बसाइँसराइपछि जंगलले ढाकिँदै सानीमदौ

नगरपालिका र वडा कार्यालयले भने बसाइँसराइ रोक्ने कुनै योजना ल्याउन सकिरहेका छैनन्
टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका १ स्थित सानीमदौ गाउँ केही वर्षअघिसम्म गुलजार थियो । रात परेपछि गाउँ झिलिमीली देखिन्थ्यो । तर अचेल गाउँमा बत्ती बलेको देखिन्न । आवादी जमिन बाँझै पल्टिएका छन् । जंगल फैलिएर गाउँ नै ढाक्न थालेको छ ।

बसाइँसराइपछि जंगलले ढाकिँदै सानीमदौ

गाउँका पानीका मूहानहरू सुक्दै गरेका छन् । सिउरानी डाँडाको पोखरी पुरिएको वर्षौं भइसक्यो । पछिल्लो समय सानीमदौका बासिन्दाहरू बसाइँ सरेर सहरी क्षेत्रमा जान थालेपछि गाउँ उजाड बन्दै गरेको छ ।

'धेरैजसो घरमा ताल्चा लगाइएको छ । जमिन बाँझै छन् । गाउँमा दिउँसै जंगली जनावर आउन थालेका छन् । यहाँ रहेका परिवारलाई दिउँसै घरमा बस्न पनि त्रास हुन्छ,' स्थानीय केदार चापागाईँले भने ।

केही वर्षयता सानीमदौका बासिन्दाहरू सुविधाको खोजीमा सहरी क्षेत्रमा बसाइँ सर्न थालेपछि गाउँ रित्तै बनेको हो । उनीहरूमध्ये अधिकांश खेतीयोग्य जमिनमा गएर घर बनाएर बस्न थालेको चापागाईँ बताउँछन् । उनका अनुसार गाउँमा बसोबास गरिरहेका अन्य परिवार पनि बेसीतिर खेतीयोग्य जमिनमा घर बनाउने तयारी गरिरहेका छन् ।

'अब गाउँमा थोरै परिवार छन् । उनीहरू पनि बेसीतिरै खेतका गरामा आँखा लगाइरहेका छन् । केहीले खेतमा घर बनाउँदै छन् । केही घडेरी किन्दै छन्,' चापागाईँ भन्छन् ।

गाउँमा भने एकअर्कालाई अप्ठेरो पर्दा पनि सहयोग गर्ने मानिस भेट्न मुस्किल हुने गरेको उनी बताउँछन् । एउटा घरबाट अर्को घरसम्म पुग्न पनि जंगलकै बाटो भएर जानुपर्ने अवस्था छ । चापागाईँ भन्छन्, 'एउटा घरबाट अर्को घर पुग्न पनि अब जंगल वा घारीको बाटो हिँड्नु पर्छ । बोलाउँदा पनि सुन्न नसक्ने अवस्था छ । एकादुई घरहरु त छन् । तर सामाजिक काममा गाउँले जुट्नसक्ने अवस्था छैन ।'

२०४५ सालको भूकम्पले सानीमदौका केही घर चर्कायो । त्यही वर्ष रामेछापबाट मन्थलीमा सरदमुकाम सरियो । बेसीमा जग्गा हुनेले खेतमा घर बनाउन थाले । र सदरमुकाम नजिकै पनि पर्ने भएकाले धेरैजसो बेसीतिर झरेको स्थानीयहरू सम्झछन् । यसरी सानीमदौ क्रमश: रित्तिँदै गएको स्थानीयहरूको भनाइ छ ।

गाउँमा आधारभूत सुविधा नभएको चाहिँ होइन । बिजुली, कच्ची सडक, खानेपानी र संचारको सुविधा गाउँमा पनि पुगेको छ । तर केही पैसा कमाउनेहरू र बालबच्चा पढाउन भन्दै गाउँलेहरू बसाइँ सरेर जाने क्रम तीब्र छ ।

पहिले ७५ परिवारको बसोबास रहेको सानीमदौमा अहिले जम्मा ६ वटा परिवार छन् । मन्थली वडा नं १ का पञ्जिकाधिकारी शेषराज पौडेलका अनुसार २०७२ सालको भूकम्पपछि सानीमदौबाट कम्तीमा पाँच परिवार बसाइँसराइ गरी अन्यत्र गएका छन् ।

तर यसबीचमा अन्यत्रबाट यहाँ आउने कोही छैन । यद्यपि मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा समितिका अध्यक्षसमेत रहेका पूर्णबहादुर सुवेदी गाउँमै कृषिकर्म गरेर विकास गर्ने बताउँछन् । उनले गाउँमै व्यावसायिक रुपमा फलफूल पनि लगाएका छन् । तर अधिकांश फलफूलका बिरुवा बगैँचामै मरेको उनको दुखेसो छ ।

स्थानीय विनोद सुवेदीले पनि यस्तै सोचेर ठूलो मात्रामा फलफूल हुर्काएका छन् । धेरै मेहनत गरेर उनले ठूलचौरलाई आवाद नै राखेका छन् । र केही वर्षपछि व्यावसायिक रुपमा फलफूल बिक्री गर्ने तयारी गरेको उनी बताउँछन् । तर कृषिका लागि श्रम गर्ने युवाहरू पाउनै मुस्किल रहेको उनको गुनासो छ ।

यसका बावजुद नगरपालिका र वडा कार्यालयले बसाइँसराइ रोक्ने कुनै योजना ल्याउन सकिरहेका छैनन् । उनीहरूलाई यसबारे चासो नै नभएको स्थानीयहरूको गुनासो छ ।

गाउँमा सडक पानी बिजुली लगायत सुविधा उपलब्ध भएको तर रोजगारीका लागि बसाइँ सरेर जानेलाई रोक्ने कुनै योजना नल्याएको बताउँछन् वडाध्यक्ष होमप्रसाद पौडेल ।

'गाउँमा सडक, पानी, बिजुली सबै सुविधा छ । तर रोजगारीलगायत सुविधाका लागि बाहिर जानेलाई रोक्ने वडाको कुनै योजना छैन,' वडाध्यक्ष पौडेलले भने ।

पूर्णबहादुर र विनोद भने गाउँ छाडेर जानेहरूलाई फर्किएर आउने वातावरण बनाउने योजनामा आफूहरू रहेको बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?