सेवा गर्ने हुटहुटी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काभ्रे — पनौती आधारभूत विद्यालय (पाठशाला) को कक्षाकोठामा स्वास्थ्य सामग्री र औषधि उपचारको व्यवस्थापनमा जुट्दै थिइन्, १५ वर्षीया आयशा गिल । कहिले औषधिका बाकस बोक्ने, त कहिले नाम दर्ता गर्ने । अझै विद्यार्थी व्यवस्थापनमा समेत सहजीकरण गर्नमा भ्याइरहेकी थिइन् उनी । अमेरिकामा जन्मे/हुर्केकी आयशालाई खासमा नेपाली भाषा नै नौलो छ । तर बालबालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने हुटहुटीले उनलाई न भाषाले रोक्यो, न त राष्ट्रियताले नै छेक्यो । समाजसेवाप्रतिको लगावले उनलाई काभ्रेको पनौतीसम्म ल्याइपुर्याएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सेवा गर्ने हुटहुटी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/img-842aad187db6a18faf086f8dfbfd9731-v-3182023033433-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
सामाजिक कामप्रति उनको लगाब भने अहिलेको होइन । सानै उमेरदेखि समाजसेवाप्रति उनका पाइला अग्रसर थिए । सामाजिक कार्यमा संलग्न हुन पारिवारिक माहोलले पनि उनलाई ऊर्जा थप्यो । ‘मानिस भएपछि धनले भन्दा पनि मनले ठूलो हुनुपर्छ’ भन्ने ज्ञान आफ्ना आमाबुवाबाट सिकेको बताउँछिन् उनी । पारिवारिक प्रेरणासँगै सामाजिक कार्यमा संलग्न हुनुपर्छ भन्ने ज्ञान विद्यालयबाट पाएको र नेपालमा आएर व्यवहारमा उतारेको उनले बताइन् ।
किताबी ज्ञानभन्दा पनि व्यावहारिक ज्ञानमा रुचि राख्ने भएकाले पनि नेपाल आएका बेला सामाजिक काममै व्यस्त हुन्छिन् आयशा । १० दिनको छुट्टीमा नेपाल आएकी उनले आफ्नै उमेर समूहका बालबालिकाका लागि केही सहयोग गरेर अमेरिका फर्केकी छन् । उनकी आमा बिना बोगटीको माइती घर काठमाडौं हो । हाल उनी अमेरिकामा सफ्टवेयर इन्जिनियर छिन् । नेपाल बसाइँका क्रममा आयशाले काभ्रेको पनौतीमा रहेको १०८ वर्ष पुरानो विद्यालय पनौती आधारभूत विद्यालय (पाठशाला) मा स्वास्थ्य शिविर सञ्चालनका लागि सहयोग गरिन् । शिविरका लागि अमेरिकाको वासिङ्टनमा आफू अध्ययनरत विद्यालयमा फन्ड रेजिङ कार्यक्रम गरेकी थिइन् उनले ।
‘मानिसका लागि स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘शरीर स्वस्थ रहे मात्रै ज्ञान आर्जन गर्न सकिन्छ ।’ त्यही भएर नेपालका बालबालिकाको स्वास्थ्य परीक्षणका लागि शिविरका कार्यक्रम सञ्चालन गरेको उनी बताउँछिन् । भदौ ५ गते विद्यालयमा सञ्चालित निःशुल्क शिविरमा विद्यालयका शिशुदेखि ८ कक्षासम्म अध्ययनरत १ सय ५६ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरबाट विद्यार्थीमा आँखा, छाला रोग, चोटपटक तथा घाउ पाक्ने, पिसाब तथा मिर्गौलासम्बन्धी, जिब्रो एवं दाँतसम्बन्धी रोग पहिचान तथा सामान्य उपचारसमेत गरिएको थियो । शिविर सञ्चालनका केही रकम भने स्थानीयस्तरमा पनि संकलन भएको थियो ।
आयशाका अनुसार शिविरमा सहभागी विद्यार्थीको स्वास्थ्य परीक्षणसँगै परामर्श तथा निःशुल्क औषधि वितरण पनि गरिएको थियो । पछिल्लो समयमा विद्यार्थीमा विभिन्न समस्या देखिइरहेका बेला उनीहरूलाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गर्न पाउँदा निकै खुशी लागेको उनले बताइन् । ‘बालबालिकाले आफूभित्र भएका सबै समस्या खुलेर व्यक्त गर्न सकिरहेका हुँदैनन्,’ उनले भनिन्, ‘यस्ता शिविरसँगै परामर्श कार्यक्रमले उनीहरूलाई राहत मिलेको विश्वास लिएकी छु ।’
विद्यालयका विद्यार्थीमा आफूले सोचेको भन्दा निकै धेरै समस्या रहेको पाएको उनको भनाइ छ । ‘यहाँका बालबालिकामा स्वास्थ्यसम्बन्धी धेरै समस्या रहेछन्, यो शिविरले बालबालिकाको स्वास्थ्यमा सुधारमा राहत मिल्ने अपेक्षा गरेका छौं,’ उनले भनिन् । स्वास्थ्य जस्तो संवेदनशील कुरालाई सामान्य रूपमा लिनु नहुने र बेलाबेला परीक्षण गराई राख्नुपर्ने उनको भनाइ छ । आफू एक्लैको प्रयासले मात्रै नभई विभिन्न सहयोगीका कारण शिविर सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ ।
केही कुरा सिक्नका लागि शारीरिक र मानसिक रूपमै स्वस्थ हुनुपर्छ भन्ने लाग्छ आयशालाई । सिकाइ कक्षाकोठमा मात्रै सीमित राख्नु हुँदैन भन्ने मान्यता उनी राख्छिन् । ‘कक्षाकोठाभन्दा बाहिरको समाजबाट विद्यार्थीले धेरै कुरा सिक्न सक्छन्,’ उनले भनिन् । । त्यसकारण पनि उनी नेपाल आएर विभिन्न विद्यालयमा पुगेर यहाँको वस्तुस्थितिबारे अध्ययनसँगै सहयोग पनि गर्ने गरेको उनको भनाइ छ । पनौतीमा स्वास्थ्य शिविर गर्नुअघि उनले काठमाडौंको एक विद्यालयमा रिफ्रेसमेन्ट कार्यक्रम सञ्चालन गरेकी थिइन् । ‘पढाइसँगै विद्यार्थीलाई रिफ्रेसमेन्ट पनि चाहिन्छ । किताबी ज्ञानले मात्र विद्यार्थी मोनोटोनस हुन्छन्,’ उनले भनिन् ।
खासमा आयशालाई खुसी खोज्न अन्त जानै पर्दैन । आफू जस्तै बालबालिकाको मुहारमा खुसी देख्दा आफूलाई पनि निकै खुसी मिल्ने बताउँछिन् उनी । त्यसकारण पनि बालबालिकाको खुसीका लागि सहयोगका कार्यक्रम लिएर विभिन्न विद्यालयमा पुग्ने गरेको उनको भनाइ छ । नेपालमा आएर बालबालिकाको क्षेत्रमा उनले गरेको सहयोग भने यो पहिलो होइन । अघिल्लो पटक सन् २०१९ मा नेपाल आउँदा उनले ललितपुरको लुभुमा रहेको इँटाभट्टामा काम गर्ने श्रमिकका बालबच्चालाई सहयोग गरेकी थिइन् । ‘त्यतिबेला लुभुको विद्यालयका किशोरीलाई महिनावारी शिक्षाको कार्यक्रमसँगै स्यानिटरी प्याडलगायतका सरसफाइका सामग्री वितरण गरेकी थिएँ,’ उनले भनिन् ।
आयशाको यो तेस्रो नेपाल भ्रमण हो । अमेरिकामा जन्मेकी आयशाको परिवार उतै छ । सफ्टवेयर पेसामा संलग्न आमा बिना २५ वर्षदेखि अमेरिकामा छन् । उनी आमासँगै नेपाल आएका बेला आफूजस्तै विद्यार्थीलाई सहयोग गरेर अमेरिका फर्किन्छिन् । अमेरिकाको सियाटलमा रहेको नेपाली स्कुलमा पनि सहयोग गर्ने गरेको उनले बताइन् । ‘त्यहाँको स्कुलमा नेपाली वर्णमाला र भाषाको कक्षा सञ्चालनका लागि सहयोग गर्दै आएको छु,’ उनले भनिन् । सामाजिक सेवाप्रति लगाब रहेकाले उनले स्वदेशदेखि विदेशसम्म पुगेर सहयोग गर्दै आएकी छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)