बाँझो जमिनको उकुसमुकुस- कोसेली - कान्तिपुर समाचार

बाँझो जमिनको उकुसमुकुस

मिखाइल सोलोखोभको उपन्यास ‘भर्जिन स्वायल अपटर्न्ड’, जसले देखाउँछ– सोभियत सङ्घमा समाजवाद निर्माणका सुरुवाती दिनका तस्बिर
प्रदीप ज्ञवाली

मास्कोबाट झन्डै १५ सय किलोमिटर टाढा, दक्षिणी रुसको दोन क्षेत्रको सानो गाउँ ग्रेम्याची । शान्त र सुनसान देखिने त्यस गाउँमा सन् १९३० को जनवरीको एक चिसो साँझ एक अपरिचित मान्छे घोडा चढेर आउँछ र ‘याकोभ लुकिचको घर जाने बाटो कुन हो ?’ भनी सोध्छ । अर्को मान्छे अर्कै बाटो स्लेज चढेर आइपुग्छ र ‘ग्राम–सोभियतको कार्यालय कता पर्छ ?’ भनेर खोजिनिती गर्दै कार्यालयतिर सोझिन्छ ।

गाउँ पस्ने समय एकैजस्तो भए पनि दुई जनाको उद्देश्य भने नितान्त भिन्न छ । याकोभ लुकिचको घर सोध्दै आउने मान्छे पूर्वश्वेतसेनाको क्याप्टेन पोलोभ्त्सेभ थियो, सोभियत सत्ताविरुद्ध प्रतिक्रान्ति सङ्गठित गर्न हिँडेको । ग्राम– सोभियतको खोजीनीति गर्नेचाहिँ पूर्वनाविक, पछि कारखाना– श्रमिक र प्रतिबद्ध कम्युनिस्ट सेम्योन दबिदोभ थियो, कम्युनिस्ट पार्टी जिल्ला कमिटीबाट ग्रेम्याचीमा कृषिको सामूहिकीकरण सफल पार्न खटिएको ।

मिखाइल सोलोखोभको चर्चित उपन्यास ‘बाँझो जमिनको कर्षण’ (भर्जिन स्वायल अपटर्न्ड) यसरी सुरु हुन्छ । उपन्यास एकातिर सामूहिक खेतीमार्फत किसानलाई समृद्ध बनाउने दबिदोभ, सोभियत अध्यक्ष राज्मातायेभ र स्थानीय पार्टी सचिव मकार नागुल्नोभको अभियान र अर्कातिर धनी एवं मध्यम किसानलाई भड्काएर त्यसलाई असफल पार्ने पोलोभ्त्सेभहरूको प्रयासवरिपरि घुम्छ ।

आख्यानले सय वर्षअघि सोभियत सङ्घमा समाजवाद निर्माणका सुरुवाती दिनको कथा भन्छ । आज सोभियत ढाँचाको समाजवाद छैन, न त सोभियत सङ्घ नै छ । तर, इतिहासको एउटा महत्त्वपूर्ण कालखण्ड बुझाउने कथावाचन भने गज्जबको छ । उपन्यासमा विभिन्न द्वन्द्व मसिनो गरी बुनिएका छन्, गलैंचाजस्तै । सामूहिक सम्पत्तिभित्र सुख खोज्नेहरू र निजी सम्पत्तिप्रति अथाह मोह राख्नेहरूबीचको द्वन्द्व । विश्व क्रान्तिको सपना देख्ने र विश्व प्रतिक्रान्तिको पर्खाइमा बस्नेबीचको द्वन्द्व । जिन्दगीलाई सकेसम्म रमाइलोसँग बिताउन साथ खोज्दै हिँड्नेहरू र विवाहलाई बोझ ठान्नेबीचको द्वन्द्व । प्रकृति र मानवबीचको द्वन्द्व । अक्टोबर क्रान्तिपछि भर्खर एक दशक बितेको अवस्था । युद्धका धङधङी कायमै रहेको । स्तालिनको सत्ता । पार्टीमा नोकरशाही र अतिवाद हुर्किंदै गरेको । युद्धका कारण थङथिलो भएको अर्थतन्त्र । रुसी जनताको कठोर जिजीविषा । सामूहिक खेतीमार्फत अन्न उत्पादनमा छलाङ मार्दै समृद्ध समाज निर्माण गर्ने बोल्सेभिकहरूको सङ्कल्प । व्यक्तिगत खेतीमै रमाउन चाहने कज्जाक किसानहरू । यिनै द्वन्द्व र यथार्थका बीचबाट उपन्यास दोनजस्तै सलल बग्छ ।

अलिकति निजी सम्पत्तिप्रतिको स्वाभाविक माया । अलिकति सामूहिकीकरण सम्बन्धमा फैलाइएका भ्रम । अनि अलिकति धनी किसान (कुलाक) हरूको संगठित प्रतिरोध । किसानहरूलाई सामूहिक खेतीमा सामेल गराउन सजिलो छैन । एउटी महिलाले पालेको हाँस खोसाखोस हुँदा त्यसको घाँटी चुँडेको र सामूहिक फर्ममा पुग्दा आफ्नो घोडालाई अलि बढी दाना दिएको प्रसंगमार्फत् सोलोखोभले यस मनोविज्ञानको जीवन्त चित्रण गरेका छन् ।

कम्युनिस्टहरूका अतिवादी गल्ती । भनेको नमान्ने किसानहरूलाई तर्साउँछन् । गोरु र घोडा मात्रै होइन, कुखुरा, हाँस, बाख्राजस्ता घरपालुवा पशुपन्छीको समेत सामूहिकीकरण गर्छन् । कुलाक ठहर्‍याइएकाहरूको सम्पत्ति जफत गरेर निर्वासित गर्छन् । उनीहरूबाट हातहतियार, लत्ताकपडा, गरगहना र निजी सरसामान समेत खोसेर गरिबहरूलाई बाँडिन्छ । बिचरा वृद्धवृद्धा र छोरी– बुहारीहरू । घरायसी सामान र गहना कपडा जोगाउन मौन प्रतिवाद गर्छन् । क्रान्तिका नाममा मानवीयताको मसिनो रेखा पनि मिचिँदै गरेको दृश्य देखिन्छ । जसोतसो कृषिको सामूहिकीकरण हुन्छ । सुरुसुरुमा मिहिनेती र कामचोर छुट्याउनै गाह्रो । बीउ छर्ने बेला कसैले उचाल्छ र हल्ला फैलिन्छ– ग्रेम्याची गाउँको बीउ त जफत गरेर पार्टीले रातारात अन्तै लैजाँदै छ । सिङ्गो गाउँ उल्टिन्छ र रोप्न ठिक्क परेको बीउ लुट्छ । रोक्न खोज्नेहरूलाई रामधुलाइ हुन्छ ।

बिचरा पार्टी सचिव नागुल्नोभ । एकातिर आज मात्रै सफाइको मौकासमेत नदिईकन नोकरशाहहरूले प्रतिक्रान्तिकारीको बिल्ला लगाइदिएर पार्टीबाट निकालेको पीडा छ, अर्कातिर किसानहरूको सामूहिक सम्पत्ति र भविष्य जोगाउने चिन्ता । पीडा बिर्सेर ज्यान हत्केलामा राख्दै प्रतिवाद गर्छ । गाउँलेहरूलाई सम्झाउँछ । बीउ फिर्ता गराउँछ । कृषिको सामूहिकीकरणमा अतिवादी गल्ती नगर भन्ने आशयको प्राभ्दामा छापिएको स्तालिनको लेखले भूलसुधार गर्न सहयोग पुर्‍याउँछ । किसानबाट असुल गरिएका कुखुरा, बाख्रा, हाँस र घरायसी सामानहरू फिर्ता गर्छन् । समर्थनको दायरा बढाउँदै लैजान्छन् । सामूहिक खेती हुन्छ भव्य र सफल । तर, अर्कातिर अर्कै खेती चल्दै छ ।

याकोभ लुकिचको घरमा लुकेर बसेको पोलोभ्त्सेभ गाउँका कुलाकहरूलाई गोप्य रूपमा भेला गरिरहेको छ । श्वेतसेना ठाउँठाउँमा संगठित हुँदै गरेको, आफूहरूले छिट्टै सोभियत व्यवस्थाविरुद्ध धावा बोल्ने र त्यसपछि मित्र राष्ट्रका सेनाहरू लडाकु विमानसहित रुसमा उत्रिने सपना देखाउँदै विभिन्न कुकर्ममा लाग्न दुरुत्साहन गर्छ । तर, कुलाकहरू हिचकिचाउँछन् । खोप्रोभ भन्छ– म अब सोभियतविरुद्ध लाग्दिनँ । बरु हिजोका गल्तीका निम्ति माफी माग्छु, चुपचाप बस्छु । तिमीहरूको प्रयास सफल पनि हुन्न । आखिर तिमीहरू अरूलाई उचाल्ने र अप्ठ्यारो परे लुसुक्क भाग्ने त हौ ।’

भेला भाँडिन्छ । रिसले चुर भएका पोलोभ्त्सेभ र याकोभ लुकिचले खोप्रोभ तथा उसकी श्रीमतीको नृशंस हत्या गर्छन् । पोलोभ्त्सेभ लुकेर बसेको कुरा छिमेकमा चुहाएकी आमालाई लुकिचले गोप्य कोठामा थुनेर खार्न नदिई तड्पाएर मार्छ । उपन्यासका केही पात्र बिर्सिनसक्नुका छन् । जस्तै बातैपिच्छे ‘ठ्याक्कै’ थेगो हाल्ने उपन्यासको मुख्य पात्र दबिदोभ । ऊ जीवन्त छ, व्यावहारिक छ र कामकाजी पनि । आफैं उदाहरण बनेर काममा जोतिन्छ । हरबखत उत्पादन वृद्धि गर्न उपाय खोजिरहन्छ । अरूलाई सहयोग गर्छ । शिशुहरूका लागि किन्डरगार्डेन खोल्छ, नयाँ मेसिन ल्याएर श्रमलाई सहज तुल्याउँछ । उभित्र प्रेमको तिर्खा छ । एकपल्ट जवान, दिलदार र हँसिली लुस्कासँग झन्डै नफसेको । लुस्का प्रतिक्रान्तिको सेवामा लागेकी छे भन्ने थाहा पाएपछि ऊ झसङ्ग हुन्छ । तर, बिर्सन सक्दैन । जस्तै पार्टी सचिव मकार, जहिल्यै विश्व क्रान्तिको सपना देखेर रमाउने । विश्व क्रान्तिको बाटामा विवाह नामको संस्थालाई, परिवारलाई र श्रीमती लुस्कालाई बाधक ठान्ने । अलिकति उसको यही हावा ताल र अलिकति लुस्काको चरित्रहीनताका कारण उनीहरू बिच खटपट पर्छ ।

जस्तै स्चुकार बाजे । गफाडी । आकाश–पाताल डिँग हाँक्ने । भाग्यले सधैंभरि ठगेको । तर, मनको सफा । घोडागाडी हाँक्छ । ऊ छ र गाँवै जीवन्त छ । तर, उसका हन्डर–ठक्करका कथा भने बयान गरेर सकिँदैनन् । जस्तै कुशल मिस्त्री सेली । इमानदार, परिश्रमी र तीक्ष्ण । दबिदोभलाई ग्रामीण सोभियतको लेखापालको खोल ओढेर याकोभ लुकिचले प्रतिक्रान्तिकारीहरूलाई आश्रय दिइरहेको छ भन्ने सूचना दिने मान्छे उही थियो ।

अर्की पात्र छे भार्या, युवती र स्थानीय स्कुलकी शिक्षिका । भन्ट्याङभुन्टुङ भाइबहिनीहरूको पालनपोषणको जिम्मेवारी काँधमा लिएकी । राम्रो पढाउँछे । दबिदोभलाई एकतर्फी प्रेम गर्छे, तर भन्न सक्दिनँ । एक दिन, गाउँका युवाहरूलाई पार्टी सदस्यता दिने कार्यक्रम सकेर फर्किंदै गर्दा डराईडराई, रोईरोई आफ्नो प्रणयभाव प्रकट गर्छे ।

त्यसपछि सुरु हुन्छ प्रतिक्रान्तिकारी विद्रोह र त्यसमाथिको कारबाही । पोलोभ्त्सेभहरू गाउँमा लुकेको थाहा पाएपछि गुप्त भेषमा जिल्लाबाट दुई जना प्रहरी अधिकृत आउँछन् । उनीहरू भागेर जङ्गलमा पुग्न सफल हुन्छन् र पिछा गर्दै आएका प्रहरीहरूलाई घात लगाएर हत्या गर्छन् । पोलोभ्स्सेभहरू फर्की आएको थाहा पाएका नागुल्नोभ, दबिदोभ र आन्द्रेईहरू उनीहरूलाई घेर्न जान्छन् । तर, पोलोभ्त्सेभ र उसको मतियार लात्येभ्स्कीको गोली प्रहारबाट दबिदोभ र नागुल्नोभ ठहरै हुन्छन् । लात्येभ्स्की पनि त्यहीँ मारिन्छ । भागेर तासकन्द पुगेको र बहिदारको भेषमा लुकिरहेको पोलोभ्त्सेभ पक्राउ पर्छ । विध्वंसमा सङ्लग्न छद्मभेषी याकोब लुकिचसहित ६ सयभन्दा बढी मान्छेको गिरफ्तारी र केहीको हत्यासँगै प्रतिक्रान्तिको प्रयास असफल हुन्छ ।

दबिदोभ र नागुल्नोभको हत्यापछि ग्रेम्याची शोकमा डुबेको छ । स्चुकार बाजे पक्षाघातले थलिएको छ । बसेरै गर्न मिल्ने चौकीदारको काम सनीनसकी गरिरहेको छ । उसको दिनचर्या नै दबिदोभलाई सम्झँदै रुनु र बर्बराउनु भएको छ । पढाइ बीचमै छाडेर भार्या एक साँझ गाउँ फर्किन्छे । दबिदोभको चिहानमा गएर चुपचाप रुन्छे । समाजवादका निम्ति ज्यान दिने दबिदोभको रगत र अधुरो प्रेमको निसानीका रूपमा बगेको भार्याको आँसुको भेलले पर्ती भूमिलाई भिजाएको छ ।

उपन्यासमा सोलोखोभको स्वरूप आख्यानकारसँगै कविका रूपमा समेत देखिन्छ । जब उनी मान्छेको अन्तरमनको कुरा गर्छन् या प्रकृतिको वर्णन गर्छन्, लेखनी काव्यात्मक बन्छ । स्तेपी मैदानको चित्रण गरिरहँदा, हिउँले ढाकेका डाँडाकाँडाको वर्णन गरिरहँदा या मान्छेहरूका आँखा, गाला र कज्जाकहरूको जिन्दगीको इन्द्रेणी बयान गरिरहँदा उनी चित्रकारजस्ता देखिन्छन् ।

उनले मानवता, प्रेम, पीडा, उच्छवासको विशाल आकाश निर्माण गरेका छन् । पात्रहरूमार्फत उनले केही गंभीर प्रश्न उठान गरेका छन् । सामूहिक सम्पत्ति र व्यक्तिगत स्वामित्वको सीमारेखा के हो ? यसमा व्यक्तिको रुचि र पहिचानलाई कस्तो ठाउँ हुन्छ ? क्रान्तिको आकाश छुने परिकल्पनाभित्र प्रेम, विवाह र स्वतन्त्रताको स्पेस कति छ ? बाहिर कठोर देखिने, तर बच्चा कोरलिरहेका परेवाका जोडीको जीवनरक्षाका लागि गाउँभरिका बिराला मारी हिँड्ने दबिदोभ सन्की हो कि संवेदनशील मानव ?

पात्रहरूलाई कुँद्ने सोलोखोभको कला लोभलाग्दो छ । उनका पात्र जीवन्त छन्– हामीजस्तै, कमजोरीसहितका, दुःखमा रुने र सुखमा हाँस्ने पात्रहरू । ‘प्रशान्त दोन’ को ग्रिगोरी, ‘जन्मचिह्न’ को निकोल्का र उसको बा (सरदार), ‘मान्छेको भाग्य’ को सोकोलोभ र उसले छोरा भनेर अँगालेको भान्या– सबै हामी वरिपरिका जस्तै छन् ।

सोलोखोभ ‘प्रशान्त दोन’, ‘मान्छेको भाग्य‘, ‘जन्म चिह्न’ जस्ता कालजयी रचनाका स्रष्टा हुन् । आख्यानको सामर्थ्यमा उनको जबर्जस्त विश्वास छ । साहित्यतर्फको नोबेल पुरस्कार थाप्दै गर्दा उनले उपन्यासलाई साहित्यको ‘कालातीत रूप‘ भन्ने आलोचनाको खण्डन गरेका थिए र भनेका थिए– यथार्थलाई सर्वाधिक पूर्ण रूपमा ग्रहण गर्ने र समस्याबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने यत्तिको प्रभावशाली विधा अरू छैन । उनको मान्यता थियो– उपन्यासले आफ्नो क्षुद्र अहंलाई नै ब्रह्माण्ड ठान्न होइन, वरिपरिको सिङ्गो जीवनको ज्ञान प्राप्त गर्न सहयोग गर्छ । समाजवादी यथार्थवादप्रति उनको विश्वास अटल थियो । तर, उनी सोभियत ढाँचाभित्रका कमजोरीहरूका मिहिन आलोचक पनि थिए ।

उनी साहित्य यथार्थलाई खालि अवलोकन गर्ने या त्यसबाट पलायन हुने अर्थमा होइन, जीवनको नवीकरण, मानव जातिको हितमा यथार्थको पुनःसंरचनाका लागि हुनुपर्छ भन्ने मान्यता राख्थे ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘विज्ञान केवल तथ्य होइन’

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् ।
गोविन्द पोखरेल

‘द ओपन नोटबुक’ का संस्थापक, प्रधान सम्पादक हुन् सिरी कार्पेन्टर (५२) । ‘द ओपन नोटबुक’ विज्ञान लेखनको विषयमा काम गर्ने म्यागजिन हो । येल विश्वविद्यालयबाट पीएचडी गरेकी कार्पेन्टर सन् १९३४ मा स्थापना भएको अमेरिकास्थित नेसनल एसोसिएसन अफ साइन्स राइटर्स (एनएएसडब्लू) की पूर्वअध्यक्ष (२०१८–२०२०) हुन् ।

विज्ञान म्यागजिन र पत्रिकामा लेखन, सम्पादनको अनुभव छ उनीसँग । सयौं विज्ञान पत्रकारलाई मेन्टरिङ गरिसकेकी छन् उनले । विज्ञान लेखनमाथिको किताब ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ की सम्पादक कार्पेन्टरसँग विज्ञान–लेखनमाथि गोविन्द पोखरेलको संवाद :

साइकोलोजीको पीएचडी र विज्ञान पत्रकारिता, यी दुवै विषयमा एकै पटक कसरी जोडिनुभयो ?

सन् १९९० को दशकतिर पीएचडी पढिरहँदा प्रोफेसर बन्ने रुचि थिएन । एकै विषयमा मात्रै केन्द्रित भएर एउटै विषयमा अनुसन्धान गर्न नसक्ने सोचिरहेका बेला म ‘न्युयोर्क टाइम्स’ मा प्रत्येक मंगलबार छापिने स्तम्भ ‘साइन्स टाइम्स’ बाट प्रभावित भएँ । त्यस स्तम्भमा समाचार लेख्ने मानिसबारे बुझें– यो त एउटा जागिर हो । सोचेँ, यो पनि एउटा जागिर हुन सक्छ र मैले गर्नुपर्छ । तर, त्यो जागिरबारे थाहा थिएन । नेसनल एसोसिएसन अफ साइन्स राइटर्सका सदस्यहरूले त्यो स्तम्भमा लेख्थे । र, त्यो पनि एक जागिर रहेछ, विज्ञान–लेखन । त्यसपछि म विज्ञान– लेखनमा जोडिएँ ।

मान्छेहरू दुविधामा छन्– विज्ञान लेखन र विज्ञान पत्रकारिताबारे । के यी दुई फरक विषय हुन् र ?

विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा रूप हो । विज्ञान सञ्चारका विभिन्न विधा छन् । कसैले कुनै वैज्ञानिक खोजको विषयमा प्रेस–विज्ञप्ति तयार गर्दै छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । कुनै वैज्ञानिकले विज्ञानबारे विद्यार्थी वा अन्यलाई बुझाइरहेको छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । त्यसैले, विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा कर्नर हो, पत्रकारिताभित्रको एउटा क्षेत्र हो । पत्रकारिताको महत्त्वपूर्ण पाटो हो– पाठकलाई तथ्यपरक समाचार पस्कनु ।

साढे २ दशकको तपाईंको विज्ञान–लेखन अवधिमा र विज्ञान–पत्रकारितामा के कस्ता चुनौती देख्नुहुन्छ ?

दुई दशक ठूलो समय हो । दुई दशकभित्र संसारमा धेरै परिवर्तन भइसकेको छ । मैले विज्ञान–लेखन सुरु गर्दा संसारकै लागि नयाँ विषय थियो– इन्टरनेट । त्यसबेला इन्टरनेटले संसारलाई नै परिवर्तन गरिदिन्छ भनेर सोचिएन । डिजिटिल प्रविधिको विकाससँगै विज्ञान–पत्रकारितामा नवप्रवर्तन भएको छ । र, मान्छेको सोचमा बृहत् परिवर्तन आएको छ । विश्वव्यापीसँगै विज्ञान बहुविधामा जोडिएको छ । केही दशकपहिले एक विज्ञान–पत्रकारको दैनिकी हुन्थ्यो– एकल प्रयोगशालाबाट आएका व्यक्तिगत अध्ययन र निष्कर्षमाथि रिपोर्टिङ र विश्लेषण गर्नु । त्यसबेला विज्ञान समाचार एकै ठाउँमा, एकै विधामा केन्द्रित हुन्थे । अहिलेको अवस्था फेरिएको छ । विज्ञान बहु–विधागत बनेको छ, त्यहाँ समूहगत सहकार्यको आवश्यकता पर्छ । र, आज समूहगत प्रयास र सहकार्यले विज्ञानमा व्यापक अनुसन्धान भएका छन् ।

विज्ञान पत्रकार बन्न विज्ञान पढेकै व्यक्ति हुनुपर्छ ?

त्यो आवश्यक छैन, तर विषयगत ज्ञान र जानकारी हुनैपर्छ । अहिलेका चर्चित धेरे विज्ञान पत्रकारको विज्ञान विषय पढेको डिग्री छैन । तर, आफ्नो विषयमा दख्खल राख्छन् उनीहरू ।

सिरी कार्पेन्टरले सम्पादन गरेको पुस्तक ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ ।

विज्ञान पत्रकारका लागि केही सुझाव छन् कि ?

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् । विज्ञानको कुनै एक विशेष क्षेत्र बुझ्ने प्रयत्न गर्नुहोस् । र, त्यो क्षेत्रमा भइरहेका ठूला बहसमाथि जानकारी राख्नुस् । विज्ञानका विषयमा क्षमता वृद्धि गर्न केही समय लाग्ला नै । मेरा सुझाव छ– आफ्नो काममा धेरै सम्पादन गर्नुहोस् ।

दक्षिण एसियामा विज्ञानका समाचारमार्फत मिथ्या सूचना फैलिरहेको छ । यस्तो अवस्थामा विज्ञान–पत्रकारको भूमिका के हुन्छ ?

मिथ्या सूचनाको प्रभाव दक्षिण एसियामा मात्रै होइन, संसारैभरि छ । र, यो ज्यादा खतरानक पनि छ । जस्तो कोरोना महामारीमा फैलाइएका विज्ञान स्वास्थ्यका झूटा खबर हाम्रासामु छन् । यस्ता गलत सूचना कुनै दुर्घटना वा कारणवश फैलिँदैनन्, प्रायोजित रूपमै फैलाइन्छन् । ती गलत सूचनामा धेरै नाफा लुकेको हुन्छ । तर, पत्रकारलाई यसले धेरै नै दुःख दिन्छ ।

कुनै मिथ्या सूचना भाइरल भएको देख्नुभयो भने त्यसमाथि तथ्य जाँच गरेर ‘यो गलत सूचना हो’ भनेर आलेख लेख्न सक्नुहुनेछ तपाईं । पत्रकारको त्यो आलेख धेरै पाठकमाझ नपुग्न पनि सक्छ वा त्यो खबर पाठकमाझ पुगे पनि ढिलो भइसकेको हुन सक्छ । गलत सूचना फैलाउने गिरोहले लगानी गरेरै पठाउने त्यस्ता सूचना छिटो फैलिन्छन् । र, तथ्य जाँच भएको विषय कम मान्छेकहाँ पुग्न सक्छ । कालान्तरमा त्यो तथ्यले मान्छेको विचार परिवर्तन नगर्न पनि सक्छ ।

समाचारले मानिसको मत परिवर्तन गर्न सक्छ । र, हामीले प्रसारण गर्ने समाचार ‘इमोसनल रेजोनेन्स’ होस्, जसले मानिसको मस्तिष्कमा गाडिएको मिथ्या सूचना बाहिरिओस् ।

मूलधारका मिडियाले विज्ञानका समाचारहरू कम प्राथमिकता दिन्छन् । विज्ञान समाचारलाई सम्पादकहरू किन कम स्थान दिन्छन् ?

यो अमेरिकामा पनि उठिरहने मुद्दा हो, संसारभरैको । पत्रिकाका प्रथम पृष्ठमा समाचार छापिएनन् भनेर सम्पादकलाई धेरै किसिमका दबाब आउँछन् । पाठकको रुचिका सामग्रीसँग व्यवस्थापकीय जिम्मेवारीले पनि थिचिएका हुन्छन् सम्पादक । त्यो व्यापक दबाबले उनीहरू दुविधामा हुन्छन्– के विषयलाई प्राथमिकतामा राख्ने ! विज्ञानलाई प्राथमिकता दिँदा अन्य विषय के गर्ने ? यो प्रश्नको सामना उनीहरूले प्रत्येक पल गरिरहनुपर्छ । प्रकाशनगृहले पाठकको रुचिअनुसार सामाचार लेख्दा पनि विज्ञानलाई जोड्न सक्छन् । जस्तो पब्लिक हेल्थ विषयका समाचारमा सर्वसाधारणको चासो हुनछ । त्यो विषमा जानकारीसँगै विज्ञान पनि जोडेर प्रस्तुत गर्न सकिन्छ । यसरी सर्वसाधारणको मुद्दासँगै विज्ञानका विषय तिनमा जोडेर लेख्न सकियो भने सम्पादकको पनि त्यसमा रुचि हुन सक्छ । यो क्षेत्रमा यो पत्ता लाग्यो, यो नतिजा आयो भन्नेमा सम्पादकलाई चासो नहुन सक्छ, तर पत्रकारले मुद्दासँग केन्द्रित भएर लेखे भने सम्पादकहरूले त्यसमा चासो दिन सक्छन् ।

जान्नेहरू भन्छन्– विज्ञान खर्चिलो विषय हो । र, विज्ञान पत्रकारितालाई पनि खर्चिलो नै मानिन्छ । विज्ञान सञ्चारका लागि स्थानीय भाषाको महत्त्व कति हुन्छ ?

तपाईं मान्छेले नबुझ्ने भाषा र माध्यममा सञ्चार गरिरहनुभएको छ भने यसले ती मान्छेलाई जोड्दै जोड्दैन । र, मानिसहरूले भन्ने गरेको खर्चिलो विषयको त्यो धारणा पनि बदलिन सक्दैन । यसका लागि मान्छेले बुझ्ने भाषामा सञ्चार गरिनुपर्छ । तपाईंले सञ्चार गर्नुभएको विषय समुदायले बुझ्ने भाषामा छ भने त्यस विषयमा उनीहरू चासो राख्छन् नै । तपाईंले लेखेको भाषा मान्छेले बुझेनन् भने तपाईंको मिहिनेत उसै खेर जानेछ ।

दक्षिण एसियामा विज्ञान–लेखनको सम्भावना कस्तो छ ?

दक्षिण एसियाबारे म उति जानकार छैन, तर त्यहाँका विज्ञानका धेरै समाचारबारे अमेरिकामा बस्ने सम्पादकहरूलाई थाहा छैन । आफ्नो क्षेत्रका समाचारमा सम्पादकको आँखा पर्‍यो भने त्यो पत्रकारको उपलब्धि हो ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×