रग नेपालकै पनि हो । स्थानविशेषको साहित्यिक विकासक्रमसँगै लोकसंस्कृतिको खोजी–प्रकाशन सबैतिर उत्तिकै आवश्यक छ । साहित्यको अन्वेषण सहज भने छैन ।

लेखक : विजय सापकोटा

प्रकाशक : कलम प्रकाशन

मूल्य : ५३५ रुपैयाँ

प्रकाशित : चैत्र ११, २०७९ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×