कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

अस्ट्रेलियामा जमेका अनिल

डेढ दशकअघि अध्ययनका लागि अस्ट्रेलिया पुगेका चितवनका अनिल पोखरेलले सर्टिफाइड प्राक्टिसिङ एकाउन्टिङ पढे । त्यसलगत्तै वित्तीय क्षेत्रमा थप अध्ययन गरेका उनी हाल अस्ट्रेलियाको सबैभन्दा ठूलो कन्स्ट्रक्सन कम्पनी डाउनर युटिलिटिजमा वित्तीय व्यवस्थापक छन् ।
विमल खतिवडा

काठमाडौँ — देशमा माओवादीको सशस्त्र द्वन्द्व सकिएर भर्खर शान्ति पुनःस्थापना भएको थियो । चितवन खैरहनीका ३७ वर्षीय अनिल पोखरेल देश छाड्ने चटारोमा थिए । खासमा प्लस टु तह सकेर चिकित्साशास्त्र अध्ययनको छात्रवृत्तिको परीक्षा दिएका थिए उनले । पहिलो प्रयासमा नाम निस्किएन । दोस्रो पटक परीक्षा दिन तयारी गरिरहेकै बेला सँगैका साथीहरू एकपछि अर्को गर्दै बिदेसिइरहेका थिए ।

अस्ट्रेलियामा जमेका अनिल

उनको मन पनि नेपालमा थामिएन । र, साथीहरूकै सिको गरेर अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी पुगे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका लागि केही समयअघि नेपाल आएका अनिल उतिबेला भने रहरले बिदेसिएको बताउँछन् । तर अहिले भने बिदेसिनु वा उतै बस्नु बाध्यता जस्तै बनिसकेको उनको बुझाइ छ । ‘सुरुमा खासै योजना नबनाई गएको पुस्ताको परें,’ उनी भन्छन्, ‘तर अहिलेको पुस्तामा विदेश जानुको विकल्प नै देख्दिनँ ।’ दुःखजिलो गरी पढेलेखे पनि जागिरको ग्यारेन्टी नभएको र नयाँ उद्यम गर्ने पनि सहज वातावरण नदेखिएको उनको भनाइ छ ।

अनिलका अनुसार उद्योग, कलकारखाना खोल्न महिनौं सरकारी झमेला व्यहोर्नुपर्ने भएकाले पनि युवा पुस्ताले देशमा भविष्य नदेखेको हो । ‘त्यसैले देशको अवस्था देखेर नै पहिले किन विदेश जान्छस् भन्ने बुबाआमा अहिले आफ्नो भविष्य बनाउन विदेश जाऊन् भन्ने सोचमा छन्,’ उनी प्रश्न गर्छन्, ‘आफ्नो परिवारको जीवनयापन सहज होस् भन्ने नचाहने को नै छ र ?’

अस्ट्रेलिया पुगेर स्नातक तह सकेर सर्टिफाइड प्राक्टिसिङ एकाउन्टिङ (सीपीए) पढे । ‘अनि वित्तीय क्षेत्रमै थप अध्ययन गर्ने अवसर मिल्यो,’ उनले भने, ‘अहिले अस्ट्रेलियाको सबैभन्दा ठूलो कन्स्ट्रक्सन कम्पनी डाउनर युटिलिटिजमा वित्तीय व्यवस्थापक (फाइनान्स म्यानेजर) छु ।’ आफ्नो विज्ञता प्रोजेक्ट फाइनान्स इन्फ्रास्ट्रक्चरमा भएको उनी सुनाउँछन् । ‘मैले काम मात्र गर्दिनँ, अध्यापन पनि गर्छु,’ उनी भन्छन्, ‘कन्सल्टिङ र अन्य क्षेत्रमा पनि आबद्ध छु ।’ अस्ट्रेलिया जाँदा सुरुका दिनमा उनले निकै संघर्ष गरेको उनको अनुभव छ । तर त्यही संघर्ष अनि मिहिनेतले बिस्तारै स्थापित बनाएको हो अनिललाई ।

‘नेपाल छँदैदेखि समुदायसँग कुनै न कुनै रूपमा जोडिँदै आएको थिएँ, सामाजिक काममा पनि उत्तिकै सक्रिय हुन्थें,’ उनी भन्छन्, ‘त्यो चेत ममा सधैं छ ।’ यही स्वभावले अस्ट्रेलियास्थित नेपाली समुदायसँग जोडिँदै गएको उनको भनाइ छ । ‘त्यसै क्रममा एनआरएनएसँग जोडिएँ,’ उनी भन्छन्, ‘चार वर्ष एनआरएनए, अस्ट्रेलियाको कोषाध्यक्ष भएर काम गरें ।’ अहिले भने उनी एनआरएनए अस्ट्रेलियाको अध्यक्ष छन् । अब युवाले नेतृत्व लिनुपर्छ भनेरै अध्यक्षका लागि आफू नै अघि सरेको उनी बताउँछन् । ‘एनआरएनए अस्ट्रेलियामा अन्य मुलुकको तुलनामा सबैभन्दा बढी सदस्य छन्,’ उनी भन्छन्, ‘सानो उमेरमै यति धेरै सदस्यको नेतृत्व गर्ने अवसर पाएको छु ।’


बिदेसिनुलाई नराम्रो रूपमा हेर्न नहुने उनको जोड छ । विभिन्न देश गएका श्रमजीवीले पठाएको रेमिट्यान्सबाट आर्थिक रूपमा राष्ट्रलाई ठूलो भरथेग हुने गरेको उनको भनाइ छ । ‘उनीहरूले पैसा मात्र कमाउँदैनन्, ज्ञान आर्जन पनि गरेका हुन्छन् । सरकारको ध्यान उनीहरूलाई फर्काउन वा सहज रूपमा उनीहरूको लगानी तथा ज्ञान सीप कसरी लागू गर्न सकिन्छ भन्नेमा जान जरुरी छ,’ उनले भने । एनआरएनएको पछिल्लो महाधिवेशनमा गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने सरकारको निर्णय स्वागतयोग्य भएको उनको बुझाइ छ । ‘अब कार्यविधि बनाएर सहज रूपमा कसरी एनआरएनएबाट लगानी भित्र्याउने लगायतका विषयमा सम्बन्धित निकायले काम गर्न जरुरी छ,’ उनले भने ।

अस्ट्रेलियामा नेपाली समुदायका करिब दुई लाख हाराहारीको बसोबास छ । ‘मजस्तै लामो समय अस्ट्रेलिया बसेका र स्थापित भएकाहरूका सन्तान हुँदै गर्दा दोस्रो पुस्ता पनि बढ्दो क्रममा छ,’ उनी भन्छन्, ‘यो पुस्तालाई देशसँग कसरी जोड्ने र आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने भन्नेमा एनआरएनएले काम गर्न जरुरी छ ।’ युवापुस्तालाई कुलतमा नलाग्न र जीवनमा प्राप्त असफलताबाट पाठ सिकेर अझै बलियो बन्दै अघि बढ्नुपर्छ भन्ने सुझाव पनि दिन्छन् उनी । ‘सानातिना संकट र व्यवधानबाट नपिरोलिई निरन्तर अगाडि बढ्दा सफलता मिल्दो रहेछ,’ उनी भन्छन्, ‘अहिलेका कतिपय युवामा यो भयो भने भयो, भएन भने जिन्दगी नै सकियो भन्ने जुन सोच र भावना छ, त्यस्तो पक्कै होइन । बाआमाको पुस्तालाई हेर्‍यौं भने हामीले दुःखकष्ट गर्नुपर्दो रहेछ भन्ने बुझ्न सक्छौं ।’

विदेशमा कुनै कम्पनी दर्ता गर्नुपर्दा आधा घण्टामै काम हुने भएकाले पनि चाहेका बेला सहजै चाहेको व्यवसाय गर्न सकिने वातावरण छ । ‘तर मेरो साथी नेपालमा उद्यम गर्छु भनेर आउँदा कम्पनी दर्ता गर्न उसलाई चार साता लाग्यो,’ उनले प्रश्न गरे, ‘एक त बिदेसिएका नेपाली कमै मात्र देशमा फर्कन चाहन्छन्, फर्किएर आएकालाई पनि केही गरौं भन्ने भाव राख्दा साथ दिने कोही छैन ।’ यस्तै अवस्था रहे नेपालमा कसरी आएर काम गर्न नसकिने उनको चिन्ता छ । थुप्रै एनआरएन नेपालमा लगानी गर्न तयार भएकाले लगानीयोग्य वातावरण बनाइदिनुपर्ने उनको सुझाव छ ।

एनआरएनएजस्तो संस्थामा राजनीतिक हस्तक्षेप हुन थालेकोमा भने उनी चिन्तित छन् । ‘कुनै पनि पार्टीमा आस्था राख्न पाइयो । तर संस्थाको नेतृत्वमा जो पुग्छ, उसले राजनीतिमुक्त संस्था बनाउनुपर्छ,’ उनले भने, ‘एनआरएनए नेतृत्वले पनि राजनीतिक हस्तक्षेपको वातावरण बनाउनेतर्फ लाग्नुहुँदैन ।’ देशबाहिर पुगेको एउटा पुस्ताले धेरै ज्ञान–सीप आर्जन गरेकाले उनीहरूलाई स्वदेश फर्काउने उपयुक्त समय आइसकेको उनी बताउँछन् । ‘यसका लागि सरकारले सहजीकरण गर्नुपर्छ । देशका लागि यहीं बसेर केही गर्ने वातावरण बनाए धेरैजना अनुभव र लगानी गर्ने योजनासहित फर्कने निश्चित छ ।’

प्रकाशित : कार्तिक २१, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×