सम्झनामा ‘रक एन्ड रोल क्विन’

पश्चिमेली संगीतकी सर्वकालीन महान् गायिका हुन्, टिना टर्नर । पश्चिमेली संगीतमा रक एन्ड रोलको अत्यधिक प्रभाव रहेको साठीको दशकको अन्त्यबाट संगीत जीवन सुरु गरेकी टर्नरपछि ‘क्विन अफ रक एन्ड रोल’ बाट परिचित बनेकी हुन् ।
हिमेश

काठमाडौँ — हाम्रैतिर पनि खुबै सुनिने एउटा गीत हो, ‘ह्वाट्स लभ गट टु डु विथ इट’ । नसुनेको भए पनि सुन्नु । मिठो छ । टिना टर्नरको गीत हो, यो । ‘प्राइभेट डान्सर’ एल्बममा समावेश भएको ।

सम्झनामा ‘रक एन्ड रोल क्विन’

यसको छोटकरीमा सार यस्तो छ,

मायाले के गर्नुपर्छ ?

माया दोस्रो दर्जाको भावनाबाहेक के नै हो र ?

मायाले के गर्नुपर्छ ?

मुटु टुटेको बेला कसलाई मुटु चाहिन्छ र ?

‘प्राइभेट डान्सर’ सन् १९८४ मा निस्केको टर्नरको पाँचौं स्टुडियो एल्बम हो र यसकै प्रमुख गीत हो, यो । यो एउटा गीत नै टर्नरको वास्तविक परिचय बन्यो । धेरै देशको चार्टमा यो लामै समय शीर्ष स्थानमा रह्यो । त्यही वर्षको ग्रामी अवार्डमा यो गीत उत्तिकै छाएको थियो । यसले तीन ठूला अवार्ड जितेको थियो, ‘रेकर्ड अफ द इयर’, ‘सङ अफ द इयर’ र ‘बेस्ट फिमेल पप भोकल परफरमेन्स’ ।

सन् २०१२ मा यो गीतलाई ‘ग्रायमी हल अफ फेम’ मा पनि समावेश गरियो ।

यही गीतको नाममा उनको जीवनमा आधारित सिनेमा पनि बनेको थियो । रोलिङ स्टोनका अनुसार यो पश्चिमेली संगीतका सर्वकालीन उत्कृष्ट पाँच सय गीतमध्ये एउटा हो । टर्नरको अहिले चर्चा किन भन्दा गत मे २४ मा उनको निधन भएको थियो, स्विटजरल्यान्डस्थिति आफ्नै घरमा । उनी ८३ वर्षकी थिइन् । सोमबार उनको निधनको १३ औं दिन पर्छ । विश्व संगीतको सबै क्षेत्रबाट उनलाई श्रद्धाञ्जली पोख्ने र विश्व संगीतमा उनको योगदानबारे चर्चा चलिरहेको छ ।

उनी कति महान् स्टार हुन्, उनलाई दिइएको एउटै उपनामले पुग्छ र यो हो, ‘क्विन अफ रक एन्ड रोल’ । उनको जन्म सन् १९३९ मा भएको थियो, अमेरिकाको टेनेसीमा । तर लामो समयदेखि उनी स्विट्जरल्यान्डमा बस्न थालेकी थिइन् । २०१३ मा उनी स्विस पनि भइन् । केही वर्ष भयो, उनलाई विभिन्न रोगले च्याप्न थालेको, धेरैथरी दीर्घ रोगले । तर उनी सबै यी रोगसँग लगातार बहादुरीपूवर्क लडिरहेकी थिइन् र अरूका लागि प्रेरणा रहेकी थिइन् ।

पश्चिमेली संगीतमा उनलाई सर्वकालीन महान गायिका मानिन्छ र उनको स्वर अरूको तुलनामा धेरै फरक पनि छ । गीत गाउँदा उनको स्वरमा अचम्मको शक्ति देख्न पाइन्छ । सन् साठीको अन्त्यतिर उनको संगीत जीवन सुरु भएको मानिन्छ, जति बेला पश्चिमेली संगीतमा रक एन्ड रोलको अत्यधिक प्रभाव थियो । त्यो यही संगीत विधाको सुरुवाती समयभन्दा पनि हुन्छ । यही सुरुवाती समयको पहिलो पुस्ताकी गायिकका रहेको हुनाले पनि उनलाई ‘रक एन्ड रोल’ का रानी भनिएको थियो ।

उनी पहिलो त्यस्तो गायिका थिइन्, जसका लगातार ४० लोकप्रिय गीत रहे । उनका अल्बम एक करोडभन्दा बढी बिक्री भए । अनि उनले कुल १२ ग्रायमी अवार्ड जिते । उनलाई धेरैले सम्झिनु पछाडिको एउटा अर्को ठोस कारण पनि छ । उनले रंगभेद र पारिवारिक हिंसाविरुद्ध लगातार चुनौती दिने काम गरिन् । सानो छँदा उनले चर्को रंगभेको सामना गर्नुपरेको थियो । पछि पारिवारिक हिंसा पनि बेहोरिन् । जीवनको आखिर समय भने बौद्ध धर्मको अभ्यासमा बिताइन् ।

सायद हामीलाई टर्नरप्रति लगाव हुन सक्ने एउटा अर्को कारण पनि छ र त्यो हो, उनी बौद्धामागी हुनु । त्यो पनि अहिले होइन्, ५० वर्षदेखि । सम्भवतः हलिउडका केही नामी हस्ती बौद्ध धर्मसँग आकर्षित हुनुभन्दा अगाडिदेखि नै टर्नर यससँग जोडिसकेकी थिइन् । आफ्नो जीवनको पछिल्लो ५० वर्ष उनले अनवरत रूपमा निचिरेन बौद्ध धर्मको अभ्यास गरिरहेकी थिइन् । टर्नरनको यो व्यक्तित्वको एक भागबारे भने कमै मात्र चर्चा भएको छ ।

तर उनका पछिल्ला केही गीतमा यसको छनक भने पाइन्छ । र, भनिन्छ, जीवनको धेरै उतारचढाव र दुःखबीच पनि टर्नरलाई दह्रो रूपमा उभिन केहीले मद्दत गरेको थियो भने यो निचिरेन बौद्ध धर्मकै अभ्यास थियो । अझ कतिसम्म भन्दा उनले अरूलाई पनि बौद्ध धर्मबारे बुझाउन र सिकाउने प्रयास गरिन् । यसै क्रममा उनका केही गीतको झुकाव पनि यतैतिर पाइन्छ । सरुवाती दिनमा जति बेला उनी युवा थिइन्, अफ्रो–प्रोटेस्टेन्टबाट प्रभावित थिइन् ।

त्यसैले ‘ह्यापिनेस विकम यु’ जस्तो गीत पनि गाइन् । सन् १९७१ मा पहिलो पल्ट टर्नरले बौद्ध धर्मसँग आत्मसात् गरिन् । सन् २०२० को एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘बौद्ध धर्मको अध्ययनपछि मैले आफ्नो जीवनको जिम्मेवारी उठाउन थालें । मैले प्रज्ञा, करुणाबारे बुझ्न थालें । मैले थाहा पाएँ, मैले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक थियो र त्यो शक्ति पनि मभित्रै नै थियो । सन् सत्तरीकै दशकमा उनी आफ्नै श्रीमान् इके टर्नबाट पनि छुट्टिए ।

उनको व्यक्तिगत जीवन निकै तनावको स्थितिबाट गुज्रिएको थियो । सुरुमा उनी आफ्नै श्रीमान्सँग ब्यान्डका रूपमा प्रस्तुत हुन्थिन् । पछि एकल गायन सुरु गरिन् । सन् १९८४ मा उनको ‘प्राइभेट डान्सर’ अल्बम खुबै सफल सावित भयो र उनी एकाएक ठूला स्टार बनिन् । टर्नरले यसको सफलताका लागि आफ्नो बौद्ध धर्मको अभ्यासलाई मुख्य आधार मानेकी छन् । उनका दुई आत्मकथा प्रकाशित भएका छन्, ‘आई टिना’ र ‘माई लभ स्टोरी’ ।

दुवैमा उनले उनले आफ्नो बौद्ध धर्मको अध्ययन र अभ्यासबारे लेखेकी छन् । उहाँनिर एउटा प्रश्न उठ्नु स्वाभाविक छ, के हो त यो निचिरेन बौद्ध धर्म ? यो महायान बौद्ध धर्मको एउटा त्यस्तो शाखा हो, जसलाई जापानी बौद्ध भिक्षु निचिरेन दाइसोनिनले लोकप्रिय बनाए । दाइसोनिन सन् १२२२ जन्मेका भिक्षु हुन् । निचिरेन बौद्ध धर्ममा लोटस सूत्रलाई अत्याधिक महत्त्व दिइन्छ । यसले सबैमा सहज बुद्ध प्रकृति रहेको विश्वास गर्छ ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?