कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अनिल केशरी शाहकी आमा : बिन्दाश्वरीको संसारमा अब छोरा मात्र छन्

जसले संसारै बिर्सिइन्, तर छोरा सम्झिन्छिन् त्यो अनन्त प्रेम, त्यो पूर्ण सुरक्षा
घनश्याम खड्का

काठमाडौँ — खलिल जिब्रानले भनेकै छन्, ‘मान्छेको ओठबाट निस्किने सबैभन्दा सुन्दर एउटा शब्द छ– आमा ।’ जिब्रानको यो भावसँग सोह्रै आना सहमति छ, बैंकर अनिल शाहको । भन्छन्, ‘आमा भन्नेबित्तिकै मलाई अनन्त प्रेम र पूर्ण सुरक्षाको अनुभूति हुन्छ ।’ शाहको विचारमा आमा नै त्यस्तो शब्द हो, जसको उच्चारणमा बाँच्नुको सौन्दर्य र अगाध स्नेह पाउनुको आनन्द झल्किन्छ एकैसाथ ।

अनिल केशरी शाहकी आमा : बिन्दाश्वरीको संसारमा अब छोरा मात्र छन्

‘आमा नै मेरो सबथोक हुनुहुन्छ,’ काठमाडौंको ठिहीलाई मध्याह्नको घामले न्यानो पारिरहेको हालैको एक दिन सानो बालकझैं टोलाए अनिल ।

आमा बिन्दाश्वरी शाह कूटनीतिज्ञ थिइन्, त्यसैले ज्यादा समय कामकाजमै व्यस्त हुन्थिन् । जीवनको सुरुवाती स्मृतितिर पसिहेर्दा उनलाई आमाको होइन, झल्को आउँछ– हजुरआमाको मुजा परेको अनुहारको ।

...

र्खरै स्वतन्त्र भएको थियो, बंगलादेश । राजा महेन्द्रले बिन्दाश्वरीलाई ‘चार्ज डी अफेयर’ अर्थात् नियोग प्रमुख बनाएर बंगलादेशको ढाका पठाए– सन् १९७२ मा । ६ वर्ष मात्रै पुगेका थिए अनिल, भाइ उज्ज्वल थिए– ४ वर्षका । सायद ढाकामा राम्रा स्कुल थिए, आमाले दुवैलाई पढाउन काठमाडौंबाट झिकाइन् ।

‘उहाँ ढाकामै होइसिन्थ्यो, यताबाट भाइ र मलाई एक जना दिदीको साथमा बुबाले जहाजमा हालेर उता पठाइबक्स्यो,’ अनिल भन्छन्, ‘दिदी लेखपढ गर्न जान्दिनथिन्, जीवनमा पहिलो पटक मलाई भाइ र दिदीको ख्याल गर्ने जिम्मेवारीबोधले गम्भीर बनायो ।’ कहिल्यै नपुगेको ढाकामा सबै थिए– अपरिचित । जस्तो अपरिचित थियो, विमानस्थल । त्यहाँ पुगेर के गर्ने ? कसो गर्ने ? कुनै मेलोमेसो नहुनुको अलमल र उकुसमुकुस तब समाप्त भयो, जब अनिलले त्यहाँ अँगालो फिँजारेर पर्खीबसेकी आमा देखे । ‘आमा सम्झ्यो कि मलाई उहाँको त्यसै क्षणको अनुहार सम्झना हुन्छ,’ सुदूर अतीतको त्यो स्मृति चिहाए अनिलले, ‘त्यसअघि पनि मैले आमाको काखमा धेरै समय बिताए हुँला, त्यसपछि पनि धेरै समय गुजारें, तर त्यस क्षण मिलेको उहाँको दर्शन यति दिव्य थियो कि मलाई कुनै पनि खुसीको पलले त्यसलाई प्रतिस्थापन गर्नै सकेन ।’ बिरानो ठाउँमा एक्लै हुँदाको द्विविधा र छटपटीले अनौठो किसिमले अत्याउँछ एक बालकलाई ।

तर, जब अपरिचितहरूको भीडमा मुस्कुराउँदै उभिएकी फेला पर्छिन् आमा, सबै चिन्ता र अलमल कहिल्यै थिएन कि जसरी बिलाउँछ । र, बाँकी रहन्छ– अनुभवमा रहिरहने उल्लास, आनन्द र ढुक्कको अनुभूति ! जीवनका ती दुर्लभ क्षणले हजारौं दर्शनका ठेली पढ्दा पनि हुन नसकेको बोध गराउँछन्, सघनताका साथ– आमा को हुन् ! यति प्रगाढ रूपले अनुभूतिमा आमाको अस्तित्व उत्रेको केही दिनमै अनिललाई घरको नियास्रोले सतायो । ‘आमासँग बस्ने बानी हामीलाई थिएन, हजुरबा–हजुरआमा काठमाडौंमै, खेल्ने साथीहरू र घुम्ने ठाउँ पनि काठमाडौंमै, ढाका पुगेपछि त संसारै छुटेजस्तो भयो,’ उनले सम्झिए, ‘आमाले जागिर खाएकाले हामी यसरी एक्लो भई ढाका आउनुपर्‍यो भनेर त्यसबेला भाइ र मलाई उहाँसँग रिस पनि उठ्यो ।’

हाम्री आमा किन अरू आमाझैं घर बस्दिनन् ? त्यो चिन्ता र रिस पानीको फोकाजस्तै अल्पकाल रह्यो किनभने छिट्टै नै उनीहरू इसाइ भिक्षुणीहरूले चलाएको बंगलादेशको प्रसिद्ध स्कुल ग्रिन हेराल्ड इन्टरनेसनलमा पढ्न पुगे र प्रशस्तै साथी बनाए । त्यसपछि लाग्न थाल्यो– आमाले गर्दा नै यहाँ आउन पाइयो, हाम्री आमा कति जाती ! विश्व स्वास्थ्य संगठनका जागिरे अनिलका बुबा नारायणकेशरी पेसाले चिकित्सक थिए, वंशले भीरकोटे राजा तारकबहादुर शाहका कान्छा छोरा । कूटनीतिमा नाम कमाएका हृषिकेश शाह थिए, नारायणकेशरीका दाजु । पेसाले अलग क्षेत्रका अनिलको बाल्यकालीन सम्झनामा दुर्लभ छन्– बाबुआमासँगै एकैसाथ बिताएका दिनहरू ! ‘हामी कि मुमासँग हुन्थ्यौं कि बुबासँग,’ तातो कफी घुटुक्क पार्दै अनिलले सम्झे, ‘मानिसहरू सोध्ने गर्थे– तिमीहरूको बाउआमाको डिभोर्स भएको हो ?’

उनकी हजुरआमा मदन दिव्यश्वरी शाह (वीरशमशेरकी नातिनी) र हजुरबा तारकबहादुर (भीरकोटका अन्तिम राजा) मोटरमै बंगलादेश पुगे– बुहारी र नातिहरू भेट्न, भान्छे र सुसारेको ठूलो समूहका साथ । हजुरबा–हजुरआमालाई लिन आमासँग मोटरमा ढाकादेखि सीमावर्ती सहर चटगाउँ पुग्दा अनिलले बाटैभरि दोहोरोलत्त मानिसहरू देखे, जो उनको सम्झनामा ताजै छ । ‘त्यसैबेला मलाई लागेको थियो, कत्ति मान्छे रहेछन् यो देशमा !,’ उनी भन्छन्, ‘पछि पो थाहा भयो, बंगलादेश संसारकै जनघनत्व उच्च भएको ठाउँ रहेछ ।’ त्यसबेला हजुरबा–हजुरआमा बंगलादेशमा पाउँदा उनलाई संसारै त्यहीं सरेर आएझैं रमाइलो अनुभूति भएको थियो । अहिले लाग्छ, बालकहरूका लागि परिवारै संसार हो, संसार नै परिवार !

ढाकामा वर्षहरू बित्दै गए । अनिलको मन पनि रम्दै गयो । आमासँगको समय पनि जम्दै गयो । तर अगस्ट १५ १९७५ मा त्यहाँको सेनाले सत्ता अपदस्थ गरेर प्रथम राष्ट्रपति शेख मजबुर रहमानको ज्यान लिएपछि उनी घर फिर्नुपर्‍यो अचानक । ‘त्यस दिन कारमा दूतावासबाट निक्लेर विद्यालय जाँदै थियौं, मूल सडकमा बाटैभरि सैनिकै सैनिक भेटिए,’ त्यो त्रासदी सम्झदै उनले थपे, ‘हाम्रो ड्राइभर बंगलादेशकै रहमान भन्ने थिए, उसले हात माथि ठड्याउँदै आत्मसमर्पणको शैलीमा सेनालाई आज के भएको हो भनेर सोधेको थियो ।’ त्यसपछि रहमानले ‘घर फर्किनुपर्‍यो, कर्फ्यु लागेछ म्याडम’ भनेको अहिले पनि अनिलको कानमा गुन्जिरहन्छ । त्यसपछि सेनाको गाडी पछि–पछि हुँदै गुलसनस्थित निवास फर्केको र निवासमा नेपाली झन्डा फरफराइरहेको त्यो दृश्य आजैको हो झैं लाग्छ उनलाई । घटनाको सातापछि ‘चार्ज डी अफेर’ बिन्दाश्वरीले छोराहरूलाई घर पठाइन् । त्यसबेला बुवा विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित कार्यालयमा थिए, जहाँको विमानस्थलमा उनी छोराहरू पर्खेर बसेका थिए ।

‘त्यसबेला आमाले चाहेको भए यस्तो द्वन्द्वग्रस्त देशमा म बस्दिनँ भनेर फिर्ता हुन सक्नुहुन्थ्यो, तर आँटका साथ ढाकामै बस्नुभयो,’ अनिल मुस्कुराए, ‘उहाँको त्यो साहस र आँट मेरा लागि सधैं मार्गदर्शक बनिरह्यो ।’ एक जुझारु र साहसी आमा बिन्दाश्वरी अनिलको स्मृतिमा थपक्कै बास बसेकी छन् । आमा परराष्ट्र मामिलामा आउनुको एउटा कथा छ, जो उनकी मावली हजुरबा पद्मसुन्दर मल्लको जीवनको उतारचढावसँग जोडिन्छ ।

पुर्ख्यौली घर भक्तपुर भएका पद्मसुन्दर काठमाडौंमा बस्थे । जापानमा विद्युतीय इन्जिनियरिङमा स्नातक सकेपछि अमेरिकाको मिसिसिपी विश्वविद्यालमा त्यही विषयमा सन् १९२२ मा स्नातकोत्तर सकेर फर्केका रहेछन् उनी, आजभन्दा १ सय २ वर्ष पहिले– ‘देशमै केही गर्छु’ भनेर । ‘मेरा हजुरबुबा अमेरिका गएर स्नातकोत्तर गर्ने पहिलो नेपाली हुनुहुँदो रहेछ,’ अनिलले भने, ‘तर, बुझ्नुभो ? धेरै पढेर जान्ने पल्टेको भनेर राणा सरकारले उहाँको जात निकालिदिएछ ।’ सन् १९२५ को घटना, त्यतिबेला देशको शासनमा श्री ३ चन्द्रशमशेर थिए, जसले गरेको अपमान सहन नसकी अनिलका हजुरबा दार्जिलिङको खर्साङ गई बसे । त्यसको एउटा फाइदा के भयो भने १९३३ फेब्रुअरी १३ मा जन्मेकी उनकी छोरी बिन्दाले नामी विद्यालय सेन्ट हेलेनमा पढ्न पाइन् । काठमाडौंमै भएको भए त्यो मौकाको सम्भावा नै थिएन ।

‘न्युयोर्क पोस्ट’ ले त्यसबेला विश्वव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको रहेछ । ‘द वर्ल्ड अफ टुमारो’ शीर्षकमा निबन्ध लेख्ने संसारका उत्कृष्ट १ सयलाई अमेरिका भ्रमणको अवसर हुने खबर पाएपछि बिन्दाश्वरीले पनि भाग लिइन् । तीन महिनापछि पत्र आयो– ‘तिमी छानियौ, बधाई छ ।’ सन् १९५२ मा उनी अमेरिका पुगिन् र अनेकन ठाउँ भ्रमण गरिन् । फर्कने बेला आयोजकले उनलाई आफ्ना अनुभवमाथि बोल्न भनेछ एक कार्यक्रममा । बिन्दाश्वरीको प्रस्तुति ध्यान दिएर सुन्नेमध्येका एकले दर्शकदीर्घाबाटै सोधेछन्, ‘अब तिमी के गर्छ्यौ ?’

‘नेपालै फर्केर थप पढाइ गर्ने’ उत्तर उनले फिराएपछि ती मानिसले फेरि सोधेछन्, ‘अमेरिकामा किन नपढ्ने ?’ प्रश्नकर्ता कोलम्बिया युनिभर्सिटीअन्तर्गतको बर्नार्ड कलेजका सञ्चालक समितिका सदस्य भएको पत्तो बिन्दाश्वरीले केही समयपछि पाइहालिन् । मेधावी बिन्दालाई कलेजले फुल स्कलरसिप दियो ।

उनले लिबरल आर्टस् एन्ड गभरमेन्टमा स्नातक गरिन् । अध्ययनका क्रममा मिसिसिपी राज्यबाट पढ्न आएकी एक छात्रा निकै मिल्ने साथी भएकी थिइन्, बिन्दाश्वरीको । उनैको सम्पर्क सूत्र उपयोग गर्दै बिन्दाले मिसिसिपीकै सिनेटरकहाँ गएर वासिङ्टनमा इन्टर्नसिप गर्ने अवसर पाइन् । इन्टर्नसिपको अन्त्यतिर आफूले सिकेका विषयको रिपोर्ट दिँदा सिनेटरले उसैगरी सोधे, ‘अब तिमी के गर्छौ ?’ उस्तैगरी नेपाल फर्केर स्नातकोत्तर गर्ने भनेको आमाबाट सुनेका कुरा अनिलले सुनाए, ‘त्यसो हो भने अमेरिकामै पढ भनेर सिनेटरले उसैगरी भनेछ ।’

प्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा स्नातकोत्तर पढ्न पाउनु आज पनि उत्तिकै गर्वको विषय हो । त्यहाँ बिन्दाले छात्रवृत्ति पाइन्– अन्तर्राष्ट्रिय सम्बन्धमा । तर, फसाद त्यहाँ स्नातकमा झैं छात्रवृत्तिले बसोबासको व्यवस्था गरेको थिएन । ‘त्यसो भए म त नेपालै फर्कन्छु,’ उनले डिनलाई भनिछन् ।

आवासकै कारण पढाइ नै छाड्न लागेको देखेर डिनको सेक्रेटरीलाई टीठ लागेछ क्यार ! भनिछन्, ‘म तिमीलाई बस्न दिन्छु, तर बदलामा मेरा साना छोराहरू हेर्नुपर्नेछ, के भन्छौ ?’

‘यस्तो मौका पाएपछि उहाँबाट हुन्छ मर्जी भएछ,’ अनिल चकित थिए, ‘उनको त्यो गुनका कारण नै अमेरिका गएर स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला हुने सौभाग्य जुट्यो आमालाई ।’ सन् १९५८ मा स्नातकोत्तर गरेपछि बिन्दा नेपाल आइन् । काठमाडौंको परिवेश सानो थियो उनका लागि । झन् नेपाली बोल्नै नआउने र साथीहरू पनि कोही थिएनन् । यस्तोमा के गर्ने ? भन्ने भइरहेकै बेला नयाँसडकमा अमेरिकन पुस्तकालय खुल्यो, जहाँ चिफ लाइब्रेरियनको काम पाइन् ।

‘त्यो समयमा पुस्तकलय खुल्नु कति दुर्लभ र महत्त्वपूर्ण थियो भने उद्घाटनमा राजा महेन्द्र र प्रधानमन्त्री बीपी दुवै पुगेका थिए,’ अनिल सम्झन्छन्, ‘बीपीले अंग्रेजी मात्रै बोलेको देखेर आमालाई तिमी कुन देशकी हौ भनेर सोध्दा नेपाली नै हुँ भन्ने जवाफले चकित तुल्याएछ ।’ बीपीले पनि तत्काल बिन्दालाई प्रधानमन्त्री कार्यालय बोलाए । ‘तिमीजस्तो मान्छे कहाँ पुस्तकालयमा हल्लेर बसेको ?’ भन्दै लोकसेवा दिन लगाएर परराष्ट्रको अधिकृतमा नियुक्त गरिदिए । यो सब यति छिटो–छिटो भयो कि पहिलो पोस्टिङ लिएर बिन्दा अमेरिकास्थित नेपाली दूतावास पुगिन् ।

‘त्यतिबेला अमेरिकाका लागि नेपालको राजदूत मातृका कोइराला हुनुहुन्थ्यो भने राष्ट्रसंघका लागि मेरा ठूलोबुबा,’ अनिल सम्झन्छन्, ‘अलि पछि मातृकाबाबु फर्केर आउनुभयो, दुवै नियोगमा ठूलोबुवा नै राजदूत हुनुभयो ।’ त्यसैबेला जोन्स हप्किन्समा चिकित्साशास्त्र पढ्न पुगेका थिए, अनिलका बाबु । दाजु राजदूत हुनाले दूतावासमा बरोबर जाने गर्थे उनी, जहाँ बिन्दासँग उनको भेटघाट भइरह्यो, जो पछि प्रेममा बदलियो ।

उनका बुवा फर्केपछि हजुरबासँग ‘आफूले ठकुरी मल्ल नभई नेवार मल्ल कन्यासँग प्रेम गरेको र विवाह गर्न चाहेको’ कुरा घरमा चलाएछन् । ‘त्यो समयमा अन्तरजातीय विवाह गर्नु भनेको अस्वाभाविक मानिन्थ्यो रे,’ अनिलले थपे, ‘हजुरबाले राजा महेन्द्रलाई सोधिबक्सेछ, छोरा त यसो भन्छ– के गर्ने होला ?’

राजा महेन्द्रले बदलामा उनको हातमा मुलुकी ऐन थमाइदिएछन् । ‘हेर तारक, सबै नेपाली एकै हो भनेर मैले कानुनै जारी गरेको छु,’ राजाले भनेछन्, ‘जातपात भन्ने छैन अब, मलाई पनि बोलायौ भने जन्ती आउनेछु, बिहे गर्दा हुन्छ, गर ।’ यसरी, राजाबाटै ‘हुन्छ’ को आदेशपछि अनिलका बा–आमाको सन् १९६५ मा लगनगाँठो कस्सियो, भोज खान राजा पनि गए । समाजमा ठूलो हल्लीखल्ली भयो । त्यसको अर्को वर्ष, अनिल जन्मिए ।

पढेलेखेको–जानेबुझेको भएकाले हो सायद, बाबु–आमाले कहिल्यै ‘यही बन्’ भनेनन् अनिललाई । त्यसैले सपना पछ्याउँदै उनी भए, कहलिएका एक बैंकर । तीन दशक लामो कूटनीतिक करिअरमा पहिलो महिला राजदूत भएर भारतस्थित दूतावास सम्हाल्ने अवसर पाएकी आमा र विश्व स्वास्थ्य संगठनको दिल्ली प्रमुख हुँदै दक्षिण एसिया निर्देशक बनेका बाबुमध्ये कुनै एकको पदचाप पछ्याएको भए आफू उनीहरूकै छायामा बिलाउँथे होला भन्ने सोच्छन् उनी ।

‘बाबुजस्तो डाक्टरी पढेको भए वा आमाजस्तो परराष्ट्रमा गएको भए म एक औसत मानिस बन्थें हुँला,’ अनिल भन्छन्, ‘धन्न, उहाँहरूले मलाई म हुने स्वतन्त्रता दिनुभयो, जसप्रति म सदा अनुगृहीत छु ।’

जागिरे जीवनकालमा लामो समय अलग–अलग बसेका उनका बा–आमा अवकाशपछि एक क्षण पनि छुट्टिएनन् । एक सामान्य दिनमा ७५ वर्षको उमेरमा बाबु हृदयघातले बिते । त्यसको एक वर्षपछि अमेरिका बसोबास गर्दै आएको भाइ उज्ज्वलको देहावसान पनि उही ज्यानमारा हृदयघातकै कारण भयो ।

सायद एकपछि अर्को बज्रपातले हो, उज्याली बिन्दाको अनुहारमा दुःखको गहिरो बादल जमिरह्यो नित्य । त्यसपछि अनिलले आमा हाँसेको देख्न पाएनन् कहिल्यै । केही वर्षयता बिर्सने रोग डिमेन्सिया देखिएको छ उनमा । अब बिन्दाको स्मृतिमा विगतका कुनै घटना छैनन्, तर लामो जुँगा पालेका अनिल जब आमाअघि पुग्छन्, थोरै मुस्किलले उनी छोरालाई चिन्छिन् ।

‘जब आमा मलाई चिनिसिन्छ, उहाँको अनुहारमा उही स्नेह र उही खुसी म पाउँछु,’ लामो सास फेरे अनिलले, ‘त्यो क्षण मेरो खुसीको सीमा नै रहँदैन ।’

प्रकाशित : पुस १२, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×