२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

घाम–पानी छेक्ने ‘छत्री’

हरिराम उप्रेती

गोरखा — गोठका गोरुलाई अघि लगाउँदै काँधमा हलोजुवा भिरेका सिरानचोक गाउँपालिका–४ छोप्राकका धननारायण कुमालले छत्रीले टाउको ढाके । मध्य असारको सिमसिमे पानीमा छत्रीको ओतले भुसुन्डे फाँट झरेका कुमाललाई उघ्रिएको मौसमसँगैको घामको ताप छेक्न पनि छत्री नै चाहियो ।

घाम–पानी छेक्ने ‘छत्री’

बीचको खोपिल्टोमा टाउको अड्याउँदै सँगै रहेको डोरी चिउडामा अड्काएपछि उनलाई छत्री समात्ने पिरलो रहेन । टाउकोमा अडिएको छत्रीले घामको ताप छेक्दै उनले रोपाइँको तयारीका लागि दिनभर बाँझो खेत जोते ।

‘छत्री टाउकोमा राखेपछि घामपानीबाट ढुक्क, छाता जस्तो एक हातले समाइरहनुपरेन,’ उनले थपे, ‘आफैं अडिने हुँदा दुवै हातले आरामसँग काम गर्न पाइयो ।’

सिरानचोक–४ चोरकाटेका किसान यतिखेर असारे चटारोमा छन् । आली ताछ्ने, जुडी (असारे धान) काट्ने, आली लगाउने, खेत जोत्ने, बीउ काढ्ने तथा रोपाइँका लागि बिहानदेखि साँझसम्म किसान खेतमै भेटिन्छन् ।

पसिना चुहाउँदै माटोसँग खेलिरहेका उनीहरूका टाउकोमा छत्री भने टुट्दैन । घाम, पानी र असिनाबाट जोगिन छत्रीको प्रयोगमा उनीहरू सचेत छन् । पुस्तौंदेखि प्रचलनमा रहेको छत्री ओढ्ने चलन किशोरकिशोरीदेखि पाका पुस्तासम्मले पछ्याएका छन् ।

...

रोपाइँको दिन तय गर्नुअघि चोरकाटेकी फूलमाया कुमालले चार वटा छत्री बुनिन् । असारे मेसोमा खेत झर्ने बेला दैनिकजसो परिवारका सदस्यले छत्री छुटाउलान् भनेर फूलमाया चनाखो बन्छिन् ।

‘असारमा घामपानीको भर नै हुँदैन, चर्को घाममा दिनभर काम गरे बिरामी परिन्छ,’ उनले भनिन्, ‘म आफैं छत्री नओढी मेलापर्म जादिनँ, बुढा र छोराछोरीले पनि छत्री लान छुटाए भने मेलामै पुर्‍याइदिन्छु ।’ फूलमाया छत्री बुन्न पोख्त छिन् । उनले गतवर्ष बुनेका तीन छत्री जतनसाथ राखेकी थिइन् । यसपालि थप चारवटा बुनिन् ।

‘चोया र भोर्लाको पात भएपछि छत्री बन्छ,’ उनले भनिन्, ‘बुन्दैमा टाउको अड्याउने भागलाई विशेष ख्याल गर्नुपर्छ, बुन्ने सीप हातमै छ, लात्ताले टेकेर थोरै कोप्राउन भने जान्नुपर्छ, जति ठूलो छत्री बनाउन सक्यो उति छड्के पानीले भेट्दैन ।’ चोयाको पारदर्शी फेरोको बीचमा भोर्लाको पात अड्याएर कलात्मक देखाएपछि छत्री तयार हुन्छ । पात ठूलो, बाक्लो र दरो हुने भएकाले भोर्लाको पात छत्रीमा प्रयोग गरिने उनले सुनाइन् ।

एउटा छत्री जतन गर्न सके ४/५ वर्षसम्म प्रयोग गर्न मिल्ने स्थानीय बताउँछन् । खेतीको सिजन सुरु हुने बेला छत्री तयार गरी परिवारका सबै सदस्यका लागि छुट्टाउने चलन रहेको स्थानीय नेत्रबहादुर कुमालले बताए । एउटा छत्री तयार गर्न कम्तीमा एक दिन लाग्ने पनि उनले सुनाए । ‘छत्री ओढ्ने यहाँको विशेषता नै हो, छत्री ओढेर खेत ओर्लेपछि किसान हो भनेर चिनिन्छ,’ उनले भने । छत्री बनाउन प्रयोग हुने भोर्लाको पात यहींका वनपाखामा पाइन्छ ।

बारीमा भोर्लाको रूख छ, बाँसको पिरलो छैन । भोर्लाको पात पर्याप्त नपाए गाखुँको वनमा पुग्ने गरेको नेत्रबहादुरले बताए । छत्री बुन्ने सीप पछिल्लो पुस्ताले नसिकेकामा उनको दुखेसो छ । ‘थुम्से, डोको बुन्न जान्नेलाई छत्री बुन्न गाह्रो छैन,’ उनले भने, ‘हामीसम्मले छत्री बुन्न जानेका छौं, छोरानातिले यो बुन्न जान्दैनन्, पढ्ने लेख्ने भन्छन्, यो सिक्नै मन लगाएनन् ।’

चोरकोटेमा बुनेको छत्री आसपासका गाउँमा बिक्री पनि हुन्छ । एउटा छत्री २५० देखि ३०० रुपैयाँसम्ममा बेचिन्छ । चोरकाटका स्थानीयले विशेषगरी घैया (पाखोमा हुने धान) धान गोड्ने बेला छत्रीको प्रयोग बढी गर्थे । जेठ महिनामा छत्री नओढी घैया धान गोड्नै नसकिने स्थानीय कालुराम कुमालले सुनाए । ‘घैया धान बसेर कुटोले गोड्ने हो,’ उनले भने, ‘जेठ महिना टारमा घामको ताप औधी हुन्छ, छत्री नओढी गोड्नै सकिन्थेन ।’

पछिल्लो समय घैया धानको खेती घट्दो छ । हाल असारे रोपाइँ, धान र मास गोड्दा तथा धान काट्ने बेला छत्रीको प्रयोग हुने गरेको छ । ‘पहिले गाउँमा खरको छाना हुन्थ्यो, छाना बनाउन बाँसका भाटा चाहिन्थे,’ उनले भने, ‘अहिले घरमा आरसीसी र जस्ताका छाना हुन्छन्, छत्री बुन्न बाँस जति पनि पाइन्छ ।’ मंसिरमा धान भित्र्याएपछि हिउँदको फुर्सदिलो समयमा छत्री बुन्ने चलन रहेको उनले सुनाए । उनले बावु डम्बरबहादुरबाट छत्री बुन्ने सिकेका जनाए ।

स्थानीयले आफन्त र छिमेकीलाई छत्री उपहार पनि दिने गरेका छन् । कालुरामले यस वर्ष बुनेका चारमध्ये दुई छत्री छोरीलाई दिए । ‘किसानी गर्नेलाई खेतमा छाताको काम हुँदैन, छाता एउटा हातले समाउनुपर्छ,’ उनले भने, ‘छत्री भएपछि खप्प टाउकोमा अडिन्छ, दुवै हातले काम गर्न पाइन्छ, छोराछोरी घामपानीले बिरामी पर्छन् भनेर छत्री बुनेर दिएँ ।’

सिरानचोक–४ तोरीबारीका अमर पोखरेल पुस्तौंदेखि यहाँ छत्री ओढ्ने चलन रहेको बताउँछन् । ‘छाता हावा आउँदा उडाएर लैजान सक्छ, टाउकोको छत्रीलाई हावाले पनि ठूलो असर गर्दैन,’ उनले भने, ‘बावुबाजेले घामपानी, असिना, हावासँग संघर्ष गर्न सक्ने तरिकाले यो बुन्न सिकेका रहेछन् ।’

प्रकाशित : असार १६, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?