कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

चरा पछ्याउँदै हिमाल आरोही 

पेम्बा शेर्पा आरोहणका क्रममा एउटा दुर्घटनापछि वाइल्डलाइफ फोटोग्राफीतर्फ युटर्न भए,  ४ सय २५ प्रजातिका चराका फोटो खिचिसकेका उनी अचेल हिमालदेखि तराईसम्मका जंगल चहारिरहेका छन् 
‘एकै दिनमा लगालग फरक–फरक ठाउँमा ५ वटा बाघ देख्दा म त छाँगाबाट खसेजस्तो भएँ, ‘एक्साइटिङ भएर फोटो खिचें । लाइटिङ मिले नमिलेको थाहा नै पाइनँ ।’
मनोज पौडेल

कपिलवस्तु — सात पटक सगरमाथा चढे । तीन देशका ८ हजार मिटर अग्ला ६ हिमालको आरोहण गरे । मनास्लु, मकालु र धवलागिरि प्रथम हिमालदेखि युरोपका सबै अग्ला हिमाल चढिसके । पाकिस्तानको जीटु (गासरब्रम टु) र तिब्बतको सिसापाङको चुचुरोमा उभिए । तर, अहिले उनी आरोहीको विगत बोकेर वाइल्डलाइफ फोटोग्राफीको यात्रामा रमेका छन् । उनी हुन्, काठमाडौं महानगरपालिका–१३, वाफलका ५६ वर्षीय पेम्बा शेर्पा । 

चरा पछ्याउँदै हिमाल आरोही 

माउन्टेन गाइड पेम्बा एक समय हिमाल चढ्ने एक्सपिडिसन पनि चलाउँथे । तर, २३ सेप्टेम्बर २०१२ को बिहान साढे २ बजे उनको जीवनमा कालो दिन बन्यो । उनी ७ विदेशीसहित १३ जनाको टोलीको नेतृत्व गरेर मनास्लु हिमाल आरोहणमा थिए । तेस्रो शिविर खडा गरेर आरोहीहरू राखेपछि उनी आवश्यक खानेकुरा लिन तल झरे । तेस्रो दिन बिहान उनको स्याटलाइटमा फोन आयो, ठूलो दुर्घटना भयो । हिउँको ढिक्का खसेर आरोहीहरूको मृत्यु भयो । पेम्बाका अनुसार त्यो दुर्घटनामा ६ फ्रेन्च र एक क्यानेडियनको मृत्यु भयो ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ताकसेन्दुका उनलाई यही घटना जीवनको युटर्न भइदियो । यो दुर्घटनामा भाग्यले बाँचेपछि उनी प्रकृति, चरा र वन्यजन्तुको समीपमा आइपुगे । पछिल्लो पाँच वर्षमै उनी कहलिएका वाइल्डलाइफ फोटोग्राफर बनिसकेका छन् । । सिक्दै जान्दै क्यामरा चलाउँदै अघि बढेका उनले खिचेका फोटोले सबैको मन छुन्छ । चरा वन्यजन्तुका कमेडियन स्वभावका तस्बिर खिच्न खप्पिस सिपालु भएकैले उनका तस्बिर धेरैको रोजाइमा परिरहेका छन् ।

त्यो युटर्न

त्यो दुर्घटनापछि धेरै दिन उनको मन स्थिर भएन । के गर्ने, कसो गर्नेको अलमलमा उनी हराइरहे । त्यहीबीचमा परेको जन्मदिनमा उनकी श्रीमतीले उनलाई क्याननको ८० डी क्यामेरा उपहार दिइन् । उनले जानी नजानी फोटो खिच्न थाले ।

सन् २०१४ मा आइफोन किनेपछि फोटो खिच्ने रुचि झनै जाग्यो । २०१८ मा साथीभाइ भेट्न र घुम्न फ्रान्स जाँदा क्यामरा बोकेर गए । त्यतिबेला रुसमा विश्व फुटबल हुँदै थियो । फ्रान्सेली साथी जेराड सिलरमिडीसँग उपाधि कसले जित्छ भनेर कुरैकुरामा उनले बाजी थापे । उनले फ्रान्सले जित्छ भन्ने दाबी गरे । व्यावसायिक रूपमा हिमाल नचढ्ने अठोट गरेका पेम्बाले साथीभाइसँग रमाइलोका लागि हिमाल उक्लिने भए । बाजी ठोकेर उनी साथीसँग लहैलहैमा इटालीको मोओज हिमाल चढ्न गए ।

हिमालबाट फर्केर आएकै साँझ फाइनल प्रतियोगिता थियो । नभन्दै फ्रान्सले जित्यो । बाजी जितेपछि उनको मनमा अंकुराइरहेको फोटोग्राफीको रुचि बुझेर साथीले तत्कालै १ हजार ५ सय युरोमा ट्याम्रोनको १५०–६०० जीटु जुम लेन्स किनिदियो । ठूलो लेन्स भएकाले उनी चरा, वन्यजन्तुको फोटो खिच्न सक्ने भए । खिच्दै जाँदा उनको रुचि वन्यजन्तुको फोटो खिच्नेतिर पो सोझियो । उनले अझै राम्रो क्यामेरा फाइब डी मार्क फोर किने । सन् २०१९ देखि भने उनी पूरापूर चरा, वन्यजन्तुको फोटोग्राफीमा रमाउन थाले । ‘तराईको लोल्यान्डदेखि हाइल्यान्डसम्म कुद्छु,’ उनले सुनाए, ‘चरा र वन्यजन्तुको फोटो खिच्दा आनन्द आउँछ ।

५ वर्षयता उनले फाँटदेखि हिमालको चुचुरोसम्म पाइने ४ सय २५ बढी प्रजातिका चराको तस्बिर खिचेका छन् । उनी बाघको फोटो खिच्न ५ वर्षमा १६ औं पटक चितवन पुगे । १५ पटकसम्म बाघ देख्न नपाएको थकथकी सुनाए । तर, गत वर्षको जाडोमा १६ औं यात्रामा अचम्मै भयो । ‘एकै दिनमा लगालग फरक–फरक ठाउँमा ५ वटा बाघ देख्दा म त छाँगाबाट खसेजस्तो भएँ,’ उनले भने, ‘एक्साइटिङ भएर फोटो खिचें । लाइटिङ मिले नमिलेको थाहा नै पाइनँ ।’

पहिलो बाघ नदीबाट पानी पिएर आइरहेको थियो । अर्को चाहिँ बाटो क्रस गरेर गयो । फोटो खासै बनेन । अप्ठ्यारो ठाउँमा थियो । त्यसपछि तीन वटा बाघ बाटैबाटो आफूतिर आइरहेको उनले सुनाए । सिधै देखिएर फोटो खिच्दा डर र बाघ भाग्ला कि भनेर लुकेर भुइँमा सुतेर ५२ स्न्याप फोटो खिचे, तीमध्ये ६ वटा मात्रै राम्रो रहेको उनले बताए । ‘तीन बाघ बाटोमा हिँडिरहेको फोटो खिच्दा निकै आनन्दित बनें,’ उनले भने, ‘त्यतिबेला खुसीको सीमै रहेन । डर, त्राससँगै उत्तिकै रोमाञ्चित बनें ।’

वाइल्डलाइफ फोटोग्राफीमा उनले सँगालेका अनुभव रोचक मात्रै छैनन्, रोमाञ्चक पनि छन् । २०२२ को डिसेम्बरमा चितवनको माडीमा बाघसँग ४५ मिनेट बिताउन पाउँदाको क्षण निकै रोमाञ्चक भएको उनले बताए । ‘जोडी बाघ थिए । पोथीचाहिँ हामीलाई देखेर डराएर भागे पनि भाले भने नदीको पानीमा बसिरह्यो । धेरै बेर बाघ हेर्दै बसें । त्यसपछि फोटो खिच्न थालें,’ उनले भने, ‘क्यामराको सटको आवाज सुनेर नदी क्रस गरेर बाघ पारि गयो ।’ उनी यत्तिमै रोकिएनन् । भोलिपल्ट पनि बाघ देख्न पाइन्छ कि भनेर सोही ठाउँमा गएर कुरेर बसिरहे । ‘तर, त्यो दिन त बाघ होइन । उन्मुक्त बनेर बसिरहेको ध्रुवे हात्ती पो भेटियो,’ उनले सुनाए, ‘त्यसपछि हामी हतार–हतार खोला तरेर पारि गयौं । धन्न ज्यान जोगायौं ।’

तराईको मैदानदेखि उनी हिमालको काखसम्म फोटो खिच्नकै लागि धाएका छन् । उनले सगरमाथा आसपासको क्षेत्रमा बसेर पनि चराको तस्बिर खिचेका छन् । गोक्योमा तिब्बतीयन स्नोकर्क, हिमालयन स्नोकर्क, रेन्जोलादेखि थोरै तल डाँफे र चिलिमे कालापत्थरमा एल्पेन एसेन्ट्रो चराको फोटो खिचेको बताउँदै उनले हिमाल र पहाडमा पाइने मुनाल, च्याखुरा, लुइचे, कालिज र चिलको तस्बिर खिचेको अनुभव सुनाए । यस वर्ष उनले हिमाली क्षेत्रमा पाइने युरोपियन फिन्च, गोल्डेन फिन्च, मंगोलियन फिन्च र हर्नलार्कलगायत १० वटा चराको फोटो मुस्ताङमा खिच्ने मौका पाए । ३५ बढी प्रजातिका वन्यजन्तुलाई क्यामरामा कैद गरेका उनले कस्तूरी मृग, झारल, घोरल, थार, नाउर, बाह्रसिंगा, कृष्णसार र अर्नालगायतको फोटो खिचेका छन् ।

फोटो खिच्नका लागि पर्सा, चितवन, बर्दिया, शुक्लाफाँटा, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्ज पुगेका उनी चरा र वन्यजन्तु पछ्याउँदै ३० जिल्ला पुगिसकेका छन् । ‘आफूले खिचेका तस्बिरमा पहिले एसियन प्याराडाइज फ्लाइक्याचर थियो,’ उनले भने, ‘यसपालिबाट भने हिमाली चरा युरोपियन फिन्चले काँडे फुलको बीउ खाँदाको तस्बिर आफूले अहिलेसम्म खिचेको मध्ये उत्कृष्ट लागेको छ ।’ पेम्बा आफ्ना तस्बिर हेरेर आफैं मन्त्रमुग्ध हुन्छन् । वन्यजन्तुका अनेकन भावका तस्बिर देख्दा रिस, राग र द्वेष हराएर गएजस्तो अनुभूति हुने उनले बताए ।

चराविद् मनशान्त घिमिरेले हिमालमा पाइने गोल्डेन फिन्चको फोटो खिच्ने नेपालका विरलैमध्येका एक उनी रहेको बताए । मुस्ताङमा यो चरा पाइन्छ भनेपछि पेम्बा उतै हान्निएका थिए । ‘यही चराको फोटो खिच्छु भनेर हुँदैन,’ पेम्बाले प्रस्ट्याउँदै भने, ‘जे देख्यो त्यसैलाई खिचेर रमाउनु सक्नु पर्छ ।’ फुर्र फुर्र उडी हिँड्ने चराको स्वभावका कारण चराको फोटो खिच्दा सेकेन्ड सेकेन्डको महत्त्व हुने उनले सुनाए । ‘चरा देख्नासाथ क्यामराको ट्रिगरमा औंला राखी राख्नुपर्छ,’ उनले भने, ‘कतिखेर के गर्छ थाहा हुँदैन ।’ पेम्बाले त्यो तस्बिर खिच्दा आफूलाई गर्वको महसुस भएको बताए ।

२०१९ अघिसम्म पेम्बा सामान्य रूपमा फोटो खिच्दै फेसबुकमा राख्थे । क्यामेरा चलाउने पोख्त सीप त्यतिबेलासम्म आफूमा नभएको उनले सुनाए । त्यसैले अटोमा राखेर खिच्थे । फोटो हेर्नेहरूले दिएका सुझाव मनन गर्थे । एक दिन फेसबुकमा राखेको उनको फोटो देखेर वाइल्डलाइफ फोटो पत्रकार चुङ्वा शेर्पाले उनलाई बोलाए । चुङ्बाले उनको फोटो खिचाइमा कमजोरी रहेको औंल्याउँदै आधारभूत टिप्स र टेक्निक मात्रै दिएनन्, उनको क्यामेराको सेटिङ पनि मिलाइदिए । अनि अन्डर र ओभर लाइटमा फोटो खिच्ने तरिका पनि सिकाइदिए । समय मिलाएर चुङ्बासँग फोटो खिच्न उपत्यका बाहिर जान थाले । यो अभ्यासले उनलाई आफ्ना कमजोरीबारे थाहा हुँदै गयो र नयाँ सीप र शैली बुझ्ने मौका दियो । अहिले उनीसँग करिब १० लाखको ग्याजेट छ । क्याननको ५ डी मार्क फोर क्यामरा चलाउने उनीसँग क्याननकै एल ४ को ६०० एमएमको प्राइम लेन्स पनि छ ।

पेम्बाले चराको तस्बिर खिच्दा केही रेकर्ड पनि राखेका छन् । भक्तपुरको मनोहरामा सञ्जय श्रेष्ठसँग फोटो खिच्न जाँदा उनले जल गौंथलीको फोटो खिचे । पछि पो उनले थाहा पाए, यो चरा त २५ वर्षपछि देखिएको रहेछ । सुगम ताम्राकारसँग मिलेर उनले विरलै आउने बटुवा चरा लङबिल प्रलोबर र सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा जन्माउँदाको गुँडसहितको फोटो पनि खिचेका थिए । दुई विश्व प्रसिद्ध पन्छी लेखक डेभिड चान्डलर र डोमेनी कुजेन्सद्वारा लिखित हन्ड्रेड बर्ड्स टु सी बिफोर यु डाई (मर्नुअघि हेर्नुपर्ने सय चराहरू) पुस्तकमा उनले खिचेको हिमालयन कुटियाको तस्बिर समावेश गरिएको छ ।

हिमालसँगको साइनो

पेसाले माउन्टेन गाइड पेम्बाले सन् २००६ मा फ्रान्सेली सांस्कृतिक केन्द्रमा एक वर्ष फ्रेन्च भाषा पढे । त्यही बेला फ्रान्सेली केन्द्रको व्यानर सगरमाथा चुचुरोमा फहराएपछि उनी तीन महिनाका लागि फ्रान्स घुम्न पाए । त्यहाँ पनि उनले फ्रेन्च भाषा पढे । फ्रेन्चसँग हेलमेल बढेपछि उनले फ्रान्सबाट नेपाल र तिब्बतका हिमाल चढ्न आउने धेरै फ्रान्सेलीलाई हिमाल आरोहण गराउने काम गर्थे ।

फ्रेन्चसँगको निकटताकै कारण उनले आफ्नो नाम पेम्बाका अघि फ्रेन्च लेख्न थाले । सन् १९९९ बाट सुरु भएको सगरमाथा आरोहणको यात्रा सन् २००६ सम्म आइपुग्दा उनले ७ पटक आरोहण गरे । नेपालको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ४ सय ८१ मिटर अग्लो मकालु र ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि पहिलो हिमाल आरोहण गरेका उनी कहीं गाइडका रूपमा त कहीं आफैं हिमाल आरोहण आयोजकका रूपमा पुगेका थिए ।

संसारको १३ औं अग्लो उच्च हिमाल पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो ग्रासरब्रज टु (जीटु) र तिब्बतको ८ हजार २७ मिटर अग्लो सिसापाङ आरोहण गरिसकेका उनले युरोपका सबै अग्ला हिमाल चढेका छन् । युरोपको सबैभन्दा अग्लो फ्रान्सको ममलंग, इटालीको मोओज (मोन्तराज) र स्विट्जरल्यान्डको सेगवाल (मेत्रोन) को समेत उनले आरोहण गरिसकेका छन् ।

प्रकाशित : मंसिर २३, २०८० ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×