१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

कसले खाइदियो फूलमायाको १५ वर्षको कमाइ ?

रोजगारीका लागि लेबनान पुगेकी फूलमाया तामाङले आफ्नो भाषा भुलिन्, आफन्त बिर्सिइन् तर यतिका वर्ष परिश्रमको उचित ज्यालासमेत पाइनन्
होम कार्की

काठमाडौँ — काभ्रेकी सपना तामाङ लेबनान पुगेको चार महिनापछि काइँली बहिनी फूलमाया पनि आइपुगेकी थिइन् । यो २००८ मार्चतिरको समय थियो । त्यतिखेर घरेलु कामदार (हाउसमेड) को काम गर्न वैदेशिक रोजगार विभागबाटै श्रमस्वीकृति पाइन्थ्यो । काभ्रेदेखि सिन्धुपाल्चोक र रसुवाबाट लेबनान जाने महिलाहरूको लहर नै चलेको थियो । सपना र फूलमायालाई म्यानपावरसम्म लैजाने काम गाउँले दिदी शर्मिला तामाङले गरेकी थिइन् । काठमाडौंको गलैंचा उद्योग धराशायी भएपछि उनीहरूका लागि लेबनान विकल्प बन्दै थियो ।

कसले खाइदियो फूलमायाको १५ वर्षको कमाइ ?

सपना लेबनानमा छिरेको चार वर्षपछि फर्केर आइन् । त्यसपछि इराकको बगदाद पुगिन् । बगदादमा दुई वर्ष काम गरेर फर्किइन् । हरेक महिना तलब थाप्ने बानीले बगदादमा एक महिना मात्रै तलब रोकिँदा सपनालाई उकुसमुकुस हुन्थ्यो । बिनाआम्दानी अडिन उनलाई मन लागेन । घरेलु कामदारको सट्टा कम्पनीको भिसा बोकेर मलेसिया उडिन् । मलेसिया चार वर्ष बसेपछि कुवेत पुगेर अडिएकी छन् । सात वर्षदेखि कुवेतको सरकारी अस्पताल फर्वानियामा कार्यरत सपना स्वदेश नफिरेको भने चार वर्ष भयो ।

‘हामी पाँच दिदीबहिनीमध्ये म माइली हुँ । फूलमाया काइँली । हामी दुई जनामात्रै विदेश हिँड्यौं । अरू बिहेबारी गरी देशमै बसेका छन्,’ कुवेतबाट सम्पर्कमा आएकी सपनाले भनिन्, ‘म संसार घुमिसकें । बहिनी भने अझै लेबनानमै अल्झिरहेकी छे ।’

उनलाई लेबनानमा दुई दिन बिताउन पनि दुई वर्ष जस्तो भएको सुनाइन् । ‘बाहिर घुमफिर थिएन । एक दिन पनि नेपाली भेटिने दौउरा चोक जान दिइएन । दिदीबहिनी लेबनानमा छौं भन्नुमात्रै रह्यो,’ दिदीबहिनीबीच कहिल्यै भेटघाट र बोलचाल हुन नपाएको उल्लेख गर्दै सपनाले भनिन्, ‘म निस्केको १५ वर्ष भयो, फूलमाया उतै छे । आमाले फूलमाया खै भनेर नसोधेको दिन छैन ।’

लेबनानमा पुग्दा फूलमाया १९ वर्षमा टेक्दै थिइन् । उनको रोजगारदाता (मालिक) कोहरिक रोसेआन आरमेनियाली समुदायका थिए । यो घरमा टेकेदेखि उनलाई सबैले माया भनेर बोलाउँथे । फूलमायालाई परदेशमा होइन कि आफ्नै बुबाआमाको घर पुगेजस्तै लाग्यो । परिवारसँग घुलमिल बढ्दै गयो । उनीहरूको मायामा आफ्नो घरठेगाना परिवारमात्रै होइन भाषा पनि भुल्दै गइन् । ‘उनीहरू अंग्रेजी बोल्दैनथे । अर्मनी भाषा बोल्थे । मैले बिस्तारै अर्मनी सिक्दै गएँ । नयाँ नयाँ आर्मेनी सिक्दा मैले तामाङले बोल्ने शब्दहरू बिर्सिंदै गए । घरमा नेपाली भाषा पहिला पनि त्यति धेरै बोल्दैनथ्यौं,’ फूलमायाले भनिन्, ‘जुन भाषा बढी बोलिन्छ, त्यसमै बानी पर्दोरहेछ ।’

उनले आफ्नो मालिक–मालिक्नीभन्दा अरूसँग कहिल्यै बोल्नुपरेन । छुट्टी लिएर नेपालीमाझ कहिल्यै पुगिनन् । चिनजानेको कोही साथी सम्पर्कमा थिएनन् । दिदी पनि कहाँ छ थाहा भएन । घरबाट निस्कनुपरेमा पनि मालिकसँगै जान्थे । ‘मलाई कहिले झर्किने, गाली गर्ने काम गरेनन्,’ फूलमायाले भनिन्, ‘घर (नेपाल) मा त आक्कलझुक्कल मात्रै बोलिन्थ्यो ।’

अरूले कामदारले जस्तो पैसा पठाउन रेमिटेन्स कम्पनीमा पनि गइनन् । मालिकले नै नेपाल पैसा पठाइदिएँ भन्थे । प्रमाणका रूपमा पैसा पठाइदिएको रसिद ल्याएर फूलमायालाई दिन्थे । त्यतिखेरै मालिकले बुबालाई फोन लगाइदिन्थे । यो समयमा फूलमायाले छोटोमा भन्ने गर्थिन्, ‘मलाई यहाँ ठीक छ । पैसा पठाइदिएको छ । ल नम्बर टिप्नुस् ।’ त्यसपछि तीन वाक्यको कुराकानी झन्डै वर्ष दिनसम्मका लागि टुंगिथ्यो ।

फूलमाया लेबनान पुगेको दुई वर्षपछि २०१० अक्टोबर ३० तारिखको दिन ६ सय १० डलर पठाउँदा पहिलो वाक्य फुटेको थियो । दोस्रो गफ २०११ मार्च १५ तारिख ६ सय १० डलर पठाउँदा भयो । त्यसपछि २०१२ को मे २२ तारिख १ हजार १० डलर र २०१३ मार्च २२ तारिख पनि १ हजार १० डलर पठाउँदा भयो । २०१४ अप्रिल २८ तारिख १५ सय ६६ डलर पठाउँदा सम्पर्क भयो । ७ वर्षको अवधिमा ४ हजार ८ सय ७ डलर पठाइयो । फूलमायालाई त्यो बेला रसिदमा कति डलर पठायो भन्ने थाहा हुँदैनथ्यो । खाली रसिदको नम्बर हेरेर बुबालाई भन्दिन्थिन् । वर्ष दिनमा एक पटक मोबाइलमा बज्ने घण्टी त्यसपछि बज्न छोड्यो । त्यसपछि बुबा भैरवबहादुर र आमा तिलमायासँगको सम्पर्क पनि टुट्यो । लेबनानबाट फोन आउन छोड्यो । फूलमायालाई मालिकले भूकम्पपछि नेपाल ध्वस्त भएको सूचना दिए । टीभीमा भत्केका घरहरू देखाइदिए । फूलमायालाई मनमा चिसो पस्यो, ‘कतै भूकम्पले परिवार कसैलाई बाँकी राखेन कि ?’

यता नेपालमा भने बुबाआमालाई छोरीसँग सम्पर्क नहुँदा बेचैन बनाइरहन्थ्यो । ‘माइली छोरी सपना भने विदेशबाट आउजाउ गरिराख्छिन् । कति देश पुगिसकी । फूलमायाको अनुहार नदेखेको १५ वर्ष भयो । कस्ती भई होली ? केही थाहा छैन,’ बुबा भैरवबहादुर भन्छन्, ‘उसलाई पत्ता लगाइदिनुपर्‍यो । सधैं बाहिरमात्रै बसेर हुँदैन । मन पोल्छ । कहाँ गएर भन्ने थाहा छैन । छोरीमध्ये देशविदेश बुझेकी सपना मात्रै थिइन् । उनी पनि कुवेततिर रोकिइन् ।’

गत डिसेम्बर १५ तिर फूलमायाका दाजु उमेश र बुबा भैरवबहादुरको लेबनानमा घरेलु कामदारको अधिकारको पक्षमा काम गरिरहेका ‘दिस इज द लेबनान’ का संस्थापक दीपेन्द्र उप्रेतीको सम्पर्कमा पुगे । यो समूहले लेबनानमा कार्यरत घरेलु कामदारमाथि भएको अमानवीय शोषणको पर्दाफास गरी न्याय दिलाउन सक्रिय छ । लेबनानमा झन्डै चार लाख हाउसमेड अफ्रिका र एसियाबाट गएका छन् । सन् २००८/०९ तिर नेपाली घरेलु कामदारको संख्या झन्डै १२ हजार थियो । अहिले न्यून सख्यामा कार्यरत छन् । अध्ययनहरूले अन्तर्राष्ट्रिय र स्थानीय कानुनविपरीत लेबनानमा ९४ प्रतिशत रोजगारदाताले घरेलु कामदारको राहदानी आफैंले राखिदिने गरेका छन् ।

भैरवले लेबनानबाट आइराख्ने फोन नम्बर सुरक्षित राखेका रहेछन् । त्यो नम्बर र फूलमायाको नागरिकता र राहदानीको फोटोकपी उप्रेतीलाई उपलब्ध गराए । दिस इज द लेबनानका स्वयंसेवीले फोन नम्बरको आधारमा मालिक कोहरिक केशुनकाको ठेगाना पत्ता लगायो । मालिकको सबै पृष्ठभूमि पत्ता लगाए । कोहरिकका भाइ गार्भेलसँग दिस इज द लेबनानका स्वयंसेवीसँग सम्पर्क भयो ।

‘उनी घर फर्कनै चाहँदिनन् । यहीं नै बस्न चाहन्छिन् । माया खुसीसाथ बसिरहेको छ,’ गार्भेलको दाबी थियो । गार्भेलको दाबीलाई बाबु भैरव र आमा तिलमायाले अस्वीकार गरे । उनीहरूले फूलमायासँग संवाद गराइदिन अनुरोध गरे । गार्भेललाई भैरव र तिलमायाको फोटो र भिडियो पनि पठाइयो । त्यो हेरेपछि परिवारसँग संवाद गराइदिन केशुनका परिवार तयार भयो । झन्डै ९ वर्षपछि फूलमायाको बुबाआमा र दाजु उमेशसँग संवाद गर्न पाइन् । फूलमायाले टुटेफुटेको नेपाली बोलिन् । बढीजसो अर्बनी लवज निस्किरहेको थियो । बुबाआमासँग संवाद गर्न पनि अनुवादक चहिने परिस्थिति बन्यो ।

‘मैले त बुबाआमा छ भन्ने नै बिर्सिएछु । आउँदा फोटो पनि ल्याइन् । नेपाल आउने राहदानी पनि छैन,’ फूलमायाले भनिन् । दिस इज द लेबनानले फूलमायालाई मोबाइल उपलब्ध गराउन दबाब दिन थाल्यो । ‘अहिलेको समयमा घरेलु कामदारलाई फोन दिँदैन भन्ने हुँदैन । त्यो घरेलु कामदारको अधिकार हो,’ दिस इज द लेबनानले गार्भेललाई घरेलु कामदारको अधिकारसम्बन्धी पाठ पढाएपछि गत जनवरीमा फूलमायाको हातमा मोबाइल पर्‍यो । त्यसयता भने कुवेतमा रहेकी दिदी सपना र दाजु उमेशसँग भने नियमित संवाद हुन सक्यो । सपनासँग नियमित कुराकानी हुन थालेपछि भने बल्ल फूलमायाले आफ्नो भाषाको लय समातेकी छन् ।

परिवारसँग सम्पर्क भएपछि रोजगारदातालाई १५ वर्षको पूरा हिसाब गरी नेपाल पठाइदिन दबाब छ । गत १८ जनवरी, ३ फेब्रुअरी र २३ फेब्रुअरीमा तीन पटक २४ सय १८ डलरको दरले ७ हजार २ सय २५ डलर (झन्डै ९ लाख ४६ हजार रुपैयाँ) पठाइदिएको छ । १५ वर्षको अवधिमा फूलमायाले १२ हजार ३२ डलर मात्रै पाएको रेकर्ड देखिन्छ । घर फर्काउन दबाब पुगेपछि रोजगारदाताले ९ मेमा फूलमायालाई बेरुतस्थित अवैतनिक नेपाली महावाणिज्य दूतको कार्यालयमा पुर्‍याएको थियो । त्यहाँ २००८ देखि ०२३ सम्म काम गर्दा सबै तलब पाइसकेको र २० मेमा नेपाल पठाउने भन्ने कागजमा फूलमाया र रोजगारदाताबीच हस्ताक्षर गराइएको थियो । नेपाल जानुअघि भने २ हजार ४ सय डलर दिइने पनि सहमतिमा उल्लेख छ । ‘मलाई के कागजमा हस्ताक्षर गराइयो भन्ने थाहा छैन,’ फूलमायाले भनिन्, ‘मैले पाउनुपर्ने सबै पैसा पाए वा नपाएको थाहा छैन ।’

लेबनानका लागि अवैतनिक महावाणिज्य दूत एलचेख मोहम्मद विसम गौजेलले फूलमाया प्रतिमहिना एक सय डलर तलबमा काम गर्न गएको देखिएको बताए । ‘एक सय डलर लिने गरी काम गर्न आएको देखिएको छ । यो तलब हरेक वर्ष बढ्दै गएको छ । जस अनुसार १ सय २५, १ सय ५० र दुई सय डलरसम्म आइपुगेको देखिन्छ,’ गौजेलले भने, ‘हामीले यो विषयलाई निकै गम्भीरताका साथ लिएर अनुसन्धान गरेका छौं । भाषा अनुवादक राखेर पनि छलफल गर्‍यौं । यसबारे थप अनुसन्धानका लागि इजिप्टस्थित नेपाली दूतावासमा पठाएका छौं ।’

दिस इज लेबनानका संस्थापक उप्रेतीले लेबनानको घरेलु कामदारसम्बन्धी कानुनको दफा ६ बमोजिम गुणस्तरीय संयुक्त करारपत्र बमोजिम फूलमायाले तलब पाएकी छैनन् । ‘फूलमायाले भीख मागेको होइन । काम गरेको पैसा मागेको हो । उनलाई पैसा दिएको प्रमाण बुझाउने दायित्व मालिकको हो फूलमायाको होइन,’ उप्रेतीले भने, ‘उनीबाट धेरै पैसा जोगाएको छ । दुई–दुई वर्षमा घर जानेआउने टिकट दिनुपर्छ । त्यसबापत ७ वटा टिकटको पैसा दिनुपर्छ । एक सय डलर त तलब नै हुँदैन । लेबनानको नियमअनुसार कम्तीमा १ सय ५० डलर तलब दिनुपर्छ । झन् अनुभवीले चार सय डलरसम्म पाउँछन् । यहीअनुसार फूलमायाको तलब भुक्तानी गराइनुपर्छ । पारदर्शी ढंगले लेबनानको सुरक्षा अनुसन्धान विभागबाट अनुसन्धान गरिनुपर्छ ।’

त्यही समयमा गएकी सपनाको पनि न्यूनतम तलब १ सय ५० लेबनिज डलर थियो । यतिका वर्षसम्म काम गर्दा फूलमायाले आफ्नो तलबबारे कहिले पनि खोजी गरिनन् । अब छुट्ने बेला भने बल्ल आफूमाथि श्रम शोषण भइरहेको चाल पाएकी छन् । यसबारे मालिकसँग खुलेर बल्न सकिरहेकी छैनन् । भैरवलाई पनि मालिकले छोरीको सिधापनको फाइदा उठाएको लाग्छ । ‘१५ वर्षपछि छोरी भेटिने खबरले मन गद्गद् छ । मुटुबाट खिल निस्केला जस्तो लागिराख्छ । छोरीको कमाइ पो खाइदिन्छन् जस्तो लगिरहेको छ,’ भैरवले भने, ‘फूलमायालाई मर्कामा पारियो । १५ वर्षको तलब बेहिसाब छ ।’

प्रकाशित : जेष्ठ १, २०८० ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?