१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सुशान्तको बजेको ‘सारंगी’

गायक सुशान्त केसीले निकै लामो समय लगाएर तयार पारेको गीत हो ‘सारंगी’ । युट्युबको ट्रेन्डिङमा पहिलो स्थान रहेको गीतले एक सातामै ५६ लाख भ्युज बटुलिसकेको छ ।

काठमाडौँ — मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि
बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि
उडी उडी मन भाग्छ किन,
तिम्रैतिर हेर भन के गरुँ म ?
मुस्कानले तिम्रो मेरो मन सारंगीझैं,
आज बज्न थाल्यो भन के गरूँ म के गरूँ ??

सुशान्तको बजेको ‘सारंगी’

युट्युबमा रिलिज भएको एक साताभित्रै करिब ५६ लाख भ्युज पाउन सफल गीतको अंश हो यो । गीत हो, ‘सारंगी’ । र, गायक हुन्, पछिल्लो समय टिनएजर्समाझ निकै चर्चित सुशान्त केसी ।

नेपालसहित तीन देशमा ट्रेन्डिङमा एक नम्बरमा आउन सफल गीत पनि हो यो । नेपालमा भने रिलिज भएकै दिनदेखि ओभरअल ट्रेन्डिङमा पहिलो बनेको गीतलाई अझैसम्म पछि पार्ने कुनै कन्टेन्ट आइसकेको छैन । गीत जति उत्कृष्ट बनेको छ, त्यति क्रियटिभ बनेको छ भिडियो । गौरवकुमार तामाङको निर्देशनमा तयार भिडियोमा रोमान्टिक जोडी देखाइएको छ । अनुप सापकोटा र आना शर्माको कन्सेप्टमा तयार भिडियोमा आफैं देखिएका सुशान्तलाई साथ दिएकी छन् आनाले ।

सुशान्तको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतले करिब तीन लाख श्रोता/दर्शकको लाइक पनि बटुलेको छ । अनि, १० हजारभन्दा बढी प्रतिक्रिया । गीतले पछिल्लो समय जति चर्चा र सफलता पाएको छ त्यसले भने निकै खुसी दिलाएको बताउँछन् सुशान्त । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘गीतका लागि मैले जति मिहिनेत गरेको थिएँ, त्यसरी नै कुदिरहेको छ ।’

सुशान्तका अनुसार यो उनले हालसम्म बनाएकामध्ये सबैभन्दा बढी मिहिनेत गरेको गीत हो । खासमा सुशान्तको आफ्नै ‘सारंगी बजाइदिएको’ गीत हो यो । कारण, उनले गीतको ‘उडी उडी’ भन्ने लाइन कोरेको सन् २०१७ मै हो । त्यसयता उनले पाँच/छवटा गीत बनाए, गाए र बजारमा ल्याए । अधिकांश निकै चले पनि । तर ‘सारंगी’ बज्न सकेन ।

करिब डेढ महिनाअघि मात्रै हो, उनले ‘सारंगी’ को शब्द पूरा भयो भन्ने महसुस गरेको । नेपाली शब्दावलीमा कमजोर रहेको बताउने सुशान्तलाई गीत पूरा गर्न आमाबुबाले पनि सघाए । ‘गीतका लागि मैले सोचेका कतिपय शब्द अंग्रेजीमा आउने, नेपालीमा अर्थ थाहा नहुने । अनि, बुबाआमालाई सोध्ने गर्थें,’ उनले भने ।

गीतको शब्द त पूरा भयो । तर फिनिसिङ कस्तो दिने भन्नेमा चाहिँ कन्फ्युज थिए उनी । त्यसै मेसोमा गीतबारे बुबासँग छलफल भयो । ‘अहिलेसम्मका तिम्रा गीत स्याड टाइपका छन् । यसलाई अलिक खुसी बनाउँदा ठीक हुन्छ होला,’ बुबाको सल्लाह उचित लाग्यो उनलाई । अनि, फाइनल भयो, रोमान्टिक थिमको ‘सारंगी’ ।

‘संगीतको कुनै सीमा हुँदैन,’ सुशान्तले सानैमा सुनेका थिए । तर उनका यसअघिका गीतका एकै खालका श्रोता थिए । यसको अर्थ, आफूले सानैमा सुनेको कुरा झूटो त होइन भन्ने जस्तो पनि लाग्थ्यो उनलाई । तर अब ‘सारंगी’ ले भने त्यो अवस्था पनि फेरिदिएको छ । कारण, यो गीत टिनएजर्ससँगै अन्य उमेर समूहका श्रोताबीच पुगेको छ र उनीहरूले निकै रुचाएका पनि छन् ।

‘संगीत आखिरमा आफ्नै लागि मात्र कहाँ रहेछ र ?’ यहाँसम्म आइपुग्दा सुशान्तको बुझाइ पनि अझै परिपक्व भएको छ, ‘संगीत त खासमा जसले सुन्छ त्यसका लागि रहेछ ।’ कुनै पनि गीत/संगीत श्रोताले आफ्नो जीवन र परिस्थितिसँग रिलेट गरेर लिने उनको बुझाइ छ । सायद, ‘सारंगी’ लाई सबै उमेर समूहले रुचाउनुको कारण यही हो जस्तो लाग्छ उनलाई । आखिर सुशान्तको परिचयको दायरा पनि फराकिलो बन्दै गएको छ ।

पहिले टाढै रहेको समूहमाझ पुग्न रियालिटी शोले पनि सहयोग गर्‍यो कि ? ‘भ्वाइस अफ नेपाल किड्मा जोडिएपछि मलाई केही फाइदाचाहिँ पक्कै भयो । म भ्वाइसको दर्शकमाझ पुगें । अनि, भ्वाइस मेरा फ्यानमाझ,’ जवाफमा सुशान्त भन्छन्, ‘खासमा त्यो विन–विन एग्रिमेन्ट थियो जस्तो लाग्छ ।’

ललितपुरमा जन्मिएका सुशान्त केसी स्कुले जीवन सक्दासम्म भने भविष्यमा गीत/संगीतमै लाग्छु भन्ने सोचेका थिएनन् । काठमाडौंको बूढानीलकण्ठबाट एसएलसी सकाएपछि उनी ए लेभल्स पढ्न रातो बंगला भर्ना भए । त्यहीबेला नै हो उनलाई म पनि गीत बनाउन र गाउन सक्छु भन्ने लागेको ।

घरमै गीत बनाउँदै गाउन थालेपछि उनका बुबाआमाले गीत रेकर्ड गराइदिएका थिए । त्यसैक्रममा ‘आमा’ बोलको गीत रेकर्ड भयो, भिडियो बन्यो । बजारमा आएको एक महिना नहुँदै उनी भने स्नातक पढ्नका लागि अस्ट्रेलियाको सिड्नीतर्फ लागे । ‘बुबाआमाले त म्युजिक पढ्न जाऊ भन्नु भएको थियो । तर भविष्यबारेको चिन्ताले म बिजनेस पढ्न गएँ ।’

बिदेसिएको केही महिनामा भने उनलाई आफ्नो भविष्य संगीतमै छ भन्ने महसुस भयो । सिड्नी बसाइकै क्रममा उनले केही गीत बनाए । ‘चार/पाँचवटा गीत त मैले सिड्नीमा पढाइकै क्रममा बनाएँ,’ उनले भने, ‘पढाइसकेपछि पनि गीत बनाउँदै केही समय उतै बसें ।’ त्यहीबीचमा उनको केही प्रोड्युसरसँग भेट भयो । संगीतमा केही नयाँ प्रयोगहरू पनि गर्न भ्याएको बताउँछन् उनी ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सबाट स्नातक सके । त्यसपछि भने उनलाई ‘अब म्युजिक नै पढ्नुपर्छ’ भन्ने लाग्यो । कलेजको खोजीमा थिए । बुबाले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीको लिंक पठाइदिए । आवेदन दिएका सुशान्त छनोट भए । हाल उनले ‘सङराइटिङ एन्ड प्रोड्युसिङ म्युजिक’ मा स्नातक गरिरहेका छन् ।

पछिल्लो समय भने उनी पढाइसँगै कार्यक्रममा पनि व्यस्त छन् । सिंगर–सङराइटरका रूपमा स्थापित सुशान्त पछिल्ला केही वर्षयता भने परफर्मिङ आर्टिस्टका रूपमा देखिन थालेका छन् । ‘द ब्यांगर्स’ ब्यान्डका नाममा गरिने प्रस्तुतिमा उनलाई अन्य ६ जनाले साथ दिन्छन् । दीपांकर गौतम क्षेत्रीले गिटार, नीरञ्जन रेग्मीले बास, सञ्जय अवाले (जेसन) ले ड्रम्स र दावा शेर्पाले किबोर्डमा साथ दिन्छन् । शिविररत्न शाक्यले साउन्डको काम हेर्छन् । टिमको समग्र व्यवस्थापनको जिम्मा सम्हालेका छन् सुशान्तका सहपाठी अमरचन्द्र न्यौपानेले । ब्यान्डले देशभित्र र बाहिर गरी करिब २० वटा स्टेज प्रस्तुति दिन भ्याइसकेको छ ।

सुशान्तले भने अस्ट्रेलिया, यूके, यूएई (दुबई र अबुधाबी) दक्षिण कोरिया, भारत (सिक्किम) र नेपालमा गरी चार दर्जनभन्दा बढी प्रस्तुति दिइसकेका छन् । तीमध्ये अस्ट्रेलियाको सिड्नीको मुरे पार्कस्थित होर्डर्न पभिलियनको प्रस्तुति सम्झनलायक ठान्छन् उनी । पहिलो त, ‘एसी–डीसी×’, ‘कोल्डप्ले’, ‘निर्भाना’ जस्ता चर्चित रक ब्यान्डहरूले प्रस्तुति दिएको ठाउँ । त्यसमाथि, उक्त स्थानमा प्रस्तुति गर्न पाउने पहिलो नेपाली । सन् २०२२ सेप्टेम्बर २३ मा उनीसहितका नेपाली कलाकारले पहिलो पटक होर्डर्न पभिलियन दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सातवर्षे करिअरमा सुशान्तले ३० भन्दा बढी गीत सार्वजनिक गरिसकेका छन् । तीमध्ये करिब एक दर्जन निकै रुचाइएका छन् । पहिलो गीत ‘आमा’ ले युट्युबमा एक करोड ९० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । ‘मुस्कुराएर’, ‘बेहोस’, ‘गुलाबी’, ‘साथी’, ‘रिसाउने भए’, ‘बैमानी’, उनका चर्चित गीत हुन् । यी प्रत्येक गीतको भ्युज २ करोडभन्दा माथि छ । यी गीतहरू हेरेपछि लाग्छ– शान्त र अधिकांश समय मौन रहने सुशान्त आफ्ना सिर्जनामार्फत नै बोल्ने गर्छन् ।

प्रकाशित : असार १७, २०८० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?