कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ढोरपाटन विकासबाट परै

मध्यवर्ती क्षेत्र घोषणा नहुँदा सिकार आरक्षबाट उठेको राजस्वजति सबै केन्द्रमा
आरक्षमा सयौं पर्यटक आउने गरे पनि यहाँ एक–दुईवटा मात्रै सामान्य होटल छन्, खान, बस्न पर्याप्त सुविधा नहुादा कतिपय घुमेर रातारात बुर्तिवाङ फर्कन्छन् 
प्रकाश बराल

बागलुङ — नेपालको एकमात्रै सिकार आरक्ष हो ढोरपाटन । सरकारले २०३९ सालमा बागलुङ, रुकुम र म्याग्दीको १३ सय २५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर सिकार आरक्ष घोषणा गरेको थियो । यहाँ बर्सेनि युरोप, अमेरिकालगायत विभिन्न मुलुकबाट सिकार खेल्न आउँछन् । हरेक वर्ष दुई करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरिरहेको यो आरक्षबाट स्थानीयले भने कुनै लाभ लिन नसकेको गुनासो गर्छन् ।

ढोरपाटन विकासबाट परै

ढोरपाटन नगरपालिकाका बासिन्दा अझै पनि शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सुविधाका लागि सास्ती भोगिरहेका छन् । पशुपालन र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यहाँका स्थानीयको दैनिकी औल–खर्कमै आउजाउ गर्दै बितेको छ । ढोरपाटनमा वार्षिक १७ हजार मेट्रिक टन आलु फल्छ । स्याउ पनि उत्तिकै फल्छ । ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष भद्रमणि विक मंसिरदेखि फागुनसम्म मात्रै बेंसीको बोबाङ गाउँमा बस्छन् । चैतमा गाउँलेहरू डिंगाबाच्छा (गाईगोरु, भेंडा र भैंसी) खेदेर लेक उक्लिन थालेपछि विक पनि वडाका कागजात बोकेर उनीहरूसँगै हिँड्छन् । वडा कार्यालय मात्रै होइन, बोबाङस्थित ढोरपाटन जनवादी आधारभूत विद्यालय पनि वैशाखपछिका चार महिना वडा ९ को नवी गाउँमा सर्छ ।

बोबाङका बासिन्दा गर्मी सिजनको सुरुवातसँगै वडा ९ को ढोरपाटन क्षेत्र उक्लिएपछि वडा कार्यालय र विद्यालय पनि सर्दै आएको हो । अशक्त बूढापाकाबाहेक सबैजसो गर्मीमा औल छोडेर लेक उक्लिन्छन् । हिउँ पर्न थालेपछि मात्र उनीहरू बस्तीतिर फर्कन्छन् । ढोरपाटनमा सबैजसोका गोठ छन् । त्यहाँ उनीहरूले आलु खेती पनि गर्छन् । ‘स्थानीय जता पुग्छन्, हाम्रो काम पनि त्यतैबाट हुने हो,’ वडाध्यक्ष विकले भने, ‘चार महिना आफ्नो वडामा पढ्ने बालबालिका बाँकी समय नवीमा पढ्छन् ।’

नवीस्थित ढोरपाटन जनवादी आधारभूत विद्यालय । तस्बिर : प्रकाश बराल/कान्तिपुर

बालबालिकालाई ढोरपाटनमा छाडेर अभिभावकहरू बुकी लेकतिर समेत जान्छन् । त्यतिबेला बालबालिका नै गोठ र बारी स्याहार्छन् । एक/दुई जना आलु कुरुवा राखेर बाँकीले पशु चराउँदै हिँड्नुपर्ने उनीहरू बताउँछन् । ढोरपाटनबाट एक दिनको पैदल दूरीमा पुगिने बुकी लेकमा पुगेर स्वास्थ्य चौकीले शिविर सञ्चालन गर्दा २ सय ५० जनाको उपचार गरेको हेल्थ असिस्टेन्ट दीपक थापाले बताए ।

शिक्षा, स्वास्थ्य र सडकको सास्ती

स्थानीयले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि बढी सास्ती खेप्नुपरेको छ । नगरपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरे पनि त्यसले मात्र उपचार सेवा पुग्दैन । हरेक दिन कतिपय बिरामी नेपाली सेनाको ब्यारेकमा औषधि माग्न पुग्छन् । सेनाले पनि वर्षको दुई पटक स्वास्थ्य शिविर सञ्चालन गर्छ । शिविरमा वर्षमा ६ सय जनासम्मको उपचार गरेको तथ्यांक छ । अभिभावक बुकी लेकमा पुग्दा घरका बालबालिका बिरामी परेको थाहा पाए नेपाली सेनाले उपचार गर्दै आएको छ । गर्भवतीलाई प्रसूति सेवा लिन ३६ किमि टाढाको बुर्तिवाङ पुग्न सवारीसाधन पाए तीन घण्टा र हिँड्नुपरे दिनभर लाग्छ । ‘सामान्य बिरामी भए पनि उपचार गर्न बुर्तिवाङ पुग्नुपर्छ,’ स्थानीय भागीमला विकले भनिन्, ‘अस्पताल पुग्न एक दिनको यात्रामा सदरमुकाम पुग्नुपर्छ ।’

यहाँका बालबालिकाले हरेक वर्ष लेकबेंसी गर्नुपर्दा समस्या भोगिरहेका छन् । दुवै ठाउँका विद्यालयमा जीर्ण भवनसँगै फर्निचर अभावमा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता छ । उत्तरगंगाको वारि र पारि बस्ती भएकाले विद्यालय आउन खोला तर्नुपर्ने बाध्यता छ । ढोरपाटनकै ज्योति विकास मावि पुग्न पनि नवीका बालबालिकालाई एक घण्टा पैदल हिँड्नुपर्छ । खोलामा पुल नहुँदा जँघार तर्नुपर्ने बाध्यता भएको स्थानीय इन्द्रबहादुर सुनारले बताए । हिउँदमा गाडी चले पनि वर्षात्मा बोकेरै दैनिक उपभोग्य वस्तु लैजानुपर्ने स्थानीयको भनाइ छ ।

२०६६/६७ मा उत्तर–दक्षिण जोड्न रूपन्देहीको सालझन्डीदेखि–ढोरपाटन पुर्‍याउने गरी सडक निर्माण सुरु भएको थियो । ९ अर्ब लागत स्टिमेट गरिएको १ सय ९७ किमि सडकको ट्र्याक खुलेको छ । स्तरीय बनाउने काम भने ३० प्रतिशत मात्र प्रगति भएको सालझन्डीदेखि–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले बताए । अहिलेसम्म यो सडकमा ३ अर्ब ३० करोड रुपैयाँ खर्च हुँदा बुर्तिवाङदेखि फलेघरसम्म सडक ग्राभेल गर्न २५ करोड रुपैयाँको ठेक्का लिएको स्वच्छन्द ओमबुद्ध संयुक्त निर्माण कम्पनीले काम अलपत्र छाडेको छ । ‘धेरै ताकेता गर्दा पनि काम भएको छैन,’ आचार्यले भने, ‘काम नहुँदा सडक जोखिम भएको हो ।’ आयोजनाको लगानी रूपन्देही, अर्घाखाँची र गुल्मीसम्म मात्र आइपुगेको छ । यो सडकको रूपन्देहीमा ५ र अर्घाखाँचीमा १२ किमि गरी १८ किमि मात्रै कालोपत्र भएको छ ।

२०७२ देखि चर्चामा रहेको ८ सय २६ मेगावाट क्षमताको उत्तरगंगा जलाशयुक्त जलविद्युत् आयोजनाको डीपीआर अझै सकिएको छैन । विद्युत् उत्पादन गर्दा पानी रुकुम पठाउने कि बागलुङको निसीखोलामा फर्काउने भन्ने विवादले डीपीआरमै ढिलाइ भइरहेको स्थानीयको भनाइ छ । ढोरपाटनमा २०३२ सालबाट तिब्बती शरणार्थी शिविर राखिएको छ । हरेक वर्ष प्रमुख जिल्ला अधिकारीले शिविरमै गएर उनीहरूको परिचयपत्र नवीकरण गराइदिने गर्छन् । गत असारमा १ सय ४० जना तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको प्रजिअ खगेन्द्रप्रसाद रिजालले बताए ।

उठेको राजस्व सबै केन्द्रमा

ढोरपाटन आरक्षमा बर्सेनि सयौं पर्यटक पुग्छन् । दर्जनौं सिकारीले लाखौं राजस्व तिरेर सिकार खेल्छन् । आरक्ष प्रमुख संरक्षक वीरेन्द्रराज कँडेलका अनुसार हरेक वर्ष विदेशी सिकारीले तिर्ने शुल्कबाहेक कम्तीमा २ करोड रुपैयाँ राजस्व संकलन हुन्छ । तर, उक्त रकम सबै संघीय सरकारकहाँ जान्छ । आरक्षको आम्दानी स्थानीयस्तरमा लगानी हुन नसक्दा ढोरपाटन क्षेत्रका बासिन्दाको जीवनस्तरमा कुनै प्रभाव पर्न सकेको छैन ।

यसको एउटा कारण मध्यवर्ती क्षेत्र घोषणा हुन नसक्नु पनि हो । सरकारी नीतिअनुसार मध्यवर्ती क्षेत्र घोषणापछि मात्र राजस्वको ६० प्रतिशतसम्म स्थानीय विकासमा खर्च गर्न सकिन्छ । ‘मैले ५ वर्षदेखि यो विषय उठाएको छु तर स्थानीयले वास्ता गरेको पाइनँ,’ आरक्ष प्रमुख कँडेलले भने, ‘समयमै निर्णय गर्न सकेको भए अहिलेसम्म करोडौंको विकास योजना सञ्चालन गर्न पाउने थिए । समयमा निर्णय गर्न नसक्दा स्थानीय पछि पर्नुपरेको छ ।’

मध्यवर्ती क्षेत्र घोषणाका लागि बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा रुकुमको पुथाउत्तरगंगा र म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्नुपर्छ । यो बजेटले ढोरपाटन क्षेत्रमा सडक, पुल र पदमार्ग निर्माण तथा सामुदायिक सीप विकासका काममा खर्च गर्न पाइन्छ । ‘मध्यवर्ती क्षेत्रमा पर्ने वडाभित्रका मध्यवर्ती उपभोक्ता समूह र समितिको खातामा रोयल्टी जान्छ,’ कँडेलले भने, ‘यो उहाँहरूले आफैं योजना बनाएर खर्चन पाउनुहुन्छ ।’ आरक्षले सिकारबाहेक चोरी तस्करी नियन्त्रण, ढुंगाबालुवा र घाँसदाउरा बिक्री गरेर वर्षमा २ करोड रुपैयाँ हाराहारीमा संकलन गरिरहेको छ ।

स्थानीय बासिन्दा भने आरक्ष बनाउँदा परम्परागत रूपमा उपयोग गरिएको वनजन्य उत्पादन उपभोग गर्न नपाउने भ्रममा छन् । ‘हामीले यहाँको केही पनि वस्तु उपयोग गर्न पाइँदैन भनेर अगाडि नसरेका हौं,’ स्थानीय धनबहादुर अदैले भने, ‘वास्तविक विषय के हो अझै प्रस्ट भएका छैनौं ।’ अर्का स्थानीय जीवन अदैले भने मध्यवर्ती क्षेत्र घोषणाका लागि आरक्षमा नियमित सम्पर्क गरेर प्रक्रिया थालेको र आमभेलामार्फत स्थानीयलाई बुझाउन पहल भइरहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जलगायतका आरक्ष क्षेत्रमा मध्यवर्ती बनेकै कारण स्थानीयले होमस्टे सञ्चालन, जंगल सफारी, वनजन्य वस्तुको उपयोग गर्न पाएको आरक्षका संरक्षण अधिकृत सूर्यबहादुर खड्काले बताए । ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पनि मध्यवर्ती क्षेत्र बनाउन सरोकारवाला सबै पालिकासँग छलफल गर्ने बताए । स्थानीय तहले मध्यवर्ती घोषणाको अनुमति दिएमा संविधानको धारा २५० बमोजिम वित्त आयोगले प्राकृतिक स्रोतसाधनको रोयल्टी वितरण गर्छ । मध्यवर्तीमा पर्ने पालिकामार्फत टोल समिति, सामुदायिक वन र सामुदायिक संस्थाले न्यूनतम ५० प्रतिशत रोयल्टी खर्च गर्न पाउने व्यवस्था छ । आरक्षको ५ सय ३९ वर्ग किलोमिटर ‘मध्यवर्ती’ प्रस्तावित क्षेत्रमा २४ हजार ४ सय ७८ जनसंख्या छ ।

ढोरपाटन आरक्षमा हरेक वर्ष २६ नाउर र १६ झारलको सिकार गर्न पाइन्छ । यहाँ युरोप, अस्ट्रेलिया र अमेरिकाबाट हरेक वर्ष सिकारी आउँछन् । प्रतिगोटा बढीमा १४ लाख रुपैयाँसम्मको बोलकबोलमा ढोरपाटनमा सिकार खेल्न पाइन्छ । आरक्ष कार्यालयका अनुसार २०४४ सालदेखि सिकारी आउन थालेका हुन् । बोलपत्रको प्रावधानअनुसार ६ वटा कम्पनीले विदेशी सिकारी ल्याउने गर्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार नेपालमा लाइसेन्स प्राप्त ८ कम्पनीमात्र सिकारका लागि सूचीकृत छन् । सूचीकृत लाइसेन्स प्राप्त सिकारीले राष्ट्रिय वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएर सिकार गर्न पाउँछन् । सिकारीलाई गृह मन्त्रालयको अनुमतिमा आरक्षले हतियार दिन्छ । सिकारीहरू प्रायः रसिया, अस्ट्रेलिया र युरोपका अन्य देशका बढी आउने गरेका छन् । यहाँ दुर्लभ वन्यजन्तु रेडपान्डा भने संरक्षण गरेर राखिएको छ । कँडेलका अनुसार ढोरपाटन हिउँ चितुवा, चरीबाघ, कस्तूरी मृग र डाँफे तथा रेडपान्डाका लागि उपयुक्त बासस्थान हो ।

विदेशी सिकारीबाहेक वर्षमा १० हजार आन्तरिक पर्यटकले आरक्षको मुख्य कार्यालय रहेको उपत्यका घुम्ने गरेको देउरालीस्थित सेनाको दर्ता पुस्तिकामा उल्लेख छ । निसेल ढोर, गुर्जाखानी र रुकुमतर्फ तथ्यांक राख्ने संयन्त्र छैन ।

ढोरपाटन पशुचरन क्षेत्र ।तस्बिर : प्रकाश बराल/कान्तिपुर

समुद्री सतहबाट दुई हजार मिटरको बस्तीदेखि ७ हजार मिटर उचाइको चुरेन हिमाल पनि ढोरपाटनमा पर्छ । सिकार आरक्ष मात्र नभई यो धार्मिक गन्तव्य र पशुपालनको विशाल क्षेत्र पनि हो । यहाँ पुग्ने प्रायःले प्रसिद्ध धार्मिक स्थल उत्तरगंगाको पनि दर्शन गर्छन् । जनैपूर्णिमा, वैशाख पूर्णिमालगायतमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, आयुर्वेद औषधालय, रुद्रताल धार्मिक रूपमा चर्चित हुन् । स्थानीयले तारबार लगाए पनि संरक्षण अभावमा यहाँको रुद्रताल संरक्षण हुन सकेको छैन । पानी थपेर ताललाई पुरानो अवस्थामा फर्काउन पहल भइरहेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए ।

दशकअघि छेन्टुङ गुम्बाका पुजारीको हत्या घटना पनि अझै रहस्यमै छ । त्यसपछि गुम्बाको पूजा तथा धार्मिक पर्यटकको संख्या घटेको छ भने यहाँ सञ्चालित आयुर्वेद औषधालय पनि त्यसपछि बन्द छ । यहाँको पाटन (मैदान) आफैंमा आकर्षक छ । चौपाया चरन क्षेत्र भएकाले यहाँ सयौं गाईभैंसी र घोडा देख्न सकिन्छ । ढोरपाटनमा समयअनुसार फरक–फरक दृश्य देख्न सकिन्छ । चारैतिर हरियाली, बीचमा मैदान र उत्तरगंगाले यहाँको रौनकता बढाएको छ । चैत–वैशाखमा रातो, गुलाबी, सेतो जस्ता रंगीविरंगी गुराँसले ढकमक्क हुन्छ । साउन–भदौमा पहेंलपुर फूल र मंसिरदेखि सेताम्मे हिउँले ढोरपाटन बहुरंगी देखिन्छ ।

आरक्षमा सयौं पर्यटक आउने गरे पनि यहाँ एक–दुईवटा मात्रै सामान्य होटल छन् । खानबस्न पर्याप्त सुविधा नहुँदा कतिपय घुमेर रातारात बुर्तिवाङ फर्कन्छन् । गलकोटबाट घुम्न गएका वीरजन्ज भण्डारीले घुम्न रमाइलो भए पनि खान र बस्न समस्या भएको बताए । ‘संसारकै गन्तव्य बनाउन सकिन्छ, हाम्रो सानो लगानीले ढोरपाटनको विकास सम्भव छैन,’ कार्यवाहक नगर प्रमुख कायतले भने, ‘संघले सडकमा लगानी गरिदिए अन्य क्षेत्रमा नगरले लगानी गर्छौं ।’ पूर्वाधारको विकास हुँदा ढोरपाटनमा होटल, पर्यटन तथा सफारीलगायत क्षेत्रमा रोजगारी बढ्ने र त्यसले राज्यलाई नै फाइदा पुग्ने उनले बताए ।

अतिक्रमण र चोरीसिकार बढ्दो

आरक्षको ६० प्रतिशत भूभाग रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत म्याग्दीमा पर्छ । यहाँ ३२ प्रकारका स्तनधारी प्रजाति, १ सय ६४ प्रकारका चरा र जडीबुटी पाइन्छन् । आरक्षले केही समयअघि सार्वजनिक गरेको तथ्यांकमा ढोरपाटन क्षेत्रका ५५ वटा बस्तीका ३ सय १५ घरले जग्गा अतिक्रमण गरेको देखाएको छ । स्थानीयले घरछेउबाट कम्पाउन्ड बढाएर अतिक्रमण गर्ने क्रमले यहाँको २ सय ४० हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको आरक्षको तथ्यांक छ । बेलाबेला पर्खाल भत्काएर अतिक्रमण हटाउने प्रयास आरक्षले गरे पनि जनशक्ति अभावले दैनिक प्रशासनमा व्यस्त भएको कँडेल बताउँछन् । ढोरपाटनको ६० प्रतिशत भूगोलमा सुरक्षा उपस्थिति नहुँदा चोरीसिकार नियन्त्रण हुन सकेको छैन । यहाँ अवैध हतियारसमेत बेलाबेला भेटिने गरेका छन् । लाखौंको जडीबुटी र काठसमेत तस्करी हुने गरेको आरक्षको तथ्यांक छ ।

बागलुङमा मुख्य कार्यालय रहे पनि आरक्षको अधिकांश भूगोल रुकुममा पर्छ । केही खण्ड म्याग्दीमा पनि छ । आरक्षका ७ वटा ब्लकमध्ये ३ वटा रुकुम, ३ वटा बागलुङ र १ वटा म्याग्दीमा छ । चोरीसिकार नियन्त्रणका लागि जनशक्ति र सुरक्षा पोस्ट अभाव भएको कँडेलले बताए । ‘हामीसँग कम्तीमा ७२ जना कर्मचारीको दरबन्दी छ तर अहिले ५५ जना मात्रै छौं,’ आरक्ष प्रमुख कँडेलले भने, ‘जनशक्तिको कमीले प्रशासनिक काममा समेत अप्ठ्यारो परिरहेको छ ।’ त्यसबाहेक ढोरपाटनमा रहेको नेपाली सेनाको देवीबक्स गुल्मको उपस्थिति पनि बागलुङ र म्याग्दीमा मात्रै छ । ६० प्रतिशत भूगोल ओगटेको रुकुमतर्फ अहिलेसम्म सुरक्षा पोस्ट नै छैन । आरक्षको मुख्य कार्यालय, आरक्ष प्रवेशद्वार रहेको देउराली र म्याग्दीको गुर्जाघाटमा मात्रै सेनाले सुरक्षा दिइरहेको छ ।

तीन वर्षयता आरक्ष कार्यालयले २ वटा घोरल, १ नाउरको छालासहित एक जना अवैध सिकारी पक्राउ गरेको थियो । साथै ५ हजार केजी विभिन्न जडीबुटी, १५ सय क्युफिट काठलगायत चोरीनिकासी गर्ने १६ जनालाई पक्राउ गरेको छ । नजिकमा प्रहरी चौकी नहुँदा चोरीसिकार तथा अवैध हतियार बरामद भएमा मुचुल्का गर्नसमेत अप्ठ्यारो भएको आरक्ष प्रमुख कँडेलले बताए । ‘केही अवैध हतियार भेटियो भने फोनबाट प्रहरीमा खबर गर्ने र सेनाबाट मुचुल्का उठाएर कार्यालयमा ल्याउने काम हुन्छ,’ उनले भने, ‘प्रहरीको उपस्थिति पनि भइदिए राम्रो हुन्थ्यो ।’

प्रकाशित : आश्विन ९, २०८० ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×