२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कारगिलमा घट्दै रोजगारी

बिस्तारै रोजगारीका अवसर गुमेको र सेनाको सहयोगीको काम पनि पाइन छाडेकाले कारगिल जाने नेपालीको संख्या घट्दो
भवानी भट्ट

कञ्चनपुर — पिठ्युँमा बम, गोला, बारुद र सेनाको रासन । भीर पाखामा हिँड्नुपर्ने । हिँड्दा पनि तोकिएको रुटभन्दा दायाँबायाँ गए एम्बुस वा माइनमा परेर ज्यानै जाने खतरा । उच्च हिमाली भेगमा त झन् हिउँ छिचोल्दै हिँड्नुपर्ने । कहाँबाट बम गोला झर्ने हो भन्ने अर्कै त्रास । सुन्दै पनि आङ जिरिङ्ग हुने । 

कारगिलमा घट्दै रोजगारी

दोधारा चाँदनी नगरपालिका–७ का ५३ वर्षीय दिलबहादुर सुनार भारतको कारगिलमा काम गर्दाका दुःख यसरी सुनाउँछन् । सन् २००० मा कामको खोजीमा कारगिल पुगेका उनी अहिले लद्दाखमा छन् । दुई दशकसम्म सेनाको भरिया बनेर काम गरेका उनी अहिले कारगिल नजिकै लद्दाखमा ज्याला मजदुरीको काम गर्छन् । सेनाको भारी बोक्ने काम निकै कम पाइने भएकाले ज्याला मजदुरीको काम गर्नुपरेको उनले बताए ।

‘धेरै ठाउँमा गाडी पुगिसक्यो, फेरि सबै ठाउँमा जान आधार कार्ड अनिवार्य हुनुपर्छ,’ सुनारले भने, ‘कहिलेकाहीँ बोलाउँछन्, नत्र बाहिरै काम गर्छौं ।’ उनी वैशाखमा १५ जना सँगै लद्दाख पुगेका हुन् । अहिले उक्त क्षेत्रमा सडक र घर निर्माणको काम गरिरहेका छन् । विगतमा सेनाको पोस्टमा भरियाको काम गर्न बैंकमा खाता खोले पुग्थ्यो । जुन सेनाले नै खोलिदिन्थ्यो । तर, अहिले त्यतिले मात्रै हुँदैन । चार/पाँच वर्षयता आधार कार्ड, प्यानकार्ड सबै आवश्यक पर्छ । नेपालीसँग यो सबै हुँदैन । त्यही भएर सेनाको भरिया हुने काम पाउन गाह्रो हुन थालेको छ ।

दिलबहादुरका भतिजा दीपक पनि १० वर्षदेखि कारगिल र ले लद्दाख क्षेत्रमै काम गरिरहेका छन् । उनी पनि सुरुमा सेनाको पोस्टमा काम गर्थे । एक पोस्टबाट अर्को पोस्टमा रासन, हातहतियार, गोलीगट्ठा पुर्‍याउने काम गर्थे । अहिले पोस्टमा काम पाउन गाह्रो हुन थालेपछि बाहिर काम गरिरहेको उनले बताए । उनले २०१४ देखि ४ वर्ष सेनाको पोस्टमा काम गरेका हुन् । ‘यहाँ काम पाउन गाह्रो हुन थालेपछि धेरै नेपाली आउनै छाडे,’ दीपकले भने, ‘कोही आफैं व्यापार व्यवसायमा लागे, कोही अन्यत्र लागे ।’ उनका अनुसार १० वर्षअघिसम्म पनि कारगिल र ले लद्दाख क्षेत्रमा २० हजारको हाराहारीमा नेपाली कामदार पुग्थे । अहिले बढीमा ५/७ हजार मात्रै छन् । ती पनि घर सडक निर्माणको काममा ज्यालादारी गर्छन् । यसैगरी बाटो नपुगेका ठाउँमा मालसामान ढुवानीको काम गर्छन् ।

अहिले सेनाको भरियाको काम गर्ने नेपाली निकै कम छन् । लामो समयदेखि सोही क्षेत्रमा बसोबास गरिरहेका र आधार कार्डसँगै प्यानकार्ड बनाएकाहरूले मात्रै भरियाको काम गरिरहेको सुनारले बताए । ५ वर्ष कारगिलमा काम गरेका दोधारा चाँदनी नगरपालिका–७ का भीमबहादुर सुनार अहिले सिंगापुरमा छन् ।

१९९९ देखि २००४ सम्म सेनाको भरियाको काम गरेका सुनार त्यसपछि घर फर्केर वैदेशिक रोजगारीका लागि सिंगापुर लागेको उनीसँगै कारगिलमा काम गरेका दोधारा चाँदनीकै नरबहादुर चन्दले बताए । चन्द कारगिलमै पाकिस्तानी फौजले हानेको गोलाको छर्रा लागेर २००३ मा घाइतेसमेत भएका थिए । उनी अढाई महिना कारगिलमै सेनाको अस्पतालमा उपचार गरी घर फर्केका हुन् । अहिले उनी दोधारा चाँदनी नगरपालिका–७ बाबाथानमा तरकारी पसल सञ्चालन गरी बसेका छन् ।

१९९९ मा भारत र पाकिस्तानबीच कारगिल क्षेत्रमा युद्ध चलिरहेको थियो । ठीक त्यही बेला काम खोज्दै पुगेका उनले कारगिलको द्रास सेक्टरमा सेनाको सहयोगीको काम पाएका हुन् । सेनाको बेस क्याम्पबाट पोस्टहरूमा रासन, लुगा कपडा, हातहतियारदेखि गोलीगट्ठा सबै बोक्नुपर्थ्यो । क्याम्पदेखि पोस्टसम्मको दूरी २/३ किलोमिटरदेखि ५ किलोमिटरसम्म हुन्थ्यो । सामानको तौल र दूरीका आधारमा पारिश्रमिक पाइन्थ्यो ।

‘कमाइ राम्रै हुन्थ्यो, महिनामा २०/२५ हजार आउँथ्यो,’ दोधारा चाँदनी नगरपालिका–९ का दिलबहादुर खत्रीले भने, ‘अप्ठ्यारा पोस्टहरूमा सामान पुर्‍याउँदा योभन्दा राम्रो कमाइ हुन्थ्यो ।’ सन् २००४ देखि २००९ सम्म कारगिलमा काम गरेका उनले त्यतिबेला कारगिल क्षेत्रमा सेनाको सहयोगीमा नेपालीहरूलाई राख्नुको कारण बताउँदै भने, ‘स्थानीयबाट जासुसी हुन सक्ने खतरा भएका कारण नेपालीलाई नै राख्ने गर्थे ।’

चारैतिर हिउँ, दायाँबायाँ माइन, अगाडि–पछाडि सेनाको टोली । रातिको समयमा मात्रै हो हिँडडुल गर्न पाइने । दिनमा गोला बारुद र फायरिङ हुने भएकाले रातिको समयमा हिउँजस्तै रंगका कपडा लगाएर हिँड्नुपर्ने उनले बताए । ‘रातिको समयमा भारी बोक्दा बादलको छाया देख्दासमेत डराउँथ्यौं,’ खत्रीले भने, ‘रातिमा पनि बम–गोला पड्किरहन्थ्यो, हिँडडुल गर्दा ट्र्याक छाडे माइनमा परेर मृत्यु हुने जोखिम हुन्थ्यो ।’

उनका अनुसार त्यतिबेला सेनाको भरियाको काममा नेपाली मात्रै थिए । भरियाको काम गर्नेहरू सबैभन्दा बढी पूर्वी नेपालको झापा, मोरङ र कर्णालीको रोल्पा र रुकुमका हुन्थे । त्यसपछि दोधारा चाँदनी क्षेत्रका पनि ठूलो संख्यामा त्यहाँ जाने गरेका थिए । बेस क्याम्पबाट पोस्टसम्म करिब २५ किलोग्रामसम्मको सामान ढुवानी गर्नु पर्थ्यो । यो दूरी तीन/चार घण्टाको हो । आउजाउ गर्न एक दिन पूरै लाग्छ । कतिपय पोस्टमा सामान पुर्‍याउन त रस्सीकै भरमा उक्लिँदाको कठोर परिश्रम खत्रीले अझै बिर्सेका छैनन् । ‘तीन घण्टा ठाडो उकालो, रस्सीबाटै चढ्नुपर्ने र रस्सीबाटै झर्नुपर्थ्यो,’ खत्रीले भने, ‘निकै कष्ट हुन्थ्यो तर जति बढी जोखिम त्यति नै बढी पैसा पाइन्थ्यो ।’

गौरीफन्टा नाका हुँदै भारतका विभिन्न स्थानमा रोजगारीका लागि जानेको लर्को । फाइल तस्बिर : कान्तिपुर

खत्री अहिले भारतमै कृषि विभागमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । उनका बुवा पूर्णबहादुर क्षत्री भारतमै कृषि विभागका कर्मचारी थिए । बुवाको मृत्युपछि उक्त ठाउँमा उनलाई भर्ना गरिएको हो । सीमावर्ती बजार खटिमामै उनको कार्यालय छ । घरबाटै आउजाउ गर्छन् । दोधारा चाँदनीबाट कामको खोजीमा कारगिल पुग्नेको संख्या त्यतिबेला दुई/तीन सयसम्म पुग्थ्यो । सीमावर्ती बजार खटिमाबाट चार/पाँचवटा बस बुक गरेरै जान्थे । तर, अहिले कारगिल जानेको संख्या घटेको छ ।

विगतको जस्तो आम्दानी पनि नहुने र सेनाको सहयोगीको काम पनि नपाइने भएका कारण धेरैले अहिले कारगिल जान छाडेका हुन् । सेनाको सहयोगीको काम खोज्दै सन् २००३ देखि २००४ सम्म कारगिलमा २० हजार बढी नेपाली पुगेका थिए । त्यतिबेला सेनालाई कामदार उपलब्ध गराउने दोधारा चाँदनीकै शंकर जोशीका अनुसार ठूलो संख्यामा नेपाली पुगेपछि सेनाको क्याम्पमा मात्रै नभई बाहिरसमेत काम पाउन गाह्रो भयो । सेनालाई आवश्यकभन्दा बढी मानिस पुगेपछि उनीहरू सडक खन्ने, घर निर्माण आदिको काम पनि गर्न थाले । दैनिक डेढ/दुई सय ज्यालादारीमा समेत काम गर्नुपर्ने बाध्यता आयो ।

कामको खोजीमा कारिगल जाने समय वैशाखदेखि जेठसम्म हो । त्यतिबेला गएकाहरू दसैंतिहारमा घर फर्किन्छन् । हिउँदमा अत्यधिक चिसो हुने र त्यतिबेला हिँडडुलसमेत गर्न नसकिने भएकाले अधिकांश घर फर्किन्छन् । कतिपय हिउँदमा समेत त्यहीं बस्ने गर्थे । हिउँदमा हिउँ अत्यधिक पर्ने भएकाले हिँडडुल र सामान बोक्न सकिँदैन । क्याम्पमा बसेर सेनाका लागि बरफ तताएर पानी बनाउने काम मात्रै हुन्थ्यो ।

५ वर्ष सेनाको भरियाका रूपमा काम गरेका दोधारा चाँदनीकै मुकेश महतारा पनि २००७ यता कारगिल फर्केका छैनन् । उनी गाउँमै बस्छन् । ‘त्यतिबेला कमाइ राम्रो थियो, अहिले त खास केही छैन,’ महताराले भने, ‘त्यतिबेला कारगिलमा काम गर्नेहरू अहिले विदेशतिर लागेका छन् ।’ उनका अनुसार कतिपय भारतकै अन्य ठाउँतिर लागेका छन् ।

उसो त त्यतिबेला पनि सबैले सेनाको काम पाउँदैनथे । २००३ मा पनि कारगिल पुग्ने धेरैले भरियाको काम पाएनन् । त्यति मात्रै होइन, बजारमा समेत केही काम नपाइने भयो । होटलमा खानासमेत नपाइने अवस्था आयो । ‘काम खोज्दा खोज्दा थाकेपछि लास्टमा घर बनाउने, सडकमा ज्यालादारीको काम पायौं,’ दोधारा चाँदनी–७ का खडकबहादुर नेपालीले भने, ‘त्यसमा पनि जोखिम त उस्तै हो, कहाँबाट कतिखेर गोली आउँछ, बम गोला बर्सिन्छ, डरैडरमा काम गर्नुपर्ने ।’

नेपालीलाई सडक र घर निर्माणको काममा प्रतिदिनको १ सय २० रुपैयाँ ज्याला दिने भने पनि सय रुपैयाँ मात्रै दिने गरेको खडकबहादुरले सुनाए । कारगिल र ले लद्दाखमा ४ महिना काम गरेका उनले त्यतिबेला कारगिलबाट लद्दाखसम्म गाडीमा जाने पैसा नभएर ४ दिन पैदल हिँडेरै पुगेको अनुभव पनि सुनाए । लद्दाखबाट पनि रातदिन हिँडेर ४ दिनमा कुल्लुमनाली पुगेका उनी त्यहाँ केही दिन काम गरेर रकम जुटाएपछि मात्रै बल्ल घर फर्किएका थिए । ‘सिलाइकटाइ सिकेका थियौं, अहिले त्यही काम गरिरहेका छौं,’ उनले भने, ‘पैसा कमाउन हिँडेका हामी हन्डर खाएर फर्कियौं ।’ उनीसँगै भाइ भक्तबहादुर पनि कारगिल पुगेका थिए ।

दोधारा चाँदनीमा बसोबास गर्ने अधिकांश पूर्वसैनिक परिवार छन् । भारतमै लामो समय सेनाका रूपमा काम गरेका परिवार यहाँ आएर बसोबास गरिरहेका हुन् । उक्त क्षेत्रमा लामो समय काम गरेका अनुसार तिनकै सम्बन्धका कारण यहाँबाट कारगिल जाने क्रम सुरु भएको हो । ‘भारत–पाकिस्तान युद्ध सुरु हुनुभन्दा अघिदेखि नै नेपालीहरू उक्त क्षेत्रमा जान थालेका हुन्,’ दुई दशक कारगिलमै सेनाको पोस्टमा काम गरेको शंकर जोशी भन्छन्, ‘युद्धका बेला अझ बढी नेपालीहरू जान थाले ।’ उनले सुरुमा भरियाको काम र ठेकेदारको काम गरेका हुन् ।

यसरी राखिन्थ्यो भरिया

कारगिलमा सेनालाई कामदार दिने धेरै नेपाली ठेकेदार थिए । उनीहरू कतिपयले गाउँबाटै समेत कामदार लगेर जान्थे । जोशीले पनि फागुन/चैतमा कारगिल जाँदा १५/२० जना सँगै लगेर जान्थे । जुन अहिले निकै कम भइसकेको छ ।

सेनाले कति जना चाहिने हो, त्यहीअनुसार ठेकेदारलाई जानकारी गराउँछ । त्यसपछि ठेकेदारले कामदार पठाउने गर्छन् । ठेकेदारले कामदार पठाएबापत एक जनाबाट एक महिनाको पारिश्रमिक लिने गर्छन् । कोरोना संक्रमणअघिसम्म पनि सेनालाई कामदार दिने ठेकेदारको काम दोधारा चाँदनीकै केही व्यक्तिले गर्दै आएका थिए । कोरोना संक्रमणका बेला घर फर्किएका धेरै ठेकेदार पुनः काममा गएका छैनन् ।

‘कोरोनाका बेला घर आएका धेरै जना काममा फर्केनन्,’ जोशीले भने, ‘काम पनि घट्दै गएको थियो, त्यही भएर फर्किएर जान मन लागेन ।’ त्यतिबेला भरियाको काम गर्ने व्यक्तिको नागरिकता अनिवार्य मागिन्थ्यो । ठेकेदारले सुरुमै नागरिकता दिएपछि मात्रै सेनाले बैंकमा खाता खोलेर भरिया राख्ने गर्दथ्यो । पारिश्रमिक नियमित रूपमा खातामै आउँथ्यो । यति मात्रै होइन, भरियाको लगाउने लुगादेखि हिउँमा हिँड्ने बुटसमेत सेनाले उपलब्ध गराउने महतारा बताउँछन् ।

भरियाको काम गरेका दिन कामदारको हाजिरी लाग्छ । जोखिमयुक्त ठाउँ भएमा एक पटकको पनि दुई/तीन पटक हाजिरी लाग्ने जोशी बताउँछन् । सजिलो ठाउँमा भए एउटा मात्रै हाजिरी लाग्छ । त्यही हाजिरीका आधारमा पारिश्रमिक पाइन्छ । तर, पछिल्लो केही वर्षयता खासगरी कोरोना संक्रमणपछि नागरिकताभन्दा पनि आधार कार्ड र प्यान कार्ड अनिवार्य गरेपछि नेपालीलाई काम पाउन गाह्रो भएको हो । लामो समयदेखि सोही क्षेत्रमा बसेर आधार कार्ड तथा प्यान कार्ड बनाएकाहरूले भने काम पाइरहेको सुनार बताउँछन् ।

पहुँच बढेपछि आकर्षण

’६० को दशकको अन्तिमतिर दोधारा चाँदनी झोलुंगे पुलबाट भए पनि देशको बाँकी भूभागसँग जोडिएको हो । त्यसपछि मात्रै हो, दोधारा चाँदनीका बासिन्दाको महेन्द्रनगरसम्म आउजाउ बढेको । रुपैयाँ पनि भारु मात्रै चल्ने उक्त क्षेत्रमा झोलुंगे पुल बनेपछि मात्रै नेपालीको कारोबार हुन थालेको हो । यहाँका बासिन्दाको राजनीतिक दलका नेतादेखि जनप्रतिनिधिसँग पहुँच बढेपछि काठमाडौं हुँदै रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेको हो ।

२०७८ को जनगणनाअनुसार दोधारा चाँदनीको जनसंख्या ४२ हजार ९ सय ७४ छ । जसमध्ये ४४ प्रतिशत पुरुष र ५६ प्रतिशत महिला छन् । ९ हजार ६ सय १० घरधुरी रहेको यहाँका हरेक घरबाट रोजगारीका लागि भारत वा तेस्रो मुलुक पसेका छन् । ‘यहाँका युवाको प्रमुख रोजगारी नै भारत र तेस्रो मुलुक हो,’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले भने, ‘दुई/चार वर्षयता तेस्रो मुलुक पनि जान थालेका छन्, नत्र अधिकांश युवा भारतमै जाने गर्थे ।’ दुई/चार कक्षासम्म विद्यालय जाने र विपन्नताका कारण बीचमै स्कुल छाडेर भारत जाने गरेका छन् । दोधारा चाँदनीको साक्षरता प्रतिशत ९७ रहेको छ ।

सिमलामा स्याउ टिप्न जाने बढे

चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा भारत पस्नेको लर्को नै लाग्छ । हिउँदको सुरुवातसँगै गड्डाचौकी र गौरीफन्टा नाकामा यो लर्को देखिन्छ । दसैंतिहारका बेला घर फर्किएकाहरू अब बिस्तारै भारत पस्न थालेका हुन् । ‘अब खेतीपातीको काम सकेपछि भारत जानेको भीड बढ्न थाल्छ,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेका नागरिक सहायता कक्षका नायब सुब्बा दानसिंह बोहराले भने, ‘दिनमा हजार/पन्ध्र सयभन्दा बढी भारत पस्छन् ।’ उनका अनुसार खेतीपाती लगाउने काम सकेर बालबालिकासमेत बोकेर भारत पस्ने गरेका छन् ।

नागरिक सहायता कक्षको रेकर्डअनुसार अहिले पनि एक वर्षमा गड्डाचौकी नाकाबाट एक लाखको हाराहारीमा नेपाली कामको खोजीमा भारत जाने गरेका छन् । खासगरी असार/साउनमा स्याउ टिप्न सिमला जाने र हिउँदमा बाटोघाटो तथा अन्य निर्माण कार्यका लागि उत्तराखण्डका पहाडी जिल्लातर्फ जाने गरेका छन् । नागरिक सहायता कक्षका अनुसार गत आर्थिक वर्षमा १ लाख ३ हजार ५ सय ४६ जना नेपाली भारतबाट फर्किएका छन् भने ७६ हजार ७ सय ९८ जना भारत पसेका छन् ।

अघिल्लो आर्थिक वर्षमा ९७ हजार ९ सय ७ जना भारत पसेका थिए । अदक्ष कामदारका रूपमा पटके रोजगारीका लागि जानेहरू असार/साउनमा भारत पस्ने र दसैं तिहारमा घर फर्किने गर्छन् । यसैगरी मंसिर/पुसमा फेरि भारत पसेर नयाँ वर्षमा घर फर्किन्छन् । बाह्रै महिना रोजगारी गर्नेहरू भने फाट्टफुट्ट रूपमा आउजाउ गरिरहन्छन् ।

कामका लागि भारत जानेको संख्या अहिले पनि घटेको छैन । पछिल्लो समय युवापुस्ता कामका लागि तेस्रो मुलुक जान थालेको छ । तर, आर्थिक रूपमा विपन्न समुदायका युवादेखि वृद्धहरूसमेत उत्तराखण्ड र हिमाचलका पहाड चहारिरहेका छन् । ‘रोजगारीका लागि भारत जानेको संख्या अहिले पनि उस्तै छ,’ लामो समयदेखि सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यरत प्रकाश मडैले भने, ‘कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीका कारणसमेत अहिले काम खोज्दै जानेको संख्या निकै बढेको छ ।’

प्रकाशित : मंसिर २, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?