बिर्सिइएका मिलेभाहरू

त्रिवेणी

मिलेभा– कथा
१९ औं शताब्दीको उत्तरार्द्धमा विज्ञानसम्बन्धी कैयौं युरोपेली संस्थानमा महिलाले स्थान पाउँदैनथे । महिलालाई कतिपय युनिभर्सिटीमा पढ्न दिने, तर ग्राजुयसन नदिनेसम्मको अवस्था थियो । भौतिकशास्त्र पढिरहका आइन्स्टाइनको ब्याचमा एक मात्रै महिला थिइन्– मिलेभा । सर्वियामा जन्मेकी बीस वर्षे मिलेभा भौतिकशास्त्र पढ्न स्विस युनिभर्सिटी
पुगेकी थिइन्, कालान्तरमा तीन वर्ष सानो उमेरका अल्बर्ट आइन्स्टाइनसँग उनको विवाह भयो । गणितमा अब्बल मिलेभाको भौतिकशास्त्रमा निकै रुचि थियो ।

बिर्सिइएका मिलेभाहरू

उनले आइन्स्टाइन लगायतका अन्य वैज्ञानिकसँग सहकार्य गरेकी थिइन् । तर, वैज्ञानिक जगत् र स्वयम् आइन्स्टाइनले उनलाई कहिल्यै क्रेडिट दिएनन् । सन् १९०१ मा आइन्स्टाइनले एक प्रोफेसरको नाम उद्धृत गर्दै मिलेभालाई चिठी लेखेका थिए, ‘हाम्रो कामप्रतिको उनको रुचि देखेर मैले ती प्रोफेसरलाई हाम्रो पेपर दिएको छु... (एस्टेले, द कोल्याबोरेसन अफ मिलेभा एन्ड आइन्स्टाइन) ।’

यहाँनेर हाम्रो शब्दको प्रयोग गरिनु असाध्यै महत्त्वपूर्ण छ । त्यो पेपर मलेकुलर मोसन (पदार्थमा रहेका अणुहरूको चाल) बारे थियो । चिठीलाई आधार मान्दा अणुहरूको चालबारे ती दुवैले खोज गरेको प्रस्ट हुन्छ । थप, आइन्स्टाइन अर्को पत्रमा लेख्छन्, ‘म दोहोर्‍याएर बोल्ज्म्यानको ग्यास थ्योरी पढिरहेको छु । मलाई लाग्छ, हाम्रो खोजमा ओई मेयरको वैज्ञानिक आलेख महत्त्वपूर्ण हुन सक्छ । तिमी पुस्तकालय गयौ भने एकपटक मेयरको काम चेक गर्नू है... ।’ यहाँ पनि उनी ‘हामी’ शब्द प्रयोग गर्छन् र मिलेभालाई रेफ्रेन्सको खोजीमा लाग्न अनुरोध गर्छन् । आइन्स्टाइनले अर्को चिठीमा लेखेका छन्, ‘म यसर्थ क्युरियस छु– हामीले अध्ययन गरिरहेको कन्जिरभेटिभ मलेकुलर फोर्सले ग्यासमा काम गर्छ कि गर्दैन भन्नेमा । कुनै दिन हाम्रो यो पेपर पूर्ण हुनेछ र म त्यतिबेला असाध्यै गौरववान् महसुस गर्नेछु ।’ यी प्रमाणले मिलेभाको सहकार्यलाई जीवन्त पारेका छन् ।

युनिभर्सीटीकालीन समयदेखि उनीहरूले गरिआएको सहकार्यको नतिजा फोटोइलेक्ट्रिक इफेक्ट थियो, तर त्यसमा मिलेभाको नाम कहिल्यै जोडिएन । आइन्स्टाइने उक्त पेपरमा गणना गरेको फोटोनको फन्डामेन्टल भ्यालु मुख्य चर्चाको विषय हुन सक्छ किनभने आइन्स्टाइनका साइन्टिफिक पेपरमा मिलेभा मुख्यतः गणितको पाटो हेर्थिन् । आइन्स्टाइनले भनेका छन्, ‘गणितका सारा समस्या समाधान गर्न मलाई मेरी श्रीमतीको आवश्यकता पर्छ (मिलेभा म्यारिक आइन्स्टाइनः इन अल्बर्ट आइन्स्टाइन्स स्याडो) ।’

यस अतिरिक्त युनिभर्सिटीकालीन समयमा मिलेभाले प्रोफेसर लेनार्डको सान्निध्यमा काम गरेकी थिइन् र लेनार्डले अध्ययन गरेको विषयमध्ये फोटोनको फन्डामेन्टल भ्यालु एक थियो । त्यसकारण पनि फोटोइलेक्ट्रिक इफेक्टमा मिलेभा क्रेडिट पाउन लायक थिइन्, तर उनलाई छायामा राखियो । सन् १९०५ मा आइन्स्टाइनले पीएचडी गरे । पीएचडीको पेपरको शीर्षक थियो– अ न्यु डिटरमिनेसन अफ मलेकुलर डिमेन्सन्स । अणुबारे ती दम्पतीले गर्दै आएको अध्ययन कालान्तरमा आइन्स्टइनको पीएचडी थेसिस बन्यो । अर्थात् त्यो आइन्स्टाइन मात्रको सम्पत्ति बन्यो किनभने मिलेभा युनिभर्सिटीमा फेल भइन् । फेल भइन् कि बनाइयो ? यो बहसको विषय हो । मिलेभा जुन विषयमा फेल भएकी थिइन् उक्त विषयका शिक्षक थिए, विल्हेम फिल्डर । फिल्डर पर्सियन एकेडेमी अफ साइन्सका सदस्य थिए र उक्त संस्थामा महिलाविरोधीको संख्या उल्लेख्य थियो ।

सन् १९६४ मा मात्रै उक्त एकेडेमीमा महिलाले सदस्यता पाउनुले महिलाप्रतिको एकेडेमीको धारणा अझै प्रस्ट्याउँछ । त्यसैले विज्ञानका केही इतिहासकार मिलेभालाई फेल गराइएको मत राख्छन् । ६ जना विद्यार्थी रहेको उक्त ब्याचमा भएका सबै पुरुष उत्तीर्ण हुनु, एक्ली मिलेभा फेल हुनुले शंकाको सुविधा दिएको छ । फिल्डरको विषयमा पुरुष विद्यार्थीले ल्याएको ठीक आधा अंक मिलेभालाई दिइएको थियो (ह्याकर, किर्टेन) । मिलेभा फेल हुनुको अर्को कारण थियो, तत्कालीन मनस्थिति । उनी विवाहपूर्व नै गर्भवती भएकी थिइन् । र, इज्जतको प्रश्नले तनावग्रस्त थिइन् । गर्भपतन सम्बन्धी कानुन बनिसकेको थिएन । विवाहपूर्व उनले जन्माएकी छोरीलाई उन्नाइस महिनाको उमेरमा मिलेभाका माइतीले एडप्ट गर्ने मानिसलाई दिए भनी आइज्यासनले आफ्नो पुस्तकमा लेखेका छन् । सामाजिक अपराधको सिकार भएकी मिलेभाले आइन्स्टाइनको चर्चापश्चात् पनि उनका काममा सहयोग पुर्‍याएकी थिइन् र सापेक्षताको सिद्धान्तमा समेत उनको हात थियो । आइन्स्टाइनले कैयौंपटक मिलेभाले लेखिदिएको शोध प्रस्तुत गरेका छन् । सन् १९०८ मा आइन्स्टाइनले १९०५ को आफ्नो पेपरमाथि दिएको प्रिजेन्टेसनको पहिलो आठवटा पानामा मिलेभाका अक्षर पाइएका छन् (ह्याकर) । तसर्थ आइन्स्टाइनले मिलेभालाई क्रेडिट नदिएको स्पष्ट छ, तर उनी आफैंमा केही थिएनन् भन्ने अतिवादी मान्यता व्यर्थ पनि छ । यो ठीक त्यस्तो मान्यता हो, जसले एंगेल्सका सारा किताब मार्क्सले लेखिदिएका हुन् भन्छ ।

नोबेल, डिभोर्स र मिलेभा

सन् १९०३ मा विवाह बन्धनमा बाँधिएका आइन्स्टाइन सन् १९१४ मा श्रीमतीसँग अलग भएर बसे । त्यसको पाँच बर्षपछि उनीहरूको डिभोर्स भयो । त्यो डिर्भोस–कथा रोचक छ । विवाह गरेको एक दशक नबित्दै आइन्स्टाइन आफ्नो कजन सिसटरसँग प्रेममा परेका थिए । सन् १९१८ मा आइन्स्टाइनले मिलेभालाई डिभोर्सका खातिर पत्र लेख्दै तीनवटा सर्त अघि सारे । नोबल पुरस्कार प्राप्त नगर्दै आइन्स्टाइनले नोबेल पाएपछिको रकम श्रीमतीसँग बाँड्ने सर्त अघि सारेका थिए । डिभोर्सको कुरा उठेको केही वर्षपछि मिलेभा पनि राजी हुन्छिन् । डिभोर्सका बखत नोबेल पुरस्कार पाएपछिको रकमबारे लिखित सहमतिसमेत हुन्छ । त्यसबखतको सम्झौतामा नोबेल पाएपछिको रकम सिधै स्विस बैंकमा जम्मा गरिने र बाँडिने लेखिएको छ । आइन्स्टाइनले नोबेल पाउँछन् भन्नेमा ती दम्पती ढुक्क हुनु भने चाखलाग्दो कुरा हो । डिभोर्स त भइहाल्यो, तर आइन्स्टाइनले नोबल पुरस्कार पाएनन् । उनी विश्वस्त भएको सापेक्षताको सिद्धान्तबारे नोबेल कमिटी विश्वस्त हुन सकेन ।

विज्ञानको नियम नै प्रयोगबाट प्रमाणित सिद्धान्त मात्रै वैज्ञानिक मानिनेछ भन्ने छ । आइन्स्टाइनको सापेक्षता प्रयोग(द्वारा सिद्ध गर्न कठिन थियो । यद्यपि उनको सिद्धान्तबारे रुचि भएका एक अमेरिकन फोटोग्राफर सापेक्षतामाथि प्रयोग गर्न कस्सिए । आइन्स्टाइनको सिद्धान्तका अनुसार गुरुत्वाकर्षण बलले प्रकाशको किरणलाई पनि बंग्याउँछ । सो प्रमाणित गर्ने आधार ती फोटोग्राफरले सौर्यग्रहणको फोटोलाई बनाए । सौर्यग्रहणको फोटो खिचिसकेपछि आइन्स्टाइन गलत थिए भन्ने निष्कर्ष उनले निकादिए । यो घटनापश्चात् आइन्स्टाइनको नोबेल यात्रा लगभग टुंगियो । आइन्स्टाइनले बारम्बार फोटोग्राफर गलत हो भनिरहे । अन्ततः ब्रिटिस खगोलशास्त्री इडिङटन पुनः सौर्यग्रहणको अध्ययन गर्न कस्सिए र उनले आइन्स्टइनलाई सही साबित गरे ।

विडम्बना, नोबेल कमिटीले आइन्स्टाइनलाई त्यस वर्षको नोबेल दिएन, सन् १९२१ को नोबेल १९२२ मा जिते, तर सापेक्षतामा नभई फोटोइलेक्ट्रिक इफेक्टमा नोबेल दिइयो । उनले मिलेभालाई रकम दिए, त्यो १२१,५७२ स्विडिस क्रोनेर थियो । आइन्स्टाइन त्यति ठूलो धनराशिको डिभोर्स–मनी दिन किन तयार भए ? भनिन्छ, मिलेभालाई क्रेडिट नदिएकै कारण आइन्स्टाइन सन्तुष्ट थिएनन् । पुरस्कारको हिस्सेदार बनाएर उनी आफूलाई सन्तोष राख्न चाहन्थे । त्यसो भए मिलेभाले न्याय पाइन् त ? उनले पक्कै न्याय पाइनन् । सोही कालखण्डका उनीजस्ता सयौं मिलेभा गुमनाम भए ।

प्रकाशित : माघ १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?