आत्मनिर्भर बन्ने हुटहुटीले बनायो उद्यमी

लुम्बिनी — तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रूपन्देहीमा सफल उद्यमी बनाएको छ । तालिममा सहभागी भएपछि लुगा सिलाउने हाते मेसिन सहयोग पाएकी थिइन् ।

त्यसैले लुगा सिलाउने सीप तिखारिन् । बुबा खड्कबहादुर र आमा मोहलक्ष्मीले गुडिया बनाउन सिकाए । उनलाई थप ऊर्जा मिल्यो । ‘आमा गुडिया बनाउनु हुन्थ्यो, बुबा गुडियामा कला भर्नुर्हुन्थ्यो,’ उनले सुनाइन् । उनका बुबा बितिसके । अहिले मञ्जु स्वरोजगार मात्रै छैनन् । मञ्जु हस्तकला ट्रेनिङ सेन्टर सञ्चालन गरेर पाँच जनालाई रोजगारी पनि दिएकी छन् ।
बुबाआमाले बनाएका गुडिया पाल्पाको तानसेन घुम्न आउनेले उपहारस्वरूप लैजान्थे । त्यही देखेर गुडिया बनाउन सिक्ने रहर जागेको थियो उनलाई । मञ्जु पढाइमा पनि अब्बल थिइन् । विभिन्न स्थानमा जागिरको अवसर मिलेको थियो । उच्च माध्यमिक शिक्षा पूरा गरेपछि एक सहकारी संस्थामा काम गरिन् । सहकारीबाट भएको आम्दानी जम्मा गरेर कपडा खरिद गर्थिन् । ‘फुर्सद भयो कि गुडिया बनाउन सिक्थें, उनले भनिन्, साथीभाइ, चिनजानका व्यक्तिलाई बेच्थें र कमाउँथें पनि ।’ पाठेघरको समस्याले च्यापेपछि काममा अवरोध पुग्यो । अस्पतालमा शल्यक्रिया गरेर पाठेघर निकालेपछि पुनर्जीवन पाइन् ।
यसपछि तानसेनका सुबोध श्रेष्ठसँग विवाह गरिन् । सुबोधले थप तालिम लिने अवसर मिलाइदिए । घरमा लुगा सिलाउँदा पनि कमाइ हुन्थ्यो । विवाहको एक वर्षपछि उनीहरू पाल्पाबाट थप अवसरको खोजीमा बुटवल बसाइँ झरे । तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास थाल्नु अगाडि बुटवलमा थप तालिम लिइन् । ‘त्यतिबेला तालिमका लागि लाग्ने खर्च जुटाउन हम्मे पर्थ्यो,’ उनले भनिन्, ‘स्थानीय हार्डवेयरमा दिनभरि जागिर गर्ने श्रीमान्ले रातिमा टिकुलीमा मोती भरेर पैसा जुटाइदिनुभयो ।’ उनले तालिमबाट पाएको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाएको ८ वर्ष पूरा भएको छ । पहिलो पटक १० थान गुडियाको अर्डर आएको सम्झिँदा हर्षविभोर हुन्छिन् । अहिले अर्डर पूरा गर्न भ्याइनभ्याइ हुन थालेको छ । उनले उत्पादन गरेका गुडिया तिलोत्तमा, भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, पाल्पासम्म बिक्री हुन्छन् । यसबाहेक ऐना स्ट्यान्ड, मोबाइल थैली, फुर्के किरिङ बिक्री हुन्छन् । अहिले १ सय २५ देखि ३ हजार ४ सय रुपैयाँसम्मका गुडिया उत्पादन भइरहेको बताइन् । उनका पति सुबोधले गुडिया बनाउन सिकेका छन् । घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम दिन प्रशिक्षक आवश्यक परेका बेला मञ्जु नवलपरासी र पाल्पा कारागारमा रहेका कैदी महिलालाई तालिम दिन जान्छिन् । पुरुष कैदीलाई सुबोधले सिकाउँछन् । अहिले मञ्जु पसलमै गुडिया बनाउन व्यस्त हुन्छिन् । सुबोध तालिम लिन, दिन जाने र सामान अर्डरअनुसार बजारमा पुर्याउने गर्छन् ।
रूपन्देहीकै तिलोत्तमा–१३ मधवलियास्थित शिवशक्ति एग्रो फर्ममा ५१ गाईभैंसी छन् । उक्त फर्ममा दैनिक १ सय लिटर दूध उत्पादन हुन्छ । ४० वर्षीया सरस्वती बन्जाडेले ०७७ सालमा उक्त फर्म सञ्चालनमा ल्याएकी थिइन् । भैंसी पाल्नुअघि बोर्डिङ स्कुलमा पढाउँथिन् । नौ वर्ष पढाएपछि उनको मनस्थिति फेरियो । पढाउन छाडेर पशुपालनमा लागिन् । सुरुमा डेरी पसल सञ्चालन गरिन् । पसलमा दूधको माग धेरै देखेपछि आफैंले गाई, भैंसी पाल्न थालेको बताइन् । यसमा उनका श्रीमान् प्रकाश र जेठानी दिदीको मनग्ये सहयोग छ । सुरुमा ५ लाखमा २ वटा भैंसी किनेर पाल्न थालेकी थिइन् । त्यसकै आम्दानीबाट भैंसी थप्दै जाँदा ५१ वटा पुर्याइन् । फर्ममा रहेका हरियाणा, मुर्रा जातका भैंसी छन् । अढाई बिघा जमिन भाडामा लिएर फर्म तथा घाँसबारी बनाएर चलाएका छन् । अहिलेसम्म फर्ममा ८० लाख रुपैयाँ लगानी भइसकेको छ । बोर्डिङ पढाएर कमाएको पैसाले छोराछोरी पढाउनसमेत दुःख थियो । अहिले दूध र त्यसका परिकारहरू पनिर, दही, घिउ, क्रिम बेचेर मासिक १ लाख रुपैयाँसम्म कमाइ हुन्छ । दानापानी खुवाउने, घास काट्ने, सरसफाइ गर्ने काममा ६ जनालाई रोजगारी दिएकी छन् ।
तिलोत्तमा–१ की ३७ वर्षीया अञ्जु थापाले पहिलो पटक ११ वर्षको उमेरमा महिनावारी हुँदा ९ दिनसम्म गोठमा बिताइन् । त्यसबेला रगत थाम्न घरेलु कपडाको प्रयोग गरेको उनलाई सम्झना छ । पुराना टालाको प्रयोगले एलर्जी भयो । यसको संक्रमणले उनलाई धेरै वर्ष दुःख दियो । चिकित्सकलाई देखाउँदा सफा कपडा प्रयोग गर्ने सल्लाह पाउँथिन् । ‘स्यानिटरी प्याड लगाउनै नहुने,’ उनले भनिन् । समस्या भएपछि साथीसँग पुनः प्रयोग गर्न मिल्ने प्याडबारे थाहा पाइन् । साउदीमा रहेका श्रीमान् प्रकाशलाई पुनः प्रयोग गर्न मिल्ने प्याडबारे बुझ्न भनिन् । श्रीमान्ले पठाइदिएको प्याडले स्वास्थ्य समस्या सुल्झियो । पछि त्यही प्याड बनाउने इच्छाले उनलाई उद्यमी बनायो ।
स्नातक अध्ययन पूरा गरेपछि जिल्लामै बैंकमा जागिर खान्थिन् । छोरा जन्मिएपछि बैंकको जागिर छाडेर घरै बस्न थालिन् । श्रीमान्ले प्याड बनाउने तरिकाबारे इन्टरनेटमा पाइने सामग्री पठाइदिन्थे । त्यहीबाट प्याड बनाउन सिकिन् । ‘दैनिक २/३ वटा गर्दै बनाउन थाले, दुई वर्षसम्म मिहिनेत गरेर सिकें,’ उनले भनिन् । प्याड बनाउन सिकेपछि पाँच वर्षअघि २५ लाख लगानी लगाएर ७ वटा विद्युतीय मेसिन जडान गरिन् । प्याड बनाउन छुट्टै हल निर्माण गरिन् । उक्त कोठामै विगत ५ वर्षदेखि अञ्जु स्यानिटरी प्याड उद्योग सञ्चालन गरिरहेको उनले बताइन् । छिमेकी ४ अन्य महिलाले पनि काम पाएका छन् । श्रीमान् प्रकाश डेढ वर्षअघि साउदीबाट फर्किएर प्याड उद्योगमै अञ्जुलाई सघाइरहेका छन् । प्याड बनाउन थालेपछि वेबसाइट पेज बनाएर प्रचार गरिदिएका प्रकाशले त्यसकै आधारमा आएको अर्डरलाई पूरा गर्दै जाँदा बजारमा अञ्जु पुनः प्रयोग गर्न सकिने प्याडको देशैभरिबाट माग बढ्दै गएको थापाले बताइन् । हाल बटरफ्लाई, फ्लावर, नाइट, डे प्याड तथा इनर लाइनर उत्पादन गर्छिन् । उत्पादन गर्दै बेच्ने अलावा विभिन्न पालिका, आमा समूह, स्वास्थ्य संस्थामा तालिम दिन काठमाडौं, हेटौंडा, गोरखासम्म पुगेकी छन् ।
मञ्जु, सरस्वती र अञ्जुजस्तै स्वरोजगार बन्न चाहनेलाई दायित्व नामक संस्थाले तालिम, व्यवसाय अघि बढाउने सहयोगी बजेट प्रदान गर्दै आएको छ । तिलोत्तमा नगरपालिकासँग समन्वय गरी उक्त संस्थाले हरेक वर्ष यहाँका उद्यमी पुरुष तथा महिलालाई प्रोत्साहन गर्दै फाराम नै खोलेर उद्यमशीलतामा अघि बढ्न सघाइरहेको दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले बताए । आफूहरूले १० वर्ष अघिदेखि नै यस्ता कार्यक्रम गरिरहे पनि आव ०७६/७७ देखि स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताए । रामेछाप, गुल्मी, पाल्पा, बाग्लुङ, तिलोत्तमामा कार्यक्रम भइसकेको र यसलाई निरन्तरता दिइरहेको उनले बताए ।
प्रकाशित : कार्तिक ३, २०८० ११:५४