कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘दि रेड सुटकेस’ मा श्रमिकको मूल्य

श्रमको खोजीमा विदेश उड्ने दैनिक हजारभन्दा बढी नेपाली कामदारका संघर्ष, सपना र जीवनको मूल्यसँगै आउने संयोग र उल्झनहरूमा केन्द्रित फिल्म हो ‘दि रेड सुटकेस’ । कतारमा विश्वकप रंगशाला निर्माणमा खटिएका एक कामदारको कथाबाट सुरु हुने फिल्मले नेपालको राजनीतिक उतारचढावसागैको वैदेशिक रोजगारीको बाध्यता देखाउँछ ।
जनकराज सापकोटा

फिल्म पढ्नका लागि सन् २००८ मा जर्मनी पुगेका थिए– फिडेल देवकोटा । तर, त्यो विषय जर्मन भाषामा मात्रै पढ्नुपर्ने भएपछि भने उनी विषय फेर्न बाध्य भए । अनि रोजे ‘भिज्युअल एन्थ्रोपोलोजी’ । बर्लिनस्थित फ्रे युनिभर्सिटीबाट स्नातकोत्तर र विद्यावारिधि सकेपछि भने उनी सोही विश्वविद्यालयमा पढाउन थाले । त्यही बीचमा २०१४ मा ‘धेका अन्तिम भेडा गोठाला’ र २०१६ मा ‘तल्लो मुस्ताङको बदलिँदो हावा’ वृत्तचित्रहरू बनाए उनले । तर, त्यतिमै भने अडिएनन् ।

‘दि रेड सुटकेस’ मा श्रमिकको मूल्य

समसामयिक फिल्म वृत्तमा के भइरहेको छ ? कस्तो विषयमा फिल्महरू बनिरहेका छन् भन्ने चासो राख्ने उनलाई आप्रवासनमा मुद्दाले बढी गम्भीर बनाउँथ्यो । अनलाइनहरू स्क्रोल गरिरहेका बेला एक दिन फोटो पत्रकार निमेष राईले खिचेको एउटा तस्बिरले उनको ध्यान खिच्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक कामदारको शवसँगै आएको रातो सुटकेस थियो त्यो तस्बिरमा ।

तस्बिर नियालेपछि उनको मनमा अनेकन भाव आए । सुरुमा त उनलाई त्यो कफिनसँगै आएको सुटकेसभित्र के–के होला भन्ने लाग्यो । त्यसपछि उनको मनमा प्रश्न उब्जियो– आखिर एउटा मान्छेलाई चाहिने के हो ? उनले भने, ‘खासमा फोटोमा उतारिएको क्षणले मलाई भित्रैदेखि छोयो ।’ त्यसपछि उनले यही विषयमा फिचर फिल्म बनाउने योजना बुन्न थाले । आफैंले स्क्रिप्ट पनि तयार पारे । नेपाल आए र यही विषयमा काम गरिरहेका, साहित्य र कलाको मर्म बुझ्नेहरूसँग एकाध चरण छलफल गरे ।

अनि बन्यो, फिडेलको निर्देशनमा ‘दि रेड सुटकेस (रातो सुटकेस)’ । औसतमा दैनिक १२ देखि १३ सय नेपाली श्रमको खोजीमा विदेश उड्ने र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको दैनिक तीन कफिन आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ, यो फिचर फिल्म । विमानस्थलबाट छुटेको पिकअप ट्रक पछ्याउँदै कथाले दर्शकलाई दुई दिन लामो यात्रामा लैजान्छ । यही यात्रामा आइपुग्छन् प्रवासी कामदारका संघर्ष, सपना र जीवनको मूल्य र त्यसको हिसाबकिताबसँगै आउने संयोग र उल्झनहरू । वैदेशिक रोजगारीलाई नेपाली समाजलाई बहुल स्वरूपमा कसरी प्रभावित पारिरहेको छ भन्ने प्रस्ट पारेको छ फिल्मले । कतारमा विश्वकप रंगशाला निर्माणमा खटिएका एक कामदारको कथाबाट सुरु हुने यो फिल्मले नेपालको राजनीतिक उतारचढावको कथासँगै वैदेशिक रोजगारीको बाध्यता देखाउँछ ।

भेनिस फिल्म फेस्टिबलमा सहभागी ‘दि रेड सुटकेस’ टिम । तस्बिर : सुजाता गुरुङको फेसबुकबाट

रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेको ‘रातो सुटकेस’ मा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडाको मुख्य अभिनय छ । फिल्ममा केही रोचक संयोग छन् । नेपाली कथामाथि नेपालीको लगानीमा बनेको यो फिल्मको सम्पादन भने श्रीलंकन नागरिक समन अलभिटिगालाले गरेका हुन् । कलर र भीएफएक्सको काम पनि त्यही भयो । सम्पादक समनसँग फिडेलको २०१८ अघिदेखिकै मित्रता थियो ।

‘हामी एकअर्काबीच फिल्मबारे कुरा गरिराख्थ्यौं । आइडियाहरू सेयर गरिराख्थ्यौं । त्यही भएर पनि मलाई सँगै काम गर्न सजिलो भयो,’ उनले सुनाए । फिल्मको ध्वनिको काम भने भारतमा भएको हो । फिल्मका दृश्य भने फिडेलसँगै स्नातक पढ्दाका साथी रामले खिचेका हुन् । ‘यो फिल्ममा जो–जो जोडिएका छन्, उनीहरू मेरा नजिकका साथी हुन्,’ फिडेलले भने, ‘नढाँटी भन्दा यसका पछाडि आर्थिक कुरा पनि जोडिएको छ ।’ फिडेलले नेपाल, जर्मनी, श्रीलंका र भारतमा एकैचोटि फिल्मसम्बन्धी अनेकन काम भएका जनाए । उनले भने, ‘साँच्चै संसार कति सानो भइरहेको छ ।’

फिडेलका अनुसार रातो सुटकेसको कथा नेपालीहरूले नदेखेको वा नसुनेको कथा होइन । उनले भने, ‘तर यो कथा विश्वसामु पुर्‍याउन जरुरी थियो ।’ यो फिल्मले नेपाली समाजको समकालीन इतिहासलाई बुझाउन मद्दत गर्ने उनले बताए । भने, ‘म एन्थ्रोपोलोजिस्ट पनि भएकाले यो फिल्मले नेपाली समाजको भिज्युअल कल्चरलाई राम्रोसँग देखाएको छ ।’ संसारमै विकास आप्रवासनका कारण सम्भव भएको बुझाइराख्ने फिडेल भन्छन्, ‘हामी सबै इतिहासको विभिन्न समय क्रममा बसाइँ सर्दैसर्दै आइरहेका छौं । आज हामी यहाँ छौं । तर, हाम्रो रुट अन्तै कतै थियो ।’

हालै इटालीमा आयोजित प्रसिद्ध भेनिस फिल्म फेस्टिबलको ओरिजोन्टी विधामा छानिएको फिल्म १३ सय सिट क्षमताको हलमा स्क्रिनिङ गरिएको थियो । फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मको सम्मानमा तीन मिनेट स्ट्यान्डिङ ओभेसन दिएका थिए । स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरोअन्तर्गत डेब्यु फिल्म निर्देशकका रूपमा फिडेललाई ‘बेस्ट फस्ट फिचर फिल्म’ अवार्डबाट सम्मानित गर्‍यो । मिथ र परम्परालाई जोड्दै बेजोड दृश्य संयोजनमार्फत कथा भनिएको र नेपालको अनुपम भौगोलिक दृश्यलाई देखाउँदै पात्रहरूको एकान्तपनलाई प्रस्तुत गरिएको जुरीले उल्लेख गरेका छन् । फेस्टिबलमा फिल्मले स्पेसल मेन्सन अवार्ड पनि प्राप्त गरेको थियो ।

भेनिस फेस्टिभल अवधिभर फिडेलले संसारका विभिन्न फिल्म निर्माता, निर्देशक र कला क्षेत्रका दिग्गज भेटे । प्रदर्शनमा आएका अधिकांश फिल्ममा सम्बन्धित देशका सरकार र सरकारी निकायले हरतरहले सघाएको देखिन्थ्यो । फिल्म छनोट भएपछि प्रदर्शन गरिने हलबाहिर जुन देशका फिल्म हुन्, त्यही देशका राष्ट्रिय झन्डा फहराइएका थिए । दर्जनौं झन्डाका बीचमा नेपालको राष्ट्रिय झन्डा फहराइरहेको देख्दा बेग्लै आनन्द मिलेको बताउँछन् उनी ।

खुसीको यो विषयभन्दा अलिक पर फिडेलको चित्तदुखाइ रह्यो । ‘त्यतिबेला मलाई नेपाली विषयको, नेपाली लगानीको र नेपालीले बनाएको फिल्ममा फिल्म बोर्ड भन्ने संस्थाले सामान्य औपचारिकता पनि नदेखाएको देख्दा टुहुरोजस्तो महसुस भयो,’ उनले भने । अन्तर्राष्ट्रिय मञ्चमा पुगेका नेपाली फिल्ममा राज्यको चासो र सरोकार हुनुपर्छ भन्ने ठान्छन् फिडेल । ‘सरकारले पैसा नै दिनुपर्छ भन्ने होइन तर सरकारी उपस्थितिले पनि उक्त फिल्मको हैसियतमा निकै फरक पार्छ,’ उनले भने ।

फिडेलका अनुसार विशुद्ध नेपाली लगानीमा बनेर अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने यो पहिलो फिल्म हो । यसअघि मीन भाम निर्देशित ‘कालो पोथी’ र दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ अन्तर्राष्ट्रिय मञ्चमा पुगेका थिए । नेपालकै विषयमा बनेका यी दुवै फिल्म निर्माणका लागि भने विभिन्न अन्तर्राष्ट्रिय ग्रान्ट मिलेको थियो । नेपालभित्र पनि अन्तर्राष्ट्रिय चेत र बुझाइ भएका कैयन् फिल्म निर्माता भएको उनको दाबी छ । तर, सरकारी सहयोग वा संरक्षणको अभावमा मौका पर्खिरहेको उनी बताउँछन् । फिडेलले ‘व्यक्तिको प्रयत्नले भन्दा संस्थागत पहल र प्रणालीले काम भए कैयन् नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सक्छन् ।’

सात महिनाको छायांकन अवधिसहित दुई वर्षमा बनेको फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाइरहेको छ । त्यसै क्रममा भेनिस फिल्म फेस्टिभलबाट अन्य अन्तर्राष्ट्रिय मञ्चमा उक्लिने तयारीमा छ फिल्म । ‘जुरिच फिल्म फेस्टिभलमा जाने निश्चित भइसकेको छ । त्यस्तै भारतमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि यो प्रदर्शन हुनेछ,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×