कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबबाट सिकेर शृंगारमा अब्बल

सन्जु पौडेल

लुम्बिनी — तिलोत्तमा नगरपालिका–६ रूपन्देहीकी गीताञ्जली कार्कीलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । आमा पशुपति कार्कीले ‘मेकअप’का साधन प्रयोग गर्दैनथिन् । जसका कारण घरमै मेकअप सिक्ने वातावरण थिएन ।

युट्युबबाट सिकेर शृंगारमा अब्बल

कहिलेकाहीं शृंगार गर्नर्पैरे आमाले छिमेकीको सहयोग लिन्थिन् । आफ्नी छोरीलाई पनि ‘मेकअप’ गरेर चट्ट पार्दिन भन्थिन् । छोरी गीताञ्जली भने ‘मेकअप’ पारखी । त्यही रुचि अहिले उनको चिनारी बनेको छ । अहिले जिल्लामा उनलाई नचिन्ने महिला र युवा पुस्ता विरलै भेटिन्छन् ।

विद्यालयमा पढ्दादेखि नै अभिभावकलाई मेकअपका सामान किन्न लगाउने उनी सुरुमा जस्तो जानिन्छ, त्यस्तै शृंगार गर्थिन रे । ऐना हेरेर सुन्दर बन्ने अभ्यास गरिरहे,’ गीताञ्जली भन्छिन्, ‘कक्षा ६ मा पढ्दा सानिमालाई बेहुलीको शृंगार गरिदिएँ, त्यसपछि थप रुचि बढ्दै गयो ।’ घरमै बसेर युट्युबमार्फत शृंगारका सामान प्रयोग गर्ने तरिकासम्बन्धी ज्ञान लिएको उनले बताइन् । ‘सुरुमा आफैंमा सीमित थिए,’ उनले भनिन्, ‘पछि अरूलाई पनि सिंगार्छु भनेर यसमै लागें ।’ स्नातक पढ्दैदेखि आफ्नै सामान लगेर मागअनुसार शृंगारको काम गर्न थालेको उनले बताइन् । ‘बिहेको सिजनमा दैनिक ६ जनासम्म बेहुलीको मेकअप गर्छु,’ उनले भनिन्, ‘फोन गरेर बोलाउँछन् ।’

पहिले अरूले शृंगार गरेको युट्युबमा हेर्थिन् । अहिले आफैंले मेकअप गरेको भिडियो बनाएर राख्न थालेकी छन् । त्यो हेरेर उनीसँग मेकअपबारे सोध्ने र कामका लागि बोलाउनेको संख्या निकै बढेको छ । २०७५ सालमा उनले

युट्युबका साथीसँगको सल्लाहमा पहिलो मेकअप कक्षा सञ्चालन गरिन् । ‘बुटवलको कालिकानगरमा सानो कोठामा कुर्सी, टेबल राखेर सुरु गरें,’ उनले भनिन्, ‘५ दिनको कक्षाका लागि ६ हजार तिरेर विद्यार्थी आए ।’ त्यसपछि सिकाउने आत्मविश्वास बढेको उनले बताइन् । ‘त्यो कक्षा सफल भएपछि स्टुडियोको सपना बुनें,’ उनले भनिन्, ‘सुरुको कोठा छाडेर तिलोत्तमा–३ स्थित बिना कम्प्लेक्सको भवनमा मेकअप स्टुडियो सञ्चालनमा ल्याए ।’

अहिले स्टुडियोमा मेकअप गरिदिने र विद्यार्थीलाई पढाउने काम चलिरहेको उनले बताइन् । शृंगार गर्ने भनेकै अनुहार राम्रो देखाउने विषय भएकाले कस्ता सामान प्रयोग योग्य हुन्छन्, कुन छालामा के सुहाउँछ, कसैको छाला र स्वास्थ्यमा असर नगर्ने उत्पादन ल्याउने विषयमा समस्या पर्न थालेको उनले बताइन् । हरेक कम्पनीका सामान आफूले १० दिनसम्म प्रयोग गरेपछि मात्र ग्राहकका लागि प्रयोग गर्ने गरेको उनको भनाइ छ । ‘म जहाँ पायो त्यहींको सामान प्रयोग गर्दिनँ,’ उनले भनिन्, ‘प्रयोग गर्नलाई पनि केही दिनको समय मागेर दिनदिनै आफूमा लगाएर हेर्छु, अनिमात्र युट्युबमा राख्छु ।’

मेकअप गर्न आउने ग्राहकले सामानको पनि माग गर्न थालेपछि विगत डेढ वर्षदेखि गीताञ्जली स्टोरसमेत सञ्चालन गरेर शृंगार सामग्री बिक्री गरिरहेको उनले बताइन् । स्टुडियोमा तालिम लिनेहरू बिहान तथा दिउँसो गरी दैनिक ३० जनासम्म हुन्छन् । ‘१५ हजारदेखि ६० हजारसम्म लिएर तालिम दिइरहेकी छु,’ उनले भनिन् । उनले शारीरिक बनावटलाई समेत स्वस्थ र सुन्दर राख्न व्यायामसमेत सिकिन् । सर्टिफाइड ट्रेनर बनिसकेकी उनले बिहान साँझ गरी अनलाइन तथा घरमै रहेको जिमहाउसमा महिलालाई व्यायाम पनि सिकाउँछिन् । ‘भविष्यमा महिला व्यायामशाला सञ्चालन गर्ने धोको छ,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ २४, २०८० ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?