कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

तिहारलाई मादल बनाउन भ्याइनभ्याइ

हरिराम उप्रेती

गोरखा — दसैं सकिए लगत्तै गोरखा नगरपालिका ११ बाह्रकिलोका दधिराम परियारको हात खाली छैन । देउसी भैलाको लागि मादलको माग बढेपछि घारको रंगरोगन, छाला काट्ने, मोहोर्ने, खरी लगाउनेलगायतका काममा दधिरामका परिवार नै खटिएका छन् । पुर्ख्यौली पेसा अंगालेका दधिराम मादल बनाउन माहिर छन् ।

तिहारलाई मादल बनाउन भ्याइनभ्याइ

उनलाई तिहारे चटारोका बिच घारमा रंग लगाउन श्रीमती फूलमायाले सघाएकी छिन् । छाला काट्ने, खरी तयार पार्ने लगायतका कामका लागि छोरा कमल बाबु दधिरामसँगै खटिएका छन् । ‘यो बेला फुर्सदिलो बस्नुपरेको छैन । जति धेरै मादल बनाउन सके त्यति बिक्छ,’ दधिरामले भने ।

कार्तिक, मंसिर महिनामा मादल बिक्ने मौसम मानिन्छ । मादलको खोजीमा दधिरामको पसल खोज्दै आउने ग्राहकहरु पनि बढेका छन् ।

मादल बनाउने दधिरामको मूल पेसा हो । अन्य समयको तुलनामा तिहारमा मादलको माग बढ्ने गरेको उनले सुनाए । ‘अरु बेला मासिक १५/२० हजार कमाइ हुन्छ,’ उनले थपे, ‘ तिहारको बेला मादल बनाउन सके एकदेखि डेढ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।’

भिमसेन थापा गाउँपालिका १ मसेल पुर्ख्यौली घर भएका दधिरामका बुबा लोकमान परियार मादल बनाउन पोख्त थिए । उनले पनि सानैदेखि मादल बनाउन सिके । बाबु लोकमानले अंगालेको पुर्ख्यौली पेसा पछ्याउँदै दधिराम बाह्रकिलो–बारपाक सडकखण्ड अन्तर्गत भैसे थुम्कामा मादल पसल राखेका छन् ।

‘यहाँ सरेको ८ वर्ष भयो, व्यवसाय गर्छु भन्दा पनि पुरानो घर कोल्टे ठाउँ परेपछि रोडमा झरेको हुँ,’ उनले भने, ‘मेरो परिवार कै मूल पेसा मादल बनाउने नै हो, तिहारको बेला चाप हुन्छ, अरुबेला बनाएको मादल होलसेल पसलमा लगेर छाड्ने गरेको छु ।’ तिहारको बेला उनको मादल पसल खोज्दै आउने ग्राहक पनि बढेका छन् ।

दैनिक दुईदेखि पाँच वटासम्म मादल यतिबेला दधिरामले तयार गर्ने गरेका छन् । मादल बनाउनका लागि प्रयोग हुने छाला, रङ, घार, खरी, रिङ दधिरामले काठमाडौंका सहरबाट खरिद गरेर ल्याएका छन् ।

उतिस, खिर्रो र खमारीबाट बन्ने घार भने धादिङबाट ल्याएर तीन प्रकारको मादल बनाउने गरेको उनले सुनाए । ‘ठूलो, मध्यम र गिलास तीन आकारको मादलको माग बढ्दो छ,’ उनले भने, ‘अरु बेला त खैजडी, नगरा, पञ्चेबाजाहरु पनि बनाउँथें, तिहारको बेला अहिले भने अरु बाजा बनाउन भन्दा पनि मादलकै माग बढी छ ।’

आकारअनुसार एउटै मादल २७ देखि ४५ सयसम्ममा विक्री हुने गरेको दधिराम बताउँछन् । ‘यो एकदम मेहनती काम हो, बनाउन सारै झम्मार हुन्छ, सुरुमा घार बनाउनुपर्‍यो, छाला चाहियो, फिता काट्नुपर्‍यो, चक्का राखेर खरी लगाउने भाग छाड्नुपर्‍यो,‘ उनले भने,‘यसो गरेपछि पनि आज बनाएको घारमा आजै खरी लगाउन मिल्दैन, सुकाएर दुई दिन पछि खरी लगाउनुपर्छ ।’

एक जना व्यक्तिले एउटा मादल तयार गर्न कम्तिमा पनि दुई दिन लाग्ने उनले सुनाए । ‘तिहारको बेला सबै परिवार मादल बनाउन जुट्छौँ, परिवारले सघाउदा ६ वटासम्म तयार पार्न सकिन्छ,’ उनले भने । खरी लगाउन जानिएन भने मादल नबज्ने उनले सुनाए । ‘धेरै कुरामा विचार पुर्‍याउनुपर्छ, मिलाउन नजाने खरी झर्ने नबज्ने अर्को झम्मार हुन्छ,’ उनले भने ।

गोरखा नगरपालिका १० छेवेटार, ११ को बाह्रकिलो र गोरखा नगरपालिका १२ को दशकिलो क्षेत्रमा रहेका पाँचवटा मादल बनाउने पसलमा यतिखेर मादल अडर गर्नेहरु बढेका छन् । बाह्रकिलोकै बाबुराम परियारलाई दसैं सकिए देखि नै मादल बनाउने चटारो छन् ।

नयाँ मादल खरिदसँगै पुराना मादल मर्मतका लागि आउने ग्राहकहरू बढेको बाबुराम बताउँछन् । ‘तिहारका लागि भनेर नयाँ मादलको अडर पनि आएको छ, धेरै खरी झरेका, छाला चुँडिएका पुराना मादलहरु मर्मतका लागि आएका छन्,’ उनले भने,‘नयाँ मादल बनाउन तिहारको बेला भएर घारको पनि अभाव छ । १ सय घार अर्डर गर्दा ५० वटा पाइन्छ ।’

तर तिहार बेला अन्य समयको तुलनामा दुई/चारवटा भएपनि नयाँ मादल बढी बिक्ने उनले बताए । ‘यो बेला देउसी/भैलो खेल्ने, नारायण पुजा, झ्याउरे लगाउनेहरूले मादलको खोजी गर्दै आउँछन्,’ उनले भने । उनले मादल बनाउन थालेको दुई दशक बितेको छ । तर विगतमा जस्तो मादलको विक्री नरहेको बाबुरामले दुखेसो पोखे ।

‘अहिले डेक आयो, मोबाइल आयो, युट्युव भन्छन्, हेर्छन्, यसले मादल किन्ने ग्राहक पनि घटे,’ उनले भने । नयाँ प्रविधिको प्रयोग गर्दै आफूले बनाएको मादल लगायतका बाजाको बारेमा टिकटक मार्फत् पनि प्रचार गरेको बाबुराम बताउँछन् । प्रचारले पनि काठमाडौं, पोखरादेखि मादलको माग हुने गरेको छ । केही दिनअघि मात्र उनले वाग्लुङमा नगरा बनाएर पठाए । अर्डरअनुसार मादल बनाउनुको अलावा पुस्तक पसल र होलसेल पसलमा पनि यहाँ बनाएको मादल विक्रीका लागि पुग्ने गरेको छ ।

प्रकाशित : कार्तिक २८, २०८० १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?