कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कहिल्यै नथाक्ने ‘रोलिङ स्टोन्स’

खासमा सांगीतिक दुनियाँमा कहिल्यै नथाक्ने ब्यान्ड हो, ‘रोलिङ स्टोन्स’ । ब्यान्डका सदस्यहरू उमेरले ७५ नाघिसके । तर काममा भने उनीहरूको सक्रियता अझै उस्तै छ । त्यसको उदाहरण हो, ब्यान्डले हालै सार्वजनिक गरेको नयाँ एल्बम ‘ह्याकनी डाइमन्ड्स’ ।
हिमेश

काठमाडौँ — ‘द रोलिङ स्टोन’ कहिल्यै नथाक्ने ब्यान्ड हो । अझ भनौं, मिक ज्यागर होस् अथवा किथ रिचर्ड्स, उनीहरू कहिल्यै बूढा पनि हुने छैनन् । ब्यान्डका दुई फ्रन्टम्यान उनीहरू नै हुन् । ज्यागरको उमेरले ८० वर्ष छोएको केही दिन भयो । रिचर्ड्स भने ७९ वर्षका भए । रन उड पनि भए, ७६ वर्षका त । तर पनि उनीहरू अझै उत्तिकै सक्रिय छन् । टुरमा निस्केको निस्क्यै गरिरहन्छन् । अझ झन् ब्यान्डले भर्खरै आफ्नो नयाँ एल्बमको पनि घोषणा गरेको छ र यो हो, ‘ह्याकनी डाइमन्ड्स’ ।

कहिल्यै नथाक्ने ‘रोलिङ स्टोन्स’

त्यसैले अहिले विश्व संगीतमा जताततै उनीहरूको मात्र चर्चा छ । नहोस् पनि किन र ? विश्व रक संगीतको सबैभन्दा ठूलो ब्यान्डले १८ वर्षको अन्तरालमा आफ्नो नयाँ एल्बमको घोषणा गरेको छ । उत्तरी लन्डनको ह्याकनी इम्पायरमा बुधबार आयोजित कार्यक्रमबीच ज्यागरले सबैभन्दा पहिले भने, ‘यो हो, हाम्रो नयाँ गीत, एन्ग्री ।’ ब्यान्डलाई छोटोमा ‘द स्टोन्स’ मात्रै पनि भनिन्छ । यही ब्यान्डको नयाँ एल्बम रिलिज हुनेछ, अबको अक्टोबर २० मा ।

रोलिङ स्टोन्सको नाम मात्र आउनुपर्छ, सँगै जोडिएर आउने गर्छ, ‘द बिल्टस’ पनि । बिटल्स विघटन भएको पनि लामै समय भइसकेको छ, ५० वर्षभन्दा बढी । यति समय भइसक्दा पनि दुई ब्यान्डबीचको तुलनाको काम कहिले पनि सकिने छैन । साँच्चै समकालीन यी दुई इंग्लिस ब्यान्डमध्ये कुन राम्रो त ? यसको ठ्याक्कै उत्तर पनि कहिले पनि आउने छैन । खालि मध्यमार्गी भएर यतिचाहिँ भन्न सकिन्छ, गीत र यसका शब्दका रूपमा बिटल्स नै अगाडि हुन्छ ।

तर जति बेला एउटा साँच्चै ब्यान्डको कुरा हुन्छ नि, त्यति बेला भने रोलिङ स्टोन्स नै अगाडि हुन्छ । एउटा ब्यान्डमा जे जस्तो चाहिन्छ, त्यो सबै रोलिङ स्टोन्समा भएको मान्न सकिन्छ । त्यसैले त यो ब्यान्ड अझै पनि सक्रिय छ, बिटल्स सदाका लागि रोकिएको पाँच दशकपछि पनि । यो ब्यान्डका एल्बम पनि कति कति, गीतको संख्याको त कुरै भएन । त्यसैले ‘ह्याकनी डाइमन्ड्स’ को कुरा छेडिनेबित्तिकै आउने प्रतिक्रिया हो, फेरि एक अर्को नयाँ एल्बम ?

एल्बमको नाम पनि आफैंमा केही फरक सुनिन्छ । खासमा स्टोन्सका अधिकांश एल्बमका नामै यस्तै छन्, अलिकति फरक सुनिने । ‘ह्याकनी डाइमन्ड्स’ खासमा के हो त, नाम सुन्नेबित्तिकै कौतुहलता हुन्छ नै । खासमा यो त्यस्तो अंग्रेजी ‘स्लाङ्ग’ शब्द हो । जसको अर्थ हुन्छ, धक्का मुक्कासहितको डकैतीपछि मैदानमा बाँकी रहेको चोटपटकवाला घाँस । यसै पृष्ठभूमिमा पूर्वी लन्डनमा रहेका वर्किङ क्लास समुदायलाई इंगित गरेर पनि भन्ने गरिन्छ, ‘ह्याकनी डाइमन्ड्स’ ।

छुटेका वाट्स

यसअघि ब्यान्डको अन्तिम एल्बम थियो, ‘ए विगर ब्याङ’ । त्यसयता ‘ह्याकनी डाइमन्ड्स’ नै त्यस्तो एल्बम हो, जसमा रहेका गीत सबै नयाँ छन् । समग्रमा भन्दा यो स्टोन्सको २४ औं स्टुडियो एल्बम हो । अहिलेको एल्बमको एउटा ठूलै विशेषता पनि छ र यो हो, ड्रमर चार्ली वाट्सको निधनपछिको पहिलो गीत संग्रह पनि । बुधबारको कार्यक्रममा सबैले वाट्सको अनुपस्थिति खुबै महसुस गरे । स्वयं ब्यान्डकै सदस्यले पनि नमीठो माने, वाट्स छुटेकोमा ।

अचेल वाट्सको स्थानमा ड्रमको काम स्टिभ जोर्डनले सम्हाल्ने गरेका छन् । रिचर्ड्सले त्यस कार्यक्रममा भनिहाले पनि, ‘वाट्सको कमी साह्रै अनुभव हुन्छ ।’ ब्यान्डका अन्य सदस्यका लागि वाट्सको निधन स्तब्धपूर्ण समाचारका रूपमा आएको थियो । वाट्सलाई घाँटीको क्यान्सर भएको थियो र उनी केही हदसम्म ठीकठाकै पनि देखिएका थिए । उनले नै जोर्डनको नाम ब्यान्डको ड्रमरका लागि सिफारिस गरेका हुन् । उनीहरूको शैली सायद धेरै मिल्छ ।

नयाँ एल्बमको घोषणा कार्यक्रम चलाएका थिए, जिमी फालोनलले । अनि यु–ट्युबमा यसको लाइभ स्ट्रिमिङ पनि गरिएको थियो । सारा विश्वका स्टोन्स प्रशंसकले कार्यक्रम हेरे । अनि रमाए पनि । त्यहीं ज्यागरले नयाँ एल्बमका लागि यति धेरै समय लागेकामा त्यसको रहस्य पनि खोले । भने, ‘सायद हामी केही अल्छी भएका थियौं । तर यसबीच हामी लगातार टुरमा पनि व्यस्त रह्यौं ।’ गत वर्ष मात्रै हो, ब्यान्डले सारा युरोप भ्याएको थियो, आफ्नो पछिल्लो टुरका क्रममा ।

त्यसकै छेउछाउमा वाट्सको पनि निधन भएको थियो । सन् १९६३ देखि उनी ब्यान्डमा आबद्ध भएका थिए, नमरुन्जेल त्यसमा कायम रहे । अबको नयाँ एल्बमका दुई गीतमा पनि उनको ड्रमबाट उनको योगदान रहेको छ, तर पूरा भने होइन, उनले त्यो काम पूरा गर्न सकेनन् । नयाँ एल्बममा लेडी गागालाई पनि कुनै न कुनै रूपमा सुन्न सकिनेछ । अनि स्टिभी वन्डर्सलाई पनि । सँगै ब्यान्डका पुराना बास गितारिट्स विल वेयमनले पनि नयाँ एल्बमका लागि सहयोगी भूमिका निभाएका छन् ।

अहिलेका लागि भने त्यही एक गीत ‘एन्ग्री’ मात्र रिलिज भएको छ र यसलाई सुन्नुपर्छ, यो ठ्याक्कै स्टोन्स पाराकै छ, एक क्षण सुन्दैमा यो गीत यही ब्यान्डको हो भनेर भन्न सकिने । अहिले त ब्यान्डमा तीनै सदस्य मात्र रहे । तिनै ज्यागर, रिचर्ड्स र उड । जोर्डनलाई औपचारिक रूपमा ब्यान्डको सदस्य मानिएको छैन । पुराना सदस्यमध्ये वेयमन र माइकल टेलर पनि अझै संगीतमा सक्रिय छन् । ब्रायन जोन्स र इयान स्टेवार्ट भने रहेनन् ।

६ दशकको अटुट यात्रा

रोलिङ स्टोन्सको स्थापना सन् १९६२ मा लन्डनमा भएको थियो, त्यस अर्थमा यसको अटुट यात्राले पनि ६ दशक छोइसकेको छ । सुरुमा यो ब्यान्डको एक मात्र फ्रन्टम्यान थिए, जोन्स । उनको पछाडि पछाडि ज्यागर र रिचर्ड्स हुन्थे । अनि वाट्स र वेयमन पनि । जोन्सले नै ब्यान्डको नाम जुराएका थिए, ‘द रोलिङ स्टोन्स’ का रूपमा । पछि उनी नै ब्यान्डबाट हटाइए र सन् १९६९ मै उनको निधन पनि भयो । खालि २७ वर्षमै निधन हुने संगीतकर्मीको सूचीमा उनको नाम पनि आउँछ ।

स्कुल छँदै ज्यागर र रिचर्ड्स साथी थिए । खासमा ब्यान्ड भन्नु नै यिनीहरूको जोडी हो, साझेदारी हो । बीचबीचमा उनीहरूले एक अर्कोको रिस पनि गरे । दुवैले आ–आफ्नो सिंगल एल्बम पनि निकाले । तर दुवैले के पनि सहसुस गरे भने त्यही बेला मात्र उनीहरूको प्रस्तुत राम्रो हुने गर्छ, जति बेला दुवै सँगै हुन्छन् । नयाँ एल्बमका सबै गीत सार्वजनिक भएका छैनन् । केही क्रिटिक्सले भने सुन्न पाइसके । तिनकै शब्दमा ‘ह्याकनी डाइमन्ड्स’ पनि ज्यागर र रिचर्ड्सको अद्वितीय साझेदारीकै अर्को नमुना हो । 

प्रकाशित : भाद्र २२, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×