कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फूलमायाको वक्ररेखीय जीवन–कथा

अरब, भारत पस्ने लाहुरेको लस्कर लामो छ । त्यसैले धनकौरीहरूलाई परिवारको जिम्मेवारी एक्लै बोक्नु र वेदनाको आहालमा डुब्नुको विकल्प हुँदैन ।
कुमारी लामा

संस्कृति अध्ययनले समाज, वर्ग र शक्तिको सम्बन्धाई विश्लेषण गर्छ । र, समाजमा विद्यमान वर्ग र शक्तिको संघर्षलाई उजागर गर्छ । सन् १९५० को उत्तरार्द्धतिर ‘द बिर्मिङ्ह्याम स्कुल’ सम्बद्ध स्टुअर्ट हललगायतले समाज र शक्तिसंघर्षको विविध पाटोमाथि विश्लेषण गर्दै सांस्कृतिक अध्ययनलाई अघि बढाएका थिए ।

फूलमायाको वक्ररेखीय जीवन–कथा

सत्तरीको दशकतिर आइपुग्दा भने यसभित्र वर्ग मात्रै नभई लैङ्गिकता (जेन्डर) र जाति (रेस) अध्ययन पनि समेटिन पुग्यो । यसले कुनै पनि लिङ्ग, समुदाय, क्षेत्रलगायतको प्रतिनिधित्व या गलत प्रतिनिधित्व (मिसरेप्रिजेन्टेसन) को सवाललाई गम्भीर विश्लेषण गर्छ । सन् १९९० को दशकयता भने सञ्चार अध्ययन (मिडिया स्टडिज) देखि, सिनेमा तथा पर्यावरण अध्ययनसम्म पनि समेटिन पुगेको सांस्कृतिक अध्ययनको क्षेत्र विस्तारित भइसकेको छ । तथापि प्रत्येक समाजले आफ्नो सामाजिक, सांस्कृतिक साथै भौगोलिक परिस्थितिअनुरूप यस विषयलाई ग्रहण तथा अध्ययन, विश्लेषण गर्छन् ।

विश्वका जुन कुनै कुनामा गरिने यस प्रकृतिको अध्ययनको केन्द्रमा भने स्टुअर्ट हल, क्लिफोर्ड गर्जलगायतका सांस्कृतिक विश्लेषकले प्राथमिकतामा राखेको प्रतिनिधित्वको सवाल नै पर्छ । नेपालको सन्दर्भमा सांस्कृतिक अध्ययनको विकास तथा विस्तारमा प्राज्ञिक क्षेत्रका अभि सुवेदी, अमर गिरी, रमेशप्रसाद भट्टराई, लक्ष्मण गौतमलगायतका लेखक–समालोचकको भूमिका छ । आज सांस्कृतिक अध्ययन र प्रतिनिधित्वको मुद्दा सिद्धान्त र समालोचनामा मात्रै नभई साहित्यमा पनि उत्तिकै मन्थन भइरहेको छ । नेपाली साहित्यको समकालीन चरित्र नियाल्दा विभिन्न जाति, वर्ग, समुदाय र लिङ्गका विषयलाई प्राथमिकताका साथ उजागर गर्ने जमर्को भइरहेको छ । लेखक शीतल कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ ले गुरुङ समुदायको जीवनपद्धति र संस्कृतिका केही पाटामाथि विमर्श गरेको छ ।

पहिचानको मुद्दाले गति लिएको यो समयमा गुरुङ साहित्यकारले साहित्यक लेखनीमार्फत आफ्नो सांस्कृतिक पहिचानको विषय उठाइरहेका छन् । सानै जमात र मधुरै स्वरमा सही आफ्नो जरा र संस्कृतिको विषय प्रायः लेखकले गरिरहेका छन् । लेखक तीर्थ गुरुङले ‘आपा क्हार्प’ कथासङ्ग्रहमा गुरुङ समुदायको मिथक र संस्कृतिलाई समयवीपनासहित प्रस्तुत गरेका छन् । गौरी तमु, गुरुङ सुशान्त, चन्द्र गुरुङ, छम गुरुङलगायतका लेखक पनि सांस्कृतिक पहिचानको वकालतमा योगदान गरिरहेका छन् । शीतल कादम्बिनीले पनि गुरुङ समाज र संस्कृतिका विविध विषयको उत्खनन गरी उपन्यास लेखेकी छन् ।

अन्य आदिवासीझैं सांस्कृतिक रूपमा समृद्ध समुदाय हो गुरुङ, जसको आफ्नै सामाजिक व्यवस्था तथा न्याय दिने निकाय हुन्छ । समाजमा केही समस्या आइपरे पञ्चभलादमीको राय सुझावअनुसार मुखियाले फैसला गर्छन् । यस समाजमा प्रचलित ‘सिन्का पाउँरु’ अर्थात् ‘सामाजिक अदालतीय प्रक्रिया’, जसले लोग्ने–स्वास्नीबीचको सम्बन्ध तोडिएको मान्यता दिन्छ । यही विषय कादम्बिनीको उपन्यासले उठाएको छ । आधुनिक समाजको न्यायालयले गर्ने सम्बन्धविच्छेदको काम सिन्का पाउँरुले गर्छ । त्यसका निम्ति सिन्का भाँच्ने र पाउँरु फुटाउने काम हुन्छ । उपन्यासले गुरुङहरूको सामाजिक, सांस्कृतिक मान्यताका केही पक्षको उजागरसहित महिला भोगाइका अनेकन् आयाम समेटेको छ, जसमा बसाइँ–सराइदेखि गुरुङ समुदायको लाहुरे लाग्ने चलन, गुरुङ जीवन, रहनसहन, चाडपर्व र सामाजिक मूल्यमान्यता प्रस्तुत भएका छन् ।

मौसमी अर्थात् फूलमायाको जीवनका अनेकन् उत्तारचढावलाई उपन्यासले सरल शैलीमा खिपेको छ । जति रोमाञ्चक लाग्छ प्रेममा पर्नु या सम्बन्धमा उनिनु, उत्तिकै गाह्रो हुन्छ त्यसको रापको सामना गर्नु । अझ जीवनै सुम्पेको व्यक्तिले छड्के बाटो लिन्छ भने झन् बढी सकसिलो बनिदिन्छ जीवन । मौसमीको जीवन प्रेम र सम्बन्धको जटिलतामा नराम्ररी जकडिएको छ । अब ऊ मात्र चाहन्छे त्यसबाट छुटकारा । बिनालय एक्लै जीवन बाँचिरहेकै बखत एक दिन उनी टुप्लुक्क घर पुग्छिन् र माग्छिन् लोग्नेसँग सिन्का पाउँरु । यहीँनिर मौसमीको विद्रोहले साकार रूप लिन्छ । भलै मौसमीभन्दा बढी विद्रोही त उनकी आमा धनकौरी लाग्छिन् । लाहुरे लोग्नेको नाममा धागोले बाँधेको चिठी हात पारेपछिको एक्लो र नीरस जीवनमा रोदीको एक साँझ कोही आइदिन्छ जीवनमा । त्यसपछि उक्सिएको पेट र समाजको छड्के आँखालाई चुनौती दिँदै ऊ पञ्चको अघि भन्छे, ‘जसको भुँडी बोकेको छ, म त्योसँग जान सक्दैन । म हीँ बसेर पाँच ओटा बच्चा र पेटको बच्चा पालनपोषण गर्स । मेरो कुरा यई हो ।’ पीडा भरिएको जीवनमा पनि यतिको बोल्ने आँट गर्नु चानचुने विषय होइन । आमाको भोगाइका केही बाछिटा छोरीको भागमा पनि परेको छ । फूलमायाको जीवन प्रेममा पर्दाको जस्तो रहँदैन । र, एक दिन ऊ पनि भन्न बाध्य हुन्छे, ‘म तसँगै बस्न सक्दै सक्दैन । मेरो अर्कै संसार बनिसक्यो । ...म आफ्नो जीवन बाँच्छु ।’ यसरी नै पुनरावृत्ति भइरहन्छ आइमाईका दुःख, पुस्तौंपुस्ता । स्वास्नीमानिस दुःखहरू सम्हाल्दै अघि बढ्छन् । एउटा सिङ्गो समुद्र ठड्याउन सक्छन् आँसुको । तथापि चेतना सल्बलाएपछि दिमागमा उनीहरू अकस्मात अर्कै भइदिन्छन् । धनकौरी या फूलमायाजस्तै बेग्लै बनिदिन्छन् समाजको नजरमा । शैली प्रस्तुतिमा खास नयाँपन नभए पनि यसमा प्रयोग भएको गुरुङ लवजले उपन्यासमा अर्ग्यानिक स्वाद पस्केको छ । पात्रहरूको संवादमा सरलतासँगै मिसिने गुरुङपनाले किताबको महत्त्व चुल्याएको छ । साथमा पाठकले बार्पाक र लाप्राकका गुरुङहरूको जीवनशैली, चाडपर्व, रहनसहन आदिको पनि विस्तृत जानकारी प्राप्त गर्न सक्छन् । त्यस समुदायको लाहुरे लाग्ने चलन, लाहुरेको धन, त्यसैसँग जोडिएको विछोड, मृत्यु र लाहुरेनीको एक्लोपना पनि उत्तिकै मार्मिक छन् ।

सन् १८१४ को नेपाल–भारतको सन्धिपश्चात् अर्काको देशका निम्ति लड्न पठाइएका नेपालका निश्चित जातिमा गुरुङ अग्रपङ्क्तिमै थिए । नेपाली लाहुरेका विषयमा मेरी डेसन, झलक सुवेदीलगायतका अनुसन्धानकर्ताले महत्त्वपूर्ण शोध कार्य गरेका छन् । लाहुर लागेकामध्ये कत्तिले ज्यान गुमाए, कत्ति शारीरिक रूपमा अपाङ्ग मात्र होइन मानसिक विक्षिप्तता बोकी घर फिरे । तर, त्यसको लेखाजोखा जति हुनुपर्थ्यो त्यति हुन सकेन । बस् लाहुरेको धन र शानकै मात्र चर्चा भयो र आज पनि त्यही छ । अझै पनि लस्कर छ– लाहुर जानेको । थोरै फेरिएको छ प्रकृति । आजकल अरब र भारत पस्ने लाहुरेहरूको लस्कर लामो छ । यस्तै परिस्थितिमाझ धनकौरीहरूलाई एक्लै परिवारको जिम्मेवारी लिनु र वेदनाको आहालमा डुब्नुको विकल्प हुन्न । कादम्बिनीले गुरुङ समाजमा विद्यमान यस्तै अनेकन् विषय सम्बोधन गर्ने प्रयास गरेकी छन् । उपन्यासको मूल पात्र फूलमायाको बक्ररेखीय जीवन कुनै सिनेमाभन्दा कम लाग्दैन । त्यसमा पनि यस पात्रको गति र बहावले उनमा जीवन्तता आएको छ । पहाडी पाङगडेबाट समयक्रममा नेपालगन्ज हुँदै काठमाडौंसम्म तय भएको उनको यात्रा विस्मयकारी छ । जीवनयात्राका क्रममा खुसीभन्दा आँसु ज्यादा छ तथापि उनी स्वतन्त्रता र आफ्नो अस्तित्वको पक्षमा छिन् ।

नेपालगन्जको परिवेश, मेलाको लम्बेतान वर्णनदेखि वैचारिक धूमिलपना तथा सपाट कथा–वर्णन उपन्यासका सीमा हुन् । दीपक नामक पात्रको सम्बन्धहरूको फेहरिस्तसँग गरिएको चरित्र चित्रणमा नकारात्मकता मात्रै हावी छ । गुरुङ संस्कृतिको विशिष्टता पस्किने जमर्को गरेको किताबले विषयलाई उचित गहिराइमा नपुर्‍याएको हो कि भन्ने लाग्न सक्छ पाठकलाई । तथापि विषय उठानको प्रयास, महिला पीडाका अनेकन् पक्षमाथिको दृष्टिकोण साथै गुरुङ लवजको माधुर्य भने किताबले पक्डेको उचित लय हो । निःसन्देह गुरुङ संस्कृतिको एक पाटो चियाउने आँखीझ्याल भने बनेको छ– ‘सिन्का पाउँरु’ ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?