कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पर्यटक आकर्षित गर्न उल्टो घरको डिजाइन, दैनिक सरदर ७० हजार कमाइ

विनोद भण्डारी

विराटनगर — उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षेत्र हो ।

पर्यटक आकर्षित गर्न उल्टो घरको डिजाइन, दैनिक सरदर ७० हजार कमाइ

निसेलुङ आफैंमा पर्यटकीय क्षेत्र हो । त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउन निसेलुङ पर्यटन प्रवर्द्धक समितिले करिब ५२ लाखको लागतमा उल्टो घर बनाएको छ । त्यो घरको अवलोकन गर्न एक महिनादेख दैनिक सयौं मानिसको भीड लाग्ने गरेको छ ।

घरका सबै संरचना उल्टो डिजाइनमा तयार पारिएको छ । छत भुइँमा र फाउन्डेशन माथिल्लो तलामा छ । सबै कोठा उल्टा छन् । बेडरुम, बेड, बाथरुम, भान्सा, डाइनिङ सबै उल्टा छन् । निसेलुङ पर्यटन प्रवर्द्धक समितिका अध्यक्ष खगेन्द्र मादेनले भने यो भवन निर्माणका लागि भारतको जलपाइगुढीबाट कालीगढ र इन्जिनियर ल्याइएको हो ।

मोरङ, झापा र इलामको संगम क्षेत्र निसेलुङबाट मधेश र पहाडको दृश्यसहित इलामको श्रीअन्तुबाट देखिन सूर्योदयको दृश्य पनि देखिन्छ । त्यो दृश्य हेर्न स्थानीय पर्यटक आउने जाने गर्थे । त्यसबाहेक बाह्य पर्यटकलाई आकर्षित गर्न नयाँ जुक्ति निकाल्ने क्रममा युट्युबमा हेर्दा थाइल्याण्ड र भारतको जलपाइगुढीमा उल्टो घर बनाएको पायौं । मादेनले भने, 'हाम्रो टोली जलपाइगुढी पुगेर उक्त घर बनाउने मिस्त्री र इन्जिनियरसँग सम्पर्क गर्‍यो । अनि त्यही टोलीलाई ल्याएर डेढ महिनाको अवधिमा उल्टो घर बनाएर पर्यटकका लागि एक महिनादेखि खुला गरिएको हो ।'

उल्टो घरको अवलोकनका लागि सर्वसाधारणलाई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पहिलो दिन १ लाख ३ हजार रुपैयाँ समितिलाई आम्दानी भएको थियो । अध्यक्ष मादेनले भने, 'त्यसयता दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी भइरहेको छ ।' हाल यो पार्कको उल्टो घरसहित भ्युटावरबाट तराई, मधेश र सूर्योदयको दृश्य अवलोकनका लागि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, पोखरा, चितवन र सिराह सप्तरीसहित भारतको सीमावर्ती क्षेत्रबाट पर्यटक आउने क्रम बढेको स्थानीय किशोर निरौलाको भनाइ छ ।

करिब एक बिघा जमिनमा रहेको टाँडीको निसेलुङ पर्यटकीय क्षेत्रमा उल्टो घरमात्र ५२ लाखमा निर्माण गरिएको हो भएपनि पर्यटकका लागि भ्युटावर, चिल्ड्रेन पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर निर्माण गर्दा सवा करोड लगानी भएको छ । मादेनले भने, 'अहिले उल्टो घरको अवलोकन गरेर भ्युटावरबाट तराई र मधेशको दृश्य हेर्ने अनि सूर्योदय हेरेर फर्कने व्यवस्था मात्र छ ।'

उनका अनुसार पर्यटकलाई राति बास बसाउनका लागि समितिले गेष्ट हाउस निर्माण गर्दै छ । निसेलुङ पर्यटकीय क्षेत्रमा हालसम्म करिव दुई करोड रुपैयाँ खर्च भएको छ । त्यसका लागि मोरङ १ का संघीय सांसद तथार खेलकुद मन्त्री डिगबहादुर लिम्बुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख, समितिका अध्यक्ष खगेन्द्र मादेनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले १० लाख र निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बुले कोषबाट ३१ लाख २५ हजार र जनसमुदायबाट १५ लाख ६५ हजार रुपैयाँ सहयोग भएको मादेनले जानकारी दिए । उनका अनुसार पार्क निर्माणका लागि स्थानीय शेरबहादुर लिङदेनले ७ रोपनी, बृखबहादुर साम्बाले ३ रोपनी र बुद्धिमान जबेगुले पाँच आना जमिन उपलब्ध गराएका थिए ।

हाल उक्त पार्क निसेलुङ फन पार्कलले समितिलाई वार्षिक ३ लाख शुल्क तिर्ने सर्तमा १० वर्षका लागि लिजमा लिएको छ । पार्कका सञ्चालक इन्द्रमणी भट्टराईका अनुसार उल्टो घर र त्यसका संरचना अनौठो छ र त्यो दृश्य हर्ने आउने आन्तरिक र सीमावर्ती भारतीय पर्यटकको भीड दिनहुँ लाग्ने गरेको छ ।


तस्बिर सौजन्य : किशोर निरौला

प्रकाशित : मंसिर ४, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×