कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

घोडेपानीका ‘क्याप्टेन बा’

भारतीय सेनाबाट अवकाशप्राप्त डमबहादुर गर्बुजा पुन अहिले होटल व्यावसाय गर्दै आएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्षसमेत भएका पुनले सेवासुविधाबापत पाउने रकम पनि सामाजिक कार्यमै खर्चिए । 
प्रतीक्षा काफ्ले

कास्की — आ... ल यता आइजो । चिसो छ । तात्तातो पानी खाने हो ?बसम् बसम्... । आगो ताप्ने हो भने माथि छ, डान्स गर्नेलाई तल हल छ । खानपिनमा रमाउनुपर्छ है । घोडेपानी आइपुगेपछि मज्जा लिने हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी पुग्दा सुनिने आवाज हो यो । यहाँ पुग्ने पर्यटकलाई गुन्द्री ओछ्याएर स्वागत गर्दै उनी भनिहाल्छन्, ‘बसम् बसम् ।’

घोडेपानीका ‘क्याप्टेन बा’

उमेरले ६९ पुगे पनि उनको खटाई भने युवाको भन्दा कम थिएन । घर–गाउँमा आउने पर्यटकका लागि उनी रातभर खटिएका हुन्छन् । सिरसिर चल्ने चिसो हावामा आत्तिएका पर्यटक उनलाई देखेपछि उनैसँग गफिन थाल्छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका डम्बरबहादुर गर्बुजा पुन‘क्याप्टेन बा’ सबैका लागि प्रेरक व्यक्ति हुन् । यहाँ पुग्ने जोकोही पर्यटक पनि पहिला क्याप्टेन बाको घर कुन हो भन्दै सोध्ने गर्छन् । घोडेपानी–पुनहिल आउने पाहुनालाई क्याप्टेन बाले आफ्नो घरमा मात्रै राख्दैनन् । गाउँका अन्य होटलमा पनि बाँड्ने गर्छन् । भन्छन्, ‘गाउँमा बसेपछि सबैलाई मिलाएर लानुपर्छ ।’

क्याप्टेन बा भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त हुन् । २०११ सालमा खिमा (घारा) मा जन्मिएका पुन सन् १९७२ मा भारतीय सेनामा भर्ती भएका थिए । गाउँको दुःख, पढ्ने वातावरण पनि नहुने, परिवारको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा पुन ब्वाइज ग्रुप (देशी पल्टन) मा भर्ती भए । भर्ती भए पनि पढ्न र खेल्न पाइन्छ भनेपछि सानै उमेरमा भर्ती हुन गएको अनुभव उनको छ । पल्टनमा रातभर ड्युटी गर्नुपर्ने । पल्टनमा दुःख धेरै भएपछि उनी खेलतर्फ लागे । गाउँमा हुँदा भलिबल, फुटबल खेल्ने उनी सेनामा भर्ती भएपछि बक्सिङ, स्विमिङ खेल्न थाले । भन्छन्, ‘स्विमिङमा डाइभिङ, स्प्रिङ बोर्ड खेल्ने सिकेँ ।’ त्यसपछि उनको यात्रा खेलतर्फ मोडियो । उनी भारतीय सेनाको (विभागीय टोली) टिमबाट विभिन्न देशमा हुने प्रतियोगितामा भाग लिन थाले । उनले विभिन्न प्रतियोतिमा पदकसमेत जिते ।

२१ वर्ष ६ महिना भारतीय सेनामा काम गरेपछि १९९६ मा पुन रिटायर्ड भए । सेनामा नै कार्यरत रहँदा १९८५ मा घोडेपानीमा होटल खोले । उनी भारतमा भए पनि होटलको सम्पूर्ण जिम्मेवारी श्रीमती पियारी पुनले समाल्थिन् । ‘देश–विदेश घुम्दा र टुरिस्टको संगत गर्दा घोडेपानीमा होटल होल्न मन लाग्यो,’ पुन भन्छन्, ‘मैले होटल खोल्ने बेला यहाँ जम्मा ६ वटा टहरा थिए ।’ अहिले घोडेपानीमा २४ वटा होटल छन् । यहाँ एक दिनमा एक हजार व्यक्ति अटाउँछन् । पुनले घोडेपानीमा अहिले सन्नीनामक होटलबाट आफ्नो ब्रान्ड विस्तार गरेका छन् । उनलाई आफ्नै मामा स्वर्गीय क्याप्टेन टेकबहादुर गर्बुजा पुनले व्यवसायतर्फ तानेका थिए । पुनको होटलमा मात्रै अहिले एक सयभन्दा बढी पाहुना अटाउँछन् । अहिले होटेलमा ४३ वटा कोठा रहेका छन् ।

करिब ५ करोडको लगानीमा घोडेपानीमा होटल चलाएर महिनाको १६ लाख आम्दानी गरेका पुनले आजभोलि भने मासिक ७–८ लाख मात्र आम्दानी हुने बताउँछन् । उनकोमा अहिले ५ महिलासहित १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चितवन, गोरखा, सुनसरी लगायतका जिल्लाबाट कामदार ल्याउने उनी बताउँछन् । उनका दुई छोरा छन् । छोराबुहारी पनि होटलमा नै काम गर्छन् ।

संघीयता कार्यान्वयन भएपछि स्थापित अन्नपूर्ण गाउँपालिकामा पहिलो अध्यक्षका रूपमा पुन निर्वाचित भए । आफ्नै भतिज (दाइको छोरा) नारायण पुन प्रमुख प्रतिपक्षी थिए । एमालेबाट उम्मेदवार बनेका नारायणलाई २९२ मतले हराए । उनले आफ्नो कार्यकालमा खेलकुदको विकासमार्फत देशलाई चिनाउन पालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताए । उनी अध्यक्ष भएपछि आयरल्यान्डमा होटल म्यानेजमेन्ट पढेका छोराले घोडेपानीमा होटल समाल्न आए ।

भारतीय सेनामा रहँदासम्म राजनीतिमा नलागेका क्याप्टेन बा सेवानिवृत्तपछि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा तय गरे । सशस्त्र द्वन्द्वका बेला माओवादीमा लागेका उनी माओवादी टुटफुटपछि राजनीतिक यात्रा पनि फेरेको बताउँछन् । ‘मलाई पार्टीभन्दा पनि गाउँको विकाससँग मतलब छ,’ उनले भने, ‘मेरो विचार भन्ने हो भने माओवादीसँग मिल्छ ।’

गाउँमा बस्दा सहयोग गर्न राजनीतिक ठाउँ चाहिन्छ भन्ने उनलाई लाग्यो । ‘राजनीतिमा होमिएपछि गाउँमा सहयोग गर्न थाले,’ उनी थप्छन्, ‘त्यसपछि मलाई पार्टीले विश्वास गरेर चुनावमा टिकट दियो । चुनाव जिते ।’ आफ्नो पहलमा प्रत्येक वडा र टोलटोलमा सडक पुर्‍याएको बताउदै उनले पर्यटकीयस्थलमा पदमार्ग निर्माण गरिएको बताए । जनप्रतिनिधि रहँदा ५ वर्षसम्म पाउने उनले कुनै सेवासुविधा लिएनन् । कोष बनाएर बैंकमा छुट्टै खाता सञ्चालन गरेको उनले बताए । जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको १८ लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएका छन् । अधुरा साना विकासे योजनामा सहयोग दिनुका साथै पढ्न नसक्ने गरिब विद्यार्थीको लागि कोषबाट नै खर्च गरिएको उनको भनाइ छ ।

विभिन्न स्कुल र मन्दिर व्यवस्थापन समितिमा पनि अक्षयकोष स्थापना गरेका छन् । ‘मेरो व्यक्तिगत खर्च पेन्सनले चल्छ, परिवारलाई होटल व्यवसाय छ,’ उनले थपे, ‘जनप्रतिनिधि हुँदा पाउने तलब, भत्ता गरिब र निमुखाको लागि खर्चिए ।’ घोडेपानीसम्मको सडक पनि उनकै पहलमा लगिएको हो । ‘यसैवर्ष प्रदेश सरकारका भौतिकमन्त्री रेशम जुग्जालीले ३ करोडको बहुवर्षीय ठेक्का लगाइदिन्छु भन्नुभएको छ । अब घोडेपानीआउने बाटो पिच गर्छौं,’ उनले भने ।

प्रकाशित : मंसिर २५, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×