१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

पढाइसँगै व्यावसायिक पशुपालन

ज्योती श्रेष्ठ

काभ्रे — बिहानको ४ नबज्दै, गाई गोठमा पुग्छन्, बेथानचोक–२, चोरन्डेका २७ वर्षीय दीपक तिमल्सिना । गाई–भैंसीलाई कुँडोपानी खुवाएर, उनी गाई–भैंसी दूध दुहुन बस्छन् । ५ बजेसम्म बस्तुभाउको कामधन्दा सकेर कलेज जाने तयारी थाल्छन् । दीपक, बनेपामा रहेको काभ्रे क्याम्पसमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गर्दै छन् । पढ्नका लागि बिहानको ६ बजे बनेपा पुग्छन् । यो उनको दैनिकी हो । 

पढाइसँगै व्यावसायिक पशुपालन

दीपकको उमेर समूहका युवाहरू गाउँमा विरलै भेटिन्छन् । कोही पढाइ र रोजगारीका लागि सहर छिरे त कोही विदेशिए । उनीसँगै पढेका उनका अधिकांश साथी विदेशमा छन् । स्वदेशमा भएका साथीहरू पनि रोजगारीमै व्यस्त छन् । गाउँमा बसेरै कृषि र पशुपालनबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन्, दीपक । दीपकले लालीगुराँस कृषि तथा पशुपन्छी बहुउद्देश्यीय फार्म सञ्चालन गरेको दुई महिना भयो । उनको फार्ममा मुर्रा जातका ५ वटा र लोकल जातका ६ वटा गरी ११ वटा भैंसी छन् भने ४ वटा हलिस्टेन जातका गाई र एउटा जर्सी गाई छन् । उनको फार्मबाट दैनिक १३० देखि १५० लिटरसम्म दूध उत्पादन हुन्छ । दूध बिक्रीका लागि दीपकलाई बजारसम्म धाउनै पर्दैन ।

हरेक बिहान र साँझ दुग्ध व्यवसायीहरू दूध किन्न उनको फार्म पुग्छन् । दूधबाट मात्रै दैनिक १५ हजार रुपैयाँ आम्दानी हुने फार्म सञ्चालक दीपकले बताए । उनका अनुसार, व्यवसाय बुझेर गर्न सकेमा, यसबाट मनग्गे आम्दानी गर्न सकिन्छ । आफ्नै १० आना जग्गामा संरचना तयार गरी ४० लाख रुपैयाँको लगानीमा काम सुरु गरेका हुन् उनले । बेथानचोक–३ घडेरी गाउँकी ३१ वर्षीया रूपा कोइराला अधिकारीको दम्पतीले दुई वर्षयता व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । गाउँघरमा पशुपालनलाई पुर्ख्यौली पेसाका रूपमा लिने गरिन्छ । सामान्यतया गाउँघरमा हरेकका घरमा २/३ वटा गाई–भैंसी त हुन्छन् नै । रूपाको दम्पतीले पनि घरमै भएका दुइटा भैंसीबाटै व्यवसायलाई अघि बढाएर अधिकारी कृषि तथा पशु फार्म नामक फार्म सञ्चालन गरे । बिस्तारै–बिस्तारै लगानी बढाउँदै अहिले उनको फार्ममा ४ वटा भैंसी र ३ वटा गाई छन् । फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने उनले बताइन् । ‘पशुपालनबाट राम्रै आम्दानी भएको छ, अहिले दूधको मूल्य पनि वृद्धि भएको छ,’ उनले भनिन् ।

त्यस्तै, बेथानचोक गाउँपालिका वडा नं. ४ स्थित भन्ज्याङखर्कका २३ वर्षीय अनिल लोपचन दुई वर्ष अघिसम्म पढाइ र रोजगारी गर्न काठमाडौंमै बसोबास गर्थे । देशभर महामारीका रूपमा फैलिएको कोरोनाको प्रभावबाट अनिल अछुतो रहेनन् । कोरोनाको कहरले अनिललाई गाउँ फर्कायो । ‘भूकम्प आए गाउँ फर्किनुपर्ने, कोरोना आए गाउँ फर्किनुपर्ने’ हरेक परिस्थितिमा गाउँ नै फर्किनुपर्ने भएपछि, गाउँमै व्यवसाय गर्ने सोचले व्यावसायिक बाख्रापालन गरेको अनिलले बताए । उनका अनुसार, अनेकौं ठाउँमा रोजगारीका लागि भौंतारिनुभन्दा गाउँमै बसेर व्यवसाय सञ्चालन गर्नु ठीक सोचेर व्यवसाय सुरु गरे ।

अनिलले व्यावसायिक रूपमा बाख्रापालन गरेको दुई वर्ष भयो । घरमै भएका दुई वटा बाख्राबाटै यसलाई व्यावसायिक बनाएको उनले बताए । ‘व्यवसाय गर्न खासै लगानी गर्न परेको छैन, घरकै दुई वटा बाख्राबाट जन्मिएका पाठापाठीबाटै यसलाई व्यावसायिक बनाए,’ उनले भने, ‘संरचना तयार गर्न मात्र अलिकति खर्च भएको छ अनि अलिकति घाँस खेती गर्न भएको छ ।’ उनको फार्ममा अहिले ५ वटा खसी, ८ वटा पाठी, ५ वटा माउ बाख्रा, ३ वटा बोका रहेका छन् । केही समयअघि बाख्रा बिक्रीबाट ८० हजार रुपैयाँ आम्दानी भएको उनले बताए ।

कृषिमा आत्मनिर्भर पालिकाका रूपमा परिचित छ, बेथानचोक । पालिकामा दैनिक ८५ सय लिटर दूध उत्पादन हुने बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार, पालिकाबाट दैनिक ६ लाख रुपैयाँको दूध र ५ लाख रुपैयाँको तरकारी काठमाडौं उपत्यका आयात हुन्छ । कृषि र पशुमा प्रचुर सम्भावना देखिएकाले पनि बेथानचोकले युवालाई कृषि र पशुपालनमा आकर्षण गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अधिकारीको दाबी छ ।

प्रकाशित : असार १७, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?