२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

‘विद्रोही’ राजकुमार

के ह्यारीले विद्रोह नगरेको भए वा अर्को तरिकाले बाँच्न नचाहेको भए समस्याका पहाड चढ्नुपर्दैनथ्यो ? दरबारभित्रको उकुसमुकुसबाट कसरी बाहिर निस्किन्थे  ?

राजकुमारको विद्रोह कस्तो हुन्छ ? सत्ता हत्याउने ? अर्को राज्यमाथि आक्रमण गर्ने ? राजघरानाबाहिर विवाह गर्ने ? इतिहासमा पढ्दै आएको यस्तै–यस्तै हो । तर, दरबारमा सत्ताको खेल मात्र हुँदैन, कसैको भावनामाथि पनि खेलिन्छ, आत्मसम्मानमा ठेस पुर्‍याइन्छ । परिवारभित्रैको यस्तै खिचातानी सहन नसकेर बेलायती राजकुमार ह्यारी राजकीय जिम्मेवारीबाट अलग भएका हुन् ।

‘विद्रोही’ राजकुमार

के उनले विद्रोह नगरेको भए वा अर्को तरिकाले बाँच्न नचाहेको भए समस्याका पहाड चढ्नुपर्दैनथ्यो ? दरबारभित्रको उकुसमुकुसबाट कसरी बाहिर निस्किन्थे ? आमा डायनाको मृत्युपछिको एक्लोपन, अफगानिस्तान युद्ध र प्रेमसम्बन्धबारे चर्चा गरेका छन् ह्यारीले भर्खरै प्रकाशित संस्मरण ‘स्पेयर’ मा । सन् २०२० मार्चमा राजकुमार ह्यारी र मेगनले बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा जिम्मेवारी त्यागेका थिए । उनीहरू अहिले छोरा आर्ची र छोरी लिलीसँगै अमेरिकामा बस्दै आएका छन् ।

सन् १९८४ मा जन्मिएका ह्यारी ‘जगेडा’ थिए । उनीभन्दा २ वर्ष जेठा दाजु विलियम राजगद्दीको उत्तराधिकारी । सञ्चारमाध्यमले मात्रै नभई परिवारमै पनि आफूलाई ‘प्लान बी’ का रूपमा लिने गरिएको उनको गुनासो छ । विलियमलाई केही भइहाल्छ कि भनेर उनलाई ल्याइएको थियो । ह्यारी आफ्नो संस्मरण ‘स्पेयर’ मा भन्छन्, ‘ब्याकअपका लागि मलाई निम्त्याइएको थियो । विकल्पका रूपमा । यदि आवश्यक परे स्पेयर पार्टका रूपमा । सायद किड्नीका रूपमा ।’

विलियमको बेडरुम, आकर्षक झ्यालढोका लोभलाग्दा थिए । विलियमको भन्दा आधै सानो र कम विलासी थियो ह्यारीको कोठा । ‘तर मैले कहिल्यै किन भनेर सोधिनँ । किनकि उनी उत्तराधिकारी थिए, म जगेडा,’ संस्मरणमा उनी भन्छन् । ह्यारीले दरबारमा दोस्रो सन्तानका रूपमा पहिचानको संकट भोगे । बेलायती राजगद्दीमा ह्यारीको पालो आउँछ राजकुमार विलियम, राजकुमार जर्ज, राजकुमार लुइस र राजकुमारी चार्लोटपछि मात्रै ।

एउटा नियमजस्तै चार्ल्स र विलियम एउटै विमानमा कहिल्यै पनि उडेनन् । पहिलो र दोस्रो नम्बरका उत्तराधिकारीमाथि भवितव्य नआओस् भन्ने कारण थियो । तर, ह्यारी जोसँग पनि यात्रा गर्न सक्थे । ‘जगेडा सधैं जगेडा नै । मलाई यो थाहा थियो, मेरो स्थान मलाई राम्रोसँग थाहा थियो,’ उनी भन्छन् । डायनाको मृत्युले उनलाई आघात पुगेको थियो । उनी भन्छन्, ‘बुबाले आमाको टाउकामा चोट लागेको थियो भन्नुभएको थियो, तर मेरो मस्तिष्कमा चोट लागेको थियो ।’

पहिचान खोज्दै सेनामा

विद्यालयदेखि नै ह्यारी छटपटिए । नभएका आरोपको सामना गरे । इटनमा उनलाई आर्ट विषयमा चोरीको आरोप लगाइयो । शिक्षकको आरोप पुष्टि भएन । ह्यारीको रिजल्ट रोकिएन । तर, उनीमाथि लागेको दागको के ? उनी यसबारे वक्तव्य जारी गर्न चाहन्थे, दरबारले रोक्यो । दरबार आफ्नो नीतिवाक्यमा अडियो, ‘कहिल्यै गुनासो नगर्नू, कहिल्यै व्याख्या नगर्नूृ ।’ उनी प्रेस कन्फरेन्स गरेर भन्ने चाहन्थे कि यो सब झूट हो । पहिचानको खोजीमा दरबारबाहिर निस्कन चाहन्थे उनी । कल्याणकारी कामका लागि लेसोथो पुगे । सन् २००४ मा लेसोथो एड्सको इपिसेन्टर थियो । उनले एड्सले ज्यान गुमाएका व्यक्तिका छोराछोरीको हेरचाहमा योगदान गरे । अफ्रिकाप्रतिको रुचिकै कारण साथी तीजले ह्यारीको प्रशंसा गर्दै भनेकी छन्, ‘तिम्रो शरीर बेलायतमा पैदा भयो, तर तिम्रो आत्मा अफ्रिकामा ।’ यसलाई ह्यारीले अहिलेसम्म पाएको ठूलो प्रशंसाका रूपमा लिएका छन् ।

सन् २००५ मा ह्यारी रोयल मिलिट्री एकेडेमीमा भर्ना भए । सेनाको प्रशंसामा लेखिएका कविताको प्रसंग जोड्दै उनले सेनामा आबद्ध हुनुको कारण चर्चा गरेका छन् । ‘डल्स एट डेकोरम इस्ट प्रो प्याट्रिया मोरी’ अर्थात् ‘आफ्नो देशका लागि मर्नुजत्तिको सुन्दर चीज केही हुँदैन ।’ रोमन कवि होरेसको पंक्ति सापटी लिएर प्रथम विश्वयुद्धका बेला बेलायती कवि विल्फ्रेड ओवेनले यही शीर्षकमा कविता लेखेका थिए । जब सेनाको आधारभूत तालिम सक्छन् उनी हल्का हुन्छन् । भन्छन्, ‘अब आधिकारिक रूपमै म राजकुमार ह्यारी रहिनँ । म अब ब्रिटिस फौजको लेफ्टिनेन्ट भएँ ।’ सेनामा जाने कुरा पनि चर्चाको विषय बन्यो । कतिले भने, ‘जगेडै भए पनि शाही परिवारका व्यक्तिलाई युद्धमा पठाउनु युक्तिसंगत होइन ।’ कतिले भने, ‘त्यत्रो खर्च गरेर ह्यारीलाई सैनिक बनाएर जनताले तिरेको करको नास मात्र ।’ ‘मर्‍यो भने मरिहाल्यो ।’ तर, ह्यारी भने दरबारभित्रको उकुसमुकुसले पनि युद्धमा होमिन चाहन्थे । त्योभन्दा पनि पहिचानका लागि भौंतारिएका थिए ।

सन् २००७ मा इराकी सीमा बास्रामा उनलाई खटाइयो । इराकी स्नाइपरबीच ह्यारीको तस्बिर छ्यापछ्याप्ती भएको ब्रिटिस गुप्तचरले थाहा पाए । मिसन खतरापूर्ण भयो, त्यसै त युद्ध त्यसमाथि राजकुमार । इराकमा आफू भएको खबर सार्वजनिक भएपछि उनी अफगानिस्तानमा खटिने भए । ह्यारीलाई इराकभन्दा खतरापूर्ण लाग्थ्यो अफगानिस्तान । त्यतिबेला अफगानिस्तानमा करिब ७ हजार ब्रिटिस सैनिक थिए । फर्वाड एयर कन्ट्रोलरका रूपमा युद्धभूमिको ३६० डिग्री दृश्य जानकारी दिने काम थियो उनको । ‘विडो सिक्स सेभेन’ व्यक्तिगत कलसाइन । त्यसअघि उनका विभिन्न नाम र उपनाम थिए । सेनामा दिइएको नाम पहिलोपटक मन परेको थियो उनलाई ।

अफगानिस्तानमै भएका बेला अस्ट्रेलियन म्यागजिनले राजकुमार ह्यारी हेलमन्ड प्रान्तमा छन् भनेर खबर छाप्यो । तालिबानले सबै थाहा पायो । उनी टार्गेट बन्न सक्ने देखेर तत्काल उनलाई फिर्ता पठाइयो । मार्च १, २००८ मा उनी बेलायत फर्किए । २०१२ मा उनी पुनः अफगानिस्तान पुग्छन् । यसपालिचाहिँ क्याप्टेनको भूमिकामा । ड्युटी थियो ब्रिटिस एयरबेसमा । यस पटक पनि लगातारको बेलायती मिडियाको कभरेजपछि तालिबानले ह्यारीलाई टार्गेट बनाएका छन् भन्ने खबर आयो ।

युद्धमा मर्नुबारे उनी भन्छन्, ‘यो हिसाबजस्तै हो । खराब व्यक्तिले हाम्रा मान्छेप्रति खराब व्यवहार देखाएका छन् । यदि मैले भर्खरै उसलाई नउडाएको भए उसले ब्रिटिस सैनिक मार्थ्यो । हामी पनि अरू युद्धका सिपाहीभन्दा फरक थिएनौं । हामी लड्न चाहन्थ्यौं । तर, हामीलाई ठूल–ठूला विषय थाहा थिएन । भूराजनीति लगायतका ठूला कुरा ।’

कमान्डर भन्ने गर्थे एक जना तालिबान मर्दा थप ३ जना निस्कन्छन् । ह्यारी त्यसमा सहमत हुँदै युद्धले तालिबानी बढिरहेको बताउँछन् । सन् २०२१ को अगस्टमा करिब २० वर्षे युद्ध टुंग्याउँदै अमेरिकी सेना फर्किएको थियो । सन् २००१, सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सेना पठाएको थियो । अफगानिस्तानमा अमेरिकाले झन्डै २ ट्रिलियन डलर खर्च गर्‍यो । अफगानिस्तान बनेन, झन् जर्जर भयो । करिब २ हजार अमेरिकी सैनिकले ज्यान गुमाउँदा १ लाख ७० हजारभन्दा बढी अफगानी मारिए । अफगान युद्धमा करिब ४५० ब्रिटिस सैनिक मारिए । त्यसमा गोर्खा सैनिक पनि परे । नेटो नेतृत्वको सेना फर्किएपछि २०२१ को अगस्टमा तालिबान सत्तामा फर्कियो । सत्ताकब्जाका बेला उदार रहने प्रतिबद्धता जनाएको तालिबानले कठोर शासन चलाइसकेको छ । छात्राहरूलाई विद्यालय, क्याम्पस जान प्रतिबन्ध छ, सर्वसाधारणको स्वतन्त्रता खोसिएको छ ।

धेरै सैनिकले आफूले कति मारेँ भन्ने थाहा नपाए पनि ह्यारीसँग भने हिसाब छ । उनको हातबाट अफगानिस्तानमा २५ जना मारिए । तर, यो संख्या गर्वको विषय नभएको उनको भनाइ छ । सेप्टेम्बर ११ को आक्रमण आततायी भएको र त्यसका दोषीले दण्ड पाउनुमा कुनै खोट नभएको उनको बुझाइ छ । तर, अफगानिस्तानमा सर्वसाधारण पनि ठूलो संख्यामा मारिए । ह्यारी भन्छन्, ‘मेरो युद्ध अफगानिस्तानमा सुरु भएको होइन, सन् १९९७ को अगस्टमा भएको हो ।’ डायनाको मृत्युपछि उनले एक प्रकारको युद्धकै भोगाइ भोगे । मानसिक रूपमा विक्षिप्त बने । थेरापिस्टको सहायतासमेत लिए ।

दरबारको दुःख

ह्यारीे साहित्यकार हिलारी म्यान्टेलको दरबारबारे लेखको प्रसंग पनि ल्याउँछन् । ‘मानिसहरूले शाही परिवारका व्यक्तिलाई अर्कै संसारको प्राणीजस्तो सोच्ने गरेका छन् । ओहो, तिमी त राजकुमार केही समस्यै छैन होला भन्छन्,’ म्यान्टेलले आफूहरूलाई पान्डासँग तुलना गरेको प्रसंग पुस्तकमा उल्लेख छ । म्यान्टेलले ‘रोयल बडिज’ मा लेखेकी छन्, ‘म एउटा साह्रै चाखलाग्दो विषयमा सोच्ने गर्छु वास्तवमा राजतन्त्र हुनुपर्छ कि पर्दैन ? प्रश्न यस्तो हुनुपर्छ जस्तो लाग्छ कि हामीलाई पान्डा चाहिएको हो वा होेइन ?...सबैले उनीहरूलाई घुरेर हेर्छन् । एउटा पिँजडामा बन्दजस्तो ।’

त्यति मात्रै होइन, दरबारप्रतिको अति उत्सुकताले दुर्घटना निम्त्याउने उनको तर्क छ । पापाराजीहरूको लहडी उत्सुकताले डायनाले ज्यान गुमाउनुपर्‍यो । म्यान्टेल भन्छिन्, ‘लहडी उत्सुकता सजिलै क्रूरता बन्न सक्छ । सहजै घातक बन्न सक्छ ।’

इतिहास दोहोरिन दिनु नहुने भन्दै उनी भन्छिन्, ‘इतिहासले हामीलाई मूर्ख बनाउँछ । प्रायः कठपुतली बनाउँछ । तर, यो दोहोरिनु हुन्न । तर, वर्तमानमा धेरै झूट हाम्रो नियन्त्रणमा छ । मैले सेन्सरसिप हुनुपर्छ भनेको होइन, म अति छल र भक्ति हुनुपर्छ पनि भन्दिनँ, तर हामी पछि हट्नैपर्छ निर्दयी हुनुहुन्न ।’

शाही शरीर हेर्नकै लागि मात्रै होजस्तो व्यवहार गरिने म्यान्टेल बताउँछिन्, ‘हामी जुनसुकै बेला आदरको च्यादर च्यात्न तयार हुन्छौं । शाही परिवारलाई अमानवीय व्यवहार गर्छौं । हामी उनीहरूलाई हामीभन्दा नि तल्लो व्यवहार गर्छौं । वास्तवमा भन्नुपर्दा मान्छे नै ठान्दैनौं ।’ दरबारका मान्छेलाई आफू विशेष हुँ भन्ने कुराले थिचिरहेको हुन्छ । त्यसैले उनीहरू सभासमारोहमा खुलेर कुरा गर्न सक्दैनन् ।

दरबारमा यतिसम्म दबाब हुन्छ कि मेगनको पहिलो बच्चा हुने बेला दरबारबाट प्रश्न सोधिन्छ, ‘कहिलेसम्म यत्तिकै, प्रेसले सधैं कुरिरहन सक्दैन, तिमीहरूलाई थाहा छ नि ?’ आखिर प्रेसमा आओस् भन्ने दरबार नै चाहन्थ्यो । मेगनमाथि प्रेसको आक्रमण रोकिएन । नस्लभेदी टिप्पणी बर्सिए । क्यामिला र केटलाई प्रेसको आक्रमण नभएको होइन, तर मेगनलाई जस्तो ‘मंकी आइल्यान्डकी रानी’ जस्तो तुच्छ टिप्पणी भने नभएको ह्यारीको भनाइ छ । पटक–पटक विलियमले त बुझ्लान् भनेर दुःखेसो पोख्थे, तर विलियमले चासो दिएनन् । ह्यारीलाई बुझ्नै सकेनन् वा बुझ्नै चाहेनन् । हजुरबुबा फिलिपको अन्तिम संस्कारका बेला ह्यारीले घर छाडेको प्रसंग निकाल्छन् । ह्यारी सोध्छन्, ‘मैले किन घर छाडेँ, थाहा छ नि ?’ तर, विलियम र चार्ल्स दुवैको सीधा उत्तर आउँछ, ‘मलाई थाहा छैन ।’

ह्यारी र मेगन ब्रिटिस प्रेसबाट टाढा रहन चाहन्थे, नाटकबाट टाढा, सबै झूटबाट टाढा । त्यसैले राजकीय जिम्मेवारी छाडी उनीहरू अमेरिका गए । गत सेप्टेम्बरमा रानी एलिजाबेथको निधन हुन्छ । चार्ल्सले ह्यारीलाई बोलाउँछन् तर भन्छन्, ‘मेगनलाई साथमा नल्याउनू ।’

ब्रिटिस पत्रकारिताप्रति गुनासो

बेलायती पत्रिकासँग ह्यारीको गुनासै गुनासो छ । खासगरी बेलायती ट्याब्लोइडले उनी र मेगनबारे मनगढन्ते सामग्री छापे । बेलायती राजपरिवार ट्याब्लोइडका आम्दानीको बाटो हो । आफ्नो एउटा तस्बिर ३० हजार पाउन्डसम्ममा बिक्री भएको थाहा पाएको ह्यारीले लेखेका छन् । राजकुमार चार्ल्सका दोस्रो सन्तान आफ्नै सन्तान होइन भन्नेसम्म लेखे ब्रिटिस ट्याब्लोइड पत्रिकाले । ह्यारीका वास्तविक बुबा डायनाका पूर्वप्रेमी मेजर जेम्स हेविट हो भनेर हल्ला फिँजाए । तर, तथ्य के हो भने ह्यारी जन्मेको धेरैपछि मात्र डायनाले उनलाई भेटेकी थिइन् । केही रिपोर्टरले ह्यारीको डीएनए जाँचसमेत माग गरे । उनीमाथि लेखिएका धेरै पुस्तकमा मेजर हेविटको प्रसंग आएकै छ ।

शाही परिवार ब्रिटिस ट्याब्लोइडको निसानामा परेको पहिलोपटक होइन, तर मेगन मार्कलमाथि अत्याचारै भएको थियो । उनका बुबासमेतलाई तारो बनाइयो । ‘डेली मेल’ मा स्तम्भकार ड्यान वुटन ह्यारी–मेगनबारे जे–जति खबर आउँथे ती सबै दरबारबाट आउने बताउँछन् । ‘ह्यारी–मेगनबारे नकारात्मक कुरा शाही परिवारबाटै आउँथ्यो । शाही परिवार र त्यहाँका कर्मचारी नै प्रेसलाई समाचार दिन्थे,’ उनी भन्छन् । वुटनको भनाइ पुष्टि हुने प्रमाण हो ब्र्रिटिस ट्याब्लोइडका पत्रकारको दरबारसँगको निकटता । दरबारका अति गोप्य भनिएका दस्तावेज र पत्रहरू नै बाहिरिन्थे । राजकीय जिम्मेवारी छाड्दै छन् भन्ने नै चार्ल्सलाई बाहेक कसैलाई थाहा नभए पनि मिडियामा भने आइसकेको थियो । ह्यारीले पुस्तकमा भ्रष्ट पत्रकारिता र त्यसमा सहभागी व्यक्तिप्रति निकै असन्तुष्टि पोखेका छन्् । ‘डेली मेल’ का उपसम्पादक चार्ल्स र क्यामिलाको सञ्चारसचिवमा नियुक्त हुनु पनि चासोको विषय बनेको छ ।

ह्यारीले मात्र होइन, मेगनले पनि सार्वजनिक रूपमा दरबारप्रति असन्तुष्टि पोखेकी छन् । अन्तर्वार्ताका क्रममा सत्यतथ्य बताएपछि दरबारको प्रतिक्रिया कस्तो आउला भनेर मेगनलाई ओप्रा विन्फ्रेले प्रश्न सोधेकी थिइन् । ‘राजदरबारले हाम्राबारेमा नभएका कुरा फैलाउन सक्रिय भूमिका खेलिरहेको अवस्थामा यति समय बित्दा पनि हामी त्यसै चुप लागेर बस्छौं भनेर तिनीहरूले कसरी अपेक्षा गर्न सक्छन् र ?,’ मेगनको जवाफ थियो ।

पत्रकारले नराम्रैका लागि आफूलाई प्राप्त शक्ति प्रयोग गर्ने हो भने लोकतन्त्र संकटमा पर्ने ह्यारीको तर्क छ । इन्स्टाग्राममै देखेर सुरु भएको थियो मेगनसँगको प्रेम सम्बन्ध । मेगनभन्दा अघि चेल्सी डेभी र क्रेसिडा बोनाससँग पनि उनी प्रेममा थिए ।

बेलायती सञ्चारमाध्यममा मेगनमाथि जातीय टिप्पणी भए । मेगन ‘पोर्नस्टार’ भएको अफवाह फैलाए । ह्यारी मुद्दा हाल्न चाहन्थे, तर चार्ल्सको सधैंझै जवाफ आउँथ्यो, ‘त्यस्तो कुरा नपढ ।’ ‘सन’ ले उक्त समाचारमा भूलसुधार गर्‍यो, तर सानो बक्समा त्यो पनि दोस्रो पृष्ठमा ।

ह्यारी मेगनसँग कुनै अफ्रिकी मुलुकमा गई सुटुक्क विवाह गर्न चाहन्थे । तर, ‘रोयल म्यारिज एक्ट’ र ‘सक्सेसन टु क्राउन एक्ट’ जस्ता कानुनले उनलाई रोक्यो । मेगनलाई देखेपछि कतिपयले भने, ‘डायना भएको भए कति खुसी हुन्थिन् होला ?’

मेगनको पोसाकदेखि केटसँगको मनमुटावलाई लिएर ब्रिटिस अखबारले खेदो खने । ‘ब्रा’ को स्ट्रिपदेखि शाही घराना सुहाउँदो लवज नभएको विषयले अखबारका पाना भर्ने काम भयो । यसै विषयलाई लिएर ‘गार्डियन’ ले समाचार लेख्यो, ‘मेगनलाई प्रताडित गर्ने कुरा राष्ट्रिय खेल बनिसकेको छ, जसले हामीलाई लज्जित तुल्याउँछ ।’

गोर्खा सैनिकको प्रशंसा

ह्यारीले संस्मरणमा बेलायती सेनामा गोर्खाली फौजको प्रशंसा छुटाएका छैनन् । गोर्खालीहरू अफगानिस्तानमा पनि खटिएका थिए । गोर्खा फौजले पछिल्लो २ शताब्दी लडेका सबै युद्ध लडेको प्रसंग उल्लेख गर्दै ह्यारीले बच्चै छँदादेखि गोर्खाबारेमा सुनेको बताएका छन् । स्यान्डहर्स्टमा सैन्य अभ्यासमा गोर्खा फौज दुस्मन फौजको भूमिकामा हुनुचाहिँ हास्यास्पद भएको उनको भनाइ छ । त्यति प्रिय फौजलाई दुस्मन फौजको भूमिकामा अभ्यास गराएको उनलाई मन परेन । आफूले लगाएको पहिलो सैन्य पोसाक पनि गोर्खा फौजकै भएको उनले बताएका छन् । उपहारका रूपमा घरमा खुकुरी त हुने भयो । अफगानिस्तानमा एकपटक गोर्खा फौज संकटमा पर्दा सहयोग गर्न नपाएकोमा उनको दुःखमनाउसमेत छ ।

‘स्पेयर’ राजकुमार ह्यारीको आत्मकथा हो । तर, यसमा मानवीय संवेदनाका विषय छन् । हरेक घरका कथाजस्ता हुन्छन्, दरबारका कथा पनि उस्तै हुन्छन् भन्छ किताबले । हरेक घरमा वा परिवारका सदस्यबीच मनमुटाव हुन्छ, तर प्रेसको आक्रमण हुँदैन । दरबारमा उत्तराधिकारीको क्रमअनुसार व्यवहार हुन्छ भन्ने ह्यारीको संस्मरणमा छर्लंगै छ । आत्मकथालाई उनले सानै उमेरमा आमा गुमाउँदाको पीडा, परिवार र प्रेसको व्यवहारबाट मुक्ति पाउने माध्यम बनाएका छन् । तर, उत्तराधिकारीको क्रममा अगाडि भएको भए ह्यारीको विद्रोह यस्तै हुन्थ्यो त ? यो प्रश्न उठ्नु स्वाभाविक हो ।

प्रकाशित : माघ २१, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?