३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

आदर्श स्कुलको शैक्षिक शतक

कोइराला निवासमा रहेको टहरोबाट नयाँ ठाउँमा विद्यालय सरेपछि १९९६ वैशाख २ मा गोरखापत्रमा ‘श्री ३ जुद्ध स्कुल खुल्यो’ शीर्षकमा समाचार नै छापियो
पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजालले यही स्कुल पढेका थिए
विनोद भण्डारी

काठमाडौँ — आदर्श स्कुलमा ३ कक्षामा भर्ना हुँदा विश्वराज पाण्डे १० वर्षका थिए । २००३ सालको स्कुलको अवस्था सम्झिँदा ८६ वर्षीय पाण्डेलाई अहिले पनि उही दृश्यको याद आउँछ– बाँसको टाटीले घेरेको भित्ता अनि फुसको छाना । धूलोले छपक्कै छोपिएको कक्षाकोठा अनि जोडले हावा चल्दा त्यही धूलो उडेर हुने कुहिरीमण्डल । यो त्यही स्कुल हो, जहाँ पढेका चार जना विद्यार्थी प्रधानमन्त्री भइसकेका छन् । 

आदर्श स्कुलको शैक्षिक शतक

यो स्कुलको इतिहास बुझ्न नेपाली राजनीति र साहित्यका धरोहर विश्वेश्वरप्रसाद (बीपी) कोइरालाका पिता कृष्णप्रसाद कोइरालासम्म पुग्नुपर्छ । तत्कालीन राणा शासक चन्द्रशमशेरसँग विद्रोह गरेर १९७६ सालमा कृष्णप्रसाद परिवारसहित भारत विहारको सहर्सा पुगेका थिए ।

त्यहीं बसाइका क्रममा उनले १९८१ सालमा सहर्सा टेडीमा स्कुल स्थापना गरे । चन्द्रशमशेरको मृत्युपछि १९८६ सालमा विराटनगर फर्कंदा उनी आफू मात्रै थिएनन्, एउटा स्कुल नै ल्याएका थिए । संस्थापक हेडमास्टर रघुनन्दनलाल दासलाई ल्याएर उनले कोशी अस्पताल छेउस्थित हालको कोइराला निवासमा टहरो बनाएर यो विद्यालय सुरु गरे ।

कोइराला निवासमा रहेको टहरोबाट अहिलेको ठाउँमा विद्यालय सरेको विषयमा १९९६ वैशाख २ मा गोरखापत्रमा ‘श्री ३ जुद्ध स्कुल खुल्यो’ शीर्षक समाचार छापिएको थियो । समाचारमा छ, ‘विराटनगरमा विसं. १९९२ देखि एउटा फुसको घरमा आदर्श विद्यालय स्थापना भई चन्दाबाट लड्कालड्कीलाई पढाइँदै छ र यो विद्यालयमा पढेर धेरै विद्यार्थी पारङ्गत पनि भए ।’

विद्यालयको स्मारिकामा ‘श्री ३ जुद्धशमशेरले पक्की स्कुल बनाई मास्टर खर्चसमेत दिनू भन्ने हुकुम भएकाले १९९५ चैत २६ गते श्री ३ जुद्धशमशेरको जन्मदिनका अवसरमा स्कुल तयारी गरी श्री ३ जुद्ध हाईस्कुलका नाममा उद्घाटित भएको’ लेखिएको छ । त्यसका लागि राणा सरकारले विद्यालय भवन निर्माण र शिक्षक खर्चबापत कम्पनी रुपैयाँ १२ हजार उपलब्ध गराएको अभिलेख छ । सात सालको राजनीतिक परिवर्तनपछि यो विद्यालयको नाम पुनः आदर्श विद्यालयमा परिणत भयो ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

चार वर्षसम्म टहरामा सञ्चालित विद्यालयलाई सूर्यनारायण श्रेष्ठ र रामलाल गोल्छाले १ बिघा १६ कट्ठा जमिन उपलब्ध गराए । त्यसपछि १९९२ सालमा हालको विद्यालय रहेको ठाउँ अर्थात् विराटनगर महानगरपालिका–७ सहिद मैदान पश्चिमतर्फ सारियो । त्यही बाँसको टहरा सञ्चालित स्कुलमा पाण्डेले पढेका थिए ।

संयोग यो पनि छ कि पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजालले पढेका थिए । यसो त पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, समाजसेवी नारायणप्रसाद कोइराला र पूर्वअञ्चलाधीश भूपालमानसिंह कार्कीले कक्षा १० सम्म यही स्कुलमा पढेका थिए । यो विद्यालय भारतमा छँदा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, ढुण्डीराज कोइराला, दीर्घराज कोइराला, नरोत्तम अधिकारी, विश्वबन्धु थापा, चन्द्रजंग थापा र कुमोदिनी कोइरालालगायतले यही विद्यालय पढेको अभिलेखमा छ ।

पूर्वविद्यार्थी पाण्डे हिजोआज पनि यदाकता आफूले पढेको स्कुलतिर पुग्छन् । अनि चकित हुन्छन् । वरिष्ठ अधिवक्ता पाण्डेले सुनाए, ‘कहाँ उसबेलाको त्यो आदर्श स्कुल र अहिलेको यो आदर्श स्कुल । अहिले यहाँ पढ्ने विद्यार्थी साह्रै भाग्यमानी ।’ यो स्कुलमा अहिलेको सुविधा सम्पन्न भवन र अन्य पूर्वाधार जोडिनुमा धेरैको मिहिनेत जोडिएको छ ।

सरकारी विद्यालय गतिलो व्यवस्थापनको हातमा पर्‍यो भने उकालो लाग्छ र कस्तो पर्‍यो भने ओरालो लाग्छ भन्ने साक्षी यही स्कुल हो । आदर्श स्कुलको नामै काफी थियो । पढ्न आउने विद्यार्थीको कुनै कमी थिएन । पाण्डेले भने, ‘२०२० सालसम्म यो विद्यालय अब्बल थियो । त्यसपछि विद्यालय खस्किन थाल्यो ।’

२०६९/७० सालतिर अवस्था यस्तो भयो कि विद्यालयमा विद्यार्थीको अवस्था झन्डै शून्यमा पुग्यो । जति विद्यार्थी थिए अधिकांश मजदुर परिवारका छोराछोरीमात्र भर्ना हुन्थे । २०७२ सालदेखि विद्यालयले कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी संख्या ह्वात्तै बढ्न थाल्यो । अर्कोतर्फ कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमसमेत सञ्चालनमा ल्याइयो । भौतिक संरचना र पढाइको स्तर उक्सिँदै गएपछि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आए ।

तत्कालीन प्राचार्य दुर्गाप्रसाद चुडालले सुनाए, ‘सुरुवाती दिन सहज थिएन, बोर्डिङभन्दा राम्रो पढाइ हुन्छ भनेर अभिभावकलाई विश्वास दिलाउन घरदैलो गर्‍यौं ।’ चुडालका अनुसार परीक्षामा राम्रो नतिजा आउन थालेपछि स्थानीय अभिभावकले आफ्ना बालबालिका यही विद्यालयमा भर्ना गरे । सात वर्षयता यो विद्यालयमा कक्षा १ देखि १२ सम्म सरदर ३ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

प्राचार्य सन्तोष पोखरेलका अनुसार अहिले विद्यालयले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्ने गरिएको छ । उनले सुनाए, ‘पहिला विद्यार्थी भर्ना गर्नुस् भन्दा हाँसेर उडाउने अभिभावकहरू अहिले आफ्ना बालबालिका भर्ना गर्न विद्यालय प्रशासनलाई दबाब दिन्छन् ।’ चालु शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म ३ सय ७५ जना नयाँ भर्नाका निम्ति दुई हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । अहिले विद्यार्थी भर्नाका निम्ति घरदैलो गर्नु पर्दैन ।

सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानका अनुसार स्कुलमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई यही विद्यालय अनिवार्य पढाउनुपर्ने नियम बनेको छ । यहाँका विद्यार्थीले एसईई २०७६ मा १६ र २०७७ मा १२ जनाले चार जीपीए ल्याएर उत्तीर्ण भएपछि भर्नाको चाप थेगिनसक्नु बढ्यो । गत वर्षको एसईईमा छात्र हितेन्द्र यादवले ३.९५ जीपीए ल्याएर जिल्ला उत्कृष्ट बनेका थिए । अहिले विद्यालयमा कक्षा ११ र १२ का ६ सय ९५ सहित ३ हजार १ सय ४१ जना अध्ययनरत छन् ।

‘हामीसँग सबै विषयका विज्ञ शिक्षक छन्, स्रोतसाधन छ,’ प्राचार्य पोखरेलले सुनाए, ‘योजनाबद्ध ढंगले एउटै छानामुनि नेपालीसँगै अंग्रेजी माध्यममा पढाइ सुरु गर्दा सबैको सहयोग मिल्यो अनि सफल भयौं ।’

आदर्श विद्यालयमा पढ्ने विद्यार्थीले २००१ सालदेखि एसएलसी दिन पाएका थिए । पहिलो ब्याचमा महेन्द्रप्रसाद, माधवप्रसाद काफ्ले, नारायण कोइराला, विश्वनाथ उपाध्याय र भुवनेश्वर शाह द्वितीय श्रेणी तथा विश्वबन्धु थापा र तीर्थप्रसाद नेपालले तृतीय श्रेणीमा मेट्रिक उत्तीर्ण गरेको अभिलेखमा छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै निजी विद्यालयप्रति अभिभावकको मोह बढ्यो ।

सरकारी विद्यालयका शिक्षक बढी राजनीतिक दलीयकरणमा परे । पेसाप्रति दत्तचित्त बन्न नसक्दा अभिभावकको विश्वास घट्न थाल्यो । विद्यालयका पूर्वप्राचार्य रमानाथ भट्टराईका अनुसार हुने खाने परिवारका छोराछोरी निजी विद्यालयमा भर्ना हुने क्रम अत्यधिक बढेसँगै आदर्श स्कुल हुँदा खाने परिवारका छोराछोरीले पढ्ने स्कुलमा परिणत भयो । उनले भने, ‘गरिब र मजदुरका मात्रै छोराछोरी पढ्ने विद्यालयलाई सबैको वर्गका छोराछोरी पढ्ने शिक्षालय बनाउन धेरै शिक्षकको मिहिनेत र संघर्ष परेको छ ।’

राणाकालमा बनाइएका जीर्ण भवन २०५७ मा भत्काइयो । सरकारबाट प्राप्त ३५ लाख ५० हजार, गोल्छा परिवारबाट ९ लाख, विभिन्न दाताबाट प्राप्त ४४ लाख र तत्कालीन विराटनगर उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँको लागतमा भव्य भवन निर्माण भयो । २०५६ देखि ०६९ सम्म प्राचार्य रहेका भट्टराईले सुनाए, ‘भव्य भवन तर घट्दो विद्यार्थी संख्याले त्यतिबेला दाताहरू निराश बनेका थिए ।’ उनी आउँदा यहाँ दुई सय विद्यार्थी थिए । विद्यालय परिवार र अभिभावकको निरन्तर प्रयासले विद्यार्थी संख्या क्रमिक रूपमा बढ्दै गएर २०६९ सालमा १५ सय पुग्यो ।

आर्थिक वर्ष २०६८/६९ मा भारतीय दूतावासले तीन करोडको लागतमा अर्को भवन बनाइदिएपछि स्कुलका भवन संरचना झनै भव्य भयो । यसैगरी नेपाल सरकार र दाताको चन्दाबाट उठेको करिब एक करोडको लागतमा हालको २२ कोठे अत्याधुनिक भवन निर्माण भएको थियो ।

अहिले विद्यालयसँग ७५ कक्षाकोठा छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषयको पढाइ हुन्छ । त्यसमा ६ सय ९५ विद्यार्थी छन् । कक्षा १ देखि १० सम्म २ हजार ४ सय ४६ विद्यार्थी पढ्छन् । प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका ३ सय ६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले अंगीकार गरेको समावेशी शिक्षा नीतिअनुसार अपाङ्गता भएका ११९ विद्यार्थी अध्ययनरत छन् ।

विराटनगर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनबाट प्राप्त ६० लाख रुपैयाँ लागतमा अपाङ्गमैत्री स्कुल बस सञ्चालनमा छ । ४ कम्प्युटर ल्याब, ३ साइन्स ल्याब र एक पुस्तकालय छन् ।

प्रत्येक कक्षाकोठामा भएका प्रोजेक्टर, चारवटा कक्षामा स्मार्ट बोर्डको व्यवस्था छ । विद्यालयले वार्षिक सरदर ९ करोड ७९ लाख रुपैयाँ शिक्षक र कर्मचारीको तलब तथा प्रशासनिक खर्च गर्दै आएको छ । दरबन्दीका २६, राहतका १३, निजी स्रोतका ५६ शिक्षक कार्यरत छन् ।

प्राचार्य पोखरेलका अनुसार विद्यालयको नाममा मोरङको धनपालथान गाउँपालिकामा १८ बिघा खेती छ । त्यहाँबाट वार्षिक सरदर साढे तीन लाख र सटर भाडाबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी हुने गर्छ । दाताबाट प्राप्त १ करोड २५ लाख विद्यालयको नाममा मुद्दती खाता रहेको छ । त्यसको ब्याजबाट शिक्षाको गुणस्तर वृद्धि गर्न खर्चिने गरिएको छ । दाताहरूको पहलमा विद्यार्थीलाई छात्रवृत्तिका निम्ति ३० लाख रुपैयाँका अक्षयकोष रहेको छ । जसबाट प्राप्त वार्षिक ३ लाख ब्याजबाट १ सय १३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्रकाशित : असार १६, २०८० १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?