कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एकै रंगको इन्द्रेणी, के इन्द्रेणी ?

सिनेमाको प्रयोग कसले, कसरी, केका लागि गरिरहेका छन् ? यसमा राज्य संयन्त्रका अंगकै नियन्त्रण हुन्छ कि खुला बजारमा यसमाथि नियन्त्रण गर्ने शैली र खेलाडी फरक हुन्छन् ?
यज्ञश

परिस्थितिले कसैलाई सही वा गलत ठाउँमा पुर्‍याउँदैन, त्यसलाई सामना गर्ने तरिकाले पुर्‍याउँछ,’ भनिएझैं सिनेमाका विषयमा पनि भनिन्छ– ‘फिल्मलाई कुन ‘सन्दर्भ’ मा कसरी हेरिन्छ, त्यसले फिल्म कस्तो हो भन्ने निर्क्योल गर्छ ।’ साथै, दर्शकको बुझाइ र रुचिको निर्माण प्रक्रियाले पनि यसमा भूमिका निर्वाह गरेको हुन्छ भन्ने मानिन्छ । यसैले एउटै फिल्म विभिन्न उमेर, संस्कृति, भूगोल र विचार भएका दर्शकलाई राम्रो/वा नराम्रो दुवै लाग्न सक्छ ।

एकै रंगको इन्द्रेणी, के इन्द्रेणी ?

सन्दर्भ यस्तो चीज हो, जसले नदीझैं बगिरहेको विचारलाई एउटा कपमा उठाएर आकार प्रदान गर्छ । हामी हाम्रो सन्दर्भ र बुझाइका कपहरूमा आआफ्नो पानी लिएर बसिरहेका हुन्छौं ।

...

सामान्यतः व्यक्तिको राजनीति (राज्य) र समाजसँग सुषुप्त वा प्रकट रूपमा द्वन्द्व चलिरहेको हुन्छ । धन कमाउने र व्यक्तित्व बनाउने जद्दोजहेदमा भिडेको मध्यमवर्गको द्वन्द्वका त झन् धेरै आयाम छन् । आफ्ना इच्छा र आकांक्षा पूरा गर्न व्यक्तिले राज्य र समाजको सहारा लिन्छ ।

राजनीतिचाहिँ समाज र व्यक्तिको यो द्वन्द्वलाई सही तरिकाले उपयोग गर्ने कलाको विषय हो । शस्त्र र शास्त्रको प्रयोग कसले कसरी गर्न सक्छ भन्ने विषयले समाजलाई दिशानिर्देश गर्छ । यसका लागि कसैले धर्मको, कसैले विज्ञान र आविष्कारको त कसैले अतिरिक्त बल तथा हतियारको प्रयोग गर्छन् ।

लोकतन्त्रमा व्यक्ति र व्यक्तिगत स्वतन्त्रतालाई सर्वोपरि मानिन्छ । जहाँ समाज र नैतिकताको महत्त्व बढी हुनेगर्छ, त्यहाँ प्रायः धार्मिक वा साम्प्रदायिक प्रकृतिको सरकारहरू बनेका देखिन्छन् । र, जहाँ राज्य व्यवस्था नै सर्वोच्च हुन्छ, त्यहाँ सैनिक, एकदलीय, निरंकुश वंश परम्परामा आधारित शासन रहने गरेको देखिन्छ ।

सारा खेल विचारको हो भन्ने गरिन्छ । तर, त्योभन्दा गहिरो खेल विचारमाथि कसको नियन्त्रण हुने भन्ने हो । यसका लागि मानिसहरूको सोच्ने शक्तिलाई प्रभावित पार्नु अत्यत्न आवश्यक हुन जान्छ । अनि यसमा प्रयोगमा आउँछन्– सांस्कृतिक उत्पादनहरू । कला, साहित्य, संगीत र सिनेमा आदि । मानिसको भावना र संवेदनासँग जोडिने भएकाले कलालाई शक्तिशाली मानिन्छ । कुनै पनि कुरामा दर्शक/श्रोतालाई चित्त बुझाउन सक्ने, सरल तरिकाले कुरा बुझाउन सक्ने शक्ति कलामा हुन्छ । अझै सिनेमामा प्रायः सबैजसो कलाको मिश्रण हुने भएकाले यसको शक्ति अझै बलियो हुनेगर्छ ।

अनि आइन्छ मूल प्रश्नमा– यो विधाको प्रयोग कसले, कसरी र केका लागि गर्छन्/गरिरहेका हुन्छन् ? के यसमा राज्य/राज्य संयन्त्रका अंगहरूकै नियन्त्रण हुन्छ कि खुला बजारमा यसमाथि नियन्त्रण गर्ने शैली र खेलाडी फरक हुन्छन् ?

...

अहिले बलिउडमा व्यापारको नयाँ–नयाँ कीर्तिमान बनाइरहेको शाहरूख खानको फिल्म ‘पठान’ लाई एउटा ‘केस’ का रूपमा लिएर हेरौं । यसमा अरू थुप्रै फिल्म लिन सकिन्थ्यो । हाल चर्चामा रहेकाले पनि ‘पठान’ लाई लिनु ‘सान्दर्भिक’ हुन गयो ।

यसको सन्दर्भ सुरु हुन्छ सन् २०१५ बाट, जब यसका मुख्य अभिनेता शाहरूख खानले ‘इन्डिया टुडे’ मा प्रसारित ‘ट्वीटर टाउन हल’ मा भारतमा असहिष्णुता बढेर गएको र एउटा सच्चा देशभक्त धर्मनिरपेक्ष हुनुपर्ने राय व्यक्त गरे । उनको यो भनाइ अन्य समयमा हुन्थ्यो भने सामान्य ‘स्टेटमेन्ट’ हुन्थ्यो होला । तर, समय र सन्दर्भले यसलाई भयंकर विवादास्पद बनाइदियो । किनभने, त्यतिबेला भारतीय शासनको केन्द्रमा नरेन्द्र मोदी आइसकेका थिए । उनको भारतीय जनता पार्टी भारतलाई हिन्दु राष्ट्र बनाउने उद्देश्य लिएको पार्टी हो । र, खानले यस्तो टिप्पणी गर्दा भारतका केही सहरमा मुसलमानमाथि ‘लिन्चिङ’ का समाचार आइरहेका थिए । यो सन्दर्भको शाहरूख खानबारे लेखिएको लामो लेखमा भारतीय म्यागजिन ‘क्याराभान’ मा विस्तारमा वर्णन गरिएको छ ।

यस्तै, ‘पठान’ की अभिनेत्री दीपिका पादुकोणको पनि एउटा ‘इतिहास’ छ । नरेन्द्र मोदीले त्यतिबेला दोस्रो पटक चुनाव जितिसकेका थिए । उनको लोकप्रियता अझै बढ्दो थियो । कोरोना महामारी पनि आइपुगेको थिएन । तर, दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी आन्दोलित थिए । यसमा केही राजनीतिक कारण थिए भने केही विश्वविद्यालयभित्र सरकारी हस्तक्षेपको विरोध थियो । विद्यार्थीको धर्नामा एक साँझ अचानक दीपिका पादुकोण पुगिन् । आधा मिडियाका लागि उनी स्वतन्त्रताको प्रतीक बनिन्, आधाका लागि राष्ट्रद्रोही । पछि यो घटनालाई समेत प्रतीकात्मक रूपमा जोडेर विवेक अग्निहोत्रीले ‘द कश्मीर फाइल्स’ बनाए । यो फिल्म निकै हिट भयो ।

दीपिका आफूले अभिनय गरेको तेजाब आक्रमणको सिकार भएकी युवतीको कथामा बनेको फिल्म ‘छपाक’ को प्रचारकै क्रममा थिइन् । तर, समय र सन्दर्भले उनको यो उपस्थितिलाई फिल्मको व्यापारका लागि गलत साबित गरिदियो । फिल्मले बहिष्कारको सामना गर्नुपर्‍यो । आईएमडीबीमा यसको रेटिङसमेत घटाइयो । योसँगै एकै दिन रिलिज भएको मुगलसँग लडेर वीरगति प्राप्त गरेका मराठा योद्धा तानाजी मालसुरेको कथा भन्ने अजय देवगनको फिल्म ‘तान्हाजी’ ले तीन सय करोडजतिको व्यापार गर्‍यो । र, सन्दर्भ मिलेरै होला, उनले यो भूमिकाका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कारसमेत पाए, त्यो पनि तेस्रो पटक ।

जब ‘पठान’ को गीत ‘बेसरम रंग...’ रिलिज भयो, यसमा हरियो र गेरु (भगवा) रंगका कपडा लगाइएको भनेर विवाद सुरु भयो । यी दुई रंग दुई धर्मका प्रतीक मानिए । रंगका आधारमा समाजको विभाजनले एउटा ‘सन्दर्भ’ प्राप्त गर्‍यो । यसअघि यस्ता केही प्रकरण भइसकेका थिए । अर्का खान आमीर खानको फिल्म ‘लालसिंह चड्डा’ ले बहिष्कारको आँधीलाई राम्रैसँग झेलेको थियो भने नसिरुद्धिन शाहजस्ता केही ‘भोकल’ हरूले भयंकर ठूलो आलोचना । विवेक अग्निहोत्री, अशोक पण्डित जस्ता निर्माता/निर्देशक तथा कंगना रनावत, अनुपम खेर, परेश रावलजस्ता कलाकार र अर्नव गोस्वामी लगायतका खुंखार टीभी एंकरहरूको एउटा विचार समूहजस्तै निर्माण भएको देखिन्थ्यो । अर्कातिर अनुराग कश्यपजस्ता केही फिल्ममेकर, स्वारा भास्कर र ऋचा चड्डाजस्ता कलाकार एवं रवीश कुमारजस्ता टीभी पत्रकार थिए, जो एउटा खास समुदायप्रति घृणा फैलाउन नहुने भनेर बोलिरहेका सुनिन्थे ।

यस्तोमा जब शाहरूख– दीपिकाको फिल्मको गीतमा विवाद सुरु भयो यसले केही दिन सामाजिक सञ्जाल र टीभीलाई ततायो । तर, यसपालि फिल्मका तर्फबाट कोही खासै बोलेन । फिल्मको प्रचारमा हुने पत्रकार सम्मेलन र अन्तर्वार्ताहरूको क्रम स्वाट्टै बन्द भयो । फिल्म निर्माता कम्पनी यशराज फिल्मसले नबोलेरै यसको प्रचार गर्ने रणनीति लिएको देखियो । हाल सालै ‘पृथ्वीराज’, ‘समशेरा’, ‘जयश भई जोरदार’ लगायतका फिल्ममा ठूलो पैसा डुबाएकाले पनि यशराजले मौनको हतियार प्रयोग गर्‍यो । र, जब फिल्म रिलिज भयो– यसले भयंकर हल्ला गर्‍यो । जे सोचेर फिल्मको बहिष्कारको नारा लगाइएको थियो, फिल्म त्यस्तो थिएन । फिल्म त यसका विरोधीको लाइनसँग पो मिल्दो निस्कियो ! राष्ट्रियताको भावनाले ओतप्रोत !

केहीअघि दीपिका पादुकोणकै अर्को फिल्म ‘पद्मावत’ मा पनि झन्डै यस्तै भएको थियो । चित्तौडकी रानी पद्मावतीको कथामा बनेको यो फिल्मलाई रिलिज हुनुअघि हिन्दुविरोधी तथा राजपुत शानमाथि आक्रमण भनेर भयंकर विरोध गरिएको थियो । फिल्मको सुटिङ सेटमा निर्देशक सञ्जयलीला भन्सालीमाथि हातपात गरिएको थियो भने फिल्म रिलिज हुनेबेला दीपिका पादुकोणको नाक र निर्देशक भन्सालीको टाउकाको मूल्य तोकिएको थियो । तर, जसै फिल्म रिलिज भयो यसको विरोधको झन्डा उठाउने करणी सेना नामको संगठनले फिल्मको प्रचार गर्न थाल्यो । किनभने, यो उनीहरूले सोचेजस्तो थिएन । ‘पद्मावत’ ले पनि बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।

...

मास मिडियाका रूपमा ठूलो जनसमुदायसँग संवाद गर्ने सिनेमाका पनि प्रकार हुन्छन् । त्यसैअनुसार यसलाई ठाउँठाउँमा, बेलाबेलामा राजनीतिक सामाजिक एजेन्डाहरू ‘सेट गर्ने’, ‘डिस्कार्ड गर्ने’ वा ‘डाइभर्ट गर्ने’ काममा पनि प्रयोग गर्ने गरिएको पाइन्छ । यसको इतिहासतिर जाने हो भने यो लेख धेरै लामो हुनेछ । यसैले छोटकरीमा भनौं– हिटलरले आफ्नो छवि उजिल्याउन सिनेमालाई प्रयोग गरेकोदेखि राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रचार गर्नका लागि नेपालमा फिल्म बनाउन थालेकोसम्म अनगिन्ती उदाहरण खोज्न सकिन्छ । ‘व्यावसायिक’ फिल्मले पनि सुषुप्त रूपमा कुनै विचारको समर्थन वा विरोध गरिरहेका हुन्छन् । यिनको उद्देश्य त्यस्तो ‘राजनीति’ गर्ने नदेखिए पनि ‘न्यारेटिभ सेट गर्ने’ काम यिनले मज्जैले गर्छन् । जस्तै, धेरैजसो प्रेमकथाले खुला समाजको वकालत गरिरहेका हुन्छन् भने ‘केजीएफ’ जस्ता फिल्मले कुनै निरंकुश शासकको । ‘पुष्पा’ जस्ता फिल्म एकातिर हुन्छन्, जसले विद्रोही पात्रलाई हिरो बनाइरहेका हुन्छन् भने अर्कातिर ‘बागवान’ जस्ता फिल्म हुन्छन्, जसले अभिभावकको अपेक्षालाई सन्तानको आकांक्षाभन्दा माथि राखेका हुन्छन् । अनि यिनका बीचमा हुन्छन्– माथि भनेजस्तो राज्य/सत्ता/संस्थापनको पक्ष वा विपक्षमा खुला रूपमा पैरवी गर्ने फिल्म र प्रोपोगन्डा फिल्म । अनि, ‘कानतारा’ जस्ता फिल्म, जसले मिथलाई ‘जंगल कसको ? सरकारको, आदिवासीको कि पुँजीपतिहरूको ?’ भन्ने वर्तमानको प्रश्नसँग जोडिदिन्छन् । यो प्रश्नको समाधानका लागि मानवेतर शक्तिको परिकल्पनालाई सान्दर्भिक तुल्याउँछन् । जब कि मिथमाथि बलिउडमै ‘तुम्बाड’ जस्ता फिल्म पनि बनेका छन्, जसले व्यक्तिको लोभलालचमाथि व्यंग्य गर्छन् ।

सरकार वा सरकारी एजेन्सीको बढाइचढाइ गर्ने फिल्म निर्माणको फर्मुला निर्यातको काममा पनि हलिउड अग्रणी मानिन्छ । २०१८ मा अमेरिकाको फ्लोरिडामा भएको एउटा पत्रकारिताका विविध आयाममाथिको छलफल कार्यक्रममा अमेरिकी सेनाका केही अधिकारी उपस्थित थिए । ४८ देशका पत्रकारको टोलीसँग अन्तरक्रिया थियो । त्यस क्रममा जिम्बावेका पत्रकारले उनीहरूलाई प्रश्न सोधे– अमेरिकी सेनाले हलिउडको फिल्ममा लगानी गर्छ भन्ने मैले सुनेको छु, यो सत्य हो ? यसको जवाफमा ती अफिसरहरूले ‘पहिले सेनाको इमेज राम्रो बनाउनका लागि त्यस किसिमका प्रयास गरिएको तर त्यो प्रत्युत्पादक साबित भएकाले बन्द गरिएको’ जवाफ दिएका थिए । भियतनाम युद्धपछि गोप्य रूपमा त्यस किसिमका लगानी गरिएको बताइने गरिएको छ ।

...

तर, सधैं विचार निर्माण गर्न सरकार/सेना वा कुनै एजेन्सीले लगानी/म्यानुपुलेसन गर्छन् भन्ने हुँदैन । ‘र’ वा ‘सीआईए’ चरित्रलाई नायक बनाएर बलिउड/हलिउडमा थुप्रै फिल्म बनेका छन् । बलिउडमा त केही वर्षअघि मात्रै आएको ‘उरी’ मा प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभललाई हिरोका रूपमा प्रस्तुत गरिएको थियो । मोदीकै व्यक्तित्वलाई उजिल्याउने गरी चुनावको मुखमा रिलिज गर्न लागिएको फिल्मलाई त्यहाँको निर्वाचन आयोगले चुनावपछि धकेलिदिएको थियो । त्यसकै आसपासमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता मनमोहन सिंहलाई ‘कठपुतली’ का रूपमा दर्साइएको ‘एक्सिडेन्टल प्राइमिनिस्टर’ पनि रिलिज भएको थियो । तैपनि यी नै मूलधार भने होइनन् । मूलधारको कथा अझै रोचक छ ।


फिल्ममेकरको ‘विचार’ ले उसले कुनै पात्रलाई कसरी प्रस्तुत गर्छ भन्ने तय हुन्छ । उदाहरणका लागि अनुराग कश्यपको ‘मुक्काबाज’ र आमीर खानको ‘दंगल’ लाई लिऊँ । यी दुवै फिल्म खेल र खेलाडीबारे छन् । तर, न यिनमा खेलाडीलाई प्रस्तुत गर्ने तरिका एउटै छ, न यिनले चित्रण गर्ने खेल राजनीति एउटै छ ! जहाँ ‘मुक्काबाज’ मा खेलको सम्पूर्ण तालाचाबी एक बाहुबली राजनीतिक नेताको हातमा छ, त्यहीं ‘दंगल’ मा यो एउटा बाउले देखेको मेडलको सपनामा निहित छ ! ‘दंगल’ ले एउटा खेलाडीको सफलतामा ऊ स्वयंको मिहिनेत र परिवारको साथ, समर्थनको कुरा गर्छ भने ‘मुक्काबाज’ त्यसभन्दा माथिको शक्ति, राजनीति, बाहुबल, जात र धर्मले कसरी एउटा व्यक्तिको आकांक्षालाई नयाँ मोड दिन्छ भन्नेसम्म पुग्छ ।

...

हालै ‘पठान’ रिलिजका बेला निर्देशक अनुराग कश्यपले ठूला फिल्म र ठूला स्टार नचले बलिउडमा बनिरहेका साना बजेटका राम्रा फिल्मलाई पनि गाह्रो हुने धारणा राखे । ‘ब्रुट’ सँगको कुराकानीमा उनले भने, ‘पठान वा ‘भोला’ जस्ता ठूला फिल्म चल्नुपर्छ । यिनले उद्योगमा पैसा ल्याउँछन् । धेरै दर्शकलाई हलसम्म तान्छन् । म ‘पठान’ जस्ता फिल्म बनाउँदिन । तर, यो फिल्म चलोस्, शाहरूख खान चलून् भन्ने चाहन्छु । ठूला स्टार र ठूला बजेटका फिल्मको सफलता धेरै महत्त्वपूर्ण कुरा हो । त्यो सफलताले मजस्ता फिल्ममेकरलाई टिकाइरहेको हुन्छ । तपाईं संसारका धेरै देशलाई हेर्नुस्, जहाँ मुख्य धाराको मसला फिल्म उद्योग छैन, त्यहाँ फिल्म बनाउन गाह्रो हुन्छ । ती देशहरूमा फिल्म उद्योग नै हुँदैन । त्यहाँका फिल्ममेकरहरू कल्चरल फन्ड र विदेशी लगानीकर्ताहरूमा निर्भर हुन्छन् ।’ अनुरागको भनाइबाट शाहरूख खानजस्ता स्टार र ‘पठान’ जस्तो फिल्मको सफलता किन महत्त्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ । अझै यसलाई लकडाउनपछि बलिउड फिल्मको व्यापार, दक्षिण भारतीय फिल्मको फैलावट र ओटीटीको सूक्ष्म अतिक्रमणको आलोकमा हेर्ने हो भने अझै प्रस्ट बुझिन्छ । र, यसका साथै बलिउडविरुद्ध चलेको ‘बहिष्कार’ ट्रेन्ड तथा सरकार समर्थित ‘ट्रोल’ हरूको आक्रमणको कोणबाट पनि हेर्नुपर्ने हुन्छ ।

कोरोना महामारी र यसका कारण भएको लकडाउनले संसारको अर्थतन्त्रलाई निकै गहिरोसँग प्रभावित पार्‍यो । यो प्रभावको निकै ठूलो चोट खप्ने क्षेत्रमा सिनेमा पर्छ । हलको टिकट बिक्रीबाट हुने कमाइमा फिल्मको ठूलो बजार आधारित हुन्छ । पछिल्लो समय डिजिटल र अन्य क्षेत्रबाट राम्रो कमाइ हुने भए पनि यसको मात्रा फिल्मको लगानी उठाउन र नाफा गर्न पर्याप्त छैन । कोरोना महामारीले हलको यही व्यापारलाई ठप्प बनाइदियो । यसले मुख्यतः तीन प्रकारले बलिउडको फिल्मको व्यापारलाई प्रभावित पार्‍यो ।

एक, कतिपय फिल्म हल नै बन्द भए । खास गरी भारतका मध्यम र साना तहमा रहेका झन्डै १५ सयवटा फिल्म हल बन्द भएको ‘टाइम्स अफ इन्डिया’ को रिपोर्ट छ । हालै भारतका उत्तर प्रदेशजस्ता राज्य सरकारले नयाँ मल्टिप्लेक्स खोल्न चाहनेलाई कर छुट दिनेलगायतका घोषणा गरेका छन् । भारतभरि हाल लगभग १० हजार ५ सयको हाराहारीमा फिल्म स्क्रिन छन् । जब कि अमेरिकामा यो संख्या ३२ हजार र चीनमा ८० हजारको हाराहारी छ ।

दोस्रो, फिल्म हलमा निरन्तर आइरहेका दर्शकको जीवनशैलीमा परिवर्तन । लामो समय घरभित्र बन्द भएपछि बाहिरी संसारसँगको अन्तरक्रियामा यसले मनोवैज्ञानिक असर पार्‍यो । कतिपय ‘पारिवारिक दर्शक’ को हलमा आउने उपक्रम बन्द भयो । तेस्रो, लकडाउनका समयमा युट्युबलगायतका निःशुल्क प्लेटफर्म र नेटफ्लिक्स तथा अमेजन प्राइजजस्ता ‘वान टाइम पेमेन्ट’ वाला प्लेटफर्ममा उपलब्ध फिल्म, वेबसिरिज र डब फिल्ममा दर्शकलाई अभ्यस्त बनाउने पनि काम गर्‍यो ।

यस्ता धेरै कारणले बलिउड फिल्मको व्यापारको आयाममा ठूलो परिवर्तन आएको अनुमान बजार विश्लेषकहरूको छ । र, हिन्दी फिल्मका दर्शकको मन मस्तिष्कमा दक्षिण भारतीय फिल्म सवार हुने सुरुवात पनि यही समयमा भएको मानिन्छ । हिन्दी भाषामा डब गरिएका तमिल–तेलुगु–कन्नडा–मलयालम फिल्मको लत यति कडासँग लाग्यो कि त्यसपछि हिन्दी क्षेत्रमा पनि डब फिल्मको फैलावट ह्वात्तै बढ्यो । केहीअघि ‘बाहुबली’ र ‘केजीएफ’ जस्ता डब फिल्मलाई करण जौहर एवं फरहान अख्तरजस्ता फिल्ममेकरले बलिउडको मूलधारमा ल्याइसकेका थिए । यो क्रम, ‘केजीएफ’, ‘पुष्पा’ र ‘आरआरआर’, ‘कानतारा’ हुँदै जारी छ ।

...

बलिउडकै अस्तित्वमाथि संकट उत्पन्न भएको चर्चा चल्न थाल्यो । बलिउडका ठूला ब्यानरका ठूला स्टारले भरिएका फिल्महरू फ्लप भएबाट पनि यो डर चुलिन पुगेको थियो । बलिउड फिल्मको व्यापारको तथ्यांक हेर्दा २०२२ मा जम्मा १० वटा हिन्दी वा डब फिल्म सफल रहे । यसमा हिन्दी भाषामै बनेका ‘द कश्मीर फाइल्स’, ‘दृश्यम २’, ‘भुलभुलैया’ र ‘ब्रह्मास्त्र’ ले ठूलो आँकडामा व्यापार गरे । ‘गंगुबाई काठियावाडी’ ले औसत व्यापार गर्‍यो । यीमध्ये ‘दृश्यम २’ मलयालम फिल्मको रिमेक थियो भने ‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीको छवि बलिउड–विनाशक एवं सत्ताधारी भाजपा उपासकको छ । यीबाहेकका फिल्ममा ‘आरआरआर’, ‘केजीएफ २’, ‘कार्तिकेय २’, ‘कानतारा,’ चार फिल्म डब थिए भने ‘डक्टर स्ट्रेन्ज’ र ‘अवतार २’ हलिउड फिल्म । यीमध्ये ‘द कश्मीर फाइल्स’, ‘भुलभुलैया’, ‘ब्रह्मास्त्र’, ‘आरआरआर’, ‘कार्तिकेय २’ र ‘कानतारा’ ले कुनै न कुनै रूपमा धर्म वा धार्मिक मान्यताबारे कुरा गर्छन् । कुनैले सिधै एउटा धर्म/समुदाय विशेषको वकालत गर्छन् भने कसैले सन्दर्भका रूपमा त्यसलाई लिएका छन् । युरोप र अमेरिकाका फिल्ममा पनि धर्म वा धार्मिक मान्यताका सर्वोच्चताका कुरा नआउने होइनन् । आफ्नो भाषा, धर्म र संस्कृतिको फैलावटका माध्यमबाट संसारभर प्रभाव विस्तार गर्ने ‘विस्तारवादी’ विगतको धङधङ्गी अहिले पनि तिनका कतिपय फिल्ममा देखिन्छ । सफल फिल्मको सूचीमा डबको यो संख्या हेर्दा हिन्दी फिल्म कसरी पेलिन थालेको छ भन्ने थाहा हुन्छ । ‘आरआरआर’ जस्तो फिल्मले बलिउड मात्रै नभई, पूरै संसारमा सफलता कमायो । यसको गीतले गोल्डेन ग्लोब अवार्ड जित्यो भने ओस्कारमा मनोनीत भयो । दक्षिण भारतीय स्टारहरू बलिउड स्टारभन्दा ‘लार्जर देन लाइफ’ लाग्न थाले । यस्तोमा भीएफएक्समा भर परेको आयान मुखर्जीको ‘ब्रह्मास्त्र’ ले राम्रो व्यापार गर्‍यो र बलिउडको आशा जगाइराख्यो । तर, त्यसपछि आएको बलिउडका हिट–मेसिन रोहित सेट्टीको फिल्म ‘सर्कस’ (रनवीर सिंह, ज्याकलिन) को असफलताले फेरि झस्काइदियो । यसमा झस्किने कारण के पनि थियो भने यसअघि अक्षय कुमार, सलमान खान र आमीर खानजस्ता स्टारका फिल्म फ्लप भइरहेका थिए, शाहरूख खान लगभग पाँच वर्षदेखि वनबासमा थिए । सलमानका पछिल्ला फिल्म ‘रेस ३’ र ‘अन्तिम’ ले पनि ठूलो सफलता पाएका थिएनन् । त्यस्तै, आमीरको ‘फरेस्ट गम्प’ रिमेक ‘लालसिंह चड्डा’ ले त बक्स अफिसमा ठूलै ‘गड्डा’ बनाएको थियो । अक्षयका ‘रामसेतु’ देखि ‘बच्चन पाण्डे’ हुँदै ‘रक्षा बन्धन’ सम्म डुबेका थिए । यस्तो अवस्थामा सबैको नजर थियो शाहरूख खानको फिल्म ‘पठान’ मा ।

...

२०१८ मा आएको आनन्द एल. रायको फिल्म ‘जिरो’ शाहरूख खानले मुख्य भूमिकामा अभिनय गरेको अन्तिम फिल्म थियो (ससानो अतिथि भूमिकामा भने देखिएका थिए । ब्रह्मास्त्रमा पनि उनी त्यस्तै भूमिकामा थिए ।) त्यसअघि उनी इम्तियाज अलीको ‘ह्यारी मेट सेजल’ मा देखिएका थिए । यी दुईसमेत ‘दिलवाले’, ‘रइस’, ‘डियर जिन्दगी’, ‘फ्यान’ लगायतका फिल्मले सोचेजस्तो व्यापार नगरेपछि शाहरूख खान चार वर्ष फिल्मबाट टाढा रहे । ९० को दशकमा उदाएर झन्डै दुई दशक बलिउडको ‘लिडिङ म्यान’ मानिएका शाहरूखको कमब्याक फिल्म थियो– ‘पठान’ । यसको निर्माता कम्पनी यशराज फिल्मसले यससँगै ‘स्पाई युनिभर्स’ को पनि घोषणा गरेको छ । यशराजले भारतीय जासुसलाई केन्द्रमा राखेर यसअघि नै ‘वार’, ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा है’ बनाएको थियो । र, यी तीनै फिल्म हिट थिए । ‘वार’ को कथा र ‘टाइगर’ को गेस्ट अपेरियन्सलाई जोडेर यशराजले ‘स्पाई युनिभर्स’ को जग ‘पठान’ मा राखेको छ ।

यो युनिभर्सलाई हलिउडको जेम्स बोन्ड र मिसन इम्पोसिबलको बलिउडको संस्करणका रूपमा चर्चा गरिएको छ । यी दुवै हलिउडका स्पाई थ्रिलर हुन् । र, यी आफ्नो मुख्य जासुसको चकित पार्ने कारनामा, भव्य स्टन्ट, सुन्दर नायिका, खतरनाक योजना बनाइरहेका डरलाग्दा भिलेन र अन्त्यमा राष्ट्रिय हितको रक्षाको फर्मूलामा बन्ने फिल्म हुन् । ‘पठान’ को ब्लुप्रिन्ट यही हो भनेर अब भनिरहनु नपर्ला । किनभने, फिल्म रिलिज भएर हिन्दी फिल्मको व्यापारका थुप्रै रेकर्ड तोडिसकेको छ । यसले एकसाथ बलिउड मसला फिल्मलाई पुनःस्थापित गर्ने, दक्षिणी भारतीय डब फिल्मको भयबाट बलिउडलाई मुक्त गर्ने, भारतमा बढिरहेको इस्लामोफोबिया (मुस्लिमलाई घृणा गर्ने राजनीति) लाई परास्त गर्ने र हलमा दर्शकलाई फेरि उल्लासपूर्ण वातावरणमा ल्याउनेलगायतका अनेक श्रेय पनि पाइसकेको छ ।

...

सामान्य हिसाबमा पनि यसको सफलतालाई धेरै तत्त्वको मिश्रण मान्न सकिन्छ । पछिल्ला वर्षहरूमा शाहरूखलाई उनको प्रतिभा, विचार र समुदायका कारण गरिएको व्यवहारले उनीप्रति पैदा भएको सहानुभूतिको प्रकटीकरण मान्न सकिन्छ । ९० को दशकमा सुरु भएको उदारीकरणपछि त्यसले ल्याएको खुलापनमा हुर्किएको नयाँ पुस्ताको प्रतिनिधिका रूपमा शाहरूख खानले स्टारडम प्राप्त गरेका थिए, खासगरी, ‘दिलवाले दुल्हानियाँ ले जाएंगे’, ‘दिल तो पागल है’ र ‘कुछ कुछ होता है’ जस्ता फिल्मबाट । अमिताभ बच्चनलाई सुपरस्टार बनाउने फिल्महरू ‘जंजीर’, ‘दिवार’ र ‘शोले’ हरू राज्य र समाजसँग व्यक्तिको सम्बन्ध र संघर्षका कथा थिए । यिनमा समाज र समयप्रतिको आक्रोश थियो । तर, राजनीति र अर्थव्यवस्थामा आएको परिवर्तनसँगै सुपरस्टारको चरित्र कलेज विद्यार्थी, एनआरआई एवं संगीत तथा नृत्यजस्ता विधामा पोख्त ‘रचनात्मक’ युवाले लिइसकेको थियो । अबको सुपरस्टार समाज र सत्तासँग लड्दै थिएन, ऊ आफ्नो सपनालाई पछ्याउँदै थियो । आर्थिक उदारीकरणले उसलाई यति छुट दिएको थियो । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणपछि सुरु भएको ‘बलिउड ब्यासिङ’ को सिकार शाहरूखको परिवार पनि भयो । एउटा पार्टीमा लागूऔषध राखेको अभियोगमा शाहरूखका छोरा आर्यनलाई पक्राउ गरेर उनीमाथि मुद्दा चलाइयो । पछि अदालतले यो मुद्दालाई बिनाआधार चलाइएको भनेर खारेज गरिदिएको थियो । यी सबै हर्कतले शाहरूखजस्तो भारतको ग्लोबल स्टारमाथि अन्याय भएको देखिन्थ्यो । सम्प्रदाय विशेषप्रति घृणा फैलाउने गरी भएका यी आक्रमणलाई जवाफ दिन भारतको उदार समाज तत्पर देखियो । यसमा शाहरूखको ठूलो ‘फ्यान बेस’ ले प्रभावकारी भूमिका निर्वाह गर्‍यो । शाहरूखको बौद्धिक र सन्तुलिन स्टारको छविले पनि यसमा काम गरेको थियो । उनले छिमेकदेखि विदेशसम्मबाट दर्शकको समर्थन प्राप्त गरे ।

यसका साथै ५८ वर्षको उमेरमा शाहरूखले यो फिल्मका लागि गरेको मिहिनेत पनि तारिफयोग्य थियो । १८ वर्षको युवाजस्तो ऊर्जावान् देखिने शाहरूखले यो एक्सन फिल्मका लागि सुगठित शरीर बनाएका थिए । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले एक अन्तर्वार्तामा बताएअनुसार, यो फिल्मको डिजाइन नै एक्सन–मसला फिल्मका रूपमा गरिएको थियो । मोटामोटी कथा तय गरेपछि यसमा ६ वटा एक्सन सिक्वेन्स राख्ने योजना बनाइएको थियो, त्यसैअनुसार एक्सन कोरियोग्राफीको काम सबभन्दा पहिला सुरु गरिएको थियो । फिल्ममा जोन अब्राहमलाई एन्टागोनिस्ट र दीपिका पादुकोणलाई हिरोइनको भूमिकामा लिइयो, जो पूर्वपाकिस्तानी जासुसको भूमिकामा छन् । यो जासुस, पूर्वजासुस र सदाबहार जासुसको कथा हो (तपाईंले फिल्म हेर्नुभएको छैन र हेर्ने मनसुबा छ भने यो लेखले फिल्मको केही कथा खोल्न सक्ने जानकारी गराउँछु) । भारतीय ‘र’ को पूर्वजासुस जोन अब्राहम, जो आफ्नो परिवारको रक्षा देशले नगरेको भनेर अन्तर्राष्ट्रिय आतंककारी बनेको छ भने पाकिस्तानी सीआईएकी पूर्वएजेन्ट छिन् दीपिका । अतिथि भूमिकामा छन् ‘टाइगर’ सलमान खान । सानो भूमिकामा आए पनि अर्को मिसनमा यी दुवै सँगै हुनेछन् भन्ने संकेत फिल्मले दिन्छ । कथा नयाँ छैन– देशमाथि खतरा छाएको छ, त्यो रोक्नका लागि एउटा खतरनाक एजेन्ट चाहिएको छ । यहीं काम आउँछ पठानको । यसमा नयाँ कुराचाहिँ पैसाका लागि कुनै देशमाथि नै आक्रमण गर्न तयार हुने ‘व्यावसायिक आतंककारी’ समूहको कल्पना छ । यसअघि यस्तो भूमिकामा राजनीतिक/धार्मिक मिसन बोकेका समूह हुने गर्थे ।

...

पछिल्लो समयमा आएका अधिकांश ‘ठूला फिल्म’ ले नयाँ नेतृत्व आएपछि समाजमा जागृत भएको धर्म, संस्कृति लगायत भावनात्मक कुरा झिक्छन् र अन्त्यमा सरकारी संयन्त्रको महिमामण्डन गर्छन् । बीजेपी समर्थक एक जना भारतीय टीभी पत्रकारको टिप्पणी यसमा रोचक थियो । उनले प्रश्न गरे– यत्तिको चरित्र बनाइसकेपछि यसलाई हिन्दु नाम नदिएर किन पठान भनिएको होला ?

शाहरूखको चरित्रलाई केवल पठान भनिएको छ, उसको अगाडिको कुनै नाम छैन । न उसको परिवार वा अरू कुनै ‘लिगेसी’ नै छ । यो कसैले धर्मपुत्रका रूपमा ग्रहण गरेर पठान नाम दिएको पनि हुन सक्ने किसिमको चरित्र बनाइएको छ । फिल्ममा मुसलमान परिवारको पूर्वकथा देखाउनका लागि भारत नभई अफगानिस्तान पुर्‍याइएको छ । फिल्ममा राष्ट्रवादको राग चर्कै छ । सायद, यसैले पनि फिल्म एकैसाथ शाहरूख विरोधी र शाहरूख समर्थक दुवैको प्रिय बन्न पुग्यो ।

यो सफलताले बलिउड बक्स अफिसलाई त त्राण देला, तर यसले केही सम्भावित परिदृश्यहरू पनि देखाउँछ, जहाँ बलिउडमा हलिउडका सुपरहिरो फिल्मजस्तै एकै शैलीका फिल्मको बोलवाला हुन सक्छ । हलिउडमा भने सँगै अर्को धार पनि बलियो भएकाले सन्तुलन कायम छ । फ्रेन्चाइज र युनिभर्सको चक्करमा फिल्म–कला, प्रयोगको नवीनता र कथाको विविधता च्यापिने हो कि भन्ने समीक्षकहरूको चिन्ता जायज लाग्छ । यस्तोमा हामीले फेरि अनुराग कश्यपतिर फर्किनु अनिवार्य हुनेछ । अनुरागले भनेजस्तो यस्ता ठूला फिल्मको कमाइले सानो बजेटका अर्थपूर्ण फिल्म बनाउन खोज्नेहरूलाई कत्तिको मद्दत पुग्छ ? बलिउडको बजारको आशा जोगाउनुका अलावा, कलाको दृष्टिबाट ‘पठान’ जस्ता फिल्मको सफलताको महत्त्व त्यसमा निर्भर हुनेछ ।

र, ‘वासिङ्टन पोस्ट’ (अक्टुबर २०, २०२१) को आफ्नो कोलममा बर्खा दत्तले लेखेजस्तो यसबीचका सारा घटनाक्रमले शाहरूख खानजस्तो ‘भोकल’ स्टारलाई मौन बनाइदिएको छ । फिल्मको व्यापारमा असर पार्ने भएकाले उनले अन्तर्वार्ताहरू कम दिएको देखिन्छ । न उनले राजनीतिक वा सामाजिक मुद्दाबारे टिप्पणी गरे । बरु, यसबीच अमिताभ बच्चनसँग संयुक्त रूपमा कलकत्ता फिल्म फेस्टिभलको उद्घाटन गर्दै उनले ‘सामाजिक सञ्जालले मानिसको सोच साँघुरो बनाउन र नकारात्मकता फैलाउन मद्दत गरेको’ भनेर भाषण गरे । उनले यसमा सिनेमा माध्यमको कति महत्त्व छ भन्नेबारे प्रकाश पारे । तर, पहिलेजस्तो अल्पसंख्यक वा फरक विचार बोक्नेहरूबारे खासै बोलेनन् । यसलाई राजनीति र समाजका अगाडि व्यक्तिको विचार कमजोर हुन गएको संकेतका रूपमा बुझ्न सकिन्छ ।

के खुला समाजको प्रतीक, व्यक्ति स्वतन्त्रता (आफ्नो जीवनसाथी र जीवनशैली चयनको स्वतन्त्रता) को हिमायती पात्रमाथि राज्य संयन्त्र हावी भएको हो ? अथवा बलिउडको मुख्य धाराले नयाँ समयको व्यक्तिको आकांक्षा, स्वतन्त्रता र प्रेमका कुराभन्दा देशमाथि भइरहेका वा हुन सक्ने हमलाहरू, यसलाई रोक्न सरकार र सुरक्षा एजेन्सीले गरिरहेका प्रयासका विषयलाई महत्त्व दिन थालेको हो ? एक अर्थमा यसलाई बलिउड बिस्तारै ‘रोमान्टिक’ बाट ‘राजनीतिक’ भएको पनि मान्न सकिएला । बजारमा जे बिक्छ, त्यही धेरै बन्छ । संसारमा प्रचलित लोकतन्त्र व्यक्तिका लागि साँच्चिकै सहयोगी र सार्थक हुन सकिरहेको छ कि छैन भन्ने अर्को बहसको विषय होला, तर कलामा विचार र अभिव्यक्तिको विविधता खुम्चिनु उदार समाजका लागि सुन्दर विषय होइन ! एकै रंगको इन्द्रेणी पनि के इन्द्रेणी ?

प्रकाशित : फाल्गुन १३, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×